महिलाको आत्मविश्वास बढाउन अग्रसर- नारी नेपाली - कान्तिपुर समाचार
नारी नेतृत्व

महिलाको आत्मविश्वास बढाउन अग्रसर

लुम्बिनी प्रदेशकै एक मात्र गाउँपालिका महिला अध्यक्ष हुन् सरस्वती, जोसँग आफ्नै मौलिक योजना र कार्यक्रम छन्, अघिल्लो निर्वाचनमा उपाध्यक्ष हुँदाको अनुभवलाई उनी यसपाला प्रमुखको हैसियतले कार्यान्वयनमा उपयोग गरिरहेकी छन्
स्थानीय तहका आ–आफ्नै विकासका मौलिक मोडल हुन्छन् भन्नेबारे सचेत सरस्वतीले वन्यजन्तुको हैरानी खेपेका जनतालाई बाँदर नियन्त्रणको योजना तय गर्दै छिन् 
माधव अर्याल

माघको अन्तिम साता बगनासकाली गाउँपालिकाका सबैजसो कर्मचारी र गाउँपालिका प्रमुख सरस्वती चिदी दर्लामीलाई भ्याइनभ्याई थियो । गाउँपालिकाले प्रत्येक दिन नौवटै वडामा घुम्ती शिविर चलाएको थियो । तीनदेखि चार महिनाको अन्तरालमा प्रत्येक वडामा गरिने यस्तो शिविरमा गाउँलेकै माझमा पालिकाले लागू गर्ने योजनाहरूको सम्झौता पनि हुन्छ ।

सामाजिक सुरक्षाका भत्ता र परिचयपत्र वितरणदेखि योजनाको फरफारक र सेवा प्रवाहबारे जनताको गुनासो सुन्ने काम पनि यही शिविरमा हुन्छ ।

‘निर्वाचित भएको सात महिनामा ठूला योजनाका काम अघि नबढे पनि जनतासँग सोझो सम्पर्कमा भने बस्न छाडेकी छैनं,’ सरस्वती भन्छिन्, ‘यसबाट गाउँपालिका जनताको सुख–दुःखमा चासो राख्छ भन्ने अनुभूति गराउन सजिलो हुनेरहेछ ।’

लुम्बिनी प्रदेशकै एक मात्र गाउँपालिका अध्यक्ष महिला हुन् सरस्वती जसका माथि भनिएजस्तै आफ्नै मौलिक योजना र कार्यक्रमहरू छन् । अघिल्लो निर्वाचनमा उपाध्यक्ष हुँदाको अनुभवलाई उनी यसपाला प्रमुखको हैसियतले कार्यान्वयनमा उपयोग गरिरहेकी छन् । उपाध्यक्ष भएका बेला सुरु गरेका कैयन् अपुरा काम अल्पकालीन र दीर्घकालीन योजना बनाएर पूरा गर्ने उनको योजना छ ।

पूर्वाधार निर्माण, शिक्षा, स्वास्थ्य, खानेपानी, लैंगिक समानताका साथै आदिवासी जनजाति, दलित र पछाडि परेका वर्गका लागि सामाजिक न्यायका कार्यक्रम उनको प्राथमिकतामा छन् ।

पछिल्लो समयमा कमजोर देखिएको सुशासन र पारदर्शिता वृद्धिका लागि पनि उनी लागिपरेकी छन् । भन्छिन्, ‘त्यसका लागि कार्यपालिकाबाट पनि सहयोग राम्रो मिलेको छ ।’

आर्थिक अनियमितता हुनै नदिई सुशासनयुक्त गाउँपालिका बनाउने प्रतिबद्धता उनको छ । भौतिक पूर्वाधारका साथै कृषि, शिक्षा तथा पर्यटन प्रवर्द्धनका अलावा स्वास्थ्य संस्थाहरूको स्तरोन्नति र प्राविधिक शिक्षामा जोड दिने उनको नीति छ ।

हरेक स्थानीय तहका आ–आफ्नै विकासका मौलिक मोडलहरू हुन्छन् भन्नेबारे सचेत उनले वन्यजन्तुको हैरानी खेपेका जनतालाई बाँदर नियन्त्रणको योजना तय गर्दै छिन् ।

गाउँपालिकाका नौवटै वडामा खानेपानीको समस्या छ । त्यसैले उनले ‘एक घर एक धारा’ कार्यक्रम अघि बढाएकी छन् । यसका लागि प्रदेश सरकारको समपूरक योजनाका साथै संघीय सरकारको विशेष अनुदानबाट सबै वडा समेटेर काममा अघि बढेकी छन् उनी ।

क्षमता भए पनि महिलाहरू पछाडि पारिएका छन् भन्ने उनको निचोड अनुभवजन्य निचोड छ । त्यसैले उनको आफ्नो कार्यकालमा महिलालाई नेतृत्व लिन सक्ने र स्वरोजगार बनाउने खालका कार्यक्रम प्राथमिकतामा राखेकी छन् । भन्छिन्, ‘महिलालाई सीपमूलक तथा उनीहरूको क्षमता विकास गर्ने खालका कार्यक्रममा जोड दिएकी छु, ।’

उपाध्यक्ष भएर काम गर्दा उनले सबै वडामा समन्वय समिति, पालिकास्तरीय महिला सञ्जाल र महिला सशक्तीकरणका लागि विभिन्न तालिम सञ्चालन गरेकी थिइन् । गाउँ तहमा कैयन् महिलाहरू घर व्यवहार धानेर पनि नेतृत्वका निम्ति अग्रसर रहेको उनले देखेकी छन् । तर ती महिलालाई नेतृत्वतहमा पुग्न भने त्यति सजिलो छैन भन्ने पनि उनले बुझेकी छन् ।

‘पितृसत्तात्मक सोचले अझै पनि समाज उठ्न सकिरहेको छैन,’ उनको ठम्याइ छ, ‘भरसक नेतृत्व तहमा पुरुष नै हुनुपर्छ भन्ने मनसाय अधिकांशमा देखिन्छ ।’

गाउँपालिकाको नेतृत्वमा महिला हुंँदा समग्र महिलाको आत्मविश्वासमा फरक पर्ने अनुभव उनको छ । आफूसँग महिलाहरूले खुलेर कुरा राख्ने गरेको देख्दा उनलाई खुसी लाग्छ । भन्छिन्, ‘एक महिला नेतृत्वमा पुगे त्यसले हजार महिलामा आत्मविश्वास भर्दो रहेछ, आफ्ना समस्या समाधान हुने परिस्थिति बन्यो भन्ने भरोसा पनि दिँदो रहेछ ।’

अर्घाखाँचीको पाणिनिस्थित सामान्य कृषक परिवारमा जन्मेकी सरस्वती संघर्षको लामो बाटो हिँडेर स्थानीय सरकारको नेतृत्व सम्हाल्न आइपुगेकी हुन् । परिवारका सबै सदस्य नेपाली कांग्रेसमा आबद्ध थिए । उनी भने वामपन्थी राजनीतितिर आकर्षित हुन पुगिन् । परिणामतः तीन पटकसम्म कांग्रेसबाट निर्विरोध वडाध्यक्ष बनेका उनका दाइसँग उनको सम्बन्ध नै चिसो हुन पुग्यो ।

‘अवस्था कस्तो छ भने’ सरस्वतीले सुस्केरा हालिन्, ‘दाइले मलाई गाउँपालिका अध्यक्ष भइसक्दासमेत बधाई दिनुभएको छैन ।’पाँच दिदीबहिनी र दुई दाजुभाइकी काहिँली छोरी सरस्वती क्याम्पस जीवनमा अखिलको कार्यक्रममा सहभागी हुन्थिन् । २०५९ सालमा विवाह भई पाल्पा आएपछि उनी एमालेसम्बद्ध सक्रिय राजनीतिमा लागिन् ।

स्वयंसेवकदेखि विद्यालय व्यवस्थापन समिति, वडा नागरिक मञ्चको संयोजक, महिला समन्वय समीतिजस्ता संस्थासँग जोडिएर उनी सामाजिक गतिविधिमा सक्रिय भइन् । पटकपटक एमालेबाटै वडाध्यक्षमा उठेका माहिलो ससुराका कारण पनि उनलाई राजनीतिमा अघि बढ्न सहज भयो । २०६२ सालमा तत्कालीन जिल्ला विकास समितिबाट सहयोग रकम लिएर जिल्लामै महिलाको पहिलो उपभोक्ता समिति गठन गरेर उनी सडक निर्माणमा सक्रिय हुन पुगिन् । त्यतिबेला नै उनले अनुभव गरिन्, महिलालाई अघि बढ्न छेक्ने धेरै तगाराहरू छन् ।

२०७४ वैशाखमा पार्टी सदस्यता लिएकी उनी अखिल नेपाल महिला संघमा आबद्ध हुँदै अघि बढिन् । परिवारका केही सदस्यदेखि समाजकै एउटा तप्काको असहयोगका बावजुद २०७४ मा उनी उपाध्यक्ष निर्वाचित हुन पुगिन् ।

उमेरले ४१ लागेकी दर्लामीका १२ कक्षामा पढ्ने छोरा र ९ कक्षामा पढ्ने छोरी छन् । घरपरिवार र छोराछोरीको चित्त बुझाएर ६ वर्षदेखि जनप्रतिनिधिका रूपमा खटिँदा उनलाई छुट्टै आनन्द महसुस भएको छ । ‘मान्छे जे काम गर्छ त्यसमा दत्तचित्त भएर लाग्नुपर्छ भन्ने सिकेकी छु,’ उनको सफलताको रहस्य छ, ‘अहिले जसरी काम गरेकी छु त्यसलाई कमी हुन दिन्न र अझ राम्रो गर्ने प्रयास गर्नेछु ।’

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१७
प्रतिक्रिया
पठाउनुहोस्

‘अध्यक्षसँग दिदीबहिनी’

महिलाहरुसँग संवाद र छलफल बढाउन सजिलो होस् भनेर हीरादेवी शर्माले ‘अध्यक्षसँग दिदीबहिनी’ कार्यक्रम राखेकी छन्, पालिकाभित्रका गृहिणीलाई सक्षम बनाउन शिक्षक सेवा र लोक सेवा आयोगका परीक्षाको तयारी कक्षा चलाएकी छन्
कर्मचारी र ठेकेदारको मिलेमतोकै कारण लाखौं रुपैयाँ उठ्ने नदीजन्य पदार्थबाट पालिकाले फाइदा लिन नसकेको गुनासो
अगन्धर तिवारी

करिब २९ वर्ष शिक्षण पेसामा बिताएकी हीरादेवी शर्मा पर्वतको मोदी गाउँपालिकाकी अध्यक्ष छिन् । आफू शिक्षण पेसामा छँदा देखाएको मिहिनेत र लगनको सम्मान विद्यार्थी, अभिभावक र स्थानीयले मतदानमार्फत गरेको एमालेबाट उम्मेदवार बनेर विजयी भएकी शर्माको अनुभव छ । 

पालिकाको नेतृत्व सम्हाल्ने अवसर आएपछि उनलाई बेलाबखत सामाजिक व्यवहारले खिन्न बनाउँछन् । विभिन्न कार्यक्रममा पालिका बाहिर वा जिल्ला बाहिर जाँदा उनलाई धेरैजसोले एउटै कुरा सोध्छन्, ‘तपाईं कुन पालिकाको उपाध्यक्ष नि ?’ यस्ता प्रश्न सुनेपछि उनी हाँस्दै आफ्नो परिचय दिन्छिन् र भन्छिन्, ‘महिला प्रमुख हुनै मिल्दैन र ?’

यस्ता व्यवहारको साक्षी बन्दा उनलाई लाग्छ, आम समुदायमा अझै पनि महिला नेतृत्वमा पुग्न सक्षम छन् भन्ने मानसिकताको विकास भएको छैन ।मोदी गाउँपालिका–७ (तत्कालीन राम्जादेउराली गाविस) मा ०२७ सालमा जन्मेकी उनी परिवारको छैटौं सन्तान थिइन् । भारतीय सेनामा भर्ती भएका बाबु बलभद्रले दोस्रो विश्वयुद्धका कारण सेनाको जागिर छाडे पनि भारतकै प्रतिष्ठित चिया कम्पनीमा काम गरेकाले हीरादेवीले अभावको बाल्यकाल बिताउनुपरेन । ०३९ सालमा कक्षा ७ मा पढ्दा अखिल पाँचौंको सदस्यता लिएकी शर्माले ०४३ सालमा कक्षा १० मा पढ्दा अखिल नेपाल महिला संघको सदस्यता लिइन् ।

०४५ सालमा शिक्षण पेसामा लागेपछि उनलाई शिक्षणसँगै राजनीतिमा लाग्न थप समय मिल्यो । शिक्षण पेसामा रहँदा अखिल नेपाल शिक्षक संघमा रहेर काम गरिन् । यति बेला उनको राजनीतिक यात्रा थप गतिशील बन्यो । अखिल नेपाल शिक्षक संगठनको जिल्ला उपाध्यक्ष र शिक्षकको छाता संगठन (नेपाल शिक्षक संघ) को जिल्ला अध्यक्षसम्म भएकी उनले एमालेको क्रियाशील सदस्यता भने ०४७ मै लिएकी थिइन् ।

०४३ सालमा एसएलसी सकेपछि उनी नर्सिङ पढ्न पोखरा पुगिन् । तर त्यही बेला उनको बिहे भएपछि पढाइ अघि बढेन । त्यही वर्ष उनी दुर्लुङको जनश्रम प्राविमा अस्थायी शिक्षकका रूपमा नियुक्त भइन् । ०४८ सालमा भने उनको जागिर स्थायी भयो । जागिरे जीवन र परिवारको व्यवस्थापनसँगै उनले नेपाली विषयमा स्नातकसम्मको पढाइ सकिन् । ०७४ को स्थानीय तहको निर्वाचनताका २९ वर्ष सेवा अवधिसहित अवकाश लिएकी उनी गत निर्वाचनमा मोदी गाउँपालिको नेतृत्व सम्हाल्ने ठाउँमा आइपुगिन् ।

स्थानीय तहको नेतृत्व सम्हालेपछि भने उनलाई कहिलेकाहीँ पुरुषमैत्री समाजको ऐना झल्किएको महसुस हुन्छ । ‘अलिकति चलखेल हुन्छ नै । आफू नै हाइलाइट हुनुपर्छ भन्ने मानसिकता पुरुषमा हुन्छ,’ उनले भनिन्, ‘यस्तो प्रवृत्तिविरुद्ध लडिराख्नुपर्छ ।’ महिलाको हातमा स्थानीय तहको नेतृत्व हुँदा त्यसको सोझो असर सुशासनमा पर्छ भन्ने उनलाई लाग्छ । महिला प्रमुख भएकै कारण ठेकेदार, कर्मचारी, उपभोक्ता समितिलगायतले आफ्नो स्वार्थ भजाउन नसकेको उनको अनुभव छ । ‘पुरुष भएको भए साँझबिहान खानेपिउने हुन्थ्यो । त्यही बेलामा केके कुरामा डिल हुन्थ्यो होला । म महिला भएकाले बस्नेखाने, भएन । त्यही भएर होला, कहिलेकाहीँ अपेक्षाअनुसार काम हुन सकेको छैन ।’

स्थानीय तहको नेतृत्वमा महिला आउँदा त्यसबाट महिला धेरै लाभान्वित हुने उनले बताइन् । आफू नेतृत्वमा आएपछि अधिक महिला खुसी भएको र उनीहरूको आत्मबल बढेको उनको दाबी छ । यसअघि पुरुष प्रमुखसँग खुलेर कुरा गर्न नसक्ने महिलाले अहिले आफूसँग सुखदुःख साटिरहेको उनको भनाइ छ ।

महिलाहरूसँग संवाद र छलफल बढाउन सजिलो होस् भनेर उनले ‘अध्यक्षसँग दिदीबहिनी’ कार्यक्रम राखेकी छन् । पालिकाभित्रका गृहिणीलाई सक्षम बनाउन शिक्षक सेवा आयोग, लोक सेवा आयोगका परीक्षाको तयारी कक्षा सञ्चालन गरेकी छन् । घरमै बसेर पनि महिलाले लोक सेवा र शिक्षक सेवा आयोगको तयारी गर्न सकून् भनेर यस्ता कक्षा सञ्चालन गरिएको उनले जनाइन् ।

शिक्षण पेसाबाटै आएका कारण सामुदायिक विद्यालयको शैक्षिक सुधारका लागि शिक्षकको मागका आधारमा क्षमता विकास र विषयगत तालिम, शिक्षकहरूलाई शैक्षिक अवलोकन भ्रमण, शैक्षिक सामग्री उपलब्ध गराउनेलगायतका काम उनको नेतृत्वमा भइरहेका छन् । ‘अध्यक्षसँग सुत्केरी कार्यक्रम’ मार्फत नियमित जाँच गराएर त्यहीँ सुत्केरी गराउनेलाई पालिकाले २५ सय रुपैयाँ प्रदान गर्न थालेको छ । उनले नेतृत्व सम्हालेपछि पालिकाले ४० वर्षभन्दा माथिका महिलाको पाठेघरको स्क्रिनिङ कार्यक्रम सुरु गरेको छ ।

कार्यकाल सम्हालेको यतिका महिनामा उनले केही अनुभव बटुलेकी छन् । विद्यमान कर्मचारीतन्त्रका कारण हरेक क्षेत्रको अपेक्षित विकास हुन नसकेको तीतो यथार्थ आफूले भोगेको उनको भनाइ छ । ‘म शिक्षण पेसाबाट आएकाले होला, एक/दुई रुपैयाँ पनि एक्स्ट्रा खानुहुँदैन भन्ने मानसिकता छ । तर यता त्यस्तो हुँदो रहेनछ । कुनै कार्यक्रमलाई तीन लाख छुट्टिएको छ भने हामीले एक लाख जोगाएर काम गरौं न भन्ने हुन्छ । तर कर्मचारीमा त्यस्तो नहुँदो रहेछ । बिल मिलाइवरी सबै खर्च गर्नैपर्ने । त्यसले त कसरी विकास हुन्छ र ?’

कर्मचारी र ठेकेदारहरूको मिलेमतोकै कारण लाखौं रुपैयाँ उठ्ने नदीजन्य पदार्थबाट पालिकाले फाइदा लिन नसकेको उनको गुनासो छ । ‘कैयौं पटक हामीले दोहन भयो भनेर पुलिसलाई खबर गर्‍यौं । प्रहरी र ठेकेदारबीच सेटिङ हुँदो रहेछ कि कसो हो, त्यहाँ पुगेर पनि पुलिस कसैलाई देखिएन भन्दै फर्किन्छन्,’ उनले भनिन्, ‘ठेक्का लगाउँदा कसैले नहाल्ने, नदीमा ढुंगागिट्टी पनि नरहने । यसले त पालिकालाई ठूलो नोक्सान भएको छ ।’

आफू महिला भएकै कारण अरूले भन्दा फरक र उदाहरणीय काम गर्ने हुटहुटी भए पनि नियमित कामकाजकै कारण विशेष योजनाहरूतिर सोच्नै नपाएको उनले बताइन् ।

कान्तिपुर ३० औं वार्षिकोत्सव विशेषांक 'नारी नेतृत्व'का सम्पूर्ण सामग्री :

प्रकाशित : फाल्गुन ७, २०७९ ०७:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×