जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार बिहान पौने ८ बजे देवघाट जलमापन केन्द्रमा २९३ मिलिलिटर वर्षा भएको छ ।
नवलपरासी — लगातारको वर्षात्का कारण यहाँको नारायणी नदीमा पानीको सतह बढ्दै गएपछि नदी किनारका बासिन्दालाई सर्तकता अपनाउन जिल्ला प्रशासन कार्यालयले उर्दी जारी गरेको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार मंगलबार बिहान पौने ८ बजे देवघाट जलमापन केन्द्रमा २९३ मिलिलिटर वर्षा भएको छ । ‘देवघाटमा अहिले बिहान पौने ८ बजे नारायणी नदीमा पानीको सतह ५ दशमलव ७१ मिटर माथिसम्म पुगेको छ’, जल तथा मौसम विभागको रेकर्डले देखाएको छ ।
त्यसैगरी पूर्वी नवलपरासीको दुम्कीवास क्षेत्रमा २०७ मिलिलिटर वर्षा भएको छ । बाढीका कारण यी सबै मापन यो वर्षको सबै भन्दा धेरै हो ।
नारायणी नदीमा पानीको बहाब बढ्दै गएपछि नदी आसपासको क्षेत्रमा सर्तकता अपनाउन स्थानीय बासिन्दालाई जिल्ला प्रशासन कार्यलयले उर्दी जारी गरेको छ । नारायणी नदीको गैंडाकोटदेखि त्रिवेणीधामसम्मको करिब ६० किलोमिटर क्षेत्रमा नारायणी नदी किनारका बस्तीमा सर्तकता अपनाउन पर्ने अवस्था छ ।
गैंडाकोट, देवचुली, कावासोती र बिनयी त्रिवेणी गाउँपालिका क्षेत्रमा नदीको बहाब बढ्दो क्रममा रहेको छ । चितवन र नवलपरासीका अधिकांश क्षेत्रमा मंगलबार बिहान वर्षा रोकिएको छ ।
