३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

नोटमा नक्सा बदल्नुको औचित्य

पाठक पत्र

कान्तिपुरमा सोमबार प्रकाशित ‘१ सयको नोटमा चुच्चे नक्सा राख्ने निर्णय’ भन्ने समाचार पढियो । सरकारको यो कदमलाई स्वागतयोग्य मान्नुपर्दछ । सरकारले पुरानो नक्सालाई बदलेर नयाँ नक्सा राख्न खोज्नु नेपालका लागि गौरवकै विषय हो ।

त्यो भन्दा पनि महत्त्वपूर्ण भारतले कब्जामा लिएका कालापानी, लिपुलेक, लिम्पियाधुरालाई फिर्ता ल्याउनु हो । तर भूमि फिर्ताका लागि कसैले पनि खासै चासो दिएको पाइँदैन । नेपाली भूमि भारतका सैनिकले यसरी कब्जा गरेर बसेका छन् कि नेपालका नागरिक कामविशेषले ती क्षेत्रमा जान पाउँदैनन् ।

१९९५ असार १९ मा नाबी, कुटी र गुन्जीवासीले कुत तिरेको अभिलेख राष्ट्रिय अभिलेखालयमा सुरक्षित छ । त्यही क्षेत्रका सर्वसाधारणले १९९७ मंसिर २७ मा बैतडी मालमा तिरो तिरेको प्रमाण सरकारसँग छ । त्यही क्षेत्रका जनता २०१५ को आम निर्वाचनमा सहभागी भएका थिए ।

कुटी, नाबी र गुन्जीका जनता मतदानमा सहभागी भएको अभिलेख निर्वाचन आयोगमा छ । यतिका बलियो प्रमाण हुँदाहुँदै पनि अनि नेपालका सीमाविज्ञ हुँदाहुँदै पनि सरकार नतात्नु र भूमि फिर्ता ल्याउन नसक्नु आश्चर्यको विषय भएको छ ।

यसैले सरकारले अतिक्रमित भूमि जबसम्म फिर्ता ल्याउन सक्तैन, तबसम्म सय रुपैयाँको नोटमा नेपालको पुरानो नक्साको साटो नयाँ नक्सा राख्ने निर्णयले नेपाली जनताले गौरव गर्ने अवस्था नै छैन ।
– बोधनाथ पौडेल, नयाँ बानेश्वर, काठमाडौं

प्रकाशित : वैशाख २५, २०८१ ०८:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?