‘अहिलेको पुस्ता आत्मविश्वासी र प्रतिस्पर्धी छन्’

फाल्गुन २३, २०८०

कान्तिपुर संवाददाता

”Today's generation is confident and competitive”

काठमाडौँ — अहिलेको पुस्ता आत्मविश्वासी र प्रतिस्पर्धी भएकाले नेपाली युवाहरू रोजगारको विश्वव्यापी बजारमा प्रवेश गरिरहेको विराटनगरस्थित मनमोहान प्राविधिक विश्वविद्यालयका रजिस्ट्रार डा. दिलनाथ फुएलले बताएका छन् ।

नारी मासिकले बुधबार विराटनगरमा आयोजना गरेको निर्भिक नारी कार्यक्रमको दोस्रो सत्र ‘स्वदेशमै रोजगार : युवा सरोकार’ विषयमा बोल्दै वक्ता फुयलले भने, ‘अहिले हामी ‘ग्लोबलाइजेसन’ बाट प्रभावित छौं, विश्वव्यापीकरण रुपमा आफूलाई कहाँ प्रस्तुत गर्न सकिन्छ भनेर अहिलेको पुस्ताले ध्यान दिएको हुन्छ ।’ 

केही मात्रामा देखासिकीको प्रभावले पनि युवा पुस्तालाई प्रभावित पारेको र परदेशिने लर्को बढेको उनको भनाइ छ । अभिभावकहरूले समेत आफ्ना सन्तानलाई जानाजान आफन्त, नातेदारहरुका सन्तानको प्रगतिसँग तुलना गर्ने गरेकाले युवा पुस्ताहरु वैदेशिक रोजगारको यात्रा तय गर्न दबाब पर्ने गरेको उनले बताए । अहिलेको पुस्ता विदेशिनुमा चार वटा ‘सि’ को प्रभाव रहेको उनले बताए । ‘हामी भन्दा अघिको पुस्ता ‘कन्क्रिट’ थियो, हाम्रो पुस्ता ‘कन्फ्युज’, नयाँ पुस्ता ‘कन्फिडेन्ट’ र ‘कम्पिटेटिभ’ भयो,’ उनले भने, ‘कन्फिडेन्ट’ र ‘कम्पिटेटिभ’ भएपछि विश्वबजारको प्रतिस्पर्धामा आफूलाई लैजान चाहान्छ, हामी कन्फ्युज पुस्ताले रोक्न सक्दैनौं ।’ 

युवा पुस्ता रोजगारीका लागि स्वदेशमा होस् या विदेशमा जहाँ गएपनि उसको क्षमता र ‘एटिच्युड’ मा ध्यान दिने खालको शिक्षा प्रदान गर्नुपर्ने बताए । मनमोहन प्राविधिक विश्वविद्यालय देशकै पहिलो प्राविधिक विश्वविद्यालय हो ।

‘महिलामा लगानी गरौं, प्रगतिको गति बढाऔं’ नारासहित नारी मासिकले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्थानीय आवाज उजागर गर्न यस पटक कोशी प्रदेशमा कार्यक्रम आयोजना गरेको हो ।

कान्तिपुर

Link copied successfully