औद्योगिक घराना खेतान ग्रुपले पूर्वी नवलपरासीको १६ नम्बरमा रेडबुल उत्पादन गर्ने कारखाना संचालनमा ल्याएको छ ।अर्थमन्त्री प्रकाश शरणमहतले मंगलबार कारखानाको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै महतले नेपालको अर्थतन्त्रले लय समात्दै गरेको दाबी गरे । 'अर्थतन्त्र बाहिर प्रचार गरिएजस्तो नकारात्मक छैन । सबै पक्ष सकारात्मक हुँदै छ,' महतले भने ।
देवचुलीको पिप्रहरमा गैंडाको आक्रमणबाट एक जना घाइते भएका छन । जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका अनुसार देवचुली नगरपालिका वडा नम्बर-३ पिप्रहरका ५० वर्षका कालीराम महतो गएराति गैंडाको आक्रमणमा परेर घाइते भएका हुन ।
कांग्रेस महामन्त्री गगनकुमार थापाले वर्तमान सरकारले काम गर्न नसकेको भन्दै अब चाँडै कांग्रेसको नेतृत्वमा सरकार गठन हुने दाबी गरेका छन् । 'यो सरकारले जनचाहनाअनुसार काम गर्न सकेन,' थापाले भने, 'सरकार भनेको जनताको काम गर्न बनाइन्छ । वर्तमान सरकार प्रचारबाजीमा रमाएर जनताको काम गर्नै सकेको छैन ।'
पूर्वी नवलपरासीको देवचुली नगरपालिकाको गोरे घुम्तीमा आइतबार भएको बलेरो दुर्घटनामा परी ज्यान गुमाउनेको संख्या ७ पुगेको छ । गम्भिर घाइते भएका मध्यबिन्दु नगरपालिका वडा २ मदनपुर निवासी १८ वर्षका चिरन अर्यालको पनि उपचारको क्रममा मृत्यु भएको छ ।