कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

हुड्के नाचेरै पढाइ खर्च

जुम्लाको सिञ्जा–६ बारेगाउँकी १८ वर्षीया अनिता परियार जिल्लामा हुड्के नाच्ने एक मात्र युवती हुन् 
हरिहरसिंह राठौर

जुम्ला — कर्णाली र सुदूरपश्चिमको परम्परागत हुड्के नाच सिक्ने युवा पुस्ता नभएपछि लोप हुने अवस्थामा छ । दमाईं समुदायका पुरुषहरूले मात्रै नाच्ने यो मौलिक नाच कर्णालीमा कलाकारको अभावमा हराउँदै गएको हो । तर जुम्लाको सिञ्जा गाउॅँपालिका–६ बारेगाउँकी १८ वर्षीया अनिता परियारले हुड्के नाच पुरुषको मात्रै एकाधिकार तोड्दै आफू पनि कला देखाउन थालेकी छन् ।

हुड्के नाचेरै पढाइ खर्च

अनिताले बाबु खड्के परियारसँग सिकेर कहिले उनीसँग त कहिले काकासँग विभिन्न कार्यक्रममा नाचेर पढाइ खर्च पनि जुटाउने गरेकी छन् ।

स्थानीय केदारनाथ आधारभूत विद्यालयमा कक्षा ८ मा अध्ययनरत अनितालाई असारे रोपाइँ, विवाह, व्रतबन्ध, मेला महोत्सवमा हुड्के नाच्न निम्तो आइरहेको हुन्छ । उनी मेलापातमा बाबु र काकासँगै जोडी मिलाएर नाच्छिन् । जुम्लामा हुड्के नाच्ने युवती उनी मात्रै हुन् । हरेक पटक नाचेबापत उनीहरूलाई ५ देखि १० हजार रुपैयाँ पारिश्रमिक आउँछ । त्यसले घर खर्च र पढाइ खर्च पुग्ने गरेको उनले बताइन् । ‘मैले हुड्के नाचेर संस्कृतिको संरक्षणमा पनि मद्दत पुगेको छ, आफ्नो खर्च पनि सजिलै चलाउन सकेकी छु,’ उनले भनिन् । पश्चिमा संस्कृतिका कारण हुड्के नाचमा युवा पुस्ताको आकर्षण बढ्न नसकेको उनको बुझाइ छ ।

अनिताका बाजे भक्ते परियारको हाटसिञ्जास्थित सिमलगाउँमा रहेको जग्गा केही टाठाबाठाले हडपेपछि उनको परिवार सुकुम्बासी भएको थियो । सिञ्जाका बारे वरपरका आधा दर्जन बस्तीहरूमा परम्परागत कपडा सिलाउने व्यक्ति नभएपछि स्थानीयले केही ऐलानी जग्गा दिएर भक्ते परियारलाई बारेगाउँमै बस्न दिएका थिए । अहिले उनको परिवारले करिब ४ सय घरका कपडा सिलाएर पाउने खलो (बालीपिच्छेको अन्नपात) ज्यालास्वरूप पाउँछ ।

प्रायः शुभ कार्यहरू विवाह, व्रतबन्ध, रोपाइँ, छैटी पूजा, न्वारनलगायतका विभिन्न सामाजिक कार्यमा हुड्के नाच नाच्ने चलन छ । पछिल्लो पुस्ताले हुड्के नाचभन्दा रेकर्ड गरिएका गीतमा रमाउन थालेपछि गाएरै नाच्ने हुड्के ओझेलमा परेको स्थानीय कमल नेपालीले बताए । उनका अनुसार पहिले राजनीतिक दलहरूले चुनावको प्रचारप्रसारमा पनि हुड्केलाई खुबै प्रयोग गर्थे । युद्धकालमा माओवादीले पनि सांस्कृतिक कार्यक्रममा हुड्के नाचलाई प्राथमिकतामा राख्थ्यो । ‘हुड्के नाच पनि छ भनेपछि राजनीतिक आमसभामा दर्शकहरू पनि ओइरिन्थे,’ उनले भने, ‘नाच नाच्दा कार्यक्रमस्थलमा उपस्थित सबैको प्रशंसा गर्दै व्याख्या गर्ने गरिन्छ, अन्त्यमा उपस्थित सबैले दक्षिणासहित पैसाको माला लगाइदिने र फेटा (पगरी) मा राखिदिने चलन छ ।’

दमाईं समुदायकाले नाच्ने हुड्केबाट उनीहरूको दैनिक गुजारासमेत नचल्ने भएपछि युवा पुस्ता नाचप्रति आकर्षित नभएका अर्का अगुवा प्रेमबहादुर नेपालीले बताए । ‘यसको संरक्षणका लागि कला संस्कृतिको क्षेत्रमा काम गर्ने सरोकारवाला पनि उदासीन देखिएका छन्,’ उनले भने, ‘तर ती चेली (अनिता) को हुड्केप्रति ठूलो लगाव छ ।’ हुड्के नाचप्रति युवा पुस्तालाई आकर्षित गर्नुपर्ने र त्यसका लागि स्थानीय सरकारले पहल गर्नुपर्ने उनको सुझाव छ । सिञ्जा गाउँपालिका अध्यक्ष पूर्णप्रसाद धिताल भने हुड्केलगायत मौलिक नाच जगेर्ना गर्न पालिकाले योजना बनाइरहेको बताउँछन् । युवाहरूलाई हुड्के नाचको सामूहिक तालिम दिने गरी यस वर्ष बजेट नै विनियोजन गरिएको उनले बताए ।

प्रकाशित : श्रावण १२, २०८१ ०६:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×