कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ११९

तीजमा 'भर्चुअल' माइत

भाद्र २०, २०८१
तीजमा 'भर्चुअल' माइत

लुम्बिनी — रुपन्देहीको तिलोत्तमा–५ नयाँमिलकी सिर्जना न्यौपाने अष्ट्रेलियामा बस्छिन् । २०६७ सालमा विदेशिएकी उनी प्रत्येक वर्ष पुस/माघमा बिदा मिलाएर स्वदेश आउने गरेकी छन् । अहिलेसम्म तीज पर्व मनाउने गरी मुलुक आउने मेसो नमिलेको उनले बताइन् ।

‘अर्काको देशमा सोचेजस्तो जीवन हुँदैन,’ उनले भनिन्, ‘समय व्यवस्थापन गर्न गाह्रो हुन्छ ।’ भिडियो कलमै भए पनि आमा-बुवालाई रमाउनुस्, चिन्ता नलिनुस् भन्ने गरेको उनले बताइन् ।

विदेशमै धेरै नेपाली भइसकेकाले अष्ट्रेलियामै जमघट गरेर रमाइलो गर्ने गरेको उनले बताइन् । नेपाली कलाकार, साथीभाइहरुका आमाबुवा अष्ट्रेलिया पुग्ने भएकाले परिवारजस्तै रमाइलो गर्न मिल्ने उनले बताइन् ।

सिर्जनाकी आमा सीताले एउटी छोरी पनि तीज जस्तो चाडपर्वमा नआउँदा पीर लाग्ने गरेको बताइन् । बिहीबार दर खाने दिन भएकाले बिहानै छोरीलाई फोन गरेर शुभकामना दिएको उनले सुनाइन् । फोन गर्ने बेलामा पनि छोरी काममा गइसकेकाले धेरैबेर बोल्न नपाएको उनले सुनाइन् । ‘म तीनपटक चाडपर्व पारेर त्यहाँ गएँ र आएँ, उनीहरु यहाँ आउन नपाउने भएकाले मै गएकी हुँ,’ उनले भनिन्, ‘छोरीले नै ममी हामी विदेशमा छौं, हजुर चिन्ता नमानेर पकाउनुस्, खानुस् भन्छिन् ।’ सीतालाई भने छोरीबिना तीज खल्लो लाग्छ । सन्तानबिना जति नै देखे/बुझेको भए पनि रमाइलो नलाग्ने सीताले बताइन् । ‘मेरी एउटी छोरी हुन्, छोराबुहारी पनि काठमाडौंमा बस्छन्,’ उनले भनिन्, ‘हामी बुढाबुढी छौं, नरमाइलो र उराठ लाग्छ ।’

विदेशिएका सन्तानलाई यही समयमै नेपाल आउनु पर्छ भन्ने स्थिति नहुने उनले बताइन् । ‘अष्ट्रेलियाको नियम कडा छ, समयको पालना पनि उस्तै गर्छन्,’ उनले भनिन्, ‘नेपालमा अति सजिलो छ, यहाँ बसेका सन्तान सकभर विदेश नगए हुन्छ ।’ आमाबुवाले आफ्ना सन्तान त्यहीमाथि छोरीलाई टाढा भएको देख्न नसकिने भएकाले छोरी त नेपालमै बसाल्न पाए हुने जस्तो लाग्ने उनले बताइन् ।

बुटवल–१३ बेलबासकी सन्तोषी भुसाल डीभी परेपछि अमेरिका गइन् । विवाह भएको एक वर्षमात्र भएको थियो । डीभी परेर अमेरिका गइन् । अमेरिका गएको १० वर्षमा एकपटक मात्र नेपाल आएको उनले बताइन् । कुनै पनि चाडपर्व आमाबुवा र परिवारका अन्य सदस्यसँग बसेर मनाउन पाएकी छैनन् । ‘विदेशिएपछि यतैको रन्कोले हैरान पार्ने रहेछ,’ उनले भनिन्, ‘बालबच्चाको पढाइ, आफ्नो काम, आज बिदा बसौं, आज हिँडौं भन्न मिल्ने जस्तो हुँदैन ।’ विदेशमा सबै कुराको व्यवस्थापन मिलाउँदै चाडबाड भुल्ने गरेको बताइन् । यस्तो व्यस्तताबीच माइत जान्छु भनेर ढिपी गर्ने अवस्था नरहने उनले बताइन् । १० वर्ष बितिसकेकाले सबै कुरालाई सामान्य तरिकाले लिँदै अघि बढेको उनले बताइन् । बेलाबेलामा आमाबुवालाई नै अमेरिका बोलाएर भेटघाट गर्ने, अत्याट मेट्ने गरेको उनले बताइन् ।

सन्तोषीकी आमा ५९ वर्षीया लीलादेवी भुसाल चाडबाडका बेला छोरी नेपाल आइदिए हुन्थ्यो भनेर बाटो हेर्छिन् । आफु नै विदेश गएर छोरी,ले दुःख गरेको देखेपछि झनै मन आत्तिने गरेको बताइन् । ‘ठूली छोरी र कान्छो छोरो यहीँ छन्, माइली छोरी र ठूलो छोरो विदेश छन्,’ उनले भनिन्, ‘सन्तानलाई आफ्ना नजरबाट टाढा भएको यसै पनि देख्न सकिन्न, झन् बुढेसकाल लाएपछि पीरै पीर हुने रहेछ ।’ छोरीलाई नेपाल आउ भन्दा काम, बाबुनानीको पढाई, घर किनिसकेपछि त्यसको पैसा तिर्नुपर्ने, नेपाल आउँदा चार जनाको खर्च यस्तै विषयले आउन नपाउने बताउने गरेको भुसालले बताइन् । ‘अति नै नरमाइलो लाग्छ, सबैका चेलीबेटी सन्तान सँगै हुन्छन्, आफ्ना टाढा छन्,’ उनले भनिन्,‘जतिसुकै दुःख होस् नेपालमै बसून्, बाहिर नजाउन् ।’

सिद्धार्थनगर–७ की ७० वर्षीया रेनु गौतमका ४ सन्तानमध्ये २ छोरी अमेरिकामा छन् । चाडबाड आयो कि छोरीको सम्झना आउँछ । चाडबाडमा खुसी हुनलाई छोरीको विवाह नजिकै गरिदिनुपर्ने उनको भनाइ छ । ‘०६२ सालदेखि तीज आएको छ,’ उनले भनिन्, ‘मेरा छोरी आएका छैनन् ।’ बरु यसबीचमा छोरीले बोलाएर अमेरिका गइसकेको उनले बताइन् । मुलुक र जन्मघर भुल्छन् कि भन्ने चिन्ता रेनुलाई लाग्न थालेको छ ।

सबै माइत जाँदा आफूलाई पनि छोरीहरु आइदिए हुन्थ्यो भन्ने लाग्ने गरेको उनले बताइन् । बाध्यताले विदेशमै रोकिनुपर्दा छोरीहरु आमा सम्झेर रुनुबाहेक विकल्प नभएको बताउने गरेको रेनुले सुनाइन् । अधिकतम् सन्तान आमाबुवालाई छोडेर परदेशिएकाले सबैको घरमा यो पीडा रहेको उनले बताइन् । तीजमा बुहारीलाई माइत पठाएपछि आफू एक्लै पर्ने गरेको उनले सुनाइन् । नातिनातिनीले मामाघरमा टेक्नै आउँदैनन् कि भन्ने चिन्ताले सताउने गरेको भन्दै उनले विदेशीले नेपाली चाडबारे थाहा नै नपाउने भएकाले छोरीलाई बिदा नमिल्ने बताइन् । आफूलाई छोरीले बोलाउँदा विदेश जान पाएँ भन्ने विषयले मख्ख पारेर नभई उनीहरुलाई देख्न पाउँछु भन्ने खुसीले जाने गरेको उनले बताइन् ।

पछिल्लो समय अधिकांश नेपाली युवा विदेशमा छन् । पुरुष आफैं जाने वा डिपेन्डेन्टमा गइरहेका छन् भने महिला प्राय: विवाहपश्चात् विदेश गएका छन् । विवाह भए पनि नभए पनि आफ्नो जन्मघरबाट टाढा रहेका नेपाली चाडबाडमा नेपाल नआउँदा उनीहरु बस्ने गाउँ–समाज शून्य हुन्छ । छोराछोरी विदेशिनुलाई नेपाली अभिभावकले पछिल्लो समय गौरवकै रुपमा हेरिरहेको समाजशास्त्र विषयका अध्यापक वसन्त जोशीको भनाइ छ । चाडपर्वमा आफन्त र सन्तानसित रमाइलो गर्ने अभिभावकको चाहना भए पनि पूरा नहुने गरेको उनले बताए । ‘विदेश जानुलाई नकारात्मक रुपले मात्र हेर्न मिल्दैन,’ उनले भने, ‘भर्चुअल माध्यामबाट पनि संवाद भइरहेको छ, तर समाज टाढा भइरहेको छ ।’ प्रविधिको माध्यमबाट बोलेर दुःखसुख साटासाट गर्नु, चाडका कुरा गर्नुलाई पनि सामाजिक संस्कार नै मान्नुपर्ने उनको भनाइ छ । चाडपर्व त्यसमा पनि तीज छोरी हुने आमा बुवाका लागि विशेष हुने भएकाले विवाह गरेर पठाएकी चेली हुन् वा पढ्नका लागि विदेशिएकी सबै आमाबुवालाई निराशा हुने उनको भनाइ छ । जोशीले समाजका घरैपिच्छेका सन्तान विदेश भएकाले सोही अनुसार बानी बसाल्नुपर्ने बताए ।

प्रकाशित : भाद्र २०, २०८१ १७:४०
x
×