'चुनौतीलाई सिक्ने र अघि बढ्ने अवसरका रुपमा लिनु पर्छ'

फाल्गुन २३, २०८०

कान्तिपुर संवाददाता

'Challenges should be taken as opportunities to learn and move forward'

काठमाडौँ — हजुरबुबा हजुरआमाको मायाममताबाट बञ्चित हुनुपर्ने डरले गर्दा आफू अष्ट्रेलियाको पीआर छोडेर नेपाल फर्केर उद्यमी बनेको युवा व्यवसायी रक्तिम प्याकुरेलले बताएकी छन् । त्यसो त उनले नेपालमा छँदै कुनै दिन विदेशमा पढ्न जाने, सिप सिक्ने र स्वदेशमै फर्केर उद्यमी बन्ने लक्ष्य राखेको बताइन् ।

‘पढ्नको लागि विदेश जाने रहर थियो तर त्यही बस्छु भन्ने थिएन,’ नारी मासिकले बुधबार विराटनगरमा आयोजना गरेको निर्भिक नारी कार्यक्रमको दोस्रो सत्र ‘स्वदेशमै रोजगार : युवा सरोकार’ विषयमा बोल्दै रक्तिमले भनिन्, ‘अस्ट्रेलियामा लिभिङ स्ट्यान्डर्ड राम्रो थियो, पीआर पाएपछि छोरी जन्मियो, त्यसैले हजुरबा हजुरआमासँग कनेक्ट हुन नपाएकोले साढे दुई महिनाको छोरी लिएर स्वदेश आएँ ।’ 

उनी छोरी हुर्काएरमात्रै बसेकी छैनन् । युवा  व्यवसायी भएर अरुलाई समेत रोजगारी दिइरहेकी छन् । सन्तान, परिवार, समाज र व्यवसायलाई एकैचोटी सम्हालेर अघि बढ्न भने केही चुनौती रहेको उनको अनुभव छ । 

तर युवा महिलाहरूले यस्ता चुनौतीलाई सिक्ने र अघि बढ्ने अवसरका रुपमा लिनुपर्ने सुझाइन् । ‘चुनौती सिक्ने र अघि बढ्ने अवसर हो, म हरेक चुनौतीबाट सिकिरहेको हुन्छु,’ उनले भनिन्, ‘दक्षिण एसियामा मात्रै नभएर विश्वभरी नै आफ्नो घर, परिवार, व्यवसाय, समाजलाई सन्तुलन गरेर जान महिलाहरूलाई चुनौती नै छ, तर समाज विस्तारै परिवर्तन हुँदैछ, सहज हुँदैछ।’

‘महिलामा लगानी गरौं, प्रगतिको गति बढाऔं’ नारासहित नारी मासिकले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्थानीय आवाज उजागर गर्न यस पटक कोशी प्रदेशमा कार्यक्रम आयोजना गरेको हो ।

कान्तिपुर

Link copied successfully