कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

झुक्किएर मोबाइलमा २५ हजार रुपैयाँसम्म टपअप

सजना बराल

काठमाडौँ — मोबाइलमा रिचार्ज गरेपछि त्यो ग्राहकको मेन ब्यालेन्सका रूपमा जम्मा हुने र रिचार्ज गर्नासाथ अपरेटरको बिलिङ प्रणालीबाट रिचार्जबापत सरकारलाई बुझाउनुपर्ने कर स्वतः काटिने भएकाले रकम फिर्ता गर्न नमिल्ने कम्पनीहरूको भनाइ

झुक्किएर मोबाइलमा २५ हजार रुपैयाँसम्म टपअप

पछिल्लो समय डिजिटल भुक्तानी सहज भएयता सीतापाइलाकी रश्मि थापाले नगद बोक्न छोडेकी छन् । तर अनलाइनबाटै पैसा तिर्दा कहिलेकाहीँ अनौठा समस्या आइपरेको उनको अनुभव छ । अघिल्लो महिना दुई सिलिन्डर खाना पकाउने ग्यास घर ल्याएपछि उनले पसले साहुजीको मोबाइल वालेटमा ४ हजार रुपैयाँ पठाइदिइन्, उनको खाताबाट तुरुन्तै पैसा काटियो । वालेटबाट एकाबिहानै पठाएको पैसा साँझसम्म पनि साहुजीको खातामा जम्मा भएन । भोलिपल्ट दिउँसो वालेट कम्पनीमा फोन गरेर साफ थर्काइन् । कुरा बुझ्दै जाँदा के पत्ता लाग्यो भने वालेट टपअप (वालेट खातामा रकम जम्मा गर्नु) को सट्टा उनले साहुजीको मोबाइलमा टपअप (ब्यालेन्स रिचार्ज) गरिदिइछन् ।

‘मैले त फन्ड ट्रान्सफर भन्ठानेर ब्यालेन्स टपअप पो गरेछु,’ रश्मि लजाउँदै भन्छिन्, ‘वालेट कम्पनीका भाइलाई गालीसमेत गरें । पछि साह्रै लाज लागेर उनलाई सरी भनें । पसले दाइको मोबाइलमा पहिले नै १५ सय रुपैयाँ ब्यालेन्स रहेछ । मैले ४ हजार थपिदिएपछि त्यत्रो ५५ सय रुपैयाँ के गर्ने भनेर उनले फेरि मलाई थर्काए । त्यो दिनदेखि टपअप र सेन्ड मनीको अप्सन दसचोटि हेरेर मात्रै पेमेन्ट गर्ने गरेकी छु ।’ आफ्नै हुस्सुपनले समस्या भएपछि रश्मिले साहुजीको मोबाइलबाट ४ हजार ब्यालेन्स पुनः आफ्नै मोबाइलमा ट्रान्सफर गर्न लगाई ग्यासको पैसा नगदमै दिएको अनुभव सुनाइन् । उनका अनुसार टेलिकम र वालेट कम्पनी दुवैले एक पटक टपअप भइसकेको ब्यालेन्स फिर्ता गर्न नमिल्ने बताएका थिए ।

दुई वर्षअघि सामाजिक सञ्जाल प्लाटफर्म रेडिटमा ‘भी फर भेन्डेट्टा’ युजरनेम भएका प्रयोगकर्ताले पनि आफ्नै एनसेल नम्बरमा भूलवश ४५ सय रुपैयाँ टपअप गरेको र त्यो फिर्ता नहुने भएपछि ५० र १०० रुपैयाँ गर्दै अन्यलाई ब्यालेन्स ट्रान्सफरको प्रस्तावसहित ‘हेल्प पोस्ट’ गरेका थिए । ‘समग्रमा भन्नुपर्दा मैले फन्ड पठाउनुपर्नेमा साह्रै बेबकुफ भएर ४५ सय रुपैयाँ रिचार्ज गरेछु,’ उनले लेखेका छन्, ‘मसँग ५० र १०० को रिचार्ज किनिदिनुहोस्, तपाईंले मलाई जति रुपैयाँ पठाउनुहुन्छ, म त्यसमा १० रुपैयाँ थपेर टपअप गरिदिन्छु ।’ उनले पनि टपअप भइसकेको ब्यालेन्स फिर्ता नहुने जानकारी पाएको खुलाएका छन् ।

उक्त रेडिट पोस्टमा कमेन्ट गर्नेहरूले भी फर भेन्डेट्टालाई एकैपल्ट १ हजार रुपैयाँ पठाउनुको सट्टा बठ्याइँपूर्वक २० पटक ५० रुपैयाँ पठाएर अतिरिक्त १०० रुपैयाँको रिचार्ज हात पार्ने उपायबारे लेखेका थिए । यो किनभने उनले हरेक रिचार्जमा थप १० रपैयाँ बोनस दिने बताएका थिए । ‘२०, ३० प्रतिशत छुट लागेका बेला ब्यालेन्स लिएर अहिले पुनः बिक्री गर्न लागेको त होइन सोल्टी ?’ मोक्ष २०१४ नामक प्रयोगकर्ताले यस्तो शंकालु कमेन्ट पनि गरेका छन् । हाल अर्काइभमा रहेको उक्त पोस्टमा त्यो बेला १६ वटा रोचक कमेन्ट गरिएका देखिन्छन् ।

चैत अन्तिम साता फेसबुकका डिजिटल क्रिएटर प्रवीण अग्रवालले ‘घरको भाडा तिर्न राखेको ७८ हजार १ सय ८ रुपैयाँ झुक्किएर मोबाइलमा टपअप भएछ, फिर्ता पाउन सकिन्छ कि नाइँ ?’ लेखेर पोस्ट गरे । साथमा उनले मोबाइलमा ७८ हजार रुपैयाँ ब्यालेन्स हुँदा २८ दिनसम्म ५९९ रुपैयाँमा प्रतिदिन १.५ जीबी डेटा, ८८८ रुपैयाँमा डबल मज्जा प्याकअन्तर्गत ८८ जीबी डेटालगायत विकल्पसहितको स्क्रिनसट जस्तो देखिने तस्बिर पनि पोस्ट गरेका थिए । सो पोस्ट सामाजिक सञ्जालमा फैलिएपछि प्रवीणले कमेन्टमा लेखेका छन्, ‘यो साँचो कुराचाहिँ होइन । मैले मान्छेहरूको ज्ञान परीक्षण गर्न र यस्तो परिस्थिति आइपरे के गर्न सकिन्छ भनेर यो पोस्ट गरेको हुँ ।’ं एकै पटकमा ७८ हजार रुपैयाँ मोबाइल टपअप गर्ने नेपालमा सुविधा छैन ।

फिर्ता हुँदैन ब्यालेन्स

मोबाइल वालेटहरूबाट १० रुपैयाँदेखि १० हजार रुपैयाँसम्म मोबाइल टपअपको सुविधा छ । बैंकिङ एपमार्फत पनि प्रयोगकर्ताले मोबाइल टपअप गर्न सक्छन् । प्रायः बैंकका एपमा १० रुपैयाँदेखि ५ हजारसम्म टपअप गर्न मिल्छ । कनेक्ट आईपीएसमा ५ हजार रुपैयाँसम्म टपअप गर्न सकिन्छ । मोबाइलबाटै टपअप सुविधाका कारण रिचार्ज कार्ड छाप्ने र स्क्र्याच गर्ने झन्झट कम भएकामा टेलिकम अपरेटर र कतिपय प्रयोगकर्ताहरू खुसी छन् । तर टपअपमा समस्या आउँदा बैंक तथा वित्तीय संस्थाले टेलिकम कम्पनीलाई र टेलिकम कम्पनीले भुक्तानी सेवा प्रदायक संस्थालाई देखाउने हुँदा अलमलमा परिएको प्रयोगकर्ताको गुनासो छ ।

सरकारी स्वामित्वको नेपाल टेलिकमले प्रिपेड नम्बरमा हुने टपअपसम्बन्धी समस्या वालेट कम्पनी वा बैंकहरूबाट समाधान हुने जनाएको छ । पोस्ट–पेड सेवामा सजिलै ‘रिफन्ड’ को सुविधा भए पनि प्रि–पेडमा भने रकम फिर्ता गर्न असहज रहेको टेलिकमका प्रवक्ता हरि ढकालले बताए । ‘हाम्रो कस्टमर सपोर्टमा यस्ता समस्या धेरै आउँछन्,’ उनले भने, ‘वालेटहरूबाट टपअप भएको छ र त्यो रिफन्ड गर्न चाहेमा वालेटहरूले नै हामीलाई जानकारी गराए भने मात्रै हामीले पहल गर्न सक्छौं, नत्र सक्दैनौं । किनभने हामी आफैंले के–कति टपअप भएको हो भन्ने भेरिफाई गर्न सक्दैनौं । धेरै नै ठूलो रकम टपअप भएको स्पेसल केसमा चाहिँ छुट्टै तरिकाले हेरिएला । तर सामान्यतया प्रिप्रेड नम्बरको टपअपसम्बन्धी समस्या हामी खासै हेर्दैनौं ।’

निजी स्वामित्वको दूरसञ्चार सेवा प्रदायक एनसेलले पनि रिचार्ज गरिएको ब्यालेन्स फिर्ता नहुने स्पष्ट पारेको छ । तथपि त्यस्ता ग्राहकलाई आफ्नो ब्यालेन्स साथीभाइ वा आफन्तहरूलाई ट्रान्सफर सुविधामार्फत पठाउन सुझाव दिने गरेको एनसेलले जानकारी दिएको छ । ‘जब ग्राहकले भूलवश ब्यालेन्स रिचार्ज गर्छन्, हामी ग्राहकले इच्छाएका अन्य एनसेलका सेवा प्रयोग गर्ने ग्राहकहरूलाई ब्यालेन्स समायोजन गरिदिन्छौं,’ एनसेलले इमेल–अन्तर्वार्तामा भनेको छ, ‘उदाहरणका लागि, मैले १०० रुपैयाँको सट्टा झुक्किएर १००० रुपैयाँ रिचार्ज गरें भने, त्यसरी रिचार्ज गरिएको बढी ब्यालेन्स मैले एनसेललाई भनेर आफूले चाहेको अन्य एनसेल नम्बरहरूमा बाँड्न सक्छु ।’ एनसेलमा औसत प्रतिदिन १० देखि १५ वटा यस्ता खालका उजुरीहरू आउने गरेको कम्पनीले बताएको छ ।

मोबाइल टपअपबापतको रकम फिर्ता माग्ने ग्राहकको संख्या बढेपछि यसमा उच्चतम सीमा तोक्ने व्यवस्था लागू गरिएको वालेट सेवा प्रदायक ई–सेवाका प्रमुख कार्यकारी अधिकृत जगदीश खड्काको भनाइ छ । ‘हामी भुक्तानीमा सहजीकरण गर्ने निकाय हौं, टपअपसम्बन्धी सम्पूर्ण इन्भेन्टरी टेलिकम अपरेटरको हुन्छ,’ उनले भने, ‘अपरेटरको सिस्टम वा सर्भरमा एक पटक रकम जम्मा भएपछि त्यो फिर्ता गर्ने गरिएको छैन । कसैले ५० हजार रुपैयाँ रिजार्च गर्‍यो भने त्यो रकम फिर्ता हुँदैन ।’ उनका अनुसार केही समयअघि एक व्यक्तिले झुक्किएर २५ हजार रुपैयाँ मोबाइल टपअप गरेका थिए र त्यो रकम फिर्ता भएको थिएन ।

त्रुटिवश ग्राहकलाई यस्तै ‘ठूलो क्षति’ नहोस् भनेर आफूहरूले एनटीसीको मोबाइल टपअप रकममा एक पटकमा ५ हजार रुपैयाँ र एनसेलमा ३ हजार रुपैयाँ उच्चतम सीमा तोकिदिएको खड्काले जनाए । प्रभु बैंकको अल्टरनेट डेलिभरी च्यानलका प्रमुख ऋषिराम न्यौपानेले पनि यस्ता समस्या आउँदा ग्राहकलाई ब्यालेन्स ट्रान्सफरको सुझाव दिने गरेको बताए । ‘यसबारे हामीले टेलिकम कम्पनीसँग कुरा गरेका थियौं, कम्पनीले प्राविधिक रूपमै रकम फिर्ता गर्न नमिल्ने बतायो,’ उनले भने, ‘ग्राहक साक्षरता बढेसँगै पछिल्लो समय यस्ता समस्या कम भएका छन् ।’

मोबाइल रिचार्ज र वालेट टपअपमा मान्छे झुक्किने गरेकाले यस्ता समस्या नआऊन् भनेर आफूहरूले ग्राहक सचेतनाका कार्यक्रम गरिरहेको एनसेलको दाबी छ । मोबाइलमा रिचार्ज गरेपछि त्यो ग्राहकको मेन ब्यालेन्सका रूपमा जम्मा हुने र रिचार्ज गर्नासाथ अपरेटरको बिलिङ प्रणालीबाट रिचार्जबापत सरकारलाई बुझाउनुपर्ने स्वामित्व कर र मूल्य अभिवृद्धि कर स्वतः काटिने भएकाले रकम फिर्ता गर्न नमिल्ने कम्पनीहरूको भनाइ छ । एक सय रुपैयाँको रिचार्ज गर्दा कुल २ रुपैयाँ करमा जाने एनसेलले इमेलमार्फत जानकारी दिएको छ ।


प्रकाशित : वैशाख १४, २०८१ २२:४४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

उपेन्द्र यादव नेतृत्वको पार्टीमा फेरि विभाजन आउनुको मुख्य कारण के होला ?