१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६५

ऋण लिएपछि ऋण तिर्नुपर्छ : सीईओ मण्डल

काठमाडौँ — लघुवित्तले ग्रामिण भेगमा रहेका गरिब महिलालाई स्वरोजगार हुन सहयोग पुर्‍याएको जिवन विकास लघुवित्तका सीईओ सञ्जय मण्डलले बताएका छन् ।

ऋण लिएपछि ऋण तिर्नुपर्छ : सीईओ मण्डल

कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकले बुधबार विराटनगरमा आयोजना गरेको निर्भीक नारी कार्यक्रमको चौथो सत्र 'लघुवित्तले उद्यमी बनायो, ऋण तिर्न नसक्दा समस्या निम्त्यायो'मा बोल्दै उनले देशभरका लघुवित्तमा ९० प्रतिशत भन्दा बढी महिलाको सहभागिता रहेको दाबी गरे ।

लघुवित्तले महिलाहरूलाई पहिला सीपमुलक तालिम दिएर अनि मात्रै लगानी गर्ने गरेकोमा सामाजिक संस्थाबाट वित्तिय संस्थामा रुपान्तरित भएपछि धेरै समस्या सिर्जना भएको उनले बताए । 'एनजीओबाट 'घ' वर्गको वित्तिय संस्थामा रुपान्तरित भएपछि यसमा धेरै वेथिति आएको हो,' उनले भने, 'सामाजिक संस्थाबाटबाट वित्तिय संस्थामा परिवर्तन भएपछि बैंकहरूले नै लघुवित्तमा लागनी गरेर नाफा कमाउन सकिन्छ कि भनेर आए । त्यसले गर्दा पनि धेरै समस्या भएको हो ।'

उनका अनुसार क्षमताभन्दा बढी ऋण लिएकाहरूलाई लघुवित्तको ऋण समस्या बनेको छ । 'बिना धितो ऋण पाइयो भनेर आफूले तिर्न सक्ने भन्दा बढी ऋण लिए । अहिले तिर्नुपर्ने बेला भएपछि मिनाहको कुरा उठाइएको छ,' उनले भने, 'जसले लघुवित्तको ऋणका बारेमा बुझेर लिएका छन् उनीहरूलाई केही समस्या नै छैन ।' उनले सरकारले ऋण मिनाहका बारेमा यथासक्य चाँडो आफ्नो धारणा सार्वजनिक गर्नुपर्नेमा जोड दिए ।

'ऋण लिएपछि ऋण तिर्नुपर्छ । लघुवित्तले ऋण दिएको पैसा व्यक्तिकै हो । त्यसैले संस्थाले यसलाई मिनाह गर्न सक्दैन,' उनले भने, 'त्यसैले कुनैपनि संस्थाले ऋण मिनाह गर्ने कुरै आउँदैन त्यो सम्भव पनि छैन । सरकारका अर्थमन्त्रीले नै ऋण मिनाह गर्न सकिँदैन भनिसक्नुभएको छ । त्यसैले ऋण नतिर्ने अभियानमा लाग्नु आफैंमा गलत हो । जसले क्षमता भएर पनि अहिले माफी हुन्छ भन्ने भ्रममा परेर ऋण तिरेको छैन उसलाई भविष्यमा ठूलो समस्या पर्नेवाला छ ।'

उनले हालका दिनमा ऋण नतिर्नका लागि गरिएको आन्दोलनले लघुवित्तलाई मात्रै नभएर भविष्यमा समाजलाई नै असर पर्ने दाबी पनि गरे ।

प्रकाशित : फाल्गुन २३, २०८० १९:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?