३६ केजी गाँजासहित तीन युवक पक्राउ
हेटौंडा — पर्सा राष्ट्रिय निकुञ्ज सुरक्षार्थ खटिएका नेपाली सेनाले ३६ केजी गाँजासहित तीन युवकलाई सोमबार राति नियन्त्रणमा लिएको छ ।
मनहरी गाउँपालिका—७ माइड्रगा खोलानजिक सेनाले मकवानपुरको कैलाश गाउँपालिका—३ का २३ वर्षीय राजेन्द्र घिसिङ,२७ वर्षीय बिवेक चेपाङ र हेटौ)डा उपमहानगरपालिका—१८ का २२ वर्षीय उत्तम पाख्रिनलाई नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका तीनै जना र बरामद गरिएको गाँजा पर्सा राष्ट्रिय निकुञ्जले इलाका प्रहरी कार्यालय मनहरीमा मंगलबार बिहान बुझाएको छ ।
‘तीनै जनालाई थप अनुसन्धान गरेर कारबाही गर्ने छौँ,’ इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक दीपक थापाले बताए । मकवानपुरको राक्सिराङ,कैलाश र धादिङका केही पालिकामा उत्पादित गाँजा र अफिम मकवानपुरको मनहरीका विभिन्न नाका हुँदै रातारात पर्सा राष्ट्रिय निकुञ्ज भएर भारततर्फ निकासी गर्ने गरिन्छ ।
प्रकाशित : वैशाख २५, २०८१ १०:१९