महिलाहरु आफ्ना समस्या भन्न हिचकिचाउँछन् : स्वास्थ्य स्वयंसेविका कौसर

फाल्गुन २३, २०८०

कान्तिपुर संवाददाता

Women hesitate to share their problems: Health volunteer Kausar

काठमाडौँ — स्वास्थ्य स्वयंसेविका केहकशा कौसरले अझै पनि महिलाहरु आफ्ना समस्या भन्न हिचकिचाउँने गरेको बताइन् । कान्तिपुर पब्लिकेसन्स्‌को सहप्रकाशन नारी मासिकले बुधबार विराटनगरमा आयोजना गरेको निर्भीक नारी कार्यक्रमको तेस्रो सत्र ‘स्वस्थ महिलाः स्वस्थ मुलुक’ मा उनले यस्तो बताएकी हुन् ।

‘गाउँ–समुदायमा हिँड्दै गर्दा, सोध्दै गर्दा महिलाहरु आफ्नो समस्या राख्न हिचकिचाउँछन्,’ उनले भनिन्, ‘कुरा गर्दै गर्दा घरपरिवारका कुन सदस्य उभिएका छन् जस्ता धेरै कुरा सोच्न थाल्छन्,’ उनले भनिन्, ‘उहाँहरुको हाउभाउ बुझेपछि हामी अर्को पटक फेरि जान्छौं । आफ्नो समस्या भन्न लगाउन पनि धेरै दबाब दिनु पर्छ ।’

सेतो पानी बग्ने, पाठेघर चिलाउनेलगायत संक्रमण रोगलाई महिलाहरु साधारण समस्या भनेर बस्ने गरेको पाइएको उनले सुनाइन् । ‘हामीसँग राम्रोसँग घुलमिल भएपछि मात्रै आफ्ना समस्याहरु बोल्न थाल्नुहुन्छ,’ उनले भनिन्, ‘हामीले अस्पताल जानुपर्छ । डाक्टरकोमा देखाउनु पर्छ भनेपछि मात्रै बल्ल उहाँहरु जानु हुन्छ ।’

‘महिलामा लगानी गरौं, प्रगतिको गति बढाऔं’ नारासहित नारी मासिकले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्थानीय आवाज उजागर गर्न यस पटक कोशी प्रदेशमा कार्यक्रम आयोजना गरेको हो ।

कान्तिपुर

Link copied successfully