बाघ पछ्याउँदै नागरिक वैज्ञानिक
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
बर्दिया — स्वभाव नै निक्कै जिज्ञासु । बाघहरूको आवतजावत हुने ठाउँ पहिचान उस्तै सिपालु । क्यामरा ट्र्यापको प्राविधिक कामका अनुभव उनी नदी र खोला किनार, डाँडाको बाटो, भन्ज्याङ, दोबाटो र नुनपानीको स्रोत भएको ठाउँ पहिचान गर्छन् ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![बाघ पछ्याउँदै नागरिक वैज्ञानिक](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/naresh-tharumanoj-photo2-1052024033831-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
२०/२५ मिनेटमा नै क्यामरा जडान गर्न भ्याइसक्छन् उनी । त्यतिमात्रै कहाँ हो र ? उनले बाघलाई पनि सजिलै क्यामरा ट्र्यापमा पार्छन् । यसरी बाघ क्यामरा ट्र्यापमा पार्न सिपालु बनेका युवा हुन्, बर्दियाको मधुवन नगरपालिका–२, अम्मरपुरका २८ वर्षीय नरेश थारू ।
नरेश बाघका लागि क्यामरा ट्र्याप गर्दा सबैको रोजाइमा पर्छन् । क्यामरा ट्र्याप गर्नकै लागि उनी इलामदेखि डडेलधुरासम्म पुगेका छन् । सुरुमा २०१५ मा बर्दिया निकुञ्जमा पहिलो पटक क्यामरा ट्र्यापिङ गरे । त्यही समय बाँके निकुञ्जमा पनि क्यामरा ट्र्यापिङ गरेका थिए । दुवै ठाउँमा बाघलाई क्यामरा ट्र्यापिङमा पार्न सफल भएपछि उनमा उत्साह थपियो । पहिलो प्रयासमा बाघका भाले पोथी ट्र्यापिङ भएपछि तस्बिर हेरेरै आनन्दित भए उनी । ‘विभिन्न देशबाट मानिसहरू लाखौं खर्च गरेर नेपालमा बाघ हेर्न आउँछन्,’ उनले भने, ‘हामी भने तिनै बाघलाई क्यामरामा पार्न खटिएका हुन्छौं ।’ ज्यानकै जोखिम भए पनि नाम कमाइने भएकाले काम गर्न जोस र जाँगर भरिने उनको भनाइ छ ।
२०१५ मै खाता, बरन्डाभार, लालझाडी, बसन्ता, कम्दी र कर्णाली जैविक मार्गमा पनि उनले क्यामरा ट्र्यापिङ गरेका थिए । २०१७ मा रूपन्देहीको बुटवल बजार आसपासका डाँडा र देवहद नगरपालिकामा पनि क्यामरा ट्र्यापिङ गरेका थिए । तर, चितुवा मात्र परेको थियो । २०२४ मा उनले कपिलवस्तुको बुद्धभूमि नगरपालिकाको गब्दहवा आसपासका चुरेवनमा दुइटा बाघ क्यामरा ट्र्यापिङमा पारे । एउटा भाले थियो भने अर्कोको लिंग पहिचान हुन सकेन । तर कपिलवस्तुमा पहिलो पटक एकैठाउँमा दुइटा बाघ देखिएको रेकर्ड बनाउन पनि भ्याए उनले ।
२०१८ मा राष्ट्रिय बाघ गणनामा सहभागी भए । पर्सा, चितवन र शुक्लाफाटा निकुञ्जमा क्यामरा ट्र्यापिङ र अनुगमन गरे । एक ठाउँमा तीन सातासम्म बस्दै तीन ठाउँ पुगे । त्यस्तै बाघसँगै अन्य जनावरको अवस्था पत्ता लगाउन नवलपरासीदेखि मकवानपुरसम्म अकुपेन्सी सर्भेसमेत गरेका छन् उनले । २०१८ मै झापा, इलाम, मोरङ, सिन्धुली, पाल्पा, रूपन्देही र कपिलवस्तुका चुरे क्षेत्रमा बाघ, साना स्तनधारी वन्यजन्तु, सरिसृप र पुतलीको अध्ययन अनुसन्धान पनि सक्रिय थिए नरेश ।
२०२० मा भने उनी डडेलधुराको महाभारत क्षेत्रमा गरिएको क्यामरा ट्र्यापिङमा सहभागी थिए । त्यतिबेला दुई हजार पाँच सय मिटरभन्दा माथिको उचाइमा एउटा बाघ भेटिएको थियो । जुन डडेलधुरामै पहिलो पटक देखिएको थियो । उनी वन्यजन्तुको विषयमा विद्यावारिधि गर्नेलाई अध्ययन अनुसन्धानमा पनि सघाउँछन् । पाल्पा, स्याङ्जा, पर्वत, कास्की, लमजुङ र तनहुँमा चितुवामा विद्यावारिधी गरिरहेका शशांक पौडेलको अनुसन्धानमा पनि लागे उनी केही समय ।
२०२२ मा भएको राष्ट्रिय बाघ गणनाका बेला पनि चितवन, पर्सा र शुक्लाफाँटामा क्यामरा ट्र्यापिङ गरेका थिए । २०२२ मा डोटीको महाभारत क्षेत्र र वनमा पनि उनी बाघका लागि क्यामरा ट्र्यापिङका लागि गएका थिए । २०२२ मा दाङको दक्षिणी भेगमा उनी क्यामरा ट्र्यापिङमा गएका थिए । चितवन निकुञ्जमा वन कुकुर (ढोले) को सर्भे गरेका थिए । ४५ दिन वनमै बसेर उनले अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ (आईयूसीएन) को दुर्लभ वन्यजन्तुको सूचीमा समावेश वन कुकुरको अनुसन्धानमा पनि सघाए । वन कुकुर नेपालमा करिब दुई सयको हाराहारीमा रहेको अनुमान छ । यो कुकुर विश्वभर पाइने ‘क्यानिड्स’ परिवारको सबैभन्दा लोपोन्मुख स्तनधारी प्रजाति हो । पछिल्लो पटक भने उनी २०२३ मा सोमेश्वर कोरिडोरमा ४५ दिनसम्म बाघका लागि क्यामरा ट्र्यापिङको काम गरे ।
क्यामरा ट्र्यापिङमा उनले अहिलेसम्म ४२ भन्दा बढी बाघ पारेका छन् । एउटै क्यामरामा तीन वटासम्म बाघ ट्र्यापिङ गरेका छन् । १४ वर्षको उमेरमा कक्षा ८ मा पढ्दा सीबीएपीयू (चोरी सिकारी नियन्त्रण युवा परिचालन अभियान) मा आबद्ध भएका थिए नरेश । ‘त्यतिबेला नै वन्यजन्तु र चराको महत्त्वबारे थाहा पाएँ,’ उनले भने, ‘त्यसपछि संरक्षण क्षेत्रमा लाग्ने उत्प्रेरणा अझ बढ्यो ।’ त्यसपछि उनले संरक्षणका विषयमा अध्ययन गर्न थाले । गाउँटोल र विद्यालयमा अन्तर्क्रिया गोष्ठी गर्न गए । संरक्षणको अभियान चलाए । विद्यार्थीलाई संरक्षणप्रति लाग्न उत्प्रेरित र संगठित गरे । जान्ने भएपछि अघि बढ्दै गए । चोरी सिकारी नियन्त्रण गर्न दिन र रातमा गस्ती गर्न थाले । यसपछि निकुञ्ज र एनटीएनसीबाट क्यामरा ट्र्यापिङको अवसर पाए उनले । ‘अहिले मुलुकभर तराईदेखि पहाडसम्म पुग्ने अवसर पाएको छु,’ नरेश भन्छन्, ‘कामप्रतिको रुचि र मिहिनेतले यहाँसम्म पुगेको छु ।’
बर्दियाको बग्नाहामा स्नातक अध्ययन गरिरहेका उनी संरक्षणको कामका लागि कम्तीमा ३० जिल्ला पुगिसकेका छन् । २०१५ मा बर्दिया निकुञ्जको बघौरामा बाघ गणनाका बेला बच्चासहितको गैंडाले लखेट्दा बल्लतल्ल बाँचेका थिए नरेश । २०२२ मा स्याङ्जामा चितुवाको क्यामरा ट्र्यापिङ गर्दा चारैतिर डढेलो लागेपछि निस्कने बाटो पाएनन् उनले । ‘चारैतिर धूवाँ र आगोले बाटो खोज्दा खोज्दै ४ घण्टा बित्यो,’ उनले भने, ‘बल्लतल्ल निस्कन पाउँदा अर्को जुनी पाए जस्तो भएको थियो ।’
कतिपय अवस्थामा निकै ठूलो जोखिम लिने गरेको उनी बताउँछन् । क्यामरा ट्र्यापमा परेको बाघ हेरेरै उनी भाले, पोथी र बच्चा मात्र होइन, बूढो र बयस्क पनि छुट्याउँछन् । काम गर्दागर्दै बाघ, चितुवाबारे धेरै जान्ने बनेका छन् । पाइला हेरेर बाघ र चितुवाको मज्जाले छुट्याउँछन् । भाले पोथी र पाइलाको नाप लिएर उमेर पनि छुट्याउन सक्छन् । बाघबारे अध्ययन र काम गर्ने रुचिप्रति सम्मान गर्दै विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालले उनलाई ‘नागरिक वैज्ञानिक’को संज्ञा दिएको छ । ‘सानैदेखि प्रकृतिको नजिक भएर बसियो । हेलमेल भइयो । यसमै रमाउन सकियो,’ नरेश भन्छन्, ‘त्यसैले बाघसँगै घुलमिल भएर बस्ने इच्छा छ ।’
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)