कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२
मेड इन नेपाल

खरानीबाट ब्युँतेको नेबिको

भाद्र २३, २०८१
खरानीबाट ब्युँतेको नेबिको

Highlights

  • छोटो समयमै नेबिको पुनर्जागृत भएर बजारमा आयो । त्यसबीच न त कम्पनीले कर्मचारी कटौती गर्‍यो, न उद्योग धराशायी बन्यो । बरु, एकै ठाउँमा सीमित नभई अन्य सहरमा पखेटा फिँजाउने गरी बलियो भएर नेबिको हेटौंडामा ४० करोड लगानीमा मासिक १ हजार टन उत्पादन गर्न सक्ने गरी कारखाना निर्माणको यात्रामा छ
  • २०७८ साउन २३ मा भएको आगलागी नेबिको बिस्कुटको ६० वर्षे इतिहासमा सबैभन्दा दुःखद् पल थियो, काठमाडौं बालाजुस्थित कारखानामा आगो दन्किँदा यसका मजदुर सडकमा आएर धरधरी रोएका थिए

काठमाडौँ — नेबिको इज ब्याक । ‘फ्रम एसेज...’ अर्थात्– खरानीबाट फेरि ब्युँतियो नेबिको । आगलागीले कारखाना ध्वस्त भएको एक वर्षपछि बिस्कुट तथा कन्फेक्सनरी उत्पादक कम्पनी नेबिकोले यही ब्यानरमा पुनः उत्पादन सुरु गरेको थियो ।

कुनै समय नेपालको घर–घरमा लोकप्रिय नेबिकोका उत्पादनहरू अहिले फेरिएको रूप र शैलीमा पुनः लोकप्रिय बनिरहेका छन् । विभिन्न चुनौती झेल्दै कम्पनीका केही उत्पादन त ‘सबैलाई मनपर्ने नेबिको’ भन्ने नाराका साथ ६ दशकदेखि निरन्तर चर्चामा छन् ।

२०७८ साउन २३ मा भएको आगलागी नेबिको बिस्कुटको ६० वर्षे इतिहासमा सबैभन्दा दुःखद् पल थियो । काठमाडौं बालाजुस्थित कारखानामा आगो दन्किँदा त्यहाँका मजदुर सडकमा उभिएर धरधरी रोएका थिए । कोरोनो महामारीका बेलासमेत उचित सुरक्षा प्रबन्ध मिलाएर कम्पनीले गरिखाने वातावरण दिएको भन्दै उनीहरूले कारखाना जल्दा आफ्नै मुटु जलेसरह भएको प्रतिक्रिया दिएका थिए । राति २ बजे आगो लागेको खबर सुन्नासाथ मजदुरहरू रातारात दौडिएर कारखानामा भेला भएको दृश्य वास्तवमै मर्मस्पर्शी थियो । लगातार ११ घण्टासम्म भएको आगलागीबाट कम्पनी पूर्ण रूपमा क्षतिग्रस्त बनेको थियो ।

होमनाथ न्यौपाने, प्रमुख कार्यकारी अधिकृत, नेबिको

कारखाना जलेर उत्पादन ठप्प भएपछि नेबिकोको भविष्यलाई लिएर कर्मचारी र मजदुरहरूमाझ अन्योलता छायो । सबै सखाप भएको ठानी उनीहरू भक्कानिए । हुन पनि त्यो बेला करिब २६ करोड रुपैयाँको क्षति भएको थियो । विद्युत् सर्ट सर्किट भएर आगलागी हुँदा उत्पादन ठप्प भयो, डिलरहरू पन्छिए भने उपभोक्तासमेत अरू उत्पादनतिर लागे । कम्पनीले ठूलो बजार हिस्सा गुमाउनुपर्‍यो । त्यसबाट तंग्रिन अझै पनि कसरत गरिरहेको नेबिको बिस्कुटका प्रमुख कार्यकारी अधिकृत (सीईओ) होमनाथ न्यौपानेको अनुभव छ ।

‘आगलागीअघि केही उत्पादनमा हामी देशभर पहिलो नम्बरमा थियौं भने डाइजेस्टिभ, सुगर फ्रिलगायत सेग्मेन्टमा लिड गर्दै थियौं तर आगलागीका कारण अहिले तेस्रो/चौथो नम्बरमा झरेका छौं,’ न्यौपाने भन्छन्, ‘हाम्रा कतिपय भेराइटी गायब नै भए । त्यो हाम्रा लागि सबैभन्दा चुनौतीपूर्ण समय थियो ।’

तथापि, खरानीबाट पुनः ब्युँतिने फिनिक्स चराजस्तै छोटो समयमै नेबिको पुनर्जागृत भएर बजारमा आयो । त्यसबीच न त कम्पनीले कर्मचारी कटौती गर्‍यो, न उद्योग धराशायी बन्यो । बरु, एकै ठाउँमा सीमित नभई अन्य सहरमा पखेटा फिँजाउने गरी बलियो भएर नेबिको विस्तार यात्रामा लम्किएको छ । हेटौंडामा ४० करोड लगानीमा मासिक एक हजार टन उत्पादन गर्न सक्ने गरी कम्पनीले कारखाना स्थापना गरिरहेको छ ।

कम्पनीमा हाल ५ सय जनाले प्रत्यक्ष रोजगारी पाएका छन् भने ८ देखि ९ हजारले अप्रत्यक्ष रूपमा रोजगारी प्राप्त गरेको न्यौपाने बताउँछन् । ‘पहिले काठमाडौंमा मात्रै उत्पादन हुन्थ्यो, आगलागीपछि भैरहवामा पनि प्लान्ट खोल्यौं, नयाँ मेसिन ल्याएर ठूलो परिमाणमा उत्पादन गर्न थाल्यौं, अहिले हामीसँग नेपालकै सबैभन्दा ठूलो मेसिन छ,’ उनले भने, ‘मेसिन ठूलो भएकाले पूर्ण क्षमतामा काम हुन सकेको छैन । आर्थिक मन्दीका कारण पनि ५० प्रतिशत मात्रै उत्पादन भइरहेको छ ।’ उनका अनुसार नेबिकोले दैनिक ३० टन बिस्कुट उत्पादन गर्दै आएको छ भने ५० लाख रुपैयाँ हाराहारीको उत्पादनहरू बजार पठाउने गरेको उनले बताए ।

ग्लुकोजदेखि क्रुमक्रुम चिउरासम्म

विगतमा बिस्कुट मात्रै उत्पादन गर्नेमा नेबिकोले अहिले कन्फेक्सनरी, सिरियल्स, बेकरीलगायत पनि उत्पादन गर्ने गरेको छ । ग्लुकोज, खाजा बिस्कुट, थिन एरोरुट, कोकोनट, बटर कुकिज, साल्टिनो, बाइट्स, डाइजेस्टिभ बिस्कुट हुँदै नेबिकोका कच्चा म्याङ्गो, कुलर्सजस्ता चकलेट र चोकोज, मुस्ली, ओट्स, चिउरा र बेकरीका परिकारहरू पनि तयार गर्ने गरेको छ । नेबिकोसँगै खुलेका हुलास, गोर्खा, सुदूर फुड, मकवानालगायत बिस्कुट कारखाना बन्द भए पनि नेबिको ६ दशकदेखि सञ्चालनमै छ ।

नेबिकोको यति लामो सफलताको प्रमुख आधार भनेको निरन्तरको गुणस्तरमार्फत ‘ब्रान्ड भ्यालु’ कायम राख्नु महत्त्वपूर्ण पाटो भएको न्यौपानेको दाबी छ । ‘चिनी, दूध, मैदाजस्ता कच्चा पदार्थको भाउ बढ्दा पनि हामी हाम्रा उत्पादनको मूल्य जथाभावी घटबढ गर्दैनौं,’ उनले भने, ‘हाम्रो ब्रान्ड हेर्ने छुट्टै टिम छ र त्यसले ब्रान्ड डिजाइन, ब्रान्ड अडिट र बजारको प्रतिक्रिया लिने काम गर्छ ।’ बजारको प्रतिक्रिया बुझ्न विभिन्न ठाउँमा केही ‘आउटलेट’ राखेको र त्यसबाट आएको निष्कर्षअनुसार परिमार्जनसमेत गर्ने गरेको उनले बताए ।

यद्यपि, कम्पनीले गुणस्तर कायम गर्न खोजे पनि कतिपय कुरा आफूहरूको नियन्त्रणमा नरहेको न्यौपाने भनाइ छ । पहिले–पहिले कतिपय कच्चा पदार्थ स्वदेशमै उत्पादन हुने गरेकोमा अहिले विदेशबाट आयात गर्दा कहिलेकाहीं कमसल पर्ने उनले गुनासो गरे । ‘यो हाम्रो मात्र नभएर सबै उद्योगको समस्या हो किनभने बेलाबखत गहुँ लगायतका कच्चा पदार्थ सोचेजति गुणस्तरको आउँदैनन्,’ उनले भने, ‘हाम्रो हातमा हुने मैदाजस्ता कच्चा पदार्थमा भने हामी कहिल्यै तलमाथि गर्दैनौं ।’ कतिपयले भने कोकोनट, थिन एरोरुट, ग्लुकोजजस्ता बिस्कुट पहिलेको तुलनामा अहिले कम स्वादिला हुने, दुर्गन्ध आउने, पिठोजस्ता फ्यास–फ्यास हुने र धुल्लिने गुनासो गर्छन् ।

तत्कालीन राजा महेन्द्रको पहल

नेबिकोलाई नेपालको सबैभन्दा पुरानो उद्योगका रूपमा लिने गरिएको छ । यसका संस्थापक गोरखबहादुर श्रेष्ठ, महन्तलाल श्रेष्ठ, पद्म विश्मानन्द वैद्य हुन् । न्यौपानेका अनुसार तत्कालीन राजा महेन्द्रको पहलमा यो कम्पनी सुरु भएको थियो । २०२१ सालमा स्थापना भए पनि २०२२ सालबाट उद्योग सञ्चालनमा आयो । नेसनल बिस्कुट कम्पनी (नेबिको) का नाममा २०२२ सालमा दर्ता हुँदा त्यो बेला नेपालमा विराटनगर जुट मिलबाहेक सम्झनलायक थप उद्योग थिएनन् ।

महेन्द्रले औद्योगिक क्षेत्र स्थापना गर्ने घोषणा गरेर २०२० सालमा काठमाडौंको बालाजुमा औद्योगिक क्षेत्रको उद्घाटन गरेका थिए । अझै पनि यस कम्पनीको प्रमुख हिस्सा पूर्वराजपरिवारसँग नै छ । कम्पनीको सेयर ९५ प्रतिशत राजबहादुर सिंहको कम्पनी र व्यक्तिगत स्वामित्वमा छ । उनी नै यसका अध्यक्ष हुन् । सिंह पूर्वराजा ज्ञानेन्द्रका छोरीज्वाइँ हुन् । बाँकी ५ प्रतिशत सेयर भने संस्थापक प्रमोटरका परिवारको नाममा भएको न्यौपानले खुलाए ।

सोही ५ प्रतिशतले ८०/८२ लाख रुपैयाँ बराबरको लगानीमा सुरु गरेको कम्पनीको मूल्य अहिले झन्डै १० गुणा पुगेको उनको दाबी छ । नेबिकोसँगै सुरु भएको गोर्खा, हुलास लगायतका बिस्कुट कम्पनीहरू बन्द भइसकेका छन् । करिब १० वर्ष अगाडिसम्म २८ वटा यस्ता कम्पनी सञ्चालनमा रहेकोमा तीमध्ये १० वटा बन्द भइसकेको न्यौपाने सम्झन्छन् । ‘यसमा दुई/तीनवटा कारण छन्, भारतमै हेर्ने हो भने

सोही समय आसपास स्वचालित प्रविधिबाट ठूलो परिमाणमा बिस्कुट उत्पादन हुन थालेपछि ठूला कम्पनी मात्रै टिक्न सके,’ उनले भने, ‘भारतजत्रो देशमा पनि ६५ वटाबाट १० वटा मात्रै टिकेको देखियो । बाँकी साना कम्पनीहरूलाई एकदमै कम मूल्यमा ठूला कम्पनीहरूले खरिद गरे ।’

करिब ८०/८२ लाख रुपैयाँबाट सुरु गरेको कम्पनीमा लगानी नै २५ करोड रुपैयाँ पुर्‍याएको र समयअनुसार अपग्रेड गर्दै लगेकाले मात्र धेरै बिस्कुट उद्योग बन्द हुँदा पनि नेबिको निरन्तर अघि बढ्न सफल भएको न्यौपानको निष्कर्ष छ । ‘निर्यात गर्न खुलेका कतिपय बिस्कुट कम्पनीहरू बन्द भएपछि रोजगारी र राजस्व गुम्यो भने अर्थतन्त्रमा पनि नोक्सानी भयो,’ उनले भने, ‘अहिले पनि १७/१८ वटा उद्योग सञ्चालनमा छन् । र, ती सबै स्वेदशी हुन् । हामीले स्वदेशी र विदेशी दुवै कम्पनीहरूसँग प्रतिस्पर्धा गरेरै बजारमा टिकेका छौं ।’ विदेशी स्वामित्वको पार्ले, ब्रिटानिया लगायतका कम्पनीहरू रहेको र आफूहरूले गुणस्तर र मूल्य दुवैमा बहुराष्ट्रिय कम्पनीहरूभन्दा उम्दा उत्पादन गरिरहेको कम्पनीको दाबी छ ।

पब्लिक कम्पनी बनाउने पहल

स्थापनायता निजी कम्पनीका रूपमा रहँदै आएको नेबिकोलाई पब्लिक कम्पनी बनाउने पहल सुरु गरेको न्यौपानेले जानकारी दिए । ‘प्रक्रिया पूरा गर्न केही समय लाग्ने भए पनि पब्लिक कम्पनी बनाउँदा बैंकिङ वा ऋण लगायतका वित्तीय प्रक्रियाका लागि सजिलो हुने भएकाले हामीले त्यो प्रयास सुरु गरेका छौं,’ उनले भने, ‘पब्लिकमा गएपछि कम्पनीप्रतिको उपभोक्ताको राय र सर्वसाधारणको रुचि लगायतका विषय बुझ्न पनि सजिलो हुन्छ । औद्योगिक क्षेत्रमा भएकाले अहिले हामीलाई जग्गा धितो राख्न नमिल्ने अवस्था छ र पब्लिक भएपछि सेयर नै धितो राख्न मिल्छ ।’

भैरहवा र हेटौंडाको औद्योगिक क्षेत्रमा आफ्नै जग्गा भएको र हेटौंडामा भवनसमेत निर्माण भइसकेको बताउँदै उनले अब एक वर्षमा उत्पादन सुरु हुने योजना सुनाए । प्रतिघण्टा २ टन उत्पादन क्षमता रहेको उक्त प्लान्टले वार्षिक १ सय करोड बराबरको कारोबार गर्ने उनको दाबी छ । हाल बेलायत, अस्ट्रेलिया जस्ता देशमा अप्रत्यक्ष रूपमा निर्यात हुने गरेको आफ्नो उत्पादनलाई प्रत्यक्ष बनाउने र अन्य देशमा पनि निर्यात गर्न आवश्यक मापदण्ड पूरा गरेर प्रक्रिया अगाडि बढाउने कम्पनीको योजना छ ।

बिस्कुट उद्योगका चुनौती

नेपालमा उद्योग क्षेत्रमा काम गर्न प्रशस्तै चुनौतीहरू रहेको र तीमध्ये प्रमुख ब्याजदरको नीति र बैंकिङ प्रणाली भएको न्यौपानेले बताए । ‘बैंकको ब्याजदर धेरै परिवर्तन भएको छ भने जग्गाको भाडादर पुरानो मितिमा समेत लागू हुने गरी बढाइएको छ,’ उनले भने, ‘हाम्रोजस्तो रोजगारी सिर्जना गर्ने कम्पनीलाई सरकारले सहुलियत र प्रतिस्पर्धामा सघाउने नीति ल्याएको छैन ।’ यति ठूलो जनशक्ति काम नपाएर विदेशिएको अवस्थामा निर्यात गर्न सकिने किसिमका नेबिकोजस्ता कम्पनीहरूलाई सरकारले प्रवर्द्धन र सहयोग गर्नुपर्ने उनको सुझाव छ ।

सरकार परिवर्तन भएपिच्छे र अर्थमन्त्री, गभर्नर नयाँ आउनेबित्तिकै रातारात नीति परिवर्तन हुने अवस्थाको पनि उनले आलोचना गरे । यस्तो प्रवृत्तिले नेबिको मात्र नभई औद्योगिक क्षेत्रलाई असर पार्दै आएको र कच्चा पदार्थमा लाग्ने उच्च करसँगै भन्सार बढी उठाउने जस्ता नियतले पनि उद्योगीहरूलाई दुःख दिने गरिएको उनको गुनासो छ ।

जनस्वास्थ्यको प्रश्न

न्यौपानेका अनुसार सबैखाले बिस्कुट उद्योगका लागि पछिल्लो दिनमा खडा भएको अर्को प्रमुख चुनौती चाहिँ बिस्कुट खाएर बिरामी भइन्छ वा यो स्वास्थ्यका लागि हानिकारक छ भन्ने हल्ला हो । कतिपय डाक्टर, नर्सलगायत स्वास्थ्यकर्मी वा खाद्य विज्ञानबारे कुनै पढाइ नगरेका बाबाजीहरूले मनलाग्दी बोलिदिँदा यो समस्या आएको न्यौपाने बताउँछन् । ‘रामदेव बाबाकै कम्पनीले बनाएको बिस्कुट पनि प्रतिबन्धित भएको उदाहरण छ, भोकमरी वा खाद्यान्न अभावले मानिसहरू पीडित भएको बेला बिस्कुट खानै हुँदैन भनिदिनु गलत हो,’ उनले भने, ‘जम्मा १० रुपैयाँमा अहिले एक कप चिया पनि आउँदैन तर बिस्कुटले गरिबहरू धेरै हदसम्म उद्धार गरेको छ ।’

कुनै पनि खाद्यान्न धेरै खाँदा बिगार गर्ने र त्यस्तो गलत नै भएको अवस्थामा अमेरिकाजस्ता विकसित देशहरूले प्रतिबन्ध लगाउनुपर्ने भन्दै न्यौपानेले मधुमेह भएका बिरामीहरूका लागि समेत सुगर फ्रि बिस्कुट उपलब्ध रहेको दाबी गरे । दैनिक एक प्याकेट बिस्कुटले स्वास्थ्यलाई हानि नगर्ने र खाद्यान्न विज्ञानको खासै ज्ञान नभएका व्यक्तिहरूले यसको बारेमा बढी नकारात्मकता फैलाउने गरेको पनि उनको आरोप थियो ।

नेपालभित्र र बाहिर बजार वृद्धिका अवसरहरू हेर्ने क्रममा नेबिकोले हर्बल, ओरियोसमेत रक्तचाप, मधुमेहजस्ता रोगका बिरामीले पनि खान मिल्ने उत्पादनहरू तयार गर्ने योजना पनि न्यौपानेले सुनाए । ‘हामीले भिटामिन, मिनरलसहितका नयाँ उत्पादनहरू अघि सार्दै छौं,’ उनले भने, ‘बिस्कुटसम्बन्धी पदार्थलाई अपग्रेड गर्दै लैजाने र यसको म्याद गुज्रिने मिति बढाउँदै लैजाने पनि सोचेका छौं ।’

लगभग ८० भन्दा धेरै उत्पादनहरू तयार गर्ने आफ्नो कम्पनीका कुनै पनि ब्रान्डको पेटेन्ट दर्ता नभएको र मौलिकताको अभावले त्यो स्थिति रहेको न्यौपानेको स्वीकारोक्ति थियो । पेटेन्ट दर्ताको विषयमा पनि अध्ययन गरिरहेको बताए ।

आगलागीले सिकाएको पाठ

तीन वर्षअघि भएको आगलागीले आफूहरूलाई सबै पूर्वाधार एकै ठाउँमा राख्न नहुने र उत्पादनलाई विकेन्द्रित गर्नुपर्ने पाठ सिकाएको नेबिकोको अनुभव छ । छुट्टाछुट्टै ठाउँमा उत्पादन गर्न सके बजार प्रभावित नहुने र नोक्सानीलाई कम गर्न सहज हुने कम्पनीको अनुभव रहेको न्यौपाने बताउँछन् । ‘आगलागीका कारण हाम्रा महत्त्वपूर्ण मेसिनहरू जलेका थिए र त्यसलाई बिमाले नबेहोरिदिँदा हाम्रो क्षति ठूलो भयो,’ उनले भने, ‘त्यसले गर्दा बिमा राम्रो इतिहास भएको र समयमा भुक्तानी गर्न सक्ने कम्पनीसँग गर्नुपर्ने पाठ पनि हामीले सिक्यौं ।’

२०७८ साउन २३ मा भएको आगलागी नेबिको बिस्कुटको ६० वर्षे इतिहासमा सबैभन्दा दुःखद् पल थियो, काठमाडौं बालाजुस्थित कारखानामा आगो दन्किादा यसका मजदुर सडकमा आएर धरधरी रोएका थिए

प्रकाशित : भाद्र २३, २०८१ ०८:२९
×