पाठेघर र स्तनकाे ट्युमर बढ्दो छ : स्त्रीरोग विशेषज्ञ डा. शाह

फाल्गुन २३, २०८०

कान्तिपुर संवाददाता

Uterine and breast tumors are increasing: Gynecologist Dr. Shah

काठमाडौँ — प्रसूति तथा स्त्री रोग विशेषज्ञ डा. बालकृष्ण शाहले पछिल्लो समय महिलाहरुमा पाठेघर र स्तन ट्युमरकाे केस बढीरहेको बताएका छन् । कान्तिपुर पब्लिकेसन्स्‌को सहप्रकाशन नारी मासिकले बुधबार विराटनगरमा आयोजना गरेको निर्भीक नारी कार्यक्रमको तेस्रो सत्र ‘स्वस्थ महिलाः स्वस्थ मुलुक’ मा नेपालमा मात्र नभएर विश्वमै पाठेघर र स्तन ट्युमरकाे ट्रेण्ड बढ्दो रहेको बताएका हुन् ।

‘सरकारले पनि ट्युमर स्क्रिनको क्याम्प, भिआईएलगायत गरिरहेको छ,’ उनले भने, ‘ पछिल्लो समय डाइगोनेस्टिक एप्रोज पनि बढ्दो छ । नेपालमा पनि अर्लि डाइगोनिसिस भइरहेको हुँदा रोगहरु अर्लि डिटेक्सन भइरहेको छ ।’ पहिला कुन रोग भन्ने थाहा नपाउँदै मृत्यु हुने भए पनि अहिले त्यस्तो अवस्था नरहेको उनको भनाइ छ ।

अहिले थाहा हुने प्रक्रिया अगाडि भएका कारण रोगबारे छिट्टै थाहा पाइने गरेको उनले जानकारी दिए  । ‘संक्रमण रोग सहरका महिलामा कम भएपनि ग्रामीणमा बढी देखिन्छ,’ उनले भने, ‘पहिला आङ खस्ने समस्या बढी देखिन्थ्यो । अहिले तुलनात्मकरुपमा कम भेटिरहेका छौं । पहिलाको जस्तो कम उमेरमै बच्चा जन्माउने, सुत्केरीमा स्याहार नगर्ने, धेरै बच्चा जन्माउने ती समस्याहरु हुन्थ्यो । ’

महिलामा सेतो पानी बग्ने, चिलाउने, कम्मर दुख्नेलगायत संक्रमण रोग, चाहेको बेला बच्चा नरहने, नचाहेको बेला रहने, महिनावारीको समस्यालगायत कारण नियमित अस्पताल पुग्ने गरेको उनले बताए । ‘प्रजनन स्वास्थ्य सेवाका यसबाहेक समस्याहरु पनि महिलामा हुन्छन् । ट्युमरलगायत विविध समस्या पनि हुन्छन्,’ उनले भने, ‘संक्रमण, महिनावारी गडबडी वा गर्भसम्बन्धी समस्या नियमित रुपमा आउँछन् ।’

‘महिलामा लगानी गरौं, प्रगतिको गति बढाऔं’ नारासहित नारी मासिकले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्थानीय आवाज उजागर गर्न यस पटक कोशी प्रदेशमा कार्यक्रम आयोजना गरेको हो ।

कान्तिपुर

Link copied successfully