पाल्हीनन्दन गाउँपालिकाकी उपाध्यक्ष अन्सारी पदमुक्त

गत चुनावमा रास्वपालाई सघाएपछि उनलाई पदमुक्त गर्न निर्वाचन आयोगलाई कांग्रेसले पत्राचार गरेको थियो

असार ९, २०८३

नारायण शर्मा

Palhinandan Rural Municipality Vice President Ansari resigns

What you should know

नवलपरासी — पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिका उपाध्यक्ष पद रिक्त भएको छ । निर्वाचन आयोगले मंगलबार गोरखापत्रमा सूचना निकालेर उपाध्यक्ष फातुमा खातुन अन्सारी पदमुक्त भएको जानकारी दिएको हो । 

आयोगले राजनीतिक दलसम्बन्धी कानुन तथा नियमावलीअनुसार अन्सारी निर्वाचित दलवाट प्राप्त  निर्णयका आधारमा निर्वाचित गाउँपालिकाको उपाध्यक्ष पद स्वतः रिक्त भएको जनाएको हो ।

अन्सारी २०७९ सालको स्थानीय निर्वाचनमा कांग्रेसबाट निर्वाचित भएकी थिइन् । गत प्रतिनिधिसभा निर्वाचनमा उनले कांग्रेसका उम्मेदवारलाई हराउनका लागि रास्वपाका उम्मेदवारलाई भोट मागेको भनेर कांग्रेस पार्टीको जिल्ला अनुशासन समितिले कारबाहीका लागि निर्वाचन आयोगमा सिफारिस गरिदिन कांग्रेस केन्द्रमा पत्र पठाएको थियो । केन्द्रको निर्णयअनुसार आयोगले उनको पद रिक्त भएको मंगलबार प्रशासन गरेको गोरखापत्रको सूचनामा उल्लेख गरेको छ ।

कुनै पनि दलबाट निर्वाचित जनप्रतिनिधि अन्य दलमा प्रवेश गरेकोबारे सम्बन्धित दलको केन्द्रीय समितिले निर्णय गरी पठाएपछि उनीहरूको पद रिक्त हुने कानुनी व्यवस्था छ ।

यसैबीच फातुमासहित नवलपरासीबाट ४३ जना नेता–कार्यकर्तालाई कारबाहीका लागि केन्द्रमा सिफारिस गरिएको थियो । उनीहरूमध्ये ६ जना निर्वाचित जनप्रतिनिधि रहेका छन् ।

कारबाहीका लागि सिफारिस गरिएका अन्य जनप्रतिनिधिमा लुम्बिनी प्रदेशमा हाल वन तथा वातावरण मन्त्री रहेका देवकरण कलवार, सुस्ता गाउँपालिकाकी उपाध्यक्ष गीता चौधरी, बर्दघाट नगरपालिका–१० का वडाध्यक्ष राजु मिश्र, वडा नम्बर ९ का वडा सदस्य बालिन्द्र विक्रम शाही र सुनवल नगरपालिका–२ का वडा सदस्य विकास क्षेत्री रहेका छन् । 

कांग्रेसका जिल्ला सचिव उमेशचन्द्र यादवका अनुसार कारबाहीका लागि सिफारिस भएका ती सबै जनप्रतिनिधिले खुलेर राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारलाई मत मागेको आरोप छ ।  पश्चिम नवलपरासीको क्षेत्र नम्बर १ र २ वाट कांग्रेसका पूर्वनेताहरू क्रमश: विक्रम खनाल र नरेन्द्र गुप्ता प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन् । 

Palhinandan Rural Municipality Vice President Ansari resigns

नारायण शर्मा कान्तिपुरका नवलपरासी संवाददाता हुन् । उनले राजनीति, सामाजिक र आर्थिक विषयमा रिपोर्टिङ गर्छन् ।

Link copied successfully