दुबईका श्रमिक, इलामका इलमी

वैशाख २६, २०८१

लक्ष्मी गौतम

Workers from Dubai, Ilami from Elam

इलाम — दैनिक १२ घण्टा चिया बगानमा रमाइरहन्छन् इलाम–४ जस्बिरेका जयकुमार राई (जेके) । होचो कद, हँसिलो अनुहार र फरासिला उनी रोजगारीका क्रममा सात वर्ष यूएई बसेर फर्केका हुन् । पछिल्लो समय भने उनी जस्बिरे बजारनजिकै चियाको मुना टिप्न र बगान स्याहार्न व्यस्त भेटिन्छन् । चियाखेतीमा रमाइरहेका जेके आफ्नो व्यवसायमा लगनशील त छन् नै, यसको बजार र प्रविधिबारे पनि उत्तिकै जानकार । 

‘दुबई (यूएई) मा अफिस ब्वाई थिएँ । अर्काको देशमा कति बस्नु भनेर घर फर्किएर चिया खेतीमा लागें,’ उनी भन्छन्, ‘चालीस रोपनी जग्गामा चिया रोपेको छु, परिवारका सदस्य मिलेर स्याहार्छौं, टिप्छौं अनि बेच्छौं ।’ सबै खर्च कटाएर मासिक डेढदेखि दुई लाख रुपैयाँ बचत हुने गरेको उनको भनाइ छ । चियाबारीमा मल हाल्नका लागि उनले गाईबस्तु पनि पालेका छन् । उनका अनुसार दूध बिक्री गरेर पनि राम्रै कमाइ हुन्छ । 

जेकेले ४० रोपनी जग्गामा चिया लगाएका छन् । त्योमध्ये २५ प्रतिशतबाट ब्ल्याक लिफ, ग्रिन लिफ र हाते पत्ती बनाएर बिक्री गर्छन् । ७५ प्रतिशत प्रशोधन नगरीकन नजिकैको जस्बिरे टि प्रोसेसिङ कम्पनीलाई (हरियो पत्ती नै) बिक्री गर्छन् । ‘हातले माढेर तयार गरेको हाते पत्ती, ग्रिन गोल्ड र ब्ल्याक गोल्ड प्रतिकिलो दुई हजार रुपैयाँसम्ममा बेच्छु,’ उनी भन्छन् । आफ्नो बगानमा उनले विषादी र रासायनिक मल भने प्रयोग गर्दैनन् ।

Workers from Dubai, Ilami from Elamचिया बगानका सिरानमा गाई फर्म छ । गाईको मल फर्मबाट आरोलो बगाइदिन्छन् । गहुँत जम्मा पारेर रोगकिरा निदानका लागि छर्किन्छन् । उनको अनुभवमा रासायनिक मल र विषादी प्रयोग गर्दा बुट्यान हलक्क बढ्छन् । उत्पादन पनि राम्र्र्र्रै हुन्छ । यहाँ उत्पादित अर्गानिक चिया जापान, जर्मनी, डेनमार्क र बहराइन लगायतका मुलुकमा जान्छ । विदेशका अधिकांश मुलुकमा प्रयोग गर्ने चियासहितका सबै खाद्य वस्तुको गुणस्तर परीक्षण गरिन्छ । ‘रासायनिक मल र विषादी प्रयोग भए विदेशमा बिक्री हुँदैन, आफ्नै देशमा उत्पादन भएको चिया पत्ती नेपालमा कमै मात्र प्रयोग हुन्छ,’ उनले भने । 

जेकेले श्रीमती मनमायालाई पनि चिया बगानमै अभ्यस्त गराएका छन । चिया टिप्न प्रयोग हुने ढाकी, डोको आफैं बुन्छन् । बिहानभर गाईबस्तु स्याहार्छन् । दिउँसो चियाका मुना टिप्छन् । फुर्सदमा चोया काढ्छन् । मल हाल्छन् अनि चियाको बगानमा सुसेली हाल्दै रमाउँछन् । ‘मिहिनेत गरे कमाउनकै लागि विदेश जानुपर्दैन,’ उनले भने । 

जेकेको बुझाइमा अहिले पनि बहुसंख्यक नेपालीले बजारबाट किनेको सीटीसी चिया प्रयोग गर्छन् । थोरै उपभोक्ता मात्र नेपाली हाते पत्ती र अथोडक्स चिया प्रयोग गर्ने गरेका उनी बताउँछन् । ‘नेपालीलाई मात्रै स्वदेशी चिया पिउन सिकाउने हो भने स्वास्थ्य त राम्रो हुन्छ नै स्थानीय उत्पादनको प्रवर्द्धनमा पनि टेवा पुग्छ,’ उनले भने । सरकारले विभिन्न माध्यमबाट चिया र कफी प्रवर्द्धन गर्ने योजना बनाए पनि त्यो पर्याप्त नभएको उनले बताए । ‘किसानका लागि वितरणमुखीभन्दा नीतिगत सहयोग आवश्यक छ, अहिले पनि नेपाली चिया भारत निर्यात हुन सकिरहेको छैन,’ जेकेले थपे ।

युवा ग्यालरी

लक्ष्मी गौतम कान्तिपुरका पाँचथर संवाददाता हुन् ।

Link copied successfully