कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

बालेनजस्तै स्वच्छन्द कविता

‘अश्र’ का पानैपिच्छे एउटा छोटो कविता छ र कवितैपिच्छे सरल रूपले कोरिएका रेखाचित्रहरू छन्, जसलाई हेर्दामै एक मज्जाजनित भावको उदय हुन्छ
र्‍याप लेख्ने र गाउने कलामा सिपालु बालेनको थोरै लाइनमा चामत्कारिक भाव पोख्न सक्ने शिल्प कवितामा पनि प्रसारित छ 

काठमाडौँ — ‘लेख्न पाउँछु र त जीवन छ
नत्र नियमले उहिल्यै सास छोड् भन्थ्यो’
झट्ट हेर्दा, यो कुनै लेख वा उपन्यासको अंश वा कसैले कहीं कलात्मक भंगिमा उजागर गरेको संवादको एक अंश लाग्छ । तर होइन, यो एक सिंगो कविता हो, जो हालै प्रकाशित काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन)को कविता पुस्तक ‘अश्र’ मा समाहित छ ।

बालेनजस्तै स्वच्छन्द कविता

नेपाली शब्दकोशमा नरहेको तर हिन्दीमा ‘आँसु’, ‘रगत’ वा ‘रक्त मिश्रित आँसु’ का रूपमा लाक्षणिक र कवितात्मक अर्थमा प्रयोग हुने शब्द ‘अश्र’ का पानैपिच्छे एउटा छोटो कविता छ र कवितैपिच्छे सरल रूपले कोरिएका रेखाचित्र छन्, जसले हेर्दामै एक मज्जाजनित भावको उदय हुन्छ ।

चल्तीको राजनीतिज्ञभन्दा आनीबानी र व्यवहारमा फरक बालेन सार्वजनिक समारोहहरूमा जाँदैनन् । सञ्चारकर्मीसँग गफिँदैनन् । र, मन लागेका ठाउँमा मन लागुञ्जेलबाहेक बस्दा पनि बस्दैनन् । पुस्तक विमोचन गर्ने मामिलामा पनि उनी फरक देखिए । ‘मेरो कवितासंग्रह ‘अश्र’ भोलिबाट सर्वत्र उपलब्ध हुनेछ,’ वैशाख १४ मा मेयर बालेनले जन्मदिनको एउटा संक्षिप्त सूचना चुहाए, ‘आज जन्मदिनको शुभकामना दिनुहुने सबैलाई धन्यवाद ।’ फेसबुकमा संक्षिप्त यी दुई वाक्य लेखेर पुस्तक बजारमा लैजान उनले प्रकाशक बुकहिलका भूपेन्द्र खड्कालाई हरित संकेत दिए ।

तामझामका साथ पुस्तक विमोचन गर्ने परम्पराले केही हल्लीखल्ली हुने र बजार विस्तार हुने ठानेर प्रकाशकहरू यसको आयोजना गर्न लोभिन्छन् । तर, बालेनका हकमा त्यसो गरिरहनै परेन । उनले स्ट्याटस अपडेट गरेको केहीबेरमै १ लाख ५३ हजार लाइक र ३७ हजार कमेन्ट ओइरिए । अनलाइनबाट एकाएक पुस्तकका माग बढे भने पुस्तक पसलहरूमा ‘अश्र’ पाऊँ न भन्दै छिर्नेहरू थपिए ।

‘यो वर्ष हामीले बेचेको सबभन्दा धेरै पुस्तक नै अश्र हो,’ प्रकाशक भूपेन्द्र भन्छन्, ‘पसलबाट भन्दा अनलाइनबाट बढी माग आइरहेको छ ।’ अनलाइनबाट बढी माग आउनुको अर्थ बालेनका कविताका पाठकको दायरा इन्टरनेटमा ज्यादा झुम्मिने युवा पुस्तासम्म फैलिनु हो, जो अक्सर नेपाली साहित्यसँग अपरिचित नै हुने गर्छन् । यसरी, पुस्तक पसल र अनलाइन दुवैतिर अन्य पुस्तकलाई पछि पार्दै बिक्रीको अग्रसूचीमा पुगेको बालेनको पुस्तकमा स–साना १९५ कविता संग्रहित छन् ।

अक्सर कविता आठ–दस लाइनमै टुंगिन्छन् । कतिपय चार हरफका छन् । कति त दुई हरफमै पनि टुंगिएका छन् । जस्तो कि, उनको एउटा सिंगो कविता छ :

‘मन्दिरभित्र मूर्तिहरू संक्रमित छन्,

बाहिर मानिस सद्दे !’

समालोचक राजकुमार बानियाँका विचारमा कविता यस्तो हुनुपर्छ र उस्तो हुनुपर्छ भन्ने शास्त्रीय परिभाषाभन्दा फरक छन् बालेनका कविता । विचार, शास्त्रीयता र ढाँचा कतैबाट पनि नबाँधिइकन मनमा तत्क्षण उदाएका संवेदनाजनित भावलाई उनले आफैंमा स्वतन्त्र र अलग जस्ता लाग्ने हरफमा उनेका छन् । कतिपय लेखक र कविले यस्तो पनि कविता रे बाबै भन्ने भाव आउने गरी उनका कविताका छोटा हरफलाई उल्याउने गरिरहेको समालोचक बानियाँको विश्लेषणमा नयाँ चिज नपचाउने हाम्रो सामाजिक रोगको लक्षण हो । ‘बालेनलाई सुरुमा नेतै होइन भने, तर उनले महानगरको मेयर पद जितेरै देखाइदिए,’ उनको तर्क छ, ‘अहिले फेरि कवि नै होइन भनिरहेका छन्, जबकि उनकै कविता बिकिरहेका छन् ।’

बालेनका हरफमा आफूले प्रशस्त कवित्व पाएको भन्दै उनले के पनि थपे भने– ‘जसले आलोचना गरिरहेका छन्, तिनले उनका कविता पढेकै छैनन्, किनभने हाम्रा साहित्यकार एकअर्कालाई नपढीकनै फलानोको सिर्जना खत्तम भनिदिन्छन् ।’

प्रकाशक भूपेन्द्रलाई चाहिँ बालेनका कविता आम रचनाभन्दा फरक र विद्रोही स्वभावका हुनाले छापिछाडौं भन्ने भावले उत्साहित बनाएको रहेछ । अमेरिकी आधुनिक साहित्यकी अग्रणी लेखिका भर्जिनियाँ उल्फको ‘स्ट्रिम अफ कन्सिअसनेस’ अर्थात् ‘चेतनाको प्रवाह’ मा लेख्ने एक विशिष्ट शैली छ । सोच विचार गरेर र लेखेर धेरै पटक सम्पादन गरेर वा गराएर सिर्जना प्रकाशमा ल्याउने होइन, लेख्दालेख्दैको क्षणमा मनमा जे विचार र जस्तो संवेदना आउँछ, त्यसलाई त्यसरी नै लेख्ने र प्रकाशन गर्ने शैलीको एक खास नाम हो यो । बालेनका कवितामा पनि चेतनाको यस्तै स्वच्छन्द प्रवाह भेट्न सकिन्छ ।

र्‍याप लेख्ने र गाउने कलामा सिपालु बालेनको थोरै लाइनमा चामत्कारिक भाव पोख्न सक्ने शिल्प कवितामा पनि प्रसारित छ । पुस्तक के हो भन्ने चिनाउन पीठमा केही परिचयजन्य सामग्री लेख्ने चलन छ, जसलाई अंग्रेजीमा ब्लर्व टेक्स्ट् भनिन्छ । बालेनले ‘अश्र’ मा यस्तो ठाउँमा चार हरफको कवितै राखेका छन् :

‘एक अक्षरबाट शब्द

अनि मन्त्र भएँ म

तिमीले मायाले बाँध्यौ

अनि स्वतन्त्र भएँ म’

उनका कुनै कविताका पनि शीर्षक छैनन् । न कुनै लय र छन्दका लागि हरफ एकआपसमा जोडिन आइपुगेका छन् । कति ठाउँमा उनका कवितामा अन्त्यानुप्रास छन्, कतिमा छैनन् । यसमा पनि कुनै एकरूपताको चिन्ता छाडिदिएका छन् बालेनले । न कुनै भूमिका छ । न यसमा कसैको केही टिप्पणी छ । पुस्तक पल्टाउने बित्तिकै पाठकका आँखा बालेनका कवितासँग सिधै ठोक्किन पुग्छन् ।

गणनामा पहिलो पृष्ठ सुरु हुनुअघि नै पानाभरि बालेनको अनुहार चित्र छापिएको छ । र, निधारमा यी ६ हरफ लेखिएका छन् :

‘आज हरेक समाजमा

एउटा असक्षमको अपमान हुन्छ

विलौनाको आवाजमा एउटा

बालिकाको कन्यादान हुन्छ ।

सानो स्वरमा भए नि एउटा क्रान्ति घन्किन्छ

पाप र पीडाबीच एउटा अर्को कवि जन्मिन्छ !’

चल्तीको भाषामा यो पृष्ठ प्राक्कथनका लागि हो । त्यस हिसाबले यी ६ हरफ बालेनका प्राक्कथन हुन् । प्राक्कथन लेख्नुको प्रयोजन के हो कुनै पनि पुस्तकमा ? यही कि पुस्तक के हो र किन लेखिँदै छ भन्ने जानकारीयुक्त टिप्पणी र विचार दिनु हो । अक्सर नबोल्ने र बोले पनि चुप लागिहाल्ने सार्वजनिक छवि बनाएका बालेनले पुस्तकका बारेमा प्राक्कथनका ठाउँमा लेखेको यी छ हरफको अन्तिम पदको पछिल्ला तीन शब्दले भन्छ– एउटा कविको जन्म भएको छ । त्यो कवि को हो ? स्पष्ट छ– बालेन स्वयं हुन् !

यसरी, ज्यादै सूक्ष्म शैलीले बालेनले आफ्नो कविता अवतारलाई उद्घोष गरेका हुन् कि त यी हरफमार्फत भन्ने तर्क गर्न सक्ने ठाउँ पछिल्लो हरफ र त्यो छापिएको पृष्ठको स्थानले पर्याप्त मात्रामा दिएको छ । यसरी, स्वयंको घोषणामा जन्मेको कविले लेखेका कविता चार अध्यायमा बाँडिएका छन् । सुरुका दुई अध्यायमा प्रेम र वियोगसँग सम्बन्धित शृंगार रस स्थायी भाव भएका कविता छन् ।

साहित्यको पूर्वी दर्शनले के भन्छ भने मनमा रहिरहने ९ भाव छन्– शृंगार, वीर, करुण, हास्य, रौद्र, भयानक, बीभत्स, अद्भुत र शान्त । भावलाई रस पनि भनिन्छ । र, यी नौ भावलाई अध्यात्म र साहित्य दुवैले नवरसको नामले बढी चिन्छ । कविता पढ्दा यीमध्ये कुनै पनि भाव पाठकलाई आयो भने त्यसैलाई तत् कविताको स्थायी भाव भनिन्छ । बालेनका प्रेमजनित कवितामा रतिरागयुक्त शृंगारिक र क्रोधयुक्त संवेदना छन् ।

हरेक अध्यायको सुरुवातमा विशेष किसिमको सज्जायुक्त बुट्टाका साथ केही हरफ लेखिएका छन् । जस्तो कि, सुरुवातको अध्यायमा छ :

त्यो दिन पनि उज्यालो हुनेछ

तिमी मुसुक्क हाँसेको बेला

अरूको संसार कालो हुनेछ

मेरो भने चम्किलो होला

स्वर्गमा पुगे तिमी सम्झनेछु

परिहरू नाचेको बेला

नर्क म पुगे नि खुसी हुनेछ

सम्झी हामी बाँचेको बेला ।’

यही अध्यायमा उनको पुस्तकभरिको सबभन्दा लामो कविता छ, जसका २८ हरफ छन् । र, यसमा उनले आफू कृष्ण र प्रेमिकालाई राधा भनी सम्बोधन गरेका छन् । प्रेमका कवितामा बालेनले ठाउँठाउँमा विद्रोही विचारका रौद्र भाव निर्बाध घुसाएका छन् । जस्तो कि :

‘महलको आँगनलाई माग्नेको देउसी बनाइदिएँ,

रिसमा सारा देवतालाई खोरमा कैदी बनाइदिएँ,

एउटा भिकारीलाई दैव अनि राजालाई रैती बनाइदिएँ...।’

कवि बालेन कतिखेर आफ्नी प्रियतमाको याद गर्छन् ? ‘जब समाजका पागललाई मेरो पागलपन पच्दैन’ लेखेका छन्, ‘शरीर चिसो हुन्छ, एक्कासि तिम्रो याद आउँछ ।’ अनि कहिले कहिले आक्रोश पनि साह्रै घोच्ने गरी पोखेका छन् उनले । भनेका छन्, ‘आशा गर्छौं विवाहको जन्तीभन्दा मलामी बढी गएको मान्छेबाट ?’

परम्पराको आँखा र अभ्यस्त बानीले उनका कवितामा कहीं केही नमिलेको हो कि त, केही भन्न बाँकी छँदाछँदै भन्ने मानिस कहीं गएको हो कि त भनेजस्तो भाव उत्पन्न गर्छ । जस्तो कि :

‘मान्छेको मनमा राक्षको बास हुँदै छ

चारैतिरबाट मेरो लास गिराउने प्रयास हुँदैछ

जा तेरो भगवान्लाई भन्दे

मेरो मन कहिल्यै डरको दास हुँदैन’

कविता लेख्नेहरूका लागि यी पंक्ति मामुली लाग्न सक्छन् । किनभने, यसमा चामत्कारिक भाव संयोजनको त्यस्तो कुनै भव्य अभिव्यक्ति छैन । बालेन मेयर हुनुअघि उनले यो लेखेको भए सायद बुकहिल र अरू कुनै प्रकाशन गृह पनि यति अधीरताका साथ छाप्न हतार गर्दैनथे । न अनलाइनमा यसरी माग नै आउँथ्यो । न पुस्तक पसलेले सबभन्दा देखिने ठाउँमा ‘अश्र’ लाई राख्थ्यो ।

खास कुरा के भने, के भनियो भन्दा पनि कसद्वारा भनियो भन्नेले अर्थ राख्छ । सार्वजनिक सेवा प्रवाह गर्ने जिम्मेवारी पाएका प्रशासक र नेता के सोच्छन् र के बोल्छन् भन्ने प्रश्नले कस्तो बाटो उनीहरू अख्तियार गर्दै छन् भन्ने धेरै हदसम्म निर्धारण गर्छ । राजनीति केही सीमित दलहरूको कब्जामा भएका बेला र तिनको अक्षमताले चरम निराशा बढाएका बेला सञ्चारमाध्यमले उतिसारो चासो नदेखाएको र स्वनमधन्य विश्लेषकको विचारमै नपरेको एक युवाले ठूलो मतान्तरमा महानगरको चुनाव जितेपछि त्यो अचानकको विजेता को रहेछ भन्ने उत्सुकताले ठूलो परिधि ओगट्नु स्वाभाविक हुन जान्छ ।

यस्तोमा, नवविजेताका शुभेच्छुक र चाहनेहरूको संख्या पनि थपिन्छ । र, उसले केही बोल्यो वा लेख्यो भने त्यसलाई चासोका साथ सुन्ने र पढ्नेको संख्या पनि उसरी नै बढ्छ । यही सुविधा सन्तुलनको अवस्थाले गर्दा हुनुपर्छ, बालेनले विमोचन पनि जरुरी ठानेनन् पुस्तकको । किनभने, लोकप्रियता र चर्चा दुवै बढिरहेका बेला पुस्तक निकाल्दा पाठक खोज्न दौडधुप गरिरहनै पर्दैन भन्ने उनी जत्तिका नगरपितालाई थाहा नहुने प्रश्नै भएन ।

राजनीतिक शक्तिलाई बढाउने गुप्त रणनीतिको कहिलेकाहीं खुला बाटो बनिदिन्छ कविता । त्यसैले, सिर्जनात्मक क्षमता प्रचुर नभए पनि शासकहरूले कविता लेख्ने गरेको इतिहासको लामो शृंखला छ, जसमा अक्सर भारदारहरूबाट राजाले लेखाउने र कार्यकर्ताका सिर्जनशक्तिबाट नेताले आफूलाई चिनाउने गरेको अभियोग पनि लाग्दै आएको छ । तर, बालेन यो मामिलामा अलग्गै छन भन्छन् बानियाँ । ‘उनी स्वयंमा सिर्जना शक्तिको प्रबलता छ भन्ने छनक उनैका कविताले दिएका छन्,’ उनले भने, ‘हाम्रो नेपाली कविता परम्परामा बालेनका कविता त्यसरी नै अलग छन्, जसरी बालेन अरू नेताभन्दा अलग छन् ।’

कविता र राजनीतिको आपसी अन्तर्क्रिया हुँदा कलम चल्ने नेताको प्रभाव र लोकप्रियताको चाखलाग्दो आवृत्ति निर्माण गर्छन् । रोमका सम्राट् नीरो आफ्नो अत्याचारी शासनका लागि जति कुख्यात थिए, त्यति नै आफ्नो कलात्मक क्षमताका लागि प्रख्यात । सुकुम्बासी र फुटपाथका व्यापारीका आँखामा निरोझैं अत्याचारी छवि बनाएका बालेन काठमाडौंका मध्यम र कुलीन वर्गको आँखामा चाहिँ कविता लेख्न सक्ने क्षमतासहितका एक भरोसायोग्य शासक हुन् ।

सीमान्तकृतका लागि उनको नेतृत्वको महानगरले गरेको व्यवहारलाई बिर्सने हो भने सहरलाई सफा राख्न, विद्यालयलाई सुधार गर्न, युवाहरूलाई रोजगार र झन्झटिलो नगरप्रशासनलाई चुस्त पार्न उनले गरेका प्रयास सुन्दर कविता जत्तिकै राम्रा छन् ।

इतिहासमा कविताले मानव हृदयको ऐनाको रूपमा काम गरेको छ, जसले आनन्द, दुःख, विजय र अस्तित्वको संघर्षलाई अक्षरहरूमा बडो रसका साथ उतार्छ । तर जब त्यसलाई कुनै शासकले पक्रन्छ, त्यसमा उसको छद्म क्रूरता पनि लुकेको हुन्छ । अथवा भनौं– जब कुनै कवि शासक बन्छ, उसको व्यवहारमा काव्यिक मधुरता र सरलता पनि झल्किन्छ ।

मेयर बालेन्द्र शाह कवि भए भने शब्दहरूमा उकुसमुकुस प्रकट हुन्छ । कवि बालेन मेयर भए भने उनको शासनमा मानवीय भावना स्वतः देखिनेछ । चुलिँदो लोकप्रियताका कारण २०८४ को चुनावमा नयाँ दल गठन गरेर अघि बढ्दै छन् भन्ने हल्ला, आकलन र विश्लेषणको आवृत्ति बढ्दै गइरहेका बेला कवि अवतारमा प्रकट भएका छन् उनी । हेरौं, कवितामा मेयर हावी हुन्छन् कि मेयरमा कविता !

प्रकाशित : जेष्ठ ३, २०८१ ०९:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×