३१ वर्षीय सञ्जय विक हत्या कसुरमै कास्की कारागारमा सजाय भोगिरहेका थिए, गत भदौ २४ गते जेन-जी आन्दोलनका क्रममा भागेर नवलपरासी पूर्व पुगे । ६ महिनाको अवधिमा पहिले डेरा बसेकै घरधनीसहित २ जनाको हत्या गरे ।
What you should know
नवलपरासी पूर्व — जेन-जी आन्दोलनका क्रममा गत भदौ २४ गते कास्की कारागारबाट भागेपछि एक कैदीले २ जनाको हत्या गरेको खुलेको छ ।
आपराधिक पृष्ठभूमि भएका ३१ वर्षीय सञ्जय विकले कारागारबाट भागेलगत्तै असोज १९ र गत चैत २३ गते गरी २ जनाको हत्या गरेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वले जानकारी दिएको छ ।
प्रहरीका अनुसार सञ्जय २०७२ साल असार २९ गते चोरी घटनामा दोषी ठहरिएका थिए । त्यति मात्र होइन, उनले २०८० साल मंसिर ५ गते कास्कीमा हत्या तथा डाँका चोरी कसुरमा जन्मकैद सजाय पाएका थिए । कास्की हत्या घटनापछि बागलुङ गल्कोट-९ का स्थायी बासिन्दा सञ्जय भागेर गैंडाकोट-१० आए । सम्झनाचोकमा श्यामकुमारी श्रेष्ठको घरमा डेरामा बसे ।
कास्की प्रहरीले उनलाई नवलपरासीबाटै पक्राउ गर्यो । जेन-जी प्रदर्शनका क्रममा भदौ २४ गते उनी भागे, फेरि गैंडाकोट नै पुगे । २०८२ असोज १९ गते ७९ वर्षीया श्यामकुमारीको घर पुगे । कोठामा आगो लगाई श्यामकुमारीको ज्यानै जानेगरी उनले सुनका ५ तोलाजति गहनासमेत लुटे ।प्रहरीले उक्त घटनाको अनुसन्धान जारी राख्यो तर क्लु भेट्न सकेन ।
हालै मात्र २०८२ चैत २३ गते देवचुली नगरपालिका-१० टाँगीकोटमा ७५ वर्षीय जिउनराम थनेत र ७१ वर्षीया श्रीमती गुलबसिनिया थनेतलाई हतियारले प्रहार गरी सुनका गरगहना लुटपाट भयो । उक्त घटनामा जिउनरामको ज्यान गयो भने गुलबसिनिया भने अहिले पनि उपचारकै क्रममा रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वका डीएसपी अनिल पण्डितले जानकारी दिए ।
उक्त घटनाको अनुसन्धानमा केन्द्रीय अनुसन्धान ब्युरो(सीआईबी), गण्डकी प्रदेश प्रहरी कार्यालय र जिल्ला प्रहरीको टोली अनुसन्धानमा खटियो । अनुसन्धानका क्रममा पछिल्लो हत्या र असोजको हत्या र लुटपाटमा एउटै व्यक्ति संलग्न रहेको संकेत भेटियो ।
अनुसन्धानका क्रममा सञ्जय नै दुवै घटनामा संलग्न रहेको पत्ता लागेको डीएसपी पण्डितले जानकारी दिए । वैशाख १५ गते प्रहरीले सञ्जयलाई काठमाडौंको सुकेधाराबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई सघाएको आरोपमा गैंडाकोट-१८ दमारकी २८ वर्षीया पुष्पादेवी सुर्पाकलाई समेत पक्राउ गरेको छ ।
एसपी युवराज खड्काका अनुसार सञ्जयले ठाउँअनुसार आफ्नो फरक-फरक परिचय दिँदै हिँड्थे । अन्य घटनामा समेत उनी संलग्न भएको आशंकामा अनुसन्धान अघि बढाइएको एसपी खड्काले जानकारी दिए ।
जिल्ला अदालत पूर्वी नवलपरासीले पुर्पक्षका लागि थुनामा राख्ने आदेश दिएपछि सञ्जयलाई कारागार चलान गरिएको छ ।
