रिलमा पनि छोरीको दुःख देख्न नसक्ने आमा

केकीकी आमा लक्ष्मी निजी स्कुल व्यवस्थापनमा तल्लीन थिइन् । घाटामा गएको स्कुलमा शिक्षकको तलब, प्रशासन खर्च आदि ऋण गरेरै सबै मिलाउँथिन् । ऋण गरेरै केकीलाई प्लस–टु पढाइन् । नाच्न अब्बल केकीले एमबीबीएस तयारी गर्दागर्दै डान्स रियालिटी शो ‘घिन्ताङ’ मा भाग लिइन् । छोरीको इच्छा बुझेकी आमाले उनलाई साथ दिँदै भनिन्, ‘तिमी आफ्नो काम गर, तर बाबालाई थाहा नदेऊ ।’

वैशाख २५, २०८१

दीपक सापकोटा

A mother who cannot see her daughter's pain even in reel

काठमाडौँ — शिरैमा सिन्दूर आहा, गलामा पोते आहाधोती र चोली आहा, घुम्टो र डोली आहाछमछम हातैका चुराले, रमझम रातैका कुरालेम बाँधिएकी हुँ या सजिएकी हुँ ?बुझिनँ मैले, बुझाइदेऊ कसैले !समीक्षा अधिकारीको स्वर, प्रकाश सपुतको शब्द–संगीतमा तबलाको ताल, रातो फरिया–चोली, निधारमा ठूलो रातो टीका, शिरमा सिन्दूरसहित दियो वरपर मस्त नाचिरहेकी देखिन्छिन्– केकी अधिकारी । उनलाई शंका छ, चुरा–पोते–धोती–डोलीमाथि । र, उनको प्रश्न छ, यी सबै शृंगारले म सजिएकी हुँ कि बाँधिएकी हुँ ?

गीतले नेपाली समाजको एउटा बृहत् अंशको अनुभव–अवचेतना टपक्कै टिपेको छ । परम्परा र अमानवीय संस्कारमाथि भयंकर व्यंग्य छ गीतमा । 

जसरी अधिकांश नेपाली महिलालाई छनोटको अधिकार र आत्मनिर्णयको स्वतन्त्रता छैन, त्यसरी नै ‘बोक्सीको घर’ की नायिकालाई पनि त्यस्तो अधिकार र स्वतन्त्रता छैन । सदीऔंदेखिको सड्नलायक परम्परा, यथास्थितिकै जन्जिरमा बाँधिएर रहेकी उनी अर्थात् जुनुको ‘स्व’ र ‘अस्मिता’ लुटिएको छ । अधिकांश सहरी र ग्रामीण महिलाहरूझैं दासताको डोरीले उनी बाँधिएकी छन् । सिनेमामा जुनु–निवास हो, पीपलको बोट । त्यही बोट उनको घर हो, जहाँ उनी बर्बराइरहन्छिन्, उनको विगत ब्युँझिरहन्छ । बालखैमा वयस्कसँग विवाह गराइएकी उनको किशोरकालदेखि नै जीवनमा रातो रङ खुइलिएको छ, आनन्दको रङ नासिएको छ । जीवनभर सेतो रङ अँगाल्नुपर्ने नियति आइलागेको छ । त्यो रंगीन किशोरीको जीवनमा अँध्यारो मिसिएको छ । हुन त अँध्यारोमै उज्यालो लुकेको हुन्छ । तर, उनले भोग्नुपरेको अँध्यारोमा झन् अन्धकार थपिएको छ, जहाँ समाजका कर्मकाण्डीहरूले अँध्यारोकै पर्दाभित्र व्यभिचार गर्छन् । समग्रमा उनले सास फेर्ने हावा गह्रौं र फोक्सो निर्बल भएको छ ।

A mother who cannot see her daughter's pain even in reelसमाजकै ‘भलादमी’ ले जुनुलाई ‘बोक्सी’ बनाएका छन् । ‘बोक्सी’ लाई नग्न तुल्याउन चाहन्छन्– कामातुर समाज र भलादमीहरू । र, ती भलादमीमाथि भयानक घृणाबोध छ ‘बोक्सी’ लाई । जीवनप्रतिको प्रेम र डरलाग्दा मान्छेप्रति उग्र आक्रोश छ ‘बोक्सीको घर’ मा । ‘बोक्सी’ भएर मानसिक सन्तुलन बिग्रिएकी, विक्षिप्त, जीवनदेखि निराश, संसारबाट भागिरहेकी, आत्मोत्सर्गतिर उन्मुख भूमिकामा छिन् केकी अधिकारी । केकीले ‘बोक्सीको घर’ मा जीवन्त अभिनय गरेकी छन्, जसमा दुई मत छैन । तर, यहाँसम्मको उनको यात्रा सहज थिएन । फिल्मका निर्माता र केकीका बुबा बद्री अधिकारी कुनै कालखण्डमा छोरीले सिनेमामा काम नगरोस् भन्ने चाहन्थे । तर, केकीको चाहना, नियतिको निर्णय र आमा लक्ष्मी भट्टराई (५६) को ढाढसले उनको फिल्म–यात्रा अघि 

बढ्यो । तामझामको दुनियाँमा रहेर पनि विवादबाट कोसौं दूर सौम्य, विनीत र कामकेन्द्रित केकीको अभिनयमार्फत एउटा मानक बनिसकेको छ । 

***

यतिखेर ज्याकारान्डाले महानगरलाई बैजनी रङले ढाकिदिएको छ । वसन्त र बैजनीको संगम अद्भुत छ र प्रकृतिप्रेमीका लागि बेग्लै छ– सौन्दर्यको मज्जा । सिनेमा–घरमा ‘बोक्सीको घर’ ले धुमधामसँग व्यापार गरिरहेको छ । तर, केकीकी आमा लक्ष्मीको मनमा बहार छैन । यो खुसीयालीमा पनि उनको मन खिन्न छ । उनको मन मुस्कुराएको छैन ।

‘बोक्सीको घर’ मा छोरी ‘बोक्सी’ बनेपछि दुःखी भएकी हुन् लक्ष्मी । भीडसँग आफ्नो अनुहार र पहिचान फिर्ता मागिरहेकी छोरीको रिल–लाइफले पनि उनलाई बेचैन बनाएको छ । पर्दामै सही छोरीलाई मान्छेहरूले ‘बोक्सी’ भन्दै मलमूत्र खुवाएको, ढुंगा हानेको दृश्य लक्ष्मीले हेर्न सकिनन् । हत्केलाले आँखा छोपिन्, कान बन्द गरिन्, ती प्रत्येक दृश्यमा तर्सिइन् । पर्दामा पनि छोरीको सुख र खुसी नै हेर्न चाहन्छिन् आमा लक्ष्मी । ‘फिल्ममा मलाई कसैले एकै झापड मात्र हानेको दृश्य पनि हेर्न सक्नुहुन्न मेरी आमा,’ वैशाखको घाममा कालो कफी पिउँदै केकीले भनिन्, ‘फिल्म हेरिसकेपछि घरमा पुगेर मलाई भन्नुहुन्छ– तिम्रो त्यस्तो भूमिका हेर्न मलाई साह्रै सकस हुन्छ । म नाचेको, हाँसेको दृश्य मात्रै हेर्न चाहनुहुन्छ उहाँ ।’

***

फिल्म र म्युजिक भिडियोको लामो लस्कर छ– केकीको अभिनय–पथमा, जहाँ हुन्छिन्, फरक उभिन्छिन् उनी । गीतमा ‘बरिलै आफैंसँग हारें म’ भन्दै पितृसत्तासँग बदला लिइरहेकी र फिल्ममा समाजले ‘बोक्सी’ बनाएपछि त्यसविरुद्ध विद्रोह गर्न खोजिरहेकी उनको अभिनय–तालिकामा छन्– असाध्यै रुचाइएका ‘हिट’ फिल्महरू । ‘बोक्सीको घर’ मा रातो–सेतो धोती लगाएर असहनीय पीडाको कथा भनिरहेकी वा ‘बदला बरिलै’ मा कलेजी कुर्ता–सुरुवालमा लोकगीत गाइरहेकी उनको अभिनय निरन्तर तारिफयोग्य छ । केकीको विलक्षण अभिनय–यात्रामा प्रेरणास्रोत हुन्, उनकी आमा । अभिनयमा आफ्नै शैली भएकी केकी दत्तचित्त भएर सुनाइरहेकी छन्– उनकी आमाका जीवनका सेता–काला रङहरू । ‘आमाको संघर्ष नै मेरो जीवनको पनि कथा हो, त्यसमा छन्– केही सुख–केही दुःखका कथाहरू’, केकी भन्छिन् । 

A mother who cannot see her daughter's pain even in reelअन्तर्वार्ताका क्रममा आमा सम्झिँदा केकीको मुहारमा एउटा मुस्कान खेलिरहेको थियो । एकैछिनपछि केही भावनाले छोपेर उनलाई अतीतका संघर्ष पनि सम्झाइरहेको थियो । केकीको आँखामा एउटा गहन अतीतको तस्बिर थियो, जसभित्र आमाको जिन्दगी र त्यसभित्रका केही अज्ञात अर्थहरू लुकेका थिए । बुबा आफ्नै काममा मग्न–मस्त, गृहस्थ आश्रममा– सन्त प्रकृतिका । अनि सारा घरको भारी भने लक्ष्मीकै काँधमा । तर, लक्ष्मीको चेहरामा कुनै गुनासो हुँदैन थियो, न कुनै प्यास । केकी सम्झिन्छिन् लक्ष्मीलाई– लालटिनको उज्यालोमा आफूलाई ‘कखरा’ सिकाइरहेकी, पिठ्युँमा आफूलाई बोकेर साना नानीहरूलाई ‘एबीसीडी’ पढाइरहेकी । यस्तै केके धमिला स्मृतिका प्रस्ट तस्बिर आइरहन्छ, केकीको मनमा । आमा र परिवारको अतीत आउजाउ गरिरहन्छ केकीको स्मृतिमा । असलमा केकीकी आमा लक्ष्मी शिक्षक थिइन्, जो ब्ल्याकबोर्डमा चकले केही अक्षर लेखिरहन्थिन्–डस्टरले मेटिरहन्थिन् । केकी भने लेख्न चाहन्छिन् र लेखिरहनेछिन्– नेपाली माटोको कथा, जसले अभिनयमार्फत नेपाली समकालीन समाजको हृदय स्पर्श गर्नेछ ।

केकीको बाल्यकाल कथा सुनेरै बित्यो । रंगमञ्च र फिल्मका नामी निर्देशक बद्री अधिकारी छोरीलाई कथा सुनाउँथे, जसले उनलाई नेपाली समाजको यथार्थबोध गरायो । नेपाली रंगमञ्चको स्वर्णिमकाल (०३८–०४१) मा उनले मुख्य भूमिका निर्वाह गरेका ‘इडिपस’, ‘असारको एक दिन’, ‘न्यायप्रेमी’ जस्ता नाटक हेर्दा दर्शक मोहित हुन्थे । लेखक पारिजातको कथा ‘साल्गीको बलात्कृत आँसु,’ रमेश विकलको उपन्यास ‘अविरल बग्दछ इन्द्रावती’ माथि टेलिसिरियल बनाएका उनका ‘मौन आकाश’, ‘सहयात्री’, ‘कोरस’ सिरियलले नेपाली समाज र पद्दलितहरूको दुर्दान्त जिन्दगीमाथि विमर्श गर्छ । कथासँग करिब केकीले किन बनाइन् त यही फिल्म ? किन रोजिन् यही कथा ? भन्छिन्, ‘नेपालमा अहिले पनि यस्ता गाउँ छन्, जहाँ त्यस्ता किशोरी भेटिन्नन्, जसको काखमा बच्चा नहोउन् । त्यसैले यो सिनेमामा बालबिवाहको कथा समेटेकी हुँ ।’ 

***

काठमाडौंको बौद्धस्थित ‘दोर्जे स्कुल’ का नेपाली शिक्षक र होस्टल इन्चार्ज थिए– विराटनगरका बद्री अधिकारी । ०४६ मा केकी त्यही होस्टलमा जन्मिइन् । ‘अरूको भरपर्नु हुँदैन, दुःख मात्रै हुन्छ’ सोच्ने विराटनगरकी ‘लामो कपाल भएकी केटी’ उपमा पाएकी केकीकी आमा लक्ष्मीको २२ 

वर्षको उमेरमा स्नातक पढ्दापढ्दै बिहे भयो । विराटनगरका भाइ–काकालाई काठमान्डु बोलाएर बद्रीले आरुबारी जोरपाटीमा बोर्डिङ स्कुल खोले– बाल सिर्जनालय । दुईवर्षे केकी त्यहीं पढ्न थालिन्, कक्षा १० सम्म त्यहीं पढिन् । लक्ष्मीले स्कुलका बच्चा हेर्ने र होस्टल व्यवस्थापनको सम्पूर्ण जिम्मेवारी आफ्नो काँधमा लिइन् । 

त्यो जिम्मेवारीले लक्ष्मी कति थकित/गलित थिइन् भने गर्भवती हुँदा उनको तौल जम्मा ३६ केजी थियो । केकीको बुझाइमा, त्यसबेला सायद आहारविहारको पनि कमी थियो उनलाई । केकीको जन्मपछि आमा/छोरी दुवैलाई जन्डिस र टाइफाइड भयो । लक्ष्मीलाई टीबीले पनि समात्यो । लक्ष्मी सोच्थिन्– आर्थिक रूपले सबल भए मात्रै महिला सक्षम र सशक्त बन्छन्, आर्थिक सबलीकरण नै महिला सशक्तीकरणको सबैभन्दा पहिलो खुड्किलो हो । ‘आफ्नो कमाइ हुन थालेपछि, आफ्नै हातले पैसा चलाउन थालेपछि मात्रै आमाले आफूलाई बलियो ठान्न थाल्नुभयो,’ वैशाखको मध्यदिन तीनकुने सडकमा बगिरहेका सवारीतिर हेर्दै केकी बोलिन्, ‘महिला शक्तिशाली हुन्नन् भन्ने मैले आमाको भोगाइ देखेर थाहा पाएँ र महिला कसरी शक्तिशाली बन्छन् भन्ने पनि मैले आमा हेरेरै थाहा पाएँ ।’

केकीको हुर्काइ कक्षाकोठामै भयो । छोरी बुईमा बोकेरै लक्ष्मी कक्षामा जान्थिन् र साना नानीहरूलाई पढाउँथिन्– एक कक्षासम्म । ३ वर्षमा नर्सरी पढ्दा आफूले सिक्नुपर्ने सबै पाठ कण्ठै थियो केकीलाई, कक्षामा आमाले पढाएको सुनेकै भरमा । आफूले एसएलसीमा डिस्टिङ्सन ल्याएपछि लक्ष्मी रोएको त्यो दिन केकीको स्मृतिमा ओहोरदोहोर गरिरहन्छ । लक्ष्मी स्कुल व्यवस्थापनमा तल्लीन थिइन् । स्कुल घाटामा थियो, उनी ऋण गरेरै सबै मिलाउँथिन्– शिक्षकको तलब, प्रशासन खर्च आदि । ऋण गरेरै उनले केकीलाई प्लस–टु पढाइन् । सानै छँदादेखि केकीलाई अभिनयमा विशेष रुचि थियो, नाच्न अब्बल थिइन् । एमबीबीएस तयारी कक्षा पढ्दापढ्दै डान्स रियालिटी शोमा भाग लिइन्, नेपाल टेलिभिजनबाट प्रसारण हुने– ‘घिन्ताङ’ मा । छोरीको इच्छा बुझेकी आमाले उनलाई साथ दिइन् । भनिन्, ‘तिमी आफ्नो काम गर, तर बाबालाई थाहा नदेऊ ।’ त्यो रियालिटी शोमा केकी सेकेन्ड भइन् । त्यसपछि पहिलो टेलिभिजन विज्ञापन खेलिन् केकीले । त्यसबेला पनि लक्ष्मीले भनिन्, ‘तिमी त्यो गर, तर बाबालाई थाहा नदेऊ ।’ 

A mother who cannot see her daughter's pain even in reelतस्बिर : महेश प्रधान/कान्तिपुर

‘बाबालाई थाहा हुनु’ ले केकीको जीवनमा भयंकर अर्थ राख्थ्यो । किनभने बद्री कहिल्यै चाहँदैनथे– छोरी अभिनयमा आओस् । उनी चाहन्थे, केकी डाक्टर भएको हेर्न । तर, जिन्दगी–यात्रा यस्तो हो, जहाँ मान्छेले चाहेका केही विषय थिग्रिन्छन्, केही तैरिन्छन् । बुबाले ‘निषेध’ लेखेकै डायरीका पाना केकीले च्यातिन् । उनले अभिनय गरेको पहिलो विज्ञापन थियो– क्लोज अप टुथपेस्टको । विज्ञापनमा केकी भन्दै थिइन्– तिमी किन बोल्दैनौ...! अचानक घरको ल्यान्ड लाइनमा बजेको फोन–कलमा उनलाई त्यो विज्ञापन खेल्न अफर गरिएको थियो । 

संयोग कस्तो भने बद्रीले निर्देशन गरेको ‘साल्गीको बलात्कृत आँसु’ सिरियल बीचमा त्यो विज्ञापन आइदियो । त्यसपछि ? ती अति व्यस्त पिताले थाहा पाए– छोरी त अभिनयमा पुगिसकेकी रहिछे । बद्रीले छोरीको रुचि ‘थाहा पाएको’ त्यो यस्तो बिन्दु थियो, केकीको बुझाइमा त्यो ‘महाबिन्दु’ नै हो, जहाँ उनीमाथिको पिताको रहरको पखेटा सदाका लागि काटियो । यसरी नयाँ परिस्थिति निर्माण भएको त्यो कोणमा मानौं घरमा बम विस्फोट भयो । बुबाआमाको निकै ठूलो झगडा पर्‍यो, जुन अवस्था त्यसअघि केकीले कहिल्यै देखेकै थिइनन् । बद्री–लक्ष्मीको बोलचालै बन्द भयो । ती निरस दिनलाई केकी जीवनकै ‘टर्निङ पोइन्ट’ मान्छिन् । उनी पितासँग आँखा जुधाउन सक्दिनथिइन् । न आमा नै उनीसँग बोल्थिन् । केकीलाई ‘मैले ठूलै गल्ती गरें’ भन्ने अनुभूतिले सताइरह्यो । 

‘विज्ञापनमा मलाई देखेपछि अब छोरी मेरो हातमा छैन भन्ने बुझाइले धेरै दिनसम्म बोलचाल बन्द भएको चिसोवाला झगडा थियो त्यो बुबाआमाको, जसको मूल कारण म थिएँ’, केकी ती शून्य–शून्य दिन सम्झिन्छिन्, ‘आमा पनि चाहनुहुन्थ्यो– म डाक्टरै भएको हेर्न । उहाँले पनि उसै मेरो रहर मानिदिनुभएको होइन, तर मेरो इच्छाअघि उहाँ झुक्नुभयो ।’ केकीलाई लाग्छ, बुबाहरू छोराछोरीमाथिको आफ्नो रहरमा जिद्दी हुँदारैछन्, तर आमाहरू छोराछोरीकै रहरमा आफूलाई मेट्दारैछन् । 

घरमा त्यो चिसो स्याँठ चलेपछि लक्ष्मी निकै दिनसम्म रोइरहिन् । उनको ‘सुँक्क–सुँक्क’ ले केकीको मनमा पनि स्याँठ चलिरह्यो । ‘छोरीको जिन्दगी र भविष्यमा केही नराम्रो भए मैले अपजस खोप्नुपर्ला’ भन्ने चिन्ताले लक्ष्मीलाई झन् सतायो । एक पटक सोचिन् केकीले– म बुबालाई मनाइछाड्छु । तर, बुबा छोरीसँग बोल्न चाहेनन्– ‘भोलि सल्लाह गरौंला’, ‘पर्सि सल्लाह गरौंला’ भन्दै टारिरहे । एक बिहान केकी बुबाअघि उभिइन् र आफूतिर ध्यान नदिइरहेका बुबासँग दृढ भएर भनिन्, म एमबीबीएस पढ्दिनँ, बीआईएम पढ्छु । तपाईंलाई मैले गलत गरिरहेको छु भन्ने लाग्यो भने त्यही दिन यो पढाइ छाड्छु र तपाईंले भनेको मान्छु, एक पटक चान्स दिनुस्, आफूलाई प्रमाणित गर्नेछु । 

खै के सोचे कुन्नि, केकीका बुबाले ‘ओके’ भनिदिए । सायद छोरीको जिद्दीअघि उनी हारे । त्यस वर्ष (सन् २००९) केकीले स्नातक पढ्दै शिव परियारको ‘क्या दामी भो’, अन्जु पन्तको ‘वनमा फुल्यो फूलैफूल’ लगायत ६ म्युजिक भिडियोमा अभिनय गरिन् । सबै ‘हिट’ भए । केकी तल्लीन भइन् काममा । केकीका अनुसार, उनले बुबासामु आफूलाई प्रमाणित गरिन् । ‘बुबाले थाहा पाउनुभयो, मेरो खुसी कहाँ छ ? सायद मेरो खुसीलाई नै बुबाले आफ्नो जित मान्नुभयो,’ केकी भन्छिन् । त्यसपछि सन् २०१० मा केकीले पहिलो फिल्म ‘स्वर’ मा अभिनय गरिन् । ‘बोक्सीको घर’ सम्म आइपुग्दा उनकी आमा लक्ष्मी केकीको अभिनयबाट खुसी छिन् । तर सधैं छोरीले रिलमा दुःख पाएका दृश्यमा आँखा चिम्लिन्छिन् । लक्ष्मी सोच्थिन्– आफूले पूरा गर्न नसकेका सपना छोरीबाट गर्नुछ । ‘बेलाबेला आमा सोच्नुहुन्छ होला, आफ्नो सपना छोरीले पूरा गरी,’ केकीलाई लाग्छ ।

***

ऋणपान गरेर घर–स्कुल धानिरहेकी लक्ष्मीको जिन्दगीको एउटा अध्याय छ, जसको सम्झनाले केकीलाई असाध्यै पोल्छ । लक्ष्मीको ऋण यत्ति बढ्यो कि घर–स्कुल दुवै लिलामी हुँदै गरेको क्षण मात्रै केकीले त्यो थाहा पाइन् । बुबाआमाको त्यो तनाव, घरमा बैंकबाट आइरहने तारन्तारको फोनले केकीलाई पनि तनाव थप्थ्यो । यस्ता दिन पनि आए, चारजनाको त्यो परिवार चारैतिर रहनुपर्ने भयो । लक्ष्मी सोचिरहन्थिन्– जे भयो मेरो कारण भयो । लक्ष्मी जुनै समय तनावमै रहन्थिन् । केकीलाई भनिरहन्थिन्– ‘छोराछोरीको भविष्य राम्रो होस् भनेरै मैले ऋण लिएँ, तर आज मेरै कारण सब भताभुंग भयो ।’

केकीलाई लाग्छ, ती दिनमा उनकी आमा डिप्रेसनको सिकार भइन् । ती ७ वर्ष लगभग प्रत्येक क्षण लक्ष्मीका आँखा ओभाना भएनन् । घर–परिवार–साथीभाइ अघि उनी हत्तपत्त छेउ परिनन्, कसैसँग बोल्न चाहिनन् । लक्ष्मीको जीवन त्यसपछि पूरै फरक भयो । कहिल्यै कसैको अघि नझुक्ने, स्कुल व्यवस्थापन गरिरहेकी निर्भीक उनी त्यसपछि मान्छेका अघि हारेजस्तो मनस्थितिमा हुन्थिन् । आफ्नै परिवारअघि पनि आत्मविश्वास गुमाएजस्तो अवस्थामा रहने लक्ष्मीको अनुहारबाट हाँसो हराएको थियो । ‘केटीमान्छेले गर्ने कामै होइन यो’ भन्थे आफन्त–समाज । तर, बद्रीले कहिल्यै लक्ष्मीको साथ छोडेनन् ।

A mother who cannot see her daughter's pain even in reelघर–स्कुलको लिलामीपछि यो सहरमा केकी–परिवारले फेरि शून्यबाटै संघर्ष गर्नुपर्‍यो । केकीले रातोदिन काम गरिन्, परिवारलाई सम्हालिन्, फेरि घर बनाइन् । ‘त्योबेला म एक दिन पनि काम नगरी बसिनँ । आमाका तनावका ती दिन म सम्झिन चाहन्न, सधैं उहाँको अनुहारमा खुसीको रङ देख्न चाहन्छु,’ केकी भन्छिन् । दुई वर्षअघिदेखि आमा लक्ष्मीको आँखामा केकी पहिलेझैं सन्तुष्टि–भाव देख्छिन् । ‘मेरो बिहेपछि आमालाई पहिलेझैं सन्तुष्ट र खुसी देख्छु, पहिलेका दुःख हराए, फेरि त्यस्ता खराब दिन आमाले भोग्नु नपरोस्,’ केकी भन्छिन् । 

लक्ष्मी निकै फिल्म हेर्छिन्, खासमा सानै छँदादेखिकै बानी उनको । केकी संसारकै ‘बेस्ट एक्टर’ हुन् उनका लागि । उनी दर्शकमाझ बसेर फिल्म हेर्छिन् र तिनका सुझाव छोरीलाई सुनाउँछिन् । लक्ष्मीको जीवनग्राफमा छ– मध्यमवर्गीय महिलाका केही सुख, केही दुःख, केही अन्धकार, केही परिवर्तन । केकी आफ्नै अन्दाजमा भन्छिन्, ‘मेरी आमाको जीवनमा मैले खुसी, दुःख, तनाव बराबरै भेटें । हैरानी र दुःखले नै मान्छेलाई सुखको बिसौनीमा पुर्‍याउने रैछ ।’

आमासँग अनेक आयाम देखिन्छन्, जहाँ सन्तानको अनुहारभित्रको अर्को अनुहार पनि अभिलेखित हुन्छ । सिनेमा–घरमा आफू रोएको दृश्य हेर्न नसकेर आँखा छोपेकी आमाबारे केकी सोचिबस्छिन्, ‘आमाका विभिन्न रङ हुँदारहेछन्– माया, रहस्य र सुख–दुःखका । धेरै रेखाहरू मिलेर बन्ने रैछ आमाको जीवन ।’

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully