कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले  कैलाली मालपोत कार्यालयका  तत्कालीन प्रमुख मोहन स्नेही सराईली र  नापी कार्यालय प्रमुख मानबहादुर चन्दसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

टीकापुरका तत्कालीन मालपोत र नापीप्रमुखसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

साविक नारायणपुर-८ अन्तर्गतको कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.बि. (बिगाह) जग्गा फिल्डबुकमा जंगल भनी कायम भएकोमा कित्ताकाट गरी मालपोत कार्यालय, टीकापुरबाट २०६८ सालमा व्यक्तिको नाममा कायम गरेको अभियोगमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।

गैरकानूनी तवरबाट जंगलको नाममा रहेको सरकारी सार्वजनिक जग्गा व्यक्ति विशेष (विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल, बिमल बहादुर रावल) को संयुक्त नाममा स्रेस्ता पूर्जा कायम गरी हकहस्तान्तरण गरेको र पछि उक्त जग्गाको दर्ता स्रेस्ता सम्बन्धी सम्पूर्ण कागजातहरु कार्यालयको अभिलेखबाट समेत नष्ट गरेको पुष्टि भएको अख्तियारले जनाएको छ ।

'आव. २०८०/२०८१ को मालपोत कार्यालय टीकापुरको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लिखित रु.२४,०६,६९,०००।- सार्वजनिक सम्पत्तिको हानिनोक्सानी पुर्‍याएको हुँदा निजहरु मोहन स्नेही रसाईली र अग्नी बहादुर शाहीले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) तथा ऐ.ऐ.ऐनको दफा १२ बमोजिम कसुर गरेको देखिएकोले निजहरुलाई बिगो रु. २४,०६,६९,०००।– (चौबीस करोड छ लाख उनान्सत्तरी हजार रुपैयाँ) कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद तथा बिगो बमोजिमको जरिवाना गरी उक्त बिगो असुल उपर हुन साथै ऐ.ऐ. ऐनको दफा १२ बमोजिम कैद र जरिवानासमेत हुन मागदाबी लिइएको छ' अख्तियारको आरोपपत्रमा उल्लेख छ ।

नापी कार्यालय, टीकापुरका तत्कालीन कार्यालय प्रमुख एवं नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डलले उक्त जग्गा व्यक्तिको नाममा कायम गर्ने उद्देश्यले कार्यालयको अभिलेखलाई अनदेखा गरी सो जग्गा हकभोगको हो भन्ने व्यहोराको प्रतिवेदन पेश गरी सोही प्रतिवेदनको आधारमा कित्ताकाट आदेश दिएको अख्तियारको आरोप पत्रमा छ ।

'विक जंगल जनिएको कित्ता नं. ३५१ बाट कित्ताकाट गरी कित्ता नं. ९०८ को क्षेत्रफल १५-०-० ज.बि. कायम गरी/गराई साविकमा जंगलको नाममा रही कित्ताकाट हुँदै जंगलकै नाममा कायम रहेको भन्ने विषयको अभिलेख कहीकतै उल्लेख नगरी उक्त जग्गा कित्ताकाटको पत्र दस्तखत गरी मालपोत कार्यालयमा पत्रचार गरेको र सोही नापी कार्यालय टीकापुरबाट प्राप्त कित्ताकाट पत्र, नक्सा, प्लट रजिष्टर उतारलाई आधार बनाई मालपोत कार्यालय, टीकापुरबाट उक्त जग्गा गैरकानूनी तवरबाट विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल, बिमल बहादुर रावलको संयुक्त नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाई हकहस्तान्तरण भएको पुष्टि हुन आएको हुँदा निजहरु नापी अधिकृत मान बहादुर चन्द र सर्भेक्षक दशरथ मण्डलले गरेको उक्त कार्य भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) को देहाय (ज) बमोजिमको कसुर भएकोले निजलाई आ.व. २०८०/२०८१ को मालपोत कार्यालय, टीकापुरको न्यूनतम मूल्यांकन पुस्तिकामा उल्लिखित रु.२४,०६,६९,०००।- (चौबीस करोड छ लाख उनान्सत्तरी हजार रुपैयाँ) बिगो कायम गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (१) बमोजिम कैद तथा बिगो बमोजिमको जरिवाना गरी उक्त बिगो असुल उपर हुन मागदावी लिइएको छ' अख्तियारको आरोप पत्रमा छ ।

जग्गा आफ्नो नाममा जग्गाधनी दर्ता प्रमाणपूर्जा बनाउने विन्द्रा रावल, कमल बहादुर रावल, सुशिल बहादुर रावल र बिमल बहादुर रावललाई पनि अख्तियारले प्रतिवादी बनाएको छ । उनीहरु मतियारको कसुर पुष्टि भएको हुँदा चौबीस करोड छ लाख उनान्सत्तरी हजार रुपैयाँ बिगो कायम गरी मुख्य कसुरदारलाई भए सरहकै बिगो तथा कैद सजाय हुनुपर्ने अख्तियारको दाबी छ । साथै निजहरुले गैरकानूनी तवरले प्राप्त गरेको साविकमा जंगलको नाममा रहेको उक्त जग्गा समेत जंगलकै नाउँमा यथावत कायम गर्ने गरी निजहरुको भोग हटाउनेसमेत आदेश मागिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेद्वारा जारी विज्ञप्तिमा छ ।

प्रकाशित : जेष्ठ ६, २०८१ १६:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×