उद्यम, व्यवसायलाई चाहिएको जनशक्ति उत्पादन गर्ने शिक्षा जरुरी  छ : उद्यमी जैन

फाल्गुन २३, २०८०

कान्तिपुर संवाददाता

Education is necessary to produce manpower required for enterprise, business: Entrepreneur Jain

काठमाडौँ — उपप्राध्यापक तथा मोरङ व्यापार संघ महिला उद्यम समिति संयोजक बन्दना जैनले रोजगार क्षेत्रको बजारमा आवश्यक जनशक्ति उत्पादन गर्ने शैक्षिक पद्धति आवश्यक रहेको बताएकी छन् ।

कान्तिपुर पब्लिकेसन्सको सहप्रकाशन नारी मासिकले विराटनगरमा बुधबार आयोजना गरेको निर्भीक नारी कार्यक्रमको दोस्रो सत्र 'स्वदेशमै रोजगार : युवा सरोकार' शीर्षकमा बोल्दै उनले अहिले उद्यम र व्यवसायलाई चाहिने जनशक्ति उत्पादन गर्ने खालको शिक्षा अपरिहार्य रहेको बताइन् । 

उनले २० वर्षदेखि उद्यमशीलताबारे पढाउँदै आएकी छन् भने १८ वर्ष देखि उद्यम गर्दै आएकी छिन् । उनको बुझाइमा  विश्वव्यापीकरणको युगमा युवा पुस्ताहरुलाई विदेश जानबाट रोक्न सकिँदैन । तर उनीहरूलाई संसारको जुनसुकै कुनामा गएर पनि रोजगार गर्न सक्ने ज्ञान, सिप र क्षमता भएको शिक्षा प्रणाली आवश्यक रहेको बताइन् ।

‘हामी कलेज पढ्दा कसरी जागिर पाउने भन्ने थियो, अहिलेका विद्यार्थी विश्वको कुनैपनि कुनामा बेचिन सक्ने हुनुपर्‍यो,’ उनले भनिन्, ‘शिक्षाको तौरतरिका मिल्नुपर्‍यो, हाम्रो बजार मान्छे पाइएन भन्छ युवाहहरु काम पाइएन भन्छन्, उद्यम व्यवसायमा कस्तो युवा जनशक्ति चाहिएको हो त्यस्तो शिक्षा हुनुपर्छ, त्यो जनशक्ति देश विकासको लागि होस् या विदेशमा ।’ उद्यम, रोजगार र व्यवसायको बजारमा जनशक्तिको माग र आपूर्तिको मिलन हुनुपर्ने उनले बताइन् ।

‘महिलामा लगानी गरौं, प्रगतिको गति बढाऔं’ नारासहित नारी मासिकले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्थानीय आवाज उजागर गर्न यस पटक कोशी प्रदेशमा कार्यक्रम आयोजना गरेको हो ।

कान्तिपुर

Link copied successfully