कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

ओलीको कारण जे भइरहेको छ

पाठक पत्र

अहिले संसद्मा राजनीतिक दलहरू जसरी उत्रिरहेका छन्, यो अवस्थाको सिर्जना एमाले अध्यक्ष केपी शर्मा ओलीले गराएका हुन् । ओलीले अपनाएको दोहोरो रणनीतिका कारण नै संसद् बन्धक बन्न पुगेको छ । संसद्मा नारा जुलुस गर्ने र वेल घेराउ गर्ने भूमिकामा कांग्रेस देखिए पनि यसमा ओलीको अदृश्य हात देखिन्छ ।

प्रतिपक्षी दल कांग्रेसले उठाएको एकबुँदे माग भनेको रास्वपाका अध्यक्ष एवं गृह तथा उपप्रधानमन्त्री रवि लामिछाने तथा सम्पूर्ण समस्याग्रस्त सहकारीमाथि छानबिन गर्ने गरी उच्चस्तरीय संसदीय समिति गठन हुनुपर्छ भन्ने नै हो । सुरुमा कांग्रेसले मात्र उठाएको यस मुद्दामा राष्ट्रिय प्रजातन्त्र पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), उपेन्द्र यादवको नेतृत्वमा रहेको जनता समाजवादी पार्टी (नेपाल) र राष्ट्रिय जनमोर्चासमेत एक ठाउँमा आएका छन् ।

प्रतिपक्षीले उठाएको उक्त माग पूरा गर्न गृहमन्त्री लामिछाने स्वयं लचिलो बनिसकेको अवस्थामा ओली अलिकति पनि लचिलो नहुनुमा उनको स्वार्थ लुकेको छ । एकातिर कांग्रेसलाई भित्रभित्र उचाल्ने, अर्कातिर उसैको मागमा पत्थर जस्तो बनेर बसिदिने र सत्ता ढलाउन खोज्ने ओलीको रणनीति हो ।


गएको फागुन २१ मा गठबन्धन बनाउने क्रममा भएको भनिएको सहमतिअनुसार बाँकी कार्यकालमा ओली र प्रचण्डले दुई/दुई वर्ष सरकारको नेतृत्व गर्ने भन्ने छ । जसअनुसार ओलीले अझै २०/२२ महिना पर्खनुपर्ने देखिन्छ । अस्थिर स्वभावका प्रचण्डमाथि ओली पनि विश्वस्त हुन सकेको पाइँदैन । अघिल्लो गठबन्धनमा माधव नेपालको प्रधानमन्त्री हुने पालो आउँदै गर्दा प्रचण्डले गठबन्धन बदलेका थिए ।

आफ्नो पालामा पनि त्यस्तै अवस्था आउन सक्छ भन्नेमा ओली सजग देखिन्छन् । त्यसैले उनी यो सरकारलाई लामो समय टिकाउन चाहँदैनन् । उनी जतिसक्दो छिटो आफू प्रधानमन्त्री बन्ने बाटोको खोजीमा छन् । बाहिर बाहिर प्रतिपक्षीले भनेजस्तो संसदीय समिति बन्न पनि नदिने र भित्रभित्र कांग्रेसलाई उकेरा लगाइरहने भूमिकामा उनी देखिन्छन् । सत्ता गठबन्धनमा समस्या उत्पन्न गराउने र त्यसपछिको नयाँ परिस्थितिमा अर्को कदम चाल्ने सोच ओलीले बनाएका हुन सक्छन् ।
– सुजन देवकोटा, पालुङ्टार–४, गोरखा

प्रकाशित : जेष्ठ ६, २०८१ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?