कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १०२
सरुभक्तकी आमा

समर्पणमा बुद्धत्व प्राप्त लक्ष्मी

भाद्र २५, २०८१
समर्पणमा बुद्धत्व प्राप्त लक्ष्मी

Highlights

  • सरुभक्तमा नेपाली भाषाप्रति बढी अनुराग विकास हुनुमा आमा लक्ष्मीको भूमिका बढ्ता छ । बुबा कम बोल्ने थिए । नेवारी भाषामै बढी बोल्थे । आमा हेमजाको पृष्ठभूमिबाट आएकी थिइन् । हेमजा गाउँ नेवार, ब्राह्मण, क्षेत्रीको संयुक्त गाउँ भएकाले आमा नेपाली पनि शुद्ध बोल्थिन् । 

सात सन्तानको रेखदेख गर्नु कि घर व्यवहार सम्हाल्नु ! पसल धान्नु कि भान्सा सम्हाल्नु ! सन्तान रुँदा रुने, हाँस्दा हाँस्ने । आफ्नी आमा लक्ष्मी श्रेष्ठको ‘व्यक्तिगत जीवन’ नदेखेका साहित्यकार सरुभक्त अचेल लेखकीय दृष्टिकोणबाट सोच्छन्– उनकी आमाले बुद्धत्व प्राप्त गरेकी थिइन् । त्याग, समर्पण र ममतामा बुद्धत्व । 

हरितालिका तीजकै दिन पोखराको बागबजारमा जन्मिएका सरुभक्तले आफ्नो ७३ औं जन्मदिन मनाएको साता आमाका संघर्ष सम्झिए । वि.सं. २०११ मा गणेशबहादुरले हेमजाकी लक्ष्मीलाई भित्र्याएको वर्ष दिनपछि उनी जन्मिए । उनी जन्मिएको केही वर्षसम्म परिवारले चिया पसल गरेको उनले सुनेका छन् । कताकता उनलाई ठूलो कराहीमा दूध उमालिरहेको घुर्मैलो सम्झना छ ।

घरमा एउटा गोलो सिङ भएको, माया लाग्दो दुधालु भैंसी थियो । आफ्नै घरको दूध दिनभरि कराहीमा तताइरहेको उनी सम्झन्छन् । ठूलो भएर लापरबाह हिँड्ने, खानपानमा ध्यान नदिने व्यवहार देखेपछि जहिल्यै उनका फुपूले ‘बच्चामा तर मारेर खाएको भएर पो यसरी बलियो भएर हिँड्न सकेको छस्’ भनेर हप्काउँथे ।

बारीमा भैंसीलाई बाँधेर राखिन्थ्यो । आमा सिमपानीको वनमा भैंसीलाई घाँस काट्न जान्थिन् । बिहान गएर दिउँसोतिर फर्कन्थिन् । आमा नभएपछि घर शून्यजस्तै हुन्थ्यो । उनी पिँढीमा आमालाई पर्खेर बस्थे । त्यस बेला पोखरा सानो बजार थियो । ढुंगाले छापेका बाटो थिए । साँझतिर लस्करै घाँसको भारी बोकेर महिलाहरू आउँथे । विन्ध्यवासिनी मन्दिर वरपर बस्ने ब्राह्मण समुदायका महिला रातो सारी लगाएर घाँस दाउरा गर्थे । गाई, भैंसी पाल्ने चलन हुन्थ्यो । आफ्नो आमा कुनचाहिँ हुन् भनेर परबाट हेरिरहेको सम्झना उनलाई आउँछ ।

‘आमाले आज चितुवा भेटेको, झन्डैले झम्टिएन भनेर सुनाउँथिन् । जुन ठाउँमा वन छ, अहिले घरैघर छ । त्यो बेलामा वन नै थियो,’ बाल्यकाल सम्झिँदै उनले भने, ‘सिमपानीबाट वनमा उक्लिएपछि चुत्रो, ऐंसेलु, पानी अमला खाँदै याम्दीमा झर्थ्यौं । दिनभरि याम्दी खोलामा नुहाएर खेल्दै रमाउँदै सिमपानीमा निस्किन्थ्यौं ।’

उनी ५–६ वर्षको हुँदा बुबाले होटल व्यवसाय छोडेर किराना दुकान राखे । लामो कालखण्डसम्म किराना पसल नै चलाए । त्यसबेला बगरदेखि तल बजार थिएन । गाउँतिर जाने बाटो मात्रै थियो । बाटो सुनसानप्रायः हुन्थ्यो । पृथ्वीनारायण क्याम्पस खुलेपछि क्याम्पस जाने, भीमकालीपाटनमा पूजा गर्न जानेहरू हिँड्थे ।

हेमजामाथिका गाउँबाट मानिसहरू सामान किन्न आउँथे । अलि परका गुरुङ गाउँबाट मानिसहरू डोको बोकेर बजार झर्थे । डोकोभरि सामान बोकेर लैजान्थे । खातामा उधारो राखेर ६ महिना, वर्ष दिन पछि आएर पैसा बुझाउने गरी पैसा लिएर जान्थे । विश्वासमा त्यसबेलाको व्यापार चलेको थियो । बुबाआमा बिहान उठेदेखि साँझसम्म व्यापारमै व्यस्त भएको उनी देख्थे ।

एकदम चल्ने किराना पसल थियो । आमा दोकानबाट फुर्सद पाएपछि घरको काम गर्थिन् । खाना पकाइवरी फेरि पसलमै फर्कन्थिन् । सम्पूर्ण ध्यान काममा हुन्थ्यो । मान्छे धेरै आउँदा पसलमा भ्याइनभ्याई हुन्थ्यो ।

२०४० सालतिर उनको परिवारले किराना पसल छोडेर कपडा पसल राख्यो । कपडा दोकान त्यसबेला थोरै व्यक्तिकोमा मात्रै थियो । विन्ध्यवासिनी, मोहोरियाटोल र बागबजारमा तीनवटा मात्रै कपडा पसल थिए । त्यो पनि निकै चल्यो । ‘अहिलेजस्तो रेडिमेडको जमाना थिएन । सिलाइराख्ने झन्झट अहिले गर्दैनन् । कपडा पसलहरू सुक्दै गएका छन्,’ त्यसबेलाकै कपडा पसललाई निरन्तरता दिइरहेका उनले भने, ‘परम्परागत रूपमा चलाएकाले समय काट्ने बाटोका रूपमा चलाइरहेका छन् ।’

सरुभक्तमा नेपाली भाषाप्रति बढी अनुराग विकास हुनुमा आमाको भूमिका बढ्ता छ । बुबा कम बोल्ने थिए । नेवारी भाषामै बढी बोल्थे । आमा हेमजाको पृष्ठभूमिबाट आएकी थिइन् । हेमजा गाउँ नेवार, ब्राह्मण, क्षेत्रीको संयुक्त गाउँ भएकाले आमा नेपाली पनि शुद्ध बोल्थिन् । नेवारी र नेपाली दुवै फरर बोल्थिन् । ग्राहक आउँदा बुबाभन्दा बढी आमा नै बोल्थिन् । आमाले नेपाली बोल्दा उनको लवज नेवारले बोलेजस्तो हुँदैनथ्यो । नेपालीभाषी नै हो भनेजसरी बोल्थिन् । बेलाबेलामा उखानहरूको प्रयोग गर्थिन् । ‘बेलाबेलामा यस्ता यस्ता उखान प्रयोग गर्नुहुन्थ्यो । म क्याम्पस पढ्ने बेलामा पनि कति उखान आमाले प्रसंगबस यस्ता उखान भन्नुहुन्थ्यो जुन मैले सुनेकै हुन्थिनँ,’ उनले सम्झिए, ‘फेरि भन्नुस् त भन्यो भने नभन्ने । खे के भने के भनें भन्ने । आमाको नेपालीमा बढी धाराप्रवाह भएकाले त्यसको प्रभाव हामीमा परेको हुन सक्छ ।’

लामाचौर त्यतिबेला गाउँ नै थियो । पोखराकै पहिलो बोर्डिङ स्कुल नेपाली आदर्श विद्यालय बोर्डिङ स्कुल खुल्यो । खोलाको तिरमा झुपडी बनाएर स्कुल खुलेको थियो । अहिले उक्त विद्यालय गण्डकी बोर्डिङका रूपमा परिचित छ । उनी कक्षा ५ मा भर्ना भए । कक्षा ६ मा पहिलोपल्ट कविता लेखेको उनलाई सम्झना छ । उनकै साथी गीतकार विक्रम गुरुङ, पूर्णलाल कायस्थले पनि लेख्थे । ‘हामीलाई पढाउने केही गुरुहरूले बेलाबेलामा कविता सुनाउँथे । कहिले आफैंले लेखेका, कहिले देवकोटा लगायत नाम चलेका कविका कविता,’ उनले सम्झिए, ‘मुनामदनका लाइन सुनाउने । त्यसले लेखौंलेखौं लाग्ने भएर लेख्थ्यौं । बिस्तारै अभिरुचि बढ्दै गयो ।’

कलाप्रतिको अनुराग भने उनले बुबा पाए । उनका बुबा परम्परागत गाईजात्रा नाच्ने गर्थे । बुबा बगर टोलको नेतृत्व गरेर जेठीको भूमिकामा नाच्थे । उनी सानो हुँदा पछिपछि लाग्थे । नाच्दै भीमसेन टोल, विन्ध्यवासिनी हुँदै बागबजार आइपुग्थे । बाटोबाटोमा खानेकुरा दिन्थे । उनी बुबाको भाग झोलामा हाल्दै, खाँदै हिँड्थे । बुबाको कलाप्रतिको भावना, प्रसिद्धिकै कारण धेरैले मन पराउँथे । गाईजात्रा नाच हेर्न गाउँगाउँबाट मानिसहरू आएर घरको पिँढीमै सुत्ने गर्थे । रातभर नाचगान चल्थ्यो । गाईजात्रा नाचको महत्त्व ठूलो थियो । अहिले सामान्य भयो । नाच्दा श्रीपेचमा लगाउने गहना सक्कली नै हुन्थ्यो । कान्छा यो लगाएर नाच भनेर सक्कली गहना दिन्थे । विश्वास र आस्थाको जमाना थियो । त्यो प्रभावले कलाप्रति पहिलो प्रेरणा बुबाको नृत्यकला र प्रसिद्धिले उनीभित्र उत्पन्न भएको हो । बुबापछि उनी नाचेनन् । भाइ र भाइका छोराहरू नाच्दै गए ।

बुबाआमालाई साहित्यसँग खास सरोकार थिएन । विशुद्ध व्यावसायिक थिए । आमाको स्वभाव व्यावहारिक थियो । बोल्न सिपालु थिइन् । मानिससँग हाँसीहाँसी व्यवहार गर्न जान्ने र नेपाली भाषामा दख्खल भएको थिइन् । समर्पित किसिमको आमा थिइन् । गाउँघरमा जन्मेको औपचारिक शिक्षा प्राप्त गरेकी थिइनन् । लेखपढको मौका पाएकी थिइनन् ।

उनका मामाहरू भारतीय सेनामा थिए । आमाको विवाह भएपछि नेपालमा कोही बसेनन् । उनी जन्मिएर ५–६ महिनाको हुनेबेलामा मामा सपरिवार भारतको असममा गए । त्यसपछि उनकी आमा जीवनभर माइत जान पाइनन् । सबै माइत जान्थे, रमाउँथे तर उनकी आमालाई त्यस्तो अवसर थिएन । उनी आमा उदास भएर बसेको देख्थे । कहिलेकाहीं रुन्थिन् पनि । केही भन्थिनन् तर उनी बुझ्थे आमा किन निराश भएकी छन् भनेर । अरूजस्तो मामा घर जान पाइएन, टीका लगाउन पाइएन भनेर उनी पनि कहिलेकाहीं उदास हुन्थे । अलि बुझ्ने भएपछि उनी एकफेर मामा घर कहाँ पर्छ भनेर खोज्दै गए । उनलाई हेमजा भन्ने मात्रै थाहा थियो, कहाँनेर भनेर थाहा थिएन । आमाले लामो चौतारो छ, त्यसकै छेउमा हो भनेकी थिइन् । उनी लामो चौतारोनेर पुगेर उभिन्थे । मामा घर कुन चाहिँ होला भनेर वरपर हेर्थे । कसैसँग सोध्ने आँट आउँथेन ।

उनकी आमा विवाह भएर घर आउँदा परिवारको अवस्था निम्न वर्गीय थियो । बुबाका जेठो दाइ छुट्टिएर बसेपछि सानो घरमा आमा, दिदीहरू पालेर बसेका थिए । बिस्तारै व्यवसाय गरेर परिवार सम्पन्न हुँदै गयो । निम्न मध्यम वर्गको परिवारलाई मध्यम वर्गमा ल्याउन बुबालाई आमाले सघाइन् ।

आमा बाहिरबाहिर व्यावहारिक भए पनि भित्र अन्तरमुखी पनि थिइन् । विचारक जस्तो थिइन् । हिँड्दाहिँड्दै भर्‍याङमा टक्क अडिएर के–के सोच्थिन् । अहिले नारीले स्वतन्त्रता, न्यायको कुरा गर्दा उनी यसो विचार गर्छन्– आफ्नो आमाले कस्तो जीवन बाँचिन् ? ‘बुबाले परिश्रमको जीवन बाँच्नुभएको हो । संघर्षशील जीवन थियो । आमाले यसरी साथ दिनुभयो कि सम्पूर्ण ध्यान बुबामाथि केन्द्रित थियो । बुबा हाँसे हाँस्नुहुन्थ्यो, बुबा रोए रुनुहुन्थ्यो,’ उनी समीक्षा गर्छन्, ‘बुबाले केही चिजमा चित्त दुखाएर रिसाएर एकातिर फर्किए दुःखी हुन्थिन् । बुबालाई ठीकठाउँमा ल्याउने सम्पूर्ण रूपले समर्पित । हामी जन्मिएपछि सम्पूर्ण जीवन छोराछोरी र श्रीमान्प्रति समर्पित ।’

बुबा छोराछोरीसँग त्यति घुलमिल हुँदैनथे । उनले केही भन्नुपरे आमालाई नै भन्थे । बुबालाई भन्नुपरे पनि आमामार्फत नै भन्नुपर्थ्यो । आमाको सम्पूर्ण जीवन नै श्रीमान् र छोराछोरीमा समर्पण गरेर बितेको उनले देखेका छन् । त्यसभन्दा बाहिर आमाको व्यक्तिगत जीवन उनले देखेनन् । उनी भन्छन्, ‘अहिलेको क्रान्तिकारी समयमा महिलाहरू श्रीमान्, छोराछोरी भए पनि त्यसभन्दा बाहिर आफ्नो व्यक्तिगत जीवन छ भन्छन्, पर्सनल करियरको कुरा आउँछ । तर त्योबेलाका आमाहरूको व्यक्तिगत जीवन भन्ने नै हुँदैनथ्यो । श्रीमान्, छोराछोरीको खुसी नै उनीहरूको खुसी हुन्थ्यो । बिहान उठेदेखि राति नसुत्दासम्म श्रीमान्, छोराछोरीकै लागि व्यस्त हुन्थे ।’

‘यदि उहाँ आफ्नो घरपरिवारमा पूर्ण रूपमा समर्पित हुन नसकेको भए जीवनमा केही पाएको अनुभव नै गर्नुहुने थिएन होला । अहिलेको जस्तो व्यक्तिगत स्वतन्त्रता, करियर भन्ने कुरा मेरो आमाको पुस्ताका महिलालाई थाहै थिएन । त्यसअनुसारको शिक्षा पनि थिएन । उनीहरूको मस्तिष्कमै थिएन,’ आमाबारे उनी भन्छन्, ‘मेरो आमाजस्तो महिलाको बुद्धत्व भनेको त्यही समर्पण र ममतामा हो । त्यसलाई अहिलेका नारीले परम्परागत भयो भनेर आलोचना गर्नुको अर्थ छैन । आलोचना बुद्धको पनि गर्न सकिएला । बुद्धले बुद्धत्व प्राप्त गरेको कुरा प्रविधिको युगमा वैज्ञानिक रूपमा पुष्टि गर्न गाह्रो पर्छ । त्यस समयमा समाजका लागि त्यही उपयुक्त थियो ।’ उनले आफ्नो मुक्तक संग्रह ‘सरुभक्तका मुक्तक’ मा लेखेका छन्–

सृष्टिमा सर्वत्र हेर अविनाशी पदार्थको सत्व छ

छोटो भए पनि जीवनमा जीवनको ठूलो महत्त्व छ

सुखदुःख, आँसु, हाँसो जे जे जति भोग्नुपरे पनि

धरतीजस्ती आमा बुझ्छिन्– ममतामा उनको बुद्धत्व छ

व्यक्तिगत जीवन बाँच्नुपर्छ भन्ने न चेतना थियो, न आवश्यकता महसुस हुन्थ्यो । परिवारको सुखदुःखभन्दा बाहिर आमाको कुनै सुखदुःख थिएन । त्यसैमा आमाले बुद्धत्व प्राप्त गरिन् । आफ्ना श्रीमान् ‘गणेश साहु’को नाममा कहलिनु नै जीवनको सार्थकता थियो ।

व्यक्तिगत जीवन, व्यक्तिगत रोजाइको अवसर नै नियतिले दिएन । अचेल केही दिन परिवारबाट पनि स्वतन्त्र हुने इच्छा हुन्छ मानिसको । एउटै परिवारभित्र पनि श्रीमान्ले श्रीमतीलाई, श्रीमतीले श्रीमान्लाई ‘स्पेस’ चाहियो भन्छन् । ‘अहिलेको समयमा त्यो भएन भने सम्बन्धलाई टिकाउन नसकिने सत्य हो । बुबाआमालाई हेर्दा त्यतिबेला ‘स्पेसलेस’ सम्बन्ध थियो । ‘स्पेस’ को कुनै अस्तित्व नै थिएन,’ उनी भन्छन्, ‘एकअर्कामा सम्बन्धित । कहिल्यै स्पेस नै राख्न सक्नुभएन । जसलाई अवधारणा नै थाहा छैन, त्यसको अभाव नै महसुस हुँदैन ।’

उनको पहिलो कृति ०३५ सालमा ‘बन्द खामभित्र’ मुक्तक संग्रह प्रकाशित भयो । सानैदेखि राम्रो पढोस् भन्ने परिवारको चाहना थियो । उनी भने क्याम्पस पढ्न थालेपछि पढाइबाट भड्किएजस्तो भयो । पाठ्यपुस्तकभन्दा बढी साहित्यको अध्ययनमा चासो लिन थाले । क्याम्पस पढ्दाताका त्यस्तो देखेपछि बुबाआमा निराश थिए । उनीहरूको चाहना छोरा डाक्टर, इन्जिनियर भइदियोस् भन्ने थियो । साहित्यमा लाग्नु एकप्रकारले बिग्रनुजस्तै थियो । स्वभाव पनि त्यस्तै हुन्थ्यो । घर जाने, आउने, खान, सुत्नेको केही ठेगान नहुने । बुबाआमाको दृष्टिकोणमा छोराले आफ्नो जीवन बिगार्‍यो भन्ने भयो । आमाले सम्झाइरहन्थिन् । उनी बेवास्ता गरेर हिँड्थे । उनी त्यसलाई उमेरको असर मान्छन् ।

नाटकतिर लागेपछि उल्टै घरबाट सामान लैजान्थे । आम्दानी सुको हुने थिएन । पछि लेखक भनेर चिन्न थालेपछि पढ्लेखेका, अग्रजले तपाईंहरूको छोरा यस्तो उस्तो भनेर तारिफ गर्न थालेपछि अलिकति बुझ्न थाले । छोराले ठीक बाटो लिएको रहेछ भनेर महसुस गर्न थाले । काठमाडौंबाट ठूला लेखक बेलाबेलामा घरमै आइपुग्थे । सिद्धिचरण श्रेष्ठ, विजय मल्ल, कमलमणि दीक्षित उनको घरमा आएका छन् । क्याम्पस पढाउने गुरुहरूले तपाईंको छोरा यस्तो, उस्तो भनेर तारिफ गरेपछि बुबाआमा मख्ख पर्थे । छोरा गलत बाटोमो हिँडेको नरहेछ भन्ने बुझे ।

बुबाआमा पसलमा व्यस्त भइरहने भएकोले पहिलो कृति निस्कँदा उनीहरूले थाहै पाएनन् । थाहा दिनुपर्छ भनेर सरुभक्तलाई वास्ता पनि भएन । उनी पोखरा रहँदा मञ्चन भएर चर्चित भएको नाटक ‘युद्ध उही ग्यास च्याम्बरभित्र’ लाई कीर्तिपुरमा स्नातकोत्तर पढ्दै गर्दा पुस्तकका रूपमा प्रकाशन गर्न दिए । खर्चको अभाव भयो । ०३९/४० तिर बुबाआमालाई चिठी लेखेरै किताब छाप्न पैसा मगाए । त्यसपछि उनले बुबाआमासँग पैसा मागेर किताब छाप्नुपरेको छैन ।

०४८ सालको मदन पुरस्कार उनको उपन्यास ‘पागलबस्ती’ ले पाएको रेडियो नेपालबाट घोषणा भयो । बुबाआमाले रेडियोबाट थाहा पाए । तर ५० हजार रुपैयाँ राशिको उक्त पुरस्कारको ओज न सरुभक्तले बुबाआमालाई बुझाए, न उनीहरूले बुझे ।

दसैंको फूलपातीको दिन सबैभन्दा बढी व्यापार हुने बेला । पुरस्कार पाउने दिन दसैंकै फूलपातीको दिन थियो । उनी पोखराबाट पुरस्कार लिन काठमाडौं एक्लै गए । काठमाडौंकी केही साहित्यकारलाई लिएर उनी पुरस्कार थाप्न गए । पुरस्कार ल्याएर आमालाई नै दिए । जे पुरस्कार पाए पनि ल्याएर आमालाई दिने उनको बानी थियो । यसअघि राष्ट्रिय कविता उत्सवमा उनी पहिलो भएका थिए । २०४२ मा युवा वर्ष मोती पुरस्कारबाट सम्मानित भइसकेका थिए ।

साथमा पुरस्कार वितरणको तस्बिरहरू भएको एल्बम थियो । त्यही एल्बम हेरेर बुबाले फिस्स हाँसेर ‘यस्तो कुरा भनेको भए हामी पनि जान्थ्यौं नि’ भने । बुबाले सिधा गरेको प्रशंसा त्यो नै पहिलो थियो । जिन्दगीमा त्यो क्षण उनी कहिल्यै बिर्सन्नन् । आमाले सातवटा सन्तान कसरी हुर्काइन् भनेर उनी आश्चर्यमा पर्छन् । आजकल एउटा सन्तान हुर्काउन पनि गाह्रो भएको देख्छन् । समय परिस्थितिको कुरा हुँदो रहेछ । पसल पनि बस्नुपरेको छ, पकाउनु पनि परेको छ । घर व्यवहार पनि धान्नु परेको छ । झन्डै १४–१५ वर्ष छोराछोरी पाएर बित्यो । पसललाई उकास्ने मुख्य समय पनि त्यतिबेलै थियो । त्यो भनि भ्याइन् । बुबालाई साथ पनि दिइन् ।

‘त्योबेला साग, ढिँडो जे खाए पनि हुन्थ्यो । बच्चाहरू सन्तोषी हुन्थे । बाहिरको खानेकुरा खाने चलन थिएन । परिस्थिति बुझेपछि सहज किसिमले हुर्कियौं,’ उनले भने, ‘अहिले एक–दुईजना सन्तान भएकोलाई आम्दानी, व्यवहारले धान्न गाह्रो परिरहको देख्छु । सानो जागिर खाने, गिट्टी बालुवा चाल्नेको सन्तान धेरै हुन्छन् । उनीहरूले कसरी व्यवस्थापन गर्छन् होला ?’ त्यति हुँदा पनि आमाले दुःख भयो भनेर व्यक्त गरेको सम्झना उनलाई छैन । बरु उनी जेठो छोरा भएकाले विद्यालय छोडेर क्याम्पस भर्ना भएदेखि नै विवाह गर्न जोड दिइरहिन् । उनी मानेनन् । जति जोड गर्दा पनि नमानेपछि त्यसबेला माइलो भाइ सप्तराज श्रेष्ठको कुँडहरबाट विवाह हुने भयो । भाइले सरुभक्तलाई पालो मिचेर विवाह गरेकाले सजायस्वरुप एक रुपैयाँ राखेर ढोगे ।

अरू भाइबहिनी सबैको बिहे भयो । उनले मानेनन् । आमाको अन्तिमसम्म पनि चिन्ता त्यही रह्यो । आमाबुबाले छरछिमेक, आफन्त, साथीभाइमार्फत बिहेका लागि मनाउन खोजे । उनले कसैगरी मानेनन् । आफ्नो शेषपछि के गरी जीवन बिताउला भन्ने चिन्ता बुबाआमालाई थियो ।

‘यो चाहिँ बुबाआमाप्रति अपराध नै गरें कि जस्तो लाग्छ कहिलेकाहीं । त्यो एउटा कुरा मान्न सकिनँ,’ उनी दुःखी देखिए, ‘अरू कुरामा बुबाआमाप्रति नतमस्तक नै थिएँ ।’ जति सम्झाए पनि हुन्न भनेपछि आमामार्फत कुरा आउँथ्यो । उनले भने कुरै नगर्नुस् भनेर टार्थे । बुबाआमालाई त्यो सुख दिन सकेनन् । त्यसमा उनलाई पनि दुःख लाग्छ ।

२०७१ सालमा बुबा ८३ वर्षको उमेरमा बिते । बुबा बितेपछि आमा के के हराएकोजस्तो, खालीखाली भएजस्तो गरेर बस्न थालिन् । रोगी पनि हुँदै गइन् । बुढेसकालमा श्रीमान् वा श्रीमती बितेपछि जिन्दगी असन्तुलित हुँदो रहेछ । ०७३ मा आमा ८० वर्षको उमेरमा बितिन् । भक्तबहादुरबाट ‘सरुभक्त’ बनेको प्रसंगको राज उनले खोलेका छैनन् । सबैले अनेकखाले लख काट्छन् । तर उनी भन्छन्, ‘कुनै दिन आत्मकथा लेखेर भनौंला ।’

प्रकाशित : भाद्र २५, २०८१ ०८:३६
×