आधारभूत तहमै स्वास्थ्य केन्द्र र जनस्वास्थ्यकर्मी हुनुपर्छ : पूर्वउपमेयर भण्डारी

फाल्गुन २३, २०८०

कान्तिपुर संवाददाता

There should be health centers and public health workers at the basic level: Former Deputy Mayor Bhandari

काठमाडौँ — धरान उपमहानगरपालिकाकी पूर्वउपमेयर मञ्जु भण्डारीले महिलाहरु अन्तिम अवस्थामा मात्रै अस्पताल जाने हुँदा आधारभूत तहमै स्वास्थ्य केन्द्र र जनस्वास्थ्यकर्मी हुनुपर्ने बताएकी छन् । कान्तिपुर पब्लिकेसन्स्‌को सहप्रकाशन नारी मासिकले बुधबार विराटनगरमा आयोजना गरेको निर्भीक नारी कार्यक्रमको तेस्रो सत्र ‘स्वस्थ महिलाः स्वस्थ मुलुक’ मा आम महिलामा पाठेघर संक्रमण, महिनावारी गडबडी वा गर्भसम्बन्धी विभिन्न समस्या भए पनि अन्तिम अवस्थामा मात्रै अस्पताल जाने गरेको बताइन् ।

‘स्वास्थ्य शिविर आयोजना आयोजना गर्दा महिलाहरु दु:ख लुकाएर नै बसेका भेटिए । कतिपय महिलालाई पाठेघरको क्यान्सर भएका थिए । कतिपयलाई स्तन क्यान्सर भएर उपचारका लागि रिफरमा सुरेश वाग्ले टिचिङ अस्पताल पठाएका थियौं,’ उनले भनिन्, ‘क्यान्सर भइसकेपछि मात्रै थाहा पाउने अवस्था छ । लापरबाही वा थाहा नपाउँदा बिरामीहरुले पछि मात्रै रोगबारे थाहा हुन्छ, दुख्ने, पोल्ने कुरा महिलाहरु पटुका बाँधेर वा तातो पानी खाएर नै निको पार्छु भन्ने बसिरहेका हुन्थे । अन्तिममा धेरै गाह्रो भएपछि मात्रै डाक्टर कहाँ पुग्थे ।’

केन्द्र, प्रदेश र स्थानीय तहको आधारभूत स्वास्थ्य केन्द्र स्थापनाको लक्ष्य पनि यही रहेको उनले बताइन् । ‘आधारभूत तहमै स्वास्थ्य केन्द्र हुनुपर्छ । आधारभूत तहमै जनस्वास्थ्यकर्मी बस्नुपर्छ भन्ने हो, तीन तहकै सरकारबाट यो कार्यक्रम लागू भएको छ,’ उनले भनिन्, ‘तर भौतिक संरचनाहरु नै पूरा छैनन् । भौतिक संरचना अभावका बाबजुद समुदायमा खोप कार्यक्रम र भिटामिन ए कार्यक्रममात्रै सञ्चालन भइरहेको छ ।’

अझै पनि अस्पताल भनेको मन लागेको बेला वा अप्ठ्यारो अवस्थामा मात्रै जाने अवस्था रहेको उनले बताइन् । ‘सर्वसुलभ, सहज पहुँचमा पनि स्वास्थ्य सेवा पाइरहेका छैनन्, सरकारी संयन्त्र विश्वासिलो छैन,’ उनले भनिन्, ‘विश्वासिलो नहुँद निजीमा जानु पर्छ । निजीले ढाड सेक्ने गरी बजाइहाल्छ । बिल तिर्न नसकेपछि नेताहरुको घर गुहार्न सुरु गर्नुपर्छ ।’

‘महिलामा लगानी गरौं, प्रगतिको गति बढाऔं’ नारासहित नारी मासिकले ११४ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा स्थानीय आवाज उजागर गर्न यस पटक कोशी प्रदेशमा कार्यक्रम आयोजना गरेको हो ।

कान्तिपुर

Link copied successfully