१० वर्षसम्म बनेन गडगडीघाटको पुल

गैंडाकोट–डेंढगाउँ रामपुर सडकको गडगडीघाट पुल १० वर्ष पटक–पटक म्याद थप्दा पनि पूरा नगर्ने तीन निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेको छ ।

जेष्ठ ३१, २०८३

नारायण शर्मा

Gadgadighat bridge not built for 10 years

What you should know

नवलपरासी — पूर्वी नवलपरासीको उत्तरी पहाडी भेग र तनहुँको सीमानामा रहेको कालीगण्डकी नदीमा पक्की पुल निर्माण थालेको १० वर्षसम्म काम सम्पन्न नगर्ने तीन वटा ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न कारबाही अघि बढाइएको छ । 

गैंडाकोट हुँदै डेंढगाउँ रामपुर जोड्ने कालीगण्डकी सडकको कोखेस्थित गडगडीघाट भन्ने स्थानमा यो पुल निर्माणाधीन अवस्थामा छ । ठेकेदार कम्पनीले काम थालेको १० वर्षको अबधिमा ६ पटक म्याद थपिसक्दा पनि पुलको कार्यप्रगति ६० प्रतिशत मात्र पुगेको छ । यो पुल हेर्ने जिम्मेवारी रहेको पुल सेक्टर कार्यालय पोखराका इन्जिनियर विदुर सुवेदीले छैटौं पटक थपिएको म्याद समेत सकिएको जानकारी दिए । 'म्याद थप्दा थप्दा हैरान भइसकियो । ठेकेदारले काम गर्दैन,' उनले भने । 

निर्माणमा संलग्न लुम्बिनी, स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीलाई कालोसूचीमा राख्न प्रक्रिया अघि बढाइएको उनले बताए । 

पूर्वी नवलपरासीको उत्तरी पहाडी बुलिङ्टार र तनहुँको रिसिङ गाउँपालिकाको बीचमा रहेको गण्डकी (नारायणी) नदीमा यो पुल निर्माणको कार्य २०७३ असार २९ मा सम्झौता भएको थियो । २६ करोड ८२ लाख ८६ हजारको लागतमा लुम्बिनी, स्वच्छन्द र नागार्जुन निर्माण कम्पनीले संयुक्त काम गर्ने गरी ठेक्का लिएका थिए ।

निर्माण कम्पनीहरुले काम नसक्दै १३ करोडभन्दा बढी रुकम भुक्तानी लगिसकेको इन्जिनियर सुवेदीले बताए। ‘हालसम्म भौतिक प्रगति ६० प्रतिशत र वित्तिय प्रगति ५१ प्रतिशत भएको छ । १३ करोड भुक्तानी लगिसकेको छ । धेरैपटक पत्राचार गरे पनि काम गर्दैनन्,’ सुवेदीले भने । पटक–पटक म्याद थपिने गरेको भए पनि विभिन्न बहाना देखाएर निर्माण कम्पनीले काम नगरेको सुवेदीको भनाइ छ ।

काम थालेको १० वर्षमा पुलका ४ वटा पिल्लर मात्र ठड्याइएको छ । २ सय ९० मिटर लम्बाइ र साढे १० मिटर चौडाइको पुलमा ५ स्पान रहने नक्सांकन रहेको छ । यो पुल निर्माण सम्पन्न गर्न अझै कम्तीमा एक वर्ष म्याद थप्न ठेकेदारहरुले लबिइङ गरिरहेका छन् । ‘हामी पटक–पटक म्याद थप्दा दिक्क भइसकेका छौं, अब म्याद थप्ने होइन, काम नगरेको भनेर कालोसूचीमा राख्ने छौं,’ इन्जिनियर सुवेदीले भने ।

स्थानीय सूर्य कँडेलले ठेकेदारले एक वर्षमा दुई महिना मात्र मुस्किलले काम गर्ने र अरु समयमा पुल निर्माण स्थलमा देखा नपर्ने गरेको सुनाए । महेन्द्रराजमार्गको कावासोती र दल्दले हुँदै तनहुँ र पोखरा जाने सडकमा यो पुल निर्माणाधीन अवस्थामा छ । पुल निर्माण स्थलमा यो नदीलाई गण्डकी नदी भनिन्छ । त्यही नदी तल नारायणगढ तर्फ आएपछि नारायणी नदीको नामले चिनिन्छ ।

३ ठेकेदार कम्पनीलाई कालोसूचीमा राख्न पत्राचार
तीन वटा कम्पनीले संयुक्त रुपमा कामको जिम्मा लिए पनि सम्पन्न नगरेका कारण उनीहरुलाई कालोसूचीमा राख्न एक साताअघि ठेकेदारलाई स्पष्टीकरण सोधिएको इन्जिजियर सुवेदीले जानकारी दिए । पटक पटक लिखित ताकेता गर्दा पनि काम सम्पन्न नगरेका कारण कारबाही अघि बढाउन स्पष्टीकरण सोधिएको उनले जानकारी दिए । 'ठेकेदारलाई किन काम नगरेको भनेर स्पष्टीकरण सोधेको एक हप्ता भयो अब कालोसूचीको प्रकिया अघि बढ्छ,' इन्जिनियर सुवेदीले भने ।                    

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully