कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

हुन्डाईको नेपाल यात्रा : डिलरदेखि उद्योगसम्म

भाद्र १६, २०८१
हुन्डाईको नेपाल यात्रा : डिलरदेखि उद्योगसम्म

Highlights

  • दुई अर्ब लगानीमा नवलपरासीको रामग्राममा गत वैशाख २८ देखि ‘एसेम्बल्ड प्लान्ट’ सुरु गरेको लक्ष्मी ग्रुपले गाडीका लागि ९० प्रतिशत पार्ट्स दक्षिण कोरिया र भारत तथा बाँकी सामान नेपालकै प्रयोग गर्छ

काठमाडौँ — लक्ष्मी ग्रुप सुरु भएको पाँच दशक नाघ्यो । यस अवधिमा लक्ष्मी ग्रुपअन्तर्गत २० कम्पनी छन् । तिनै कम्पनीमध्ये एक हो, लक्ष्मी हुन्डाई । अनेक आरोह/अवरोह झेल्दै एउटा डिलरबाट सुरु भएको हुन्डाईको यात्रा आज ‘एसेम्बल’ उद्योगसम्म पुगेको छ । काठमाडौंको नयाँबानेश्वरमा डिलर राखेर सुरु गरिएको लक्ष्मी हुन्डाईको यात्रा नेपालको आधिकारिक विक्रेतादेखि उत्पादन गरेर बिक्री गर्नेसम्ममा पुगेको हो । 

लक्ष्मी ग्रुपको सुरुवात बुद्धिबहादुर र गणेशबहादुर श्रेष्ठले २०३० पुस ५ मा लक्ष्मी मिठाई भण्डारका रूपमा पोखराबाट सुरु गरे । त्यसपछि बिस्तारै प्लास्टिक, डेरी, स्टिल व्यवसाय हुँदै गाडी उत्पादनसम्म पुगेको छ । लक्ष्मी ग्रुपले अटोमोबाइल व्यवसायमा केही गर्ने सोच बनाइरहेको थियो । सन् २००२ मा गणेशबहादुरका कान्छा छोरा निराकार श्रेष्ठ स्विट्जरल्यान्डमा ‘ब्याचलर इन हस्पिटालिटी म्यानेजमेन्ट’ को पढाइ सकेर नेपाल फर्किए । त्यो ताका माओवादी द्वन्द्व चरम उत्कर्षमा थियो ।

दरबार हत्याकाण्ड भएको वर्ष दिन मात्र पुगेको थियो । पर्यटन व्यवसाय एकदमै शिथिल अवस्थामा थियो । चुनौतीका बीच निराकार अटोमोबाइल क्षेत्रमा हात हाल्ने तयारी गर्दै थिए । ‘कुन क्षेत्र मैले अँगाल्ने हो, त्यसको अध्ययन र अनुसन्धान गर्दै अघि बढ्ने सोचमा लागें,’ उनी भन्छन्, ‘अटोमोबाइलको क्षेत्रमा केही गर्नुपर्छ भन्ने सोच भयो, त्यसका लागि अवसर खोज्दै बसिरहेको समयमा सन् २००६ मा पहिलो पटक अटोमोबाइल काम सुरु गर्ने मौका मिल्यो ।’

त्यो बेला हुन्डाईको जो आधिकारिक वितरक थिए, उसले काठमाडौंका लागि डिलर खोजिरहेका थिए । ‘त्यसपछि काठमाडौंमा डिलर सुरु गर्‍यौं,’ निराकार भन्छन्, ‘२००८ मा हुन्डाईका गाडी आफैं आयात गरेर वितरण गर्ने अवसर पायौं ।’ साढे चार करोड लगानीबाट डिलर सुरु गरिएको रहेछ । ‘त्यो बेला बजार सानो थियो, तर पनि डिलर सुरु गरेको पहिलो वर्ष २ सय ९० वटा गाडी बिक्री गर्न सक्यौं,’ लक्ष्मी ग्रुपका कार्यकारी निर्देशक निराकार भन्छन् । अन्जन, निरञ्जन र निराकार तीन दाजुभाइ हुन् । व्यवसायमा साथै ठूलो बुवाका सुनील पनि छन् । ‘हामी सबै सँगोल परिवारमै छौं, ग्रुपमा आ–आफ्नो भिन्दाभिन्दै व्यवसाय गरिरहेका छौं,’ उनी भन्छन्, ‘अटोमोबाइल मैले हेर्छु ।’ उनी तयारी हुन्डाई गाडीको बिक्रीमा मात्र अडिन चाहेनन्, बजार फैलँदो थियो ।

‘बुवाको अवधारणा उद्योगी हुनुपर्छ भन्ने थियो, यसो भन्दैमा व्यापार नराम्रो भन्ने होइन, कुनै दिन आफ्नै माटोमा उद्योग खोल्नुपर्छ भन्ने थियो,’ उनी भन्छन्, ‘त्यही क्रममा सन् २०११ ताका गाडी ‘एसेम्बलिङ’ उद्योगका बारेमा बुझ्न र अध्ययन गर्न मलेसिया, भियतनाम पुगें, त्यहाँ पुगेर गाडी उत्पादन गरेको हेरिसकेपछि नेपालमा पनि उत्पादन गर्न सकिन्छ भन्ने भयो ।’ योबीचमा बजारमा हुन्डाईको हिस्सा बढ्दै गएको थियो । ‘सन् २०१७ तिर फर्केर हेर्दा हामीलाई एउटा तहमा आइपुग्यौं भन्ने लाग्यो, त्यो तह कटेपछि एसेम्बल उद्योग खोल्नुपर्छ भनेका थियौं, त्यो तह पनि पार गर्‍यौं ।’ सन् २०१९ नोभेम्बरमा हुन्डाई र लक्ष्मी ग्रुपबीच नेपालमा ‘एसेम्बल’ गरेर गाडी उत्पादन गर्न दक्षिण कोरियामा समझदारीपत्रमा हस्ताक्षर (एमओयू) भयो ।

‘२०२१ भित्र उत्पादन सुरु गर्ने योजना थियो, २०२० मा कोभिड–१९ ले गर्दा लकडाउन हुने/खुल्ने भइरहेको थियो,’ उनले भने, ‘जसले गर्दा उद्योग खोल्ने काम प्रभावित बन्न पुग्यो ।’ योबीचमा उद्योगका लागि जग्गा प्राप्ति भइसकेको थियो । उत्साहका साथ उद्योग स्थापना गर्न लागिरहँदा कोभिडको समस्या आएको थियो । बजार कसरी अघि बढ्छ र कस्तो हुन्छ भन्ने अन्योल थियो । उनका अनुसार २०२१ मा अटोबजार ह्वात्तै माथि उठ्यो ।

‘जुन अटोमोबाइल व्यवसायीका लागि राम्रै वर्ष भयो,’ उनले भने, ‘त्यसपछि उद्योगका लागि मेसिनहरू मगाउन थाल्यौं ।’ हुन्डाईको ब्रान्डमा नेपालमा गाडी उत्पादन गर्न उसको ब्रान्डको लाइसेन्स लिनुपर्छ । त्यो लिनका लागि उद्योग विभागलगायत निकायबाट प्रक्रिया पूरा गरेको उनले सुनाए । ‘यसरी ब्रान्ड नाममा नेपालमा गाडी उत्पादन गरेको रोयल्टी उतै तिर्नुपर्छ,’ उनले भने, ‘त्यसका लागि २०२२ को सुरुवाती चरणमा यी सबै काम पूरा गर्‍यौं ।’ यही बेला श्रीलंकामा विदेशी मुद्रा (विनिमय) सञ्चिति कम भएपछि आर्थिक संकट आयो । त्यस्तो जोखिममा नेपाल पनि पर्छ भन्दै हल्ला गरियो । कोभिड ताका रेमिट्यान्स घटेको थियो । पर्यटक आवागमन शून्य बन्यो । विदेशी मुद्रा सञ्चितिको डर भयो । ‘विदेशी मुद्रा सञ्चितिको जोखिम कम गर्न भन्दै सरकारले २०२२ अप्रिलबाट गाडी र मोटरसाइकल लगायत १० प्रकारका वस्तुको आयात बन्द गरिदियो,’ उनले भने, ‘तर हामीले उद्योगको काम भने अघि बढाई नै रह्यौं ।’ २०२३ मार्चबाट यसको निर्माणको काम अघि बढ्यो । २०२४ मार्च अर्थात् निर्माण थालेको एक वर्षमा काम सकियो ।

२०८१ वैशाख २८ मा तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालले ‘एसेम्बल प्लान्ट’ को औपचारिक रूपमा उद्घाटन गरेसँगै गाडीहरूको उत्पादन सुरु भयो । उद्योग नवलपरासीको रामग्राम नगरपालिका भित्र १० बिघा क्षेत्रफलमा रहेको छ । उद्योगमा आईसी इन्जिन भएका इन्धनबाट चल्ने गाडी र विद्युतीय (ईभी) गाडी एउटै ‘एसेम्बलिङ’ लाइनबाट बन्नेछन् । ईभी गाडीका लागि केही उपकरणहरू उद्योगमा थप्नुपर्ने श्रेष्ठले बताए । अहिले हुन्डाई भेन्यु कारको मात्र उत्पादन भइरहेको छ । जग्गासहित दुई अर्ब लगानीमा उद्योग सुरु गरिएको हो । ‘हामीले नेपालमा हुन्डाईको १२ वटा मोडलका गाडी बिक्री गर्छौं,’ उनले भने, ‘त्यसमध्ये अहिले भेन्यु मोडलको मात्र कार उत्पादन गरिरहेका छौं ।’ १२ वटा मोडलमध्ये कुल बिक्रीमा भेन्यु मोडलको कारको योगदान करिब १८ प्रतिशत हाराहारी छ ।

‘आईसी गाडीको उत्पादन थालेको डेढ वर्षपछि ईभी गाडीको उत्पादन गर्ने सोचमा थियौं,’ उनले भने, ‘ईभीको बढ्दो बजार र मागलाई ध्यानमा राख्दै त्यति ढिला नगरी उपकरणहरू थपेर यसको उत्पादन छिटो गर्ने तयारीमा छौं ।’ उद्योगको वार्षिक उत्पादन क्षमता ५ हजार गाडी हो । ‘अहिले एउटा मात्र मोडल बनाइरहेका छौं,’ उनले भने, ‘त्यसैले कुल क्षमतामा १० देखि १२ प्रतिशत मात्र उत्पादन भइरहेको छ ।’ उद्योग सञ्चालनमा आएयता २ सय वटा भेन्यु गाडी तयार भइसकेका छन् ।

‘सुरुमै कुनै पनि उद्योग पूर्ण क्षमतामा चल्दैनन्,’ उनले भने, ‘तीन वटा मोडलका गाडी उत्पादन थालेपछि उद्योग कुल क्षमताको ६० प्रतिशतमा चल्नेछ ।’ यहाँबाट उत्पादन भएको हुन्डाई भेन्युलाई ‘हुन्डाई नेपाल, मेक फर योर जर्नी’ नारा लेखेर नाडा अटो सोमा राखिएको छ । ‘यो गाडीलाई नेपाल भ्रमणमा सबैतिर पठाएर नेपालमा के गर्न सकिन्छ भन्ने कुराको सन्देश दिने उद्देश्य हो,’ उनले भने, ‘यो हाम्रा लागि गौरवको विषय हो ।’ उद्योगमा एक सय जनाले रोजगारी पाएका छन् । भोलिका दिनमा उद्योग पूर्ण क्षमतामा चल्दा ५ सयभन्दा बढीले रोजगारी पाउनेछन् । उद्योगमा काम गर्ने सबै नेपाली छन् ।

‘नेपालमा चारपांग्रे गाडीको उत्पादन सुरु भएको छ,’ उनले भने, ‘नेपालको अटोमोबाइल क्षेत्रमा गाडी उत्पादनले औद्योगिकीकरणमा राम्रै सहयोग गर्ने आस छ ।’ २०२२ मा पेट्रोलियम गाडीको आयातमा प्रतिबन्ध थियो । विद्युतीय गाडीमा थिएन । त्यसबेलाबाट विद्युतीय गाडीको वर्चस्व बिस्तारै बढ्दै गयो । त्यसैले यो उद्योगमा आईसी गाडी मात्र बन्ने होइन । ईभी गाडीहरू पनि उत्पादन हुनेछ । २०२१ सम्म १५/१६ प्रतिशत ईभी र बाँकी आईसी गाडी आयात हुन्थ्यो । २०२३–२४ मा ६० प्रतिशत ईभी र ४० प्रतिशत आईसी गाडीको आयात हुन थाल्यो ।

‘२०२४ को आधा वर्षको तथ्यांक हेर्दा झन्डै ८० प्रतिशत ईभी र २० प्रतिशत आईसी गाडीको आयात छ,’ उनले भने, ‘त्यसैले बजार हेरेर सुरुवाती चरणमा बनाएको योजनालाई परिवर्तन गर्दै ईभीको उत्पादन २०२५ को तेस्रो त्रैमासिकभित्र सुरु गर्ने सोचमा छौं ।’ आगामी दुई महिनाभित्र दोस्रो मोडल ग्य्रान्ड आई–१० को उत्पादन सुरु गरिने उनले बताए । यसको उत्पादन सुरु भएको चारदेखि पाँच महिनाभित्रमा क्रेटाको उत्पादन गर्ने तयारी छ । २०२५ को मार्चसम्म तीन वटा मोडलको गाडी उत्पादन हुने उनको दाबी छ । ‘हामीअनुसार बजार होइन, बजारअनुसार हामी चल्नुपर्छ,’ उनी भन्छन्, ‘त्यहीअनुसार ईभीको उत्पादन सुरु गर्ने तयारीमा छौं, आईसी र ईभी दुवै प्रोडक्ट तयार पार्नेछौं ।’

भेन्यु गाडी कार सानो र छरितो छ । ‘नेपालको माटो, बाटो सुहाउँदो छ,’ उनले भने, ‘त्यसैले जहाँ पनि पुग्न सक्ने, साना गल्ली र गाउँघरका ग्राभेल सडकमा चल्न सक्नेछ ।’ नेपालमा भेन्यु कार उत्पादन गर्दै छौं भन्दा सुरुमै कति सस्तो पर्छ भनेर प्रश्न आउने गरेको उनले सुनाए । ‘यसले आजको दिनमा नभए पनि भविष्यमा यहाँको औद्योगिकीकरण, रोजगारी, सीप विकासमा सहयोग पुग्नेछ, विदेश पलायन भइरहेका युवाहरूलाई रोक्न केही हदसम्म यस्ता उद्योगहरू सहयोगी बन्नेछन्,’ उनले भने, ‘आजको दिनमा भन्न सकिँदैन, बजार नै सानो छ, यति सानो बजारका लागि चाहिने कच्चा पदार्थ यहीं नै बनाउन अर्को लगानी आउने कुरा गाह्रै छ ।’ ९० प्रतिशत पार्ट्स कोरिया र भारतबाटै ल्याएर गाडी तयार गर्ने गरिएको छ । १० प्रतिशत नेपालको सामानहरू प्रयोग हुने गरेको छ ।

‘मैले २५ हजार वटा गाडी उत्पादन गर्छु, एक लाख वटा अगाडिको हेडलाइट, पछाडि र साइड लाइट मलाई चाहिन्छ, यसका लागि उद्योग स्थापना गर्न सक्छौ भनेर कसैलाई भन्यो भने उसले आँट गर्न सक्छ ।’ तर, ५ हजार वटा मात्र गाडीमा प्रयोग हुने लाइट बनाइदेऊन् भन्दा उसले उद्योग स्थापना गर्न नसक्ने उनले सुनाए ।

तर, भोलिका दिनमा यसले पचासौं किसिमका अरू उद्योगहरू स्थापना गर्न सजिलो हुने उनको बुझाइ छ । ‘सबैको साथसहयोगले यसलाई अघि बढायौं भने आज रिजल्ट नआउला, अबको १०/२० वर्षपछि धेरै नै फड्को मारिएछ भन्न सक्ने अवस्था ल्याउन सकिन्छ,’ उनले भने, ‘यसमा सरकारले केही राहत छुट दिएको छ ।’ ‘एसेम्बल’ गर्न ल्याउने पार्टपुर्जालाई भन्सारले ‘अन एसेम्बल्ड’ अवस्थाका गाडीहरू भनेर परिभाषित गरेको छ । ‘यसरी परिभाषित गरिएको अवस्थामा तयारी गाडीमा जति महसुल लाग्थ्यो, त्यसमा २५ प्रतिशत भन्सार छुट भनिएको छ,’ उनले भने, ‘एसेम्बल अवस्थाका गाडीहरू भनिएमा तयारी अवस्थाका गाडीहरू बुझिन्छ ।’

तयारी गाडीमा ८० प्रतिशत भन्सार महसुल छ । ‘हामीले एसेम्बल गरेर उत्पादन गर्न ल्याउने पार्टपुर्जामा ६० प्रतिशत भन्सार लाग्छ, अन्तःशुल्कमा लाग्ने महसुलमा ५० प्रतिशत छुट भनिएको छ,’ उनले भने, ‘अन एसेम्बल्ड गाडी आउँछ, यहाँ ल्याएर उत्पादन गरी डिलरलाई बिक्री गर्छौं ।’ तयारी गाडी ल्याएर बिक्री गर्दा भन्सार विन्दुमा मात्र अन्तःशुल्क तिर्नुपर्ने उनले बताए । ‘तर नेपालमै एसेम्बल गरेर उत्पादन गरेको गाडी बिक्रीमा पनि भन्सार लाग्छ, जसमा साढे ३२ प्रतिशत अन्तःशुल्क र १३ प्रतिशत भ्याट तिरेर बल्ल उपभोक्ताले गाडी पाउँछन्,’ उनले भने, ‘तयारी गाडीमा उत्पादन लागत हुँदैन, यहाँ उत्पादन लागत हुन्छ, त्यसैले आयातितभन्दा यहीं बनेको गाडीमा १० प्रतिशत सस्तो पर्नेछ ।’

हुन्डाईको कार्यालय कोरियाबाट आएका प्राविधिकहरूले ‘एसेम्बल उद्योग सेटअप’ गरेका हुन् । त्यहाँ काम गर्ने प्राविधिकलाई ६ महिना तालिम दिए । तिनै कर्मचारीहरूले अहिले गाडी बनाइरहेका छन् । सरकारको अस्थिर नीतिले गर्दा भने समस्या भइरहेको उनले गुनासो गरे । ‘स्थिर नीति कहिले पनि आएन,’ उनी गुनासो गर्छन्, ‘सधैं बजेट आउँदै गर्दा डर मान्नुपर्ने अवस्था छ ।’ चालु आर्थिक वर्षको बजेटमार्फत ल्याइएका आर्थिक ऐनले नेपालमा विद्युतीय सवारीसाधन उत्पादन गर्ने कुरालाई कस्ने काम गरेको उनले सुनाए । ‘उद्योग चलिसक्यो, त्यसको १७/१८ दिनमा आएको आर्थिक ऐनले त्यही उद्योगले जे गर्छु भनेको छ, झन् कस्ने काम गरिएको छ,’ उनी भन्छन्, ‘नेपालमै स्थापना हुने उद्योगका लागि सरकारले खुकुलो नीति अवलम्बन गर्नुपर्नेमा आयातलाई नै प्रोत्साहन गर्न लागिपरेको छ ।’ मुख्य सहर सबैमा हुन्डाईका डिलर छन् ।

जहाँ डिलर, सर्भिस सेन्टर राखिएको छ । कुनैकुनै ठाउँमा जग्गा आफ्नो र कतैकतै भाडामा लिइएको छ । अटोमोबाइलमा ‘एसेम्बलिङ’ उद्योग गाडी उत्पादन गर्ने उद्योगका विभिन्न चरणमध्ये एक चरण हो । ‘अहिले हामी वेल्डिङ भइसकेको पाटर््सहरू लिएर आउँछौं, त्यसलाई जोडेर गाडी बनाउँछौं,’ उनले भने, ‘वार्षिक ४० देखि ५० हजार हाराहारी गाडीको बजार माग भयो भने पाता ल्याएर यहीं वेल्डिङ गरी गाडी बनाउन सकिन्छ ।’ अब पार्टपुर्जा यहीं बनाएर गाडी बनाउनेतर्फ लाग्नुपर्ने उनले बताए । ‘पार्टपुर्जा बनाउनका लागि थप लगानी चाहियो,’ उनले भने, ‘त्यसका लागि माग चाहियो ।’

यावत् उल्झनका बाबजुद पनि लक्ष्मी ग्रुप स्वदेशमै थप गाडी उत्पादन गरेर रोजगारी बढाउने ध्याउन्नमा छ । छिटै ईभी गाडी उत्पादनको तयारी छ । ‘सानो हुँदा नेपालमा सियो पनि बन्दैन भन्ने सुन्थेम,’ श्रेष्ठ भन्छन्, ‘हामीले गाडी नै उत्पादन गर्न सक्यौं, यसलाई सबैले गौरवका रूपमा लिनुपर्छ ।’

प्रकाशित : भाद्र १६, २०८१ ०९:५९
x
×