२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

त्रिविको पार्टटाइमदेखि मध्यपश्चिमको उपकुलपतिसम्म

खुला प्रतिस्पर्धाबाट हालै मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त भएका प्राध्यापक ध्रुवकुमार गौतम भन्छन्– प्राध्यापक, उपप्राध्यापकहरूको जागिर सुरक्षित भएका कारण अध्ययन, अनुसन्धानका काम ठप्प हुने गरेका छन् । प्राध्यापकहरूले अनुसन्धान र जर्नल आर्टिकल प्रकाशनमा जोड दिँदै संकायहरूलाई प्रतिस्पर्धी बनाउन सके विदेशबाट विद्यार्थी ल्याएर विश्वविद्यालयलाई नयाँ उचाइमा पुर्‍याउन सकिन्छ । 
घनश्याम खड्का

काठमाडौँ — उत्प्रेरणादायी साहित्य दर्शनको एउटा मान्यता छ । त्यो के भने हरेक चुनौती एक अवसर हो । फरक के भने– यो देख्नका लागि नयाँ उत्साह र नयाँ दृष्टिकोण भने हुनैपर्छ । जस्तो कि, विश्वविद्यालयका कक्षाहरू रित्तिँदै गइरहेका बेला विद्यार्थीलाई कसरी उच्च शिक्षामा तान्ने भन्ने चुनौती दिनहुँ थपिँदो छ । तर, प्राध्यापक ध्रुवकुमार गौतम भने यो अवस्थालाई एक अवसरका रूपमा लिनुपर्ने बताउँछन् ।

त्रिविको पार्टटाइमदेखि मध्यपश्चिमको उपकुलपतिसम्म

‘विश्वविद्यालय भनेको विश्वभरका मानिसका लागि हो, त्यसैले यसको स्थानीय परिवेशको मूल्य गौण हुन्छ,’ हालै मध्यपश्चिम विश्वविद्यालयको उपकुलपति नियुक्त प्राध्यापक ध्रुवकुमार भन्छन्, ‘संसारभरका मानिस पढ्न आऊन् भनेर हाम्रा विश्वविद्यालयका लागि फरक ढंगले काम गर्ने अवसर प्राप्त छ अहिले ।’ उनलाई के लाग्छ भने जनसंख्याका हिसाबले विश्वकै दुई ठूला मुलुक भारत र चीनको छिमेकी नेपालमा विद्यार्थीहरू दुवैतिरबाट भनेजति तान्न सकिन्छ ।

‘तर त्यसका लागि हामीले आफूलाई पढाउने शैली र विषय थोरै बदले पुग्छ,’ गौतम भन्छन्, ‘हाम्रो दक्षिणतिर एक अर्ब ४० करोड जनसंख्या भएको छिमेकी देश भारत छ । उत्तरतिर उति नै जनसंख्या भएको देश चीन छ । यहाँबाट अलिकति विद्यार्थी चुहिएछन् भने पनि हाम्रा विश्वविद्यालयहरू खचाखच हुन्छन् ।’ यसरी, विद्यार्थीहरू रित्तिँदै जाँदा विश्वविद्यालय चलाउनै चुनौती छ भन्ने भाष्यले मूलधारको विचारको स्थान ओगटिरहेका बेला प्राध्यापक गौतमको अवसरपूर्ण दृष्टिकोण सार्थक पार्न के कति सम्भव होला त ?

उपकुलपतिको हालै मिलेको जिम्मेवारी सम्हाल्न मध्यपश्चिम विश्वविद्यालयको मुकाम सुर्खेत जानुअघि गत साता कान्तिपुरसँगको कुराकानीमा उनले आफूले देखेको अवसरलाई आकार दिने केही योजनाबारे पनि खुलाए । त्यसका साथै उनले आफू अमेरिका पढ्न जाँदाका प्रसंगदेखि २५ वर्षे अध्यापन अनुभव पनि सुनाए, जसमा विश्वविद्यालय कस्तो हुनुपर्छ भन्ने एक दृष्टिकोण छिपेको थियो ।

गौतमलाई के लाग्छ भने, विश्वविद्यालय भनेको विश्वकै परिवेश बुझ्न र बुझाउन सक्ने ज्ञानको थलो हो, जो कुनै मामिलामा पनि आञ्चलिक र स्थानिक मूल्य वा सीमामा खुम्चाउन मिल्दैन । सन् २०१० मा खुलेको मध्यपश्चिम विश्वविद्यालयका अधिकांश क्याम्पस कर्णालीका दुर्गम जिल्लामा छन् । ‘कर्णालीमा भएर के भयो त ? विश्वविद्यालय संसारको जुनसुकै कुनामा हुन सक्छ,’ उनी भन्छन्, ‘समय सुहाउँदो पाठ्यक्रम, शिक्षण पद्धति र भौतिक पूर्वाधारहरू छन् भने जहाँका मानिस पनि आएर पढ्न सक्छन् ।’

गौतमले अध्ययन गरेको अमेरिकाको रट्गर्स युनिभर्सिटीका डिन विद्यार्थीहरूलाई भन्ने गर्थे, ‘बुझ्यौ, यो विश्वविद्यालय अमेरिकाभन्दा पनि पुरानो छ ।’ सुरुमा त उनलाई यी बूढाले के भनेका होलान् भन्ने लागेछ । पछि बुझ्दै जाँदा चाहिँ के खुल्यो भने विभिन्न ५० राज्य मिलेर बनेको अमेरिका जन्मनुभन्दा अघि नै उक्त विश्वविद्यालयमा पढाइ सुरु भइसकेको रहेछ ।

मध्यपश्चिम विश्वविद्यालयको नेतृत्व सम्हाल्न सुर्खेत जाँदै गर्दा उनको मनमा आफ्ना डिनले भनेको यही प्रसंगको सम्झना भइरहेको थियो उनलाई । विश्वविद्यालयअन्तर्गत हाल वाग्मतीमा २, लुम्बिनीमा ३ र कर्णालीमा १४ क्याम्पस छन् । ‘यी सब क्याम्पसहरू विश्वविद्यालयभन्दा पनि जेठा रहेछन्,’ उनले परिहासपूर्ण लवजमा तथ्यको जानकारी गराए, ‘विश्वविद्यालय खुलेको पन्ध्र वर्ष पुग्दै छ, यी क्याम्पसहरू चाहिँ सामुदायिक तहमा पहिलेदेखि नै चलेका थिए । अहिले आंगिक भएर विश्वविद्यालयअन्तर्गत आएका छन् ।’

आंगिक भएपछि यी कलेजका प्राध्यापक, उपप्राध्यापकहरूको जागिर चाहिँ सुरक्षित भयो । सुरक्षाले विकासलाई रोक्छ भनेजस्तो मिहिनेत नगरे पनि हुने भएपछि प्राध्यापकहरूमा अध्ययन, लेखन र खोजबिनका काम नै ठप्प हुन पुगेको उनको विश्लेषणले देखाएको छ । ‘हाम्रा प्राध्यापकहरूले अनुसन्धान र जर्नल आर्टिकल प्रकाशनमा ठूलो फड्को मार्नुपर्ने आवश्यकता देखेको छु,’ भन्छन्, ‘फ्याकल्टीलाई प्रतिस्पर्धी बनाउने, ज्ञानले अद्यावधिक पार्ने र प्राध्यापन आफैंमा गज्जबको काम हो भनेर तिनलाई महसुस गराउने कामले विश्वविद्यालयलाई नयाँ उचाइ दिनेछ भन्ने मेरो विश्वास छ ।’

विश्वविद्यालयका अधिकांश क्याम्पस दुर्गम जिल्लाहरूमा भएकाले भौतिक पूर्वाधारदेखि पुस्तकालय र ल्याबसम्मका सुविधाको ठूलो अभाव छ । गौतम त्यसलाई चिर्न के गर्न सकिन्छ भन्नेमा जानुअघि नै सोचमग्न थिए । ‘चार वर्ष भनेको ठूलो समय होइन,’ उनले भने, ‘त्यसैले, म हरेक दिनको सदुपयोग होस् भन्ने मनसायले प्रतिस्पर्धी विश्वविद्यालय निर्माणमा के कसो गर्न सकिन्छ भन्ने ध्यानमा छु ।’

फ्याकल्टीलाई जागरुक बनाउने, भौतिक पूर्वाधारको आवश्यकता सम्बोधन गर्न प्रदेशस्तरमै भए पनि स्थानीय सरकारसँग सहकार्य गर्ने र दक्षिण एसियाका विद्यार्थीलाई हुने खालको वैश्विक परिवेशमा विद्यार्थीलाई पढाउन चाहिने स्रोतहरू जुटाउने काममा आफू सक्दो उत्साहका साथ लागिपर्ने उनले बताए ।

कर्णालीका अधिकांश क्याम्पसहरूमा भौतिक पूर्वाधार छैनन् । केहीको भवन छैन । भएकाहरूमा पनि गतिलो पुस्तकालय, कम्प्युटरलगायतको सूचना प्रविधिको सञ्जाल र बृहत् पुस्तकालयका ठूलो अभाव छ । सुरुको चरणमा यी भौतिक असुविधालाई चिर्ने उपाय र चाहिने स्रोतसाधन जुटाउन आवश्यक पहलहरू गर्ने गौतमको योजना छ । यसका अलावा, मध्यपश्चिम विश्वविद्यालयमा जोडिएका सबै आंगिक क्याम्पसका प्राध्यापकहरूलाई पढाउने काममा पहिलेभन्दा बढी दत्तचित्त भएर अघि बढ्न लगाउने र त्यसका लागि उनीहरूमा उत्प्रेरणा जगाउने खालका कार्यक्रमहरू ल्याउने नीति पनि उनको छ ।

‘अनि अर्को चरणको इन्टरभेन्सन भनेको पाठ्यक्रम विश्वव्यापी सन्दर्भलाई लिएर बनाउने हो,’ उनले योजनाका फेहरिस्त सुनाए, ‘त्यसका लागि मलाई सबको साथ र सहयोग चाहिन्छ, किनभने म एक्लैले त जति राम्रो सोचे पनि केही गर्न सक्दिनँ । त्यसका लागि मलाई सबको साथ र सहयोग चाहिन्छ, किनभने म एक्लैले त जति राम्रो सोचे पनि केही गर्न सक्दिनँ ।’ त्रिविमा पढाएर बिताएका २५ वर्षको अनुभव र त्यस दौरान आएका फेरबदलहरूले प्राध्यापक गौतमलाई अबको विश्वविद्यालय यस्तो हुनुपर्छ भन्ने एक सुझबुझ दिएको छ । त्यसकै आधारमा निराशा कालो बादलको माझ पनि आशाको चाँदीको घेरा देखेका छन् उनले ।

बजारको रणनीतिक व्यवस्थापनमा विद्यावारिधि गरेका गौतमले व्यवस्थापनसँग सम्बन्धित उद्यमशीलता, मानव व्यवहार, मानव पुँजी, मानव संसाधनजस्ता सबै हाँगाको ज्ञानमा अध्ययनसमेत गरेका छन् । स्विट्जरल्यान्डबाट कर्पोरेट कल्चरमा डिप्लोमा समेत गरेका उनले अमेरिकाबाट उद्यमशीलताबारे पनि स्नातक गरेका छन् । कुनै बेलाका ‘हेल्मेट टिचर’ गौतम दिनमा दस ठाउँ धाएर पढाउँथे । तर, ‘यस्तो दौडधुपले न ज्ञान ढंगले बाँड्न सकिन्छ न आफैं पनि ज्ञानी भइन्छ’ भन्ने ठम्याइ र विश्वास बलियो हुँदै गएपछि उनी स्थिर भएर प्राध्यापनमै लागिरहे । यसको परिणाम के भयो भने, उनले विश्वविद्यालयमा माथिल्लो तहका विद्यार्थीलाई मात्रै पढाउन परेपछि उब्रेको बाँकी समयमा आफू पढ्न पाए ।

‘आफू पढेपछि मैले ढंगले पढाउन पाएँ,’ अन्तर्राष्ट्रिय जर्नलहरूमा दर्जनौं लेख/अनुसन्धानसमेत प्रकाशन गरेका गौतम भन्छन्, ‘यो अनुभवको निचोडमा म के भन्न सक्छु भने पढाउनले पढ्यो भने पढ्नेलाई धेरै सजिलो हुन्छ र यसले अन्ततः विश्वविद्यालयको क्षमता नै बढाउँछ ।’ आफूअन्तर्गतका फ्याकल्टीलाई यस मामिलामा तयार पार्न रणनीतिहरू बनाउन सुरु गरेका उनले चार वर्षमा सकेजति मिहिनेतले मध्यपश्चिम विश्वविद्यालय चम्काउने योजना बनाएका छन् ।

गौतमका हजारौं विद्यार्थी बैंक, विमान कम्पनी र होटलहरूको उच्च व्यवस्थापन सम्हालिरहेका छन् देशका अनेकन भूगोलमा । जहाँ जाँदा पनि कोही न कोही विद्यार्थी उनी भएका ठाउँ ठोक्किन आइपुग्छन् र हात जोड्दै के कस्तो मद्दत गरौं भनेर श्रद्धाभाव राख्छन् । ‘यो भनेको ठूलो सम्पत्ति रहेछ जीवनको’ गौतम भन्छन्, ‘म आफ्ना फ्याकल्टीहरूलाई पढिसकेपछि पनि श्रद्धा गर्ने विद्यार्थी उत्पादन गर्न प्रेरित गर्नेछु ।’

पहिलो पटक खुला प्रतिस्पर्धाबाट भएको विज्ञापनमा आवेदन दिएरका उनी सर्ट लिस्टमा छानिएर भाइस चान्सलर हुने गौरव पाएकामा खुसी लागेको बताउँछन् गौतम । उनीसँग त्रिभुवन विश्वविद्यालयमा विषय समितिको सदस्यदेखि व्यवस्थापन संकायको सहायक डिन भएर काम गरिसकेको अनुभव पनि छ । पछिल्लो समय त्रिविको समग्र योजना बनाउने गरी योजना निर्देशक भएका बेलामा गुज्रन परेको समय र सल्टाउनुपरेको मामिलाहरूले उनलाई हाम्रो समाज र शिक्षण संस्थाको अवस्था कस्तो छ भन्ने बुझ्न ठूलो मद्दत गरेको छ ।

‘हाम्रा नेतालाई आफ्नो गाउँमा क्याम्पस खोल्ने ठूलो रहर हुँदोरहेछ,’ तीन वर्षदेखि त्रिविका आंगिक, सामुदायिक र अनुबन्धित क्याम्पसको व्यवस्थापनको योजना बनाउने र त्यसको कार्यान्वयन गर्ने क्रममा हात परेको जानकारीबारे उनको संक्षिप्त टिप्पणी छ, ‘सबैजसो जिल्लाका माननीयहरू गाउँमा क्याम्पस त जसरी पनि खोल्न पर्‍यो, लौन सम्बन्धन दिनुहोस् भन्न मकहाँ आउनुभएको थियो ।’

स्कुलको शिक्षा गाउँगाउँमा हुन आवश्यक छ । तर, उच्च शिक्षाका लागि क्याम्पसहरू त्यसरी नै खोल्दा शिक्षण संयन्त्र नै डामाडोल हुन्छ भन्ने बुझाउन उनलाई निकै नै मिहिनेत गर्नुपरेको थियो । क्याम्पसका लागि उच्च शिक्षा चल्न आवश्यक विद्यार्थीहरू उपलब्ध हुन सक्ने ठाउँ र दिगो रूपमा सञ्चालन हुने आधार नदेखाएसम्म आफू सम्बन्धन दिन असमर्थ छु भनेर गौतमले तर्क गर्दा माननीयहरूले अरुचिपूर्ण प्रतिक्रिया देखाए सुरुसुरुमा ।

‘उहाँहरू पालिकाका अध्यक्ष, वडाध्यक्ष र गाउँटोलका जान्ने–बुझ्ने मान्छेहरूको टोली नै लिएर मकहाँ आउनुहुन्थ्यो । तर मैले भने यी विभिन्न कारणले जहाँ पायो उहीं क्याम्पस खोल्न हुन्न भनेर तर्क गर्थें,’ उनी भन्छन्, ‘सुरुमा मेरो कुराले माननीयहरू चिढिनुहुन्थ्यो । पछि एक्लै भेट्दाचाहिँ तपाईंको कुरा खुब मन पर्‍यो भन्दै क्याम्पसलाई हचुवाका भरमा खोल्न नदिएकामा धन्यवाद प्रकट गर्नुहुन्थ्यो ।’

त्रिविमा पार्टटाइम पढाउन सुरु गर्दागर्दै आफू पनि पढ्न थालेका गौतमले व्यवस्थापन, जनप्रशासन र समाजशास्त्रमा स्नातकोत्तर गरेका थिए । लोक सेवा आयोगका आयुक्तसमेत सदस्य रहेको त्रिवि सेवा आयोगले पछि उपप्राध्यापकका लागि गरेको विज्ञापनमा खुला प्रतिस्पर्धाको परीक्षामा गौतमले यी तीनै विषयमा नाम निकाले । र, अन्त्यमा व्यवस्थापनकै क्षेत्रमा प्राध्यापन गर्ने निचोडका साथ अघि बढे । त्यसपछि सहप्राध्यापक हुँदै पाँच वर्षअघि प्राध्यापक भएका गौतम विश्वविद्यालयमा उच्च शिक्षा घट्नमा शिक्षण पद्धतिको पुरातन शैली, सामाजिक बुझाइ र बजार तथा औद्योगिक क्षेत्रको संरचना गरी मुख्य तीन कारणहरू जिम्मेवार रहेको ठान्छन् ।

‘विदेश जान पाए प्रतिष्ठा बढ्ने बुझाइ छ समाजमा, त्यसैले युवाहरू बाहिर पढ्न जाने भए जसलाई अस्वाभाविक भन्न मिल्दैन,’ उनी भन्छन्, ‘त्यसमाथि हाम्रो शिक्षण पद्धति समयानुकूल छैन, त्यसले गर्दा पनि विद्यार्थी घट्ने नै भए ।’ अर्को महत्त्वपूर्ण कारण चाहिँ हाम्रो बजार ढाँचा भएको उनको विश्लेषण आफैंमा घतलाग्दो छ । ‘बाहिरतिर काम पनि गर्ने र पढ्ने सुविधा छ, जबकि नेपालमा चार वर्ष भयो, पढिरहेको छु भन्नेहरू ज्यादा हुन्छन्,’ उनी भन्छन्, ‘बाहिर यति घण्टा काम गरेर पढ्न/खान पुर्‍याउँछु भन्ने सुविधाले विद्यार्थीलाई सजिलो छ, हामीकहाँ महिना मरेपछि मात्रै पैसा दिने र त्यो पनि दिनको बाह्र घण्टासम्म एउटैले काम गर्नुपर्ने अप्ठेरो श्रम बजारका कारण पनि विद्यार्थीहरू केही घण्टा काम गरौं न त भन्न सक्ने अवस्थामै छैनन् ।’

अमेरिकामा वालमार्टमा साताको २० घण्टा काम गरेजस्तो भाटभटेनीजस्ता सुपर मार्केटले पनि विद्यार्थीलाई दिनको केही घण्टा काम गर्न दिने प्रणाली ल्याए भने काम नगरी पढ्न नसक्नेहरूलाई ठूलो टेवा हुने बताउँछन् गौतम । उनको त्यस्तो आशा पूरा गर्न असम्भव पनि छैन, यसका लागि कसैले अतिरिक्त लगानी गर्न पनि पर्दैन । ‘मीनबहादुर गुरुङहरूले लौ त नि भनेर नयाँ स्किम ल्याए भने मात्रै पनि काफी हुन्थ्यो,’ गौतम भन्छन् ।


विदेशमा जस्तै विद्यार्थीलाई दिन वा सातामा केही घण्टा काम गर्न दिने प्रणाली ल्याएको खण्डमा काम नगरी पढ्न नसक्नेलाई ठूलो टेवा पुग्छ । यसका लागि कसैले अतिरिक्त लगानी गर्न पनि पर्दैन । भाटभटेनीजस्ता सुपरमार्केटहरूले नयाँ स्किम ल्याए पुग्छ ।

प्रकाशित : वैशाख ३१, २०८१ ०९:५५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?