‘हार्मोनी’ मा सुगम स्वर

पोखरेली सांगीतिक संस्था ‘हार्मोनी :द मोर्डन सङ स्ट्रेसेस अफ पोखरा’ मा सुगम संगीतमा क्रियाशील महिला कलाकारहरू मात्र आबद्ध छन्

वैशाख २९, २०८१

दीपक परियार

Smooth vocals in 'Harmony'

पोखरा — हिन्दी सांगीतिक फिल्म ‘रक अन’ मा कलाकारको समूहले एउटा कन्सर्टमा सहभागी हुन गरेको संघर्ष देखेपछि गायिका इजु जोजिजुलाई लाग्यो, ‘पोखरामा महिला मात्रैको समूह बनाउन पाए !’ आठ वर्षअघि उनको सोचले सार्थकता पायो र जन्मियो ‘हार्मोनी : द मोर्डन सङ स्ट्रेसेस अफ पोखरा ।’

एसएलसी दिएपछि पोखराको विन्ध्यवासिनी संगीत प्रशिक्षण केन्द्रमा गायन अभ्यास गरेकी थिइन् उनले । काठमाडौंको शंकरदेव क्याम्पस पढ्दाताका सांगीतिक कार्यक्रमहरू भइरहेको देख्थिन् । तर पोखरामा त्यस्तो माहोल बनिसकेको थिएन । आक्कलझुक्कल हुने केही कार्यक्रममा पनि पुरुषहरूकै सहभागिता बढ्ता हुन्थ्यो । औंलामा गन्न सकिने मात्रै महिला उपस्थितिले उनलाई पिरल्यो । 

साथी सवि कोइरालासँग ‘रक अन’ हेरेपछि नै सुगम संगीतमा क्रियाशील महिला कलाकारलाई संगठित बनाउने सोच आएको उनी बताउँछिन् । ‘त्यही फिल्मले नै हामीलाई संस्था खोल्न आँट दियो,’ उनले भनिन् । गायिका कौशल्या गुरुङ, रुवि गौलीसँगको सल्लाहपछि पोखरामा सुगम संगीतमा क्रियाशील महिला कलाकारको मात्रै सांगीतिक कार्यक्रम आयोजना गर्ने योजना बन्यो । ०७३ मा १२ गायिका इतुकै घरमा भेला भए । समूह बनाउने निर्णय गरे । समूहको नाम राखे ‘हार्मोनी’ । त्यही भेलाको निर्णयबाट उनी अध्यक्ष भइन् । 

समूह बनाउने निर्णय सहज भए पनि सञ्चालनमा गर्न उत्तिकै गाह्रो थियो । तर उनीहरूले हिम्मत भने हारेनन् । त्यतिबेलै लेखक प्रकाश सायमी पोखरा आएर हार्मोनीको पछाडि ‘द मोर्डन सङ स्ट्रेसेस अफ पोखरा’ थपिदिए । उनका अनुसार महिला गायिका मात्र संगठित भई क्रियाशील भएको संस्था ‘हार्मोनी’ नेपालमा पहिलो र एसियामा दोस्रो हो । 

Smooth vocals in 'Harmony'हार्मोनीले ०७३ पुस ९ मा पहिलो कार्यक्रम आयोजना गर्‍यो । पहिलो कार्यक्रम ‘लेजेन्डरी हार्मोनियस इभिनिङ’ मा स्थापित गायिका मीरा राणा, ज्ञानु राणा र बाबा राणा एउटै मञ्चमा देखिए । ‘त्यतिबेला दर्शक–श्रोताको साथ पाइन्छ कि पाइन्न भन्ने डर थियो,’ इतुले सम्झिइन्, ‘पोखराकै एक पार्टी प्यालेसमा गरिएको कार्यक्रम सफल भएपछि ऊर्जा थपियो ।’ त्यसयता हार्मोनी पोखरामा निरन्तर क्रियाशील छ । 

पहिलो कार्यक्रम आयोजना गर्दा संस्थाले आधिकारिकता पाइसकेको थिएन । ०७४ पुसमा संस्था दर्ता भयो । हार्मोनीले दोस्रो कार्यक्रम पोखरास्थित सभागृह हलमा गर्‍यो । ०७४ चैत १० ‘टेस्ट अफ हार्मोनी’ कार्यक्रममा गायिका तथा नेपाली चलचित्रकी पहिलो महिला संगीतकार शान्ति ठटाल, लोक गायिका हरिदेवी कोइराला र साहित्यकार उषा शेरचनलाई सम्मानसमेत गरिएको थियो । 

२०७६ असार २१ मा ‘टेस्ट अफ हार्मोनी, धुनहरूमा तारादेवी र अरुणा लामा’ शीर्षकमा विशेष सांगीतिक कार्यक्रम भयो । दिवंगत गायिकाद्वय अरुणा लामा र तारादेवीप्रति समर्पित कार्यक्रममा हार्मोनीका सदस्यले उनीहरूका कालजयी गीत गाए । कार्यक्रममा दार्जिलिङकी गायिका दावा ग्याल्मो, नृत्यांगना रत्न दास र गायिका जोनिशा पौडेललाई संस्थाले सम्मान गर्‍यो । तारादेवी र अरुणा लामाको सम्झनामा हार्मोनीले तीन वटा संस्करणमा सांगीतिक कार्यक्रम गरिसकेको छ । 

Smooth vocals in 'Harmony'

संस्थाले दीपानारायण झालाई पहिलोपल्ट ०७९ पुसमा पोखराको मञ्चमा उभ्याउन सफल भयो । ‘रारा टेस्ट अफ हार्मोनी ः धुनहरूमा दीपानारायण झा’ कार्यक्रममा दर्शकको भव्य उपस्थितिबीच उनले आफ्ना सदाबहार गीत प्रस्तुत गरिन् । कार्यक्रमको अवसरमा क्यान्सरपीडित लक्ष्मी भट्टराई र भायोलिन तथा पियानोवादक उपासना पाख्रिनलाई प्रोत्साहनस्वरूप सम्मान गरिएको थियो ।

हालसम्म इतु जोजिजुको नेतृत्वमा रहेको संस्थाको उपाध्यक्षमा कौशल्या गुरुङ, सचिवमा लक्ष्मी गिरी, सहसचिवमा सानु जोजिजु, कोषाध्यक्षमा शीतल थापा र सहकोषाध्यक्षमा प्रतीक्षा देवकोटा छन् । संस्था स्थापना हुँदा १६ जना सदस्य रहेकामा हाल ३३ पुगेका छन् । गायनलाई मूल पेसा बनाएका ८ कलाकार छन् । बाँकी सदस्यले गायनसँगै शिक्षण, उद्योग व्यवसाय पनि अपनाएका छन् । 

हार्मोनीका सदस्यमध्ये कसैले संगीत एकेडेमी चलाएका छन् । विद्यालयमा संगीत शिक्षकका रूपमा काम गरिरहेका छन् । केही विदेशमा छन् । जीविका चलाउनका लागि अरू पेसामा पनि उनीहरू निर्भर हुनुपर्ने अवस्था छ । पोखरामा सुगम संगीतका लागि वातावरण अझै तयार नभएको उनीहरूको गुनासो छ । स्रष्टालाई संगीत पारखीका बीचमा गुमनाम हुन नदिन हार्मोनी कटिबद्ध भएको संस्थाकी सचिव लक्ष्मीकुमारी गिरी बताउँछिन् । 

अहिले पनि सांगीतिक कार्यक्रममा जाँदा महिला कलाकारले पारिश्रमिक नपाउने गरेको अध्यक्ष इतुको अनुभव छ । पाए पनि राजधानीमा सक्रिय कलाकारले जति पाउन मुस्किल छ । ‘जे चीजलाई पनि समय लाग्छ । पोखरा पनि बिस्तारै व्यावसायिक हुँदै जान्छ भन्ने विश्वास छ,’ सचिव गिरीले भनिन् । संस्थाले ‘टेस्ट अफ हार्मोनी’ को छैटौं संस्करण पूरा गरिसकेको छ । आगामी दिनमा काठमाडौंसहित देशका मुख्य सहरमा हार्मोनीको शाखा खोल्ने योजना रहेको अध्यक्ष इतु जोजिजुले सुनाइन् ।

दीपक परियार कान्तिपुरका पोखरा संवाददाता हुन् ।

Link copied successfully