बाजुरा : कोदो–मकै निकासी,चामल हारालुछ
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
बाजुरा — बाहिरबाट व्यापारी गाउँगाउँ पुग्न थालेपछि बाजुराका दुर्गम बस्तीमा उत्पादन भएको कोदो, मकैलगायत रैथाने बाली सहर पुग्न थालेको छ । अर्कोतिर तराई क्षेत्रबाट आयात हुने चामलका लागि भने जिल्लामा हारालुछ ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/reward-900x100-pxl-2462024072414.gif)
![बाजुरा : कोदो–मकै निकासी,चामल हारालुछ](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/food-bajura-22-2722024023125-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/sathi-deposit-900-100-1262024124333.gif)
कृषि ज्ञान केन्द्रकाअनुसार चालु आर्थिक वर्षमा मात्रै ६६ लाख रुपैयाँको २२ सय क्विन्टल कोदो निकासी भएको छ । तर, सदरमुकाम मार्तडीमा आइतबार खाद्य व्यवस्था तथा व्यापार कम्पनीको चामल स्थानीय बीच हारालुछ भयो ।
बाजुराका ग्रामीण क्षेत्रबाट यसपाली कोदो प्रतिक्विन्टल तीन हजार रुपैयाँका दरले बिक्री भएको छ । फुटकर ४० रुपैयाँ प्रतिकिलोसम्म परेको छ । ज्ञान केन्द्र प्रमुख मीनप्रसाद जैशी भन्छन्, ‘यस वर्ष बाजुराबाट ६६ लाखको कोदो बिक्रि भएर भारतमा समेत निकासी भएको तथ्यांक छ । अर्कोतिर ठीक विपरीत चामल किन्न भने हानथाप हुन्छ ।’
धान खेतीको क्षेत्र न्यून रहेको बाजुराका बासिन्दा तराई क्षेत्रबाट आयात हुने चामलमा निर्भर हुन्छन् । सदरमुकाम मार्तडीस्थित नेपाल खाद्य तथा व्यापार कम्पनीको गोदाममा आइतबार दिनभर चामल किन्न आएका सर्वसाधारणबीच चामलका लागि तछाडमछाड चल्यो । अत्यधिक भीँड भएपछि सुरक्षाकर्मी लगाएर घुँइचो व्यवस्थापन गर्नु परेको थियो ।
लामो समयपछि सिमित परिमाणमा मोटा चामल बिक्री वितरण गरेको कम्पनीले माग धान्न नसकेपछि प्रतिव्यक्ति बढीमा २५ किलो मात्र किन्न पाउने नियम लगाउनु परेको थियो । ‘भीड नियन्त्रण गर्नै नसकिने अवस्था भए पनि प्रहरी परिचालन गर्नुपर्यो,’ कम्पनीको बाजुरा शाखा प्रमुख उमेश भण्डारीले भने ‘सुरक्षाकर्मी परिचालन भएपछि अलि सहज भयो ।’
पछिल्ला वर्षमा बाजुरामा ग्रामीण क्षेत्रका बासिन्दाको खानपान शैली परिवर्तन हुँदा रैथाने बाली उत्पादन र उपभोगको शैलीमा पनि परिवर्तन आएको स्थानीय बताउँछन् । ‘रैथाने बालीको उत्पादनको उपभोगभन्दा भात खाने चलन बढ्यो । त्यसैले जिल्लामा उत्पादन भएको कोदो, मकै, सिमी, फापर, भटमास, आलु, स्याउ, बन्दा गोभी निकासी भयो,’ ज्ञान केन्द्रका प्रमुख जैशी भन्छन्, ‘यस वर्ष बाजुराबाट दुई करोड तीन लाख रुपैयाँ बढीको खाद्यान्नलगायत कृषि उत्पादन बाहिर जिल्लाबाहिर निकासी भयो ।’
जिल्लाको रैथाने उत्पादन बाहिर पठाएर चामलका लागि हानाथाप हुनु विडम्बना भएको उनले बताए ।ज्ञान केन्द्रका अनुसार चालु आर्थिक वर्षमा ६६ लाख बराबरको दुई हजार दुई सय क्विन्टल कोदो, १५ लाखको पाँच सय क्विन्टल मकै, ३७ लाख बराबरको २ सय ५० क्विन्टल सिमी, १० लाख बराबरको एक सय क्विन्टल फापर, चिनो र कागुनो, २० लाख बराबरको दुई सय क्वीन्टल भटमास जिल्लाबाट निकासी भएको छ ।
यस्तै, २० लाख बराबरको दुई सय क्विन्टल स्याउ, ३० लाख बराबरको एक हजार क्विन्टल आलु र पाँच लाख मूल्य बराबरको २ हजार क्विन्टल बढी परिमाणमा बन्दागोभी जिल्ला बाहिर बिक्री भएको छ । सयुक्त राष्ट्रसंघले सन् २०२३ लाई ‘कोदोजन्य बाली वर्ष’ का रुपमा मनाएकोले पनि बाजुरामा उत्पादित कोदोको बजारीकरणका लागि अवसर भएको केन्द्र प्रमुख जैशी बताउँछन् ।
‘विगतदेखि नै बाजुरामा कोदो उत्पादन हुन्थ्यो नै । यसपाली बजारीकरण भयो,’ केन्द्र प्रमुख जैशीले भने ‘पहिलो पटक गाउँगाउँमा भारतीय व्यापारी पुगे । गाउँसम्म विस्तार भएका सडक सञ्जालले पनि खरिदकर्ता पुग्दा गाउँको कोदो सहर पुग्यो ।’
पछिल्ला वर्षमा भात खाने संस्कृतिको विकास भएर रैथाने बाली उत्पादनमा र्हास आएको ज्ञान केन्द्रका कर्मचारीहरु बताउँछन् । एक कर्मचारी भन्छन् ‘भात खानु सम्मानित जीवन मानिनुका साथै नखानु गरिब भएको मानिने जस्तो भाष्य स्थापित भएकाले रैथाने बाली उत्पादनको क्षेत्रफल घट्दै गएको छ । धेरैजसो जग्गा बाँझै देखिन्छ ।’
खाद्यान्न रुपमा चामल दिने चलनले भाते बानी बनाएको रैथान बाली उत्पादन तथा प्रबर्द्धनमा एक दशकदेखि कार्यरत टेकेन्द्रबहादुर सिंह बताउँछन् । ‘पहिला पहिला स्थानीय उत्पादन उपभोग गर्ने चलन थियो । आलु, मकै, कोदो सिमिलगायत खाने चलन थियो । अहिले त भाते भयौं,’ सिंहले भने, ‘मकै खाने त चलन नै लोप हुने जस्तो भयो । खच्चड र बाख्राको दानका रुपमा मात्र मकै बिक्री हुन्छ । जौको परिकार पनि खाने चलन हटिसकेको छ ।’
उनको भनाईमा सहरमा परम्परागत खाद्यान्नको उपभोग र माग बढ्दो छ तर गाउँमा भातको चलन बिस्तार हुनुले धान खेती न्यून हुने जिल्लाका लागि खाद्यान्न जोखिमको स्तर बढ्नु हो ।
अर्कोतिर बाजुरामा धान खेतीको क्षेत्रफल नै न्यून छ । ज्ञान केन्द्रका अनुसार वार्षिक सरदर ६० हजार क्विन्टल चामल बाजुरामा बाहिरबाट आयात हुन्छ । त्यो मध्ये झण्डै २० हजार क्विन्टल खाद्य कम्पनीले बिक्रि गर्छ भने नीजि क्षेत्रबाट ४० हजार क्विन्टल बिक्री हुन्छ । बाजुरामा सदरमुकाम मार्तडीलगायत कोल्टी क्षेत्रमा खाद्यान्न अभाव हुन्छ । यी क्षेत्रका बासिन्दा खाद्य कम्पनी र बजारको चामलमै निर्भर रहन्छन् । अत्यधिक माग भए पनि कम्पनीले भने माग अनुसार आपूर्ति गर्न सकेको छैन ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)