कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४
विपिन कार्कीकी आमा

हँसाइरहने, साथी कलाकार जस्ती आमा

भाद्र १८, २०८१
हँसाइरहने, साथी कलाकार जस्ती आमा

Highlights

  • ‘ऊनीको स्वेटर’ को अन्तिम दृश्य छायांकन गर्न विपिन कार्की ‘बाको मृत्युमा कपाल खौरेको छोराको भूमिकामा’ तयार थिए, यही बेला आमा आईसीयूमा पुगेको खबर आयो, ‘रिल’का बाबुको मृत्युमा कपाल खौरेको १० दिनपछि ‘रियल’ आमाको निधन भयो । विपिनलाई कथा छुट्याउनै सकस पर्‍यो ।

काठमाडौँ — आमा महाप्रस्थानको १२ औं दिन (सोमबार, कुशे औंसी) विपिन कार्की र उनका दाजु अर्जुन कोटेश्वर, महादेवस्थानको किरिया घरमा छन् र सम्झिरहेका छन् आमा जिन्दगी । पिता लोकबहादुर कार्की (७८) छोराहरू सामुन्ने छन् । विपिन/अर्जुनको सम्झना–शृंखलामा भने केवल आमा छिन् । केही स्वादका सम्झना, केही बेस्वादका, जसले उनीहरूलाई विगतको लामो धागोले बाँधिरहेको छ । 

पीडा–प्यास, नैराश्य–आस्था, वेदना–अनुभूति यस्तै–यस्तै केही छन्, जसले विपिन/अर्जुनलाई उद्घाटित गराउँछन् । उनीहरूलाई लाग्छ– तिनैले जीवन सिकायो, समर्थवान बनायो । पुरेत सुनाइरहेका छन् गरुड पुराण । पुराणमा छन्– जन्म, संसार–भोग, धर्म–पापका अनेकन् कहानी । त्यहाँ छ– मृत्युपछिका मुक्तिका कथा, तातो तेलको कराहीको कथा, नर्कको दुःख बयान र कथैकथा ।

***

नेपाली फिल्मलाई फरक आयाम दिए विपिनले । फिल्ममा असरदार चरित्र र बहुप्रतिभाका लागि उनी प्रख्यात छन् । रिलमा फरक–फरक चरित्र बाँचेका छन् विपिन । ‘पशुपतिप्रसाद’ का ‘भस्मे डन’ उनी ‘लुट’ बाट प्रख्यात भए । ‘छड्के’ को ‘बिन्दु’ वा ‘जात्रा’ को ‘फणीन्द्र’ वा ‘प्रसाद’ को बाबुराम ! नसम्झिनुपर्ने उनको कुनै चरित्रै छैन । विपिनका दाजु अर्जुन पनि फिल्म अभिनेता हुन् । उनले २ सय जति फिल्ममा फाइट डाइरेक्टर भएर काम गरे । ‘जंगली मान्छे’, ‘दिदीभाइ’, ‘दोस्ती’, ‘बजार’ जस्ता एक दर्जनभन्दा बढी फिल्ममा अभिनय गरे ।

बा–आमाका साथमा छोराहरु विपिन र अर्जुन कार्की ।

यी अभिनेता दाजुभाइलाई अतीतका दिनहरूमाथि ईर्ष्या लागेको छ, जहाँ थिइन् मुस्कुराइरहेकी उनकी आमा । सोच्छन्– ती दिनहरू नै थिए जीवनका असली मित्र । आमा सरस्वती सधैंलाई हिँडेपछिको विपिन र अर्जुनको जीवन कष्टकर छ । सेतो धोतीमा लपेटिएका उनीहरू भयानक दुःखमा छन् । न छ नियमित कार्य, न मन स्थिर । मस्तिष्क–कोषमा कतै कैद भएका आमा–स्मृति ब्युँतिरहेका छन् । छिप्पिँदै जाँदा रातको निःस्तब्ध प्रहरमा तन्द्राले झस्काउँछ विपिनलाई, जहाँ सरस्वती सुनाउन थाल्छिन् पुराना कथा । आफ्ना संगीलाई सुनाउन जतनले सम्हालेर राखेका कथा–किस्साहरू उनको सम्झना–ढुकुटीमा सुरक्षित थिए । ‘आमा असलमा एक कथावाचक हुनुहुन्थ्यो, गाउँले जम्मा पारेर घण्टौं आफ्ना अनुभव सुनाउनुहुन्थ्यो,’ अर्जुन सम्झिन्छन् ।

सरस्वतीले ७२ वर्षको उमेरमा गत भदौ ६ को बिहान ६ बजे पाटन अस्पतालमा जीवनको अन्तिम सास फेरिन् । निकै लामो समयदेखि थलिएकी थिइन् दीर्घरोगबाट– फोक्सोमा पानी जमेको थियो । विपिन आमा–अतीतमा पसिरहेका छन्, जहाँ उनकी आमा अस्पतालको बेडमा अचेत थिइन् । विपिनले ‘भस्मे डन’ साइन गर्दा सरस्वती बिरामी थिइन् । टिचिङ अस्पतालको इमर्जेन्सी वार्डमा आमा निदाएका बेला उनी स्क्रिप्ट पढ्थे, डायलग कण्ठ गर्थे । त्यो बेला सरस्वती कलेजोको समस्याले आक्रान्त थिइन् । पछि फोक्सोमा समस्या सुरु भयो ।

सरस्वतीलाई विपिनको ‘महाजात्रा’ हेर्ने इच्छा थियो तर उनी अस्पतालमा थिइन्, रहर अधुरै रह्यो । ‘मेरो सफलतामा आमा खुसी हुनुहुन्थ्यो,’ विपिन भन्छन्, ‘मलाई एकै कुरा भन्नुहुन्थ्यो– कान्छा तेरो यो सफलता त केही होइन, तँ कहाँ पुग्छस्–पुग्छस् । मात्रै काम गरिराख् ।’ केही वसन्त र ठिहिर्‍याउने हिउँदहरूपछि फेरि सरस्वती फोक्सोको समस्याले पाटन अस्पताल भर्ना भइन् । ‘ऊनीको स्वेटर’ को अन्तिम दृश्य सुटिङ भइरहेको थियो पाँचथर बेसीखोलामा । रिलमा विपिनको रोल थियो– बा मरेर कपाल खौरेको छोराको । बगरमा थिए मलामीहरू । सुटिङमै खबर आयो– आमा आईसीयूमा छिन् ।

विपिनलाई देखेर आमाका आँखा टिलपिलाए, ‘ए कान्छा तँ आइस् ?’ वरिपरिकाले भने, ‘कान्छो आएपछि आमाको अनुहारै उज्यालो भयो ।’ फिल्मका लागि विपिनले कपाल खौरेको १० दिनपछि सरस्वतीको निधन भयो । ‘आर्यघाटमा कपाल खौरिँदा मैले सुटिङको दृश्य सम्झिरहें झलझली । त्यो दृश्य र घाटको कनेक्सन के हो ? कुन रियल ? कुन रिल ? छुट्याउनै सकस पर्‍यो,’ विपिन भन्छन्, ‘त्यही दृश्यले पछ्याइरह्यो ।’

***

अस्पताल–शय्यामा आमाको पीडा, छटपटाहट, निरीहता असाध्यै नजिकबाट अनुभव गरे विपिन/अर्जुनले । आवाज बसेकी, मृत्युसँग द्वन्द्व गरिरहेकी आमा देखेर शब्दविहीन भए ती । भेन्टिलेटरमा निःशब्द, अनेक पाइपहरूले घेरिएकी आमा देखेर कसरी शान्त रहन सक्थे छोराहरू ? आमालाई कलेजो, फोक्सोको पीडाले ग्रस्त पारेको देख्दा आत्तिन्थे विपिन/अर्जुन । पीडाले आक्रान्त भएर छटपटाइरहेकी आमा विपिनलाई भनिरहन्थिन्, ‘कान्छा ! डाक्टरलाई पनि तैंले चिनेको छस्, तिनेरलाई भनेर मलाई मार्न लगाइदे न, एकै झमटमा मर्ने सुई हान्न लगाइदे न ! मलाई असाध्यै पोल्यो भित्रभित्रै ।’ त्यसो भनिरहँदा सरस्वतीको आँखाको चेपबाट झरेको आँसु गालातिर बगिरहेको हुन्थ्यो ।

पश्चिम आकाशमा सूर्जे डुबिसकेपछि, झम्के साँझमा सरस्वती बर्बराइरहन्थिन्, ‘ए कान्छा कति बज्यो ? रात काट्न कति बाँकी छ ? कसरी काट्ने अब लामो रात ?’ त्यसपछि भक्कानिन्थे छोराहरू । विपिन आँसु लुकाउन शौचालय पस्थे । रातका प्रत्येक प्रहर काट्न गाह्रो हुन्थ्यो आमा–छोराहरूलाई । केही पटकको डायलसिसपछि भेन्टिलेटरमा निदाइरहेकी सरस्वतीलाई केही सुविस्ता भयो, केही आशा पलायो ।

भदौ ६ को बिहान मेचमा झकाइरहेका विपिनलाई नर्सले भनिन्, ‘आमालाई अहिले ठीकै छ । ठूलो ग्लासमा दूध ल्याइदिनुस्, हामी पाइपबाट खुवाउँछौं ।’ तीन दिनदेखि उनले केही खाएकी थिइनन् । विपिन अचानक फुरुङ्ग भए, शरीर चंगा भएझैं भयो, अनुहारमा खुसीका रेखा नाचे । तुफान दौडेर लगनखेलको चिया पसलमा पुगे र भने, ‘साहुजी ! दूध तताउनुस् त मज्जाले ।’ साहुजीले दूध बसाले । तत्कालै अर्जुनको फोन आयो, ‘कहाँ छस् ? छिट्टो आइज... ।’ विपिनको मनमा स्याइँय्य स्याँठ चल्यो, हावाझैं दौडेर अस्पताल पुगे । दुई डाक्टरहरू आमाको सीपीआर (अवरुद्ध मुटुको चाल पुनःस्थापित गर्ने आकस्मिक उपचार कार्डियाक कम्प्रेसन अर्थात् थिचाइ) गरिरहेका थिए । डाक्टरले भने, ‘मुटु चल्दैन, लेभल जिरो छ, हामी सक्दैनौं, सरी ।’ विपिन स्मरण गर्छन्, ‘सायद चिया पसलमा दूध उम्लिरहेकै थियो ।’

आमाले विपिनलाई सदाका लागि छोडेर गइन् ।

सानो छँदा एक पटक विपिनलाई घरमै छाडेर श्रीमान्सँग भारत घुम्न गएकी थिइन् सरस्वती । उनी पहिलो पटक छुट्टिएका थिए आमासँग । डेढ महिनापछि जब सरस्वती फर्केर आइन्, विपिन आमाको काखमा जाँदै गएनन्, परपरै बसे । विपिनलाई कस्तो–कस्तो संकोच लाग्यो र झ्याम्मै आमासँग गइहाल्न सकेनन् । मनले सोधिरहेको थियो– किन मलाई छोडेर गयौ ? विपिनलाई ती पुराना दिन तरंगजस्तो आइरहन्छ तर्कनामा, आमा अहिल्यै बोलेझैं लागिरहन्छ, ‘कान्छा ! आऊ न एकछिन

काखमा बस । किन टाढा बसेको ?’ त्यो तर्कनामा घोरिएका विपिन भन्छन्, ‘अब त चाहेर पनि आमाको काखमा जान पाउँदिनँ ।’

***

जिन्दगीभर श्रम गरिन्, विपिन/अर्जुनकी आमाले । थोरै जग्गामा पनि धेरै सागसब्जी फलाउँथिन्, घाँस–दाउरा, बस्तुभाउमै रमाउँथिन् । श्रीमान् घर नहुँदा सबेरै ३ बजे उठेर खाजा बनाउँथिन् र दिनैभरि खेतालासँग काम गर्थिन् । ‘बुबा आर्मीमा हुँदा आमाले असाध्यै काम गर्नुभयो, मेसिनजस्तै,’ अर्जुन भन्छन्, ‘तर, उहाँको मुहारमा थकावट, नैराश्यता कहिल्यै देखिनँ ।’ अर्जुनको नजरमा उनकी आमा छुच्ची थिइन्, रिसाहा र मायालु पनि । उनलाई आमा रिसाएको पनि मनपर्थ्यो । ‘आमा साथी पनि, अभिभावक पनि, संसारै आमा,’ उनी भन्छन् ।

विपिनको परिवार भोजपुरबाट मोरङ, बाहुनी बसाइँ सरेका हुन् । सरस्वतीको माइती पनि भोजपुर हो । विपिन/अर्जुन मोरङमै जन्मेका हुन् । सरस्वतीलाई लेखपढ गर्न आउँदैनथ्यो । अर्जुनको सम्झनामा सरस्वती कमेडियन कलाकार जस्ती थिइन् । भन्छन्, ‘विपिनमा आमाको त्यही गुण सर्लक्कै सर्‍यो । विपिनले जे गर्छ अभिनयमा, आमाकै स्टाइल हो । हँसाइरहने स्वभाव आमाको ।’

विपिन/अर्जुनका पिता लोकबहादुर इन्डियन आर्मी थिए । सरस्वती छोराहरूको पढाइप्रति अति सचेत थिइन् । बाहिरी जिल्लाबाट गाउँमा स्कुल पढाउन आएका शिक्षकलाई उनले घरमै राखेकी थिइन्, ‘छोराहरूलाई पढाउन्’ भन्ने सोचेर । शिक्षक कहिल्यै टुटेनन् घरमा । छोराहरू खुसी हुँदा उनी पनि खुसी हुन्थिन् । गाउँका मेला–पर्व–देउसी–भैलो–बिहे–नाचगान–रमाइलोतिर डुलिरहन पाउँदा रमाउँथे छोराहरू । पिता ‘छोराहरू घरमै बसिरहुन्’ भन्थे, ‘गाउँ डुल्दा बिग्रेलान्’ भन्नेमा चिन्तित थिए । सरस्वतीचाहिँ छोराहरूलाई सुटुक्क लुकाएर पठाउँथिन् मेला–पर्वहरूमा, तिनले बुबाको पिटाइ नखाऊन् भन्नेमा पनि सचेत थिइन् ।

जोगवनीमा सर्कस आयो एक पटक । त्यो हेर्न सातै गाउँका मान्छे ओइरिए । ‘हामीले सर्कस हेर्न जान आमासँग निकै अनुरोध गर्‍यौं, बुबालाई थाहै नदिई सुटुक्क पठाइदिनुभयो, ल छिटो आउनु भन्दै,’ विपिन स्मृति–अतीतमा पुग्छन्, ‘बुबाले एक पटक ‘हुँदैन’ भनेपछि त्यो हुँदै हुँदैनथ्यो ।’ गाउँको मेलाबाट रात गाढा हुँदा पनि छोराहरू नफर्केपछि रिसाएका बुबाले आदेश जारी गरे– दुई दिनसम्म यिनेरुलाई खान नदिनू ! सरस्वतीले पनि उसैगरी भनिन्, ‘म तिमेरुलाई खानै दिन्न ।’ तर, श्रीमान् निदाएपछि तातो भातको थाली छोराहरूको खाटमुनि राखिदिइन् । भनिन्, ‘ल खाना खाएर सुत ।’

त्यो अतीतको बालापनमा विपिन/अर्जुन उद्दण्ड थिए । आमासँग थोरै डर थियो, धेरै माया र आशा । छोराहरूका आँखामा सधैं साथी भएर बाँचिन् सरस्वती । साथीभाइसँग मिलेर आँप चोर्न जान्थे अर्जुन । त्यसपछि सरस्वती शिक्षकसँग भन्थिन्, ‘सर यसले आँप चोरेछ, पिट्दिनुपर्‍यो केटोलाई ।’ तर, छोराले पिटाइ खाएको हेर्न नसकेर त्यहाँबाट बाहिरिन्थिन् । विपिन कमजोर शरीरका थिए, अर्जुन बलिया र हट्टाकट्टा । सरस्वती अर्जुनसँग भन्थिन्, ‘कान्छो अलि कमजोर छ, त्यसलाई धेरै काम नलगा, केही नभन्, गाली नगर् ।’ अर्जुन भन्छन्, ‘विपिन आमाको बढी प्यारो छोरो ।’

अर्जुनको बुझाइमा विपिनको ८० प्रतिशत स्वभाव आमाबाटै आएको हो । उनी छोराहरूप्रति गर्व गर्थिन् । भन्थिन्, ‘मेरा छोराहरूले पढेका–जानेका छन् ।’ पिता चाहन्थे– छोरालाई लाहुरे बनाउन । सरस्वतीको मनमा पनि थियो– छोरा लाहुरे बनुन् । अर्जुन लाहुरे छानिन गए, रनिङ गर्दागर्दै भागे, पछि फिल्म अभिनय गर्न काठमान्डु आए । विपिन ‘मेडिकल फिल्डमा जाओस्’ भनेर बुबाले उनलाई सीएमए पढाए धनकुटामा । तर, पछि रत्नराज्य क्याम्पस काठमान्डुमा पत्रकारिता पढे ।

अनेकन गल्तीहरूमा आमाले माफी दिइरहिन् विपिनलाई । ‘जीवनमा बीभत्स चकचकहरू गरेको छु । डरलाग्दा र भयानक गल्तीहरू भएका छन्,’ विपिन भन्छन्, ‘त्यस्ता गल्ती आमाले लुकाइदिनुभएको छ, पचाइदिनुभएको छ । अहिलेसम्मै बुबाका कानमा मेरा ती गल्तीहरू परेनन् ।’ छोरोले चकचक गरेका रिपोर्ट लिएर रात–साँझ गाउँलेहरू उनको घर आइपुग्थे । सरस्वती ‘श्रीमान्ले सुन्लान्’ सोचेर हतार–हतार ढोका लगाएर, घरभन्दा पर आँगनको डिलमा तिनीहरूसँग वार्ता गर्थिन् । तिनलाई ‘घरमा होइन, बाहिर गएर कुरा गरौं न’ भन्थिन् ।

विपिनले पैसा चोरे, गाउँलेका टीभीको ब्याट्री फुटाइदिए । तर, सरस्वतीले चुपचाप तिनको हर्जाना तिरिरहिन् । ती धेरै कथा आमा र विपिनसँगै सीमित रहे । ‘आमा र मलाई मात्रै थाहा भएका मेरा कत्ति गल्ती छन् कत्ति, तर छुट पाइरहें मैले । ती कथा अब आमासँगै गए ।’ आमाको सम्झना लहरमा विपिन सोचिबस्छन्, ‘बुबाको कानमा ती घटना पुगेको भए धेरै नै कुटाइ खान्थें ।’ कुनै–कुनै दिन सरस्वती असाध्यै रिसाउँथिन्

पनि, छोराछोरीले काम बिगार्दा । त्यस्तो बेला उनी रिसले पिट्थिन् । अर्जुनको सम्झनामा एक दिन उनकी दिदीले फर्सी चोरेर ल्याइछिन्, अर्जुनले कटहर । रिसाएका बेला आमाको रूप नै अर्कै देख्थे छोराछोरी ।

आमासँगका केही फ्ल्यासब्याक छन् विपिनसँग । जस्तो आमाले आफूलाई भयानक कुटेको याद छ । बुबालाई थाहै नदिई बेहद प्रेमले मेला हेर्न पठाउने, गल्तीहरू ढाकछोप गरिदिइरहने आमाले त्यो दिन साह्रै, साह्र्रै र साह्रै पिटिन् । विपिनको बाख्रा छिमेकी ठूलीआमाको बारीमा पस्यो । तिनले विपिनलाई गाली गरिन् । उनले पनि ठूलीआमालाई तथानाम गाली गरे । घर पुगेर आमासँग ती ठूलीआमाबारे अपशब्द बोलिरहे ।

विपिनले सोचेका थिए– आमा ठूलीआमासँग बाझ्न जानेछिन् तर घडीको सुई ठीक उल्टो घुम्यो । उनले भित्तामा अड्याएको लाठो उठाएर विपिनलाई कुट्न थालिन् । रिसले चुर उनी विपिनलाई हकारिरहिन्– के शब्द बोलिस् रे ठूलीआमालाई ? यस्तो बोल्न अप्ठ्यारो लागेन ? त्यसबेला सोचे विपिनले– अरे ! आमाको यस्तो रूप पनि छ ? आमा यत्ति पनि रिसाउनुहुन्छ ? के उहाँ मेरै आमा हो ? आजसम्म चाहिँ यसरी किन नपिटेको ? यस्तो कुटाइको कुनै संकेत यसअघि पाएको भए त म पनि डराउँथें नि ! यस्तो तुफान पनि पिट्ने हो ?

त्यो दिन विपिनको शरीरभरि सुम्लैसुम्ला उठ्यो ।

त्यसपछि विपिनले कहिल्यै अपशब्द बोलेनन् । ‘अनि आमासँग डर लाग्न थाल्यो, त्यो दिन आमाको ‘लिमिट’ बुझें पनि,’ विपिन भन्छन्, ‘आमाहरूको रिसको ‘लिमिट’ कति हुँदोरैछ, खुसी कतिसम्म ! आमाहरूले कतिसम्म छुट दिँदारैछन्, कतिसम्म खबरदारी ! मैले आमालाई पढेर थाहा पाएँ ।’ केवल रिस होइन, हाँसो, ठट्टा, व्यंग्य पनि सरस्वतीको जीवनशैली थियो । विपिनलाई लाग्छ, ‘मेरो कलाकारितामा ह्युमर आमाबाटै आएको गुण हो । आमाजस्तो छु धेरै । मेरा दाँत आमाका जस्ता, स्वभाव आमाको जस्तो, कपाल आमाको जस्तो, म पूरै आमाजस्तो, म आमाको फोटोकपी ।’

***

सहरमा दाजु अर्जुनसँग पढ्न बसेका थिए विपिन । गाउँबाट सहर जाँदा बुबा उनलाई पैसा त दिन्थे तर भन्थे, ‘व्यवहार जेठोले गरिहाल्छ, तँलाई किन चाहियो धेरै पैसा ?’ वर्षैभरि तोरी, परेवा, कुखुरा बेचेर, श्रीमान्सँग लुकाएर जोगाएको पैसा हुन्थ्यो सरस्वतीसँग । बाकसबाट लुसुक्क निकाल्थिन् र कसैले थाहा नपाउने गरी छुट्टै लुकाएर विपिनको खल्ती भरिदिन्थिन् उनी । ‘कसैलाई नभनेस्’ भन्थिन् । फिल्म–नाटकमा प्रवेश गर्नुअघि पूर्ण रूपमा बेरोजगार थिए विपिन । आफन्त, साथीभाइ उनलाई ‘थुक्क गधा, तैंले गरिखाँदैनस्’ भन्थे । तर, आमा भन्थिन्, ‘कान्छा ! मिहिनेत गर्दै जा, तैंले एक दिन सबैको मुख टाल्छस् ।’

कलाकारितामा विपिन नेपालकै सान बनेपछि असाध्यै खुसी भइन्, सरस्वती । भन्थिन्, ‘कान्छा ! तैंले त हाम्रो नाम राखिस् ।’ सरस्वती सुनाउँथिन् जिन्दगीका केही प्रिय/अप्रिय याद छोराहरूलाई । केही मीठा खानेकुरा वा गेडागुडी उनको पटुकीको अन्तरमै हुन्थे, जुन उनी छोराहरूका लागि सँगालेर राख्थिन् । आमा प्रस्थानपछि विपिन र अर्जुनको बोध छ– आमाको मायाअघि अरूको माया फितलो-फितलो लाग्दोरहेछ!

प्रकाशित : भाद्र १८, २०८१ ०९:३५
x
×