कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९
अन्वेषण

कति सुरक्षित छ हवाई यात्रा ?

२०२३ मा विश्वभर ३ करोड ७० लाख उडान भएका थिए । जुन २०२२ को तुलनामा १७ प्रतिशत बढी हो । यात्राका लागि विश्वमै सबैभन्दा सुरक्षित मानिन्छ हवाई यात्रा । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) का अनुसार गत वर्ष औसतमा १२ लाख ६० हजार उडानमध्ये एउटा दुर्घटनामा परेको थियो । 
बुद्धिसागर मरासिनी

काठमाडौँ — हामी एक स्थानबाट अर्को स्थानमा पुग्नका लागि विभिन्न यातायातका माध्यमको प्रयोग गर्ने गर्छौं । तीमध्ये सबैभन्दा बढी प्रयोगमा आउने माध्यम हुन्– सडक, जल र हवाई यातायात । तीमध्येमा सबैभन्दा बढी सुरक्षित मानिन्छ हवाई यात्रा । 

कति सुरक्षित छ हवाई यात्रा ?

तर हवाई यात्रामा एउटा जोखिम भने सधैं उस्तै छ । त्यो हो– केही गरी दुर्घटनामा परेको खण्डमा बाँच्ने सम्भावना भने निकै कम हुन्छ । जसका कारण आम मानिसमा त्रासको वातावरण उत्पन्न हुनु स्वाभाविक नै हो ।

विज्ञहरूका अनुसार उड्डयन विश्वकै सबैभन्दा सुरक्षित यातायात हो । अमेरिकाको फ्लोरिडास्थित एम्ब्री–रिडल एरोनटिकल युनिभर्सिटीका प्राध्यापक एन्थोनी ब्रिकहाउस भन्छन्, ‘हवाई यात्रा यातायातको सबैभन्दा सुरक्षित माध्यम हो ।’ ‘यदि तपाईंले तथ्यांकहरू हेर्नुभयो भने ३८ हजार फिटको उचाइमा उडान गर्नुभन्दा तपाईंलाई एयरपोर्टमा ड्राइभ गर्दा दुर्घटनाको जोखिम बढी हुन्छ । म मानिसहरूलाई भन्ने गर्छु– यदि तपाईं उडानका लागि जहाजसम्म पुग्नुभयो भने तपाईंको दिनको सबैभन्दा खतरनाक समय तपाईंले पार गरिसक्नुभयो ।’

यात्रुहरूले कुन विमानमा उडान गरिरहेका छन् भन्ने विषयमा भन्दा पनि व्यक्तिगत सुरक्षाका लागि आफूले नियन्त्रण गर्न सक्ने कुरामा ध्यान केन्द्रित गर्नुपर्ने प्राध्यापक ब्रिकहाउस बताउँछन् । सुरक्षा उपायबारेको जानकारी लिने, अक्सिजन मास्कको प्रयोग गर्ने विधि थाहा पाउने, आपत्कालीन द्वारबारे जानकारी राख्ने, सुरक्षा पेटी बाँध्ने, बच्चाहरूलाई काखमा राखेर यात्रा नगर्नेलगायतका विषय यात्रु आफैंले ध्यान दिने विषय हुन् ।

तर अन्तर्राष्ट्रिय हवाई उड्डयनका क्षेत्रमा यो वर्षको सुरुवात भने त्यति सुखद रहेन । नयाँ वर्षको भोलिपल्ट अर्थात् जनवरी २ मा जापानको राजधानी टोकियोस्थित हानेदा विमानस्थलमा अवतरण गरेको जापान एयरलाइन्सको ए ३५० विमान टोकियो कोस्ट गार्डको मालवाहक जहाजसँग ठोक्किएको थियो । उक्त घटनामा कोस्ट गार्डको विमानमा रहेका पाँच जनाको ज्यान गएको थियो ।कोस्ट गार्डको विमान भूकम्पपीडितलाई सहायता सामग्री पुर्‍याउन नोतो प्रायद्वीपको निगाता विमानस्थलतर्फ जाने क्रममा थियो । उक्त घटनामा जापान एयरलाइन्सको विमानमा सवार सबै ३७९ यात्रुको सकुशल उद्धार गरिएको थियो ।

कोस्ट गार्डको विमानबाट बाहिर निस्किन सफल एक व्यक्ति भने गम्भीर घाइते भएका थिए । जापान एयरलाइन्सको विमान र त्यसको भग्नावशेषमा दुई घण्टाभन्दा बढी समयसम्म आगो लागेको थियो । उक्त घटनामा चालक दल र पाइलटहरूले गरेका कामको प्रशंसा भएको थियो । उनीहरूको ध्यान सुरक्षामा केन्द्रित रहेको र विमानबाट उद्धार हुनेमा उनीहरू अन्तिममा देखिएका थिए ।

त्यसको तीन दिनपछि जनवरी ५ मा अलास्का एयरलाइन्सको बोइङ ७३७ म्याक्स ९ विमानको ‘प्लग’ खुलेपछि आपत्कालीन द्वार खसेको थियो । अमेरिकाको पोर्टल्यान्डबाट दक्षिण क्यालिफोर्नियाका लागि उडानमा रहेको विमानको आपत्कालीन अवतरण गरिएको थियो । घटनाको छानबिनपछि प्राविधिकहरूले बोइङ ७३७ म्याक्स ९ विमानका प्लगहरू थप कस्नुपर्ने निष्कर्ष निकालेका थिए । उक्त घटनामा कुनै पनि यात्रु घाइते नभएपछि यसले केही समयसम्म नियमित उडान गर्ने यात्रुहरूलाई भने नराम्रोसँग झस्काइदिएको थियो ।

त्यसयता अफगानिस्तान (जनवरी २०), क्यानडा (जनवरी २३), रुस (जनवरी २४), अमेरिकाको फ्लोरिडा (फेब्रुअरी ९), इरान (मे १९), सिंगापुर (मे २१), मलावी (जुन १०), नेपाल (जुलाई २४) मा भएका दुर्घटनामा कम्तीमा ११८ जनाको मृत्यु भएको थियो । तीमध्ये रुसको बेलग्रोड सहर नजिकै भएको दुर्घटना सबैभन्दा ठूलो हो, जसमा ७४ जनाको ज्यान गएको थियो ।

तर, विज्ञहरूका अनुसार करिब सात महिनाको अवधिमा एक दर्जनभन्दा कम दुर्घटना र करिब १२० हाराहारीमा भएको मानवीय क्षति निकै न्यून भएको बताउँछन् । ‘यसमा कोही पनि आत्तिनुपर्ने म देख्दिनँ,’ उड्डयन सुरक्षा विज्ञ तथा ‘एयरलाइन्स रेटिङ्स’ का प्रमुख सम्पादक जियोफ्री थोमस भन्छन् । एयरलाइन्स रेटिङ्सले बर्सेनि विश्वका सुरक्षित एयरलाइन्सहरूको सूची सार्वजनिक गर्ने गर्छ ।

२०२४ मा सार्वजनिक सूचीअनुसार एयर न्युजिल्यान्ड, क्वान्टस, भर्जिन अस्ट्रेलिया, इतिहाद एयरवेज, कतार एयरवेज, इमिरेट्स, अल निप्पोन एयरवेज, फिनएयर, क्याथे प्यासिफिक एयरवेज, अलास्का एयरलाइन्स उत्कृष्ट १० एयरलाइन्स हुन् ।

त्यस्तै, एसएएस, कोरियन एयर, सिंगापुर एयरलाइन्स, ईभीए एयर, ब्रिटिस एयरवेज, टर्किस एयरलाइन्स, टीएपी एयर पोर्चुगल, लुफ्थान्सा/स्विस ग्रुप, केएलएम, जापान एयरलाइन्स, हवाइयन एयरलाइन्स, अमेरिकन एयरलाइन्स, एयर फ्रान्स, एयर क्यानडा ग्रुप र युनाइटेड एयरलाइन्स सुरक्षाका दृष्टिकोणले उत्कृष्ट २५ भित्र अटाएका छन् ।

रेटिङ्सको तथ्यांकअनुसार भने बोइङ ७८७ र ७७७–३०० ईआर र एयरबस ए२२०, ए३२० नियो र ए३८० सबैभन्दा सुरक्षित विमान हुन् । यी विमानमा वार्षिक करोडौं मानिसले यात्रा गर्छन् ।

उड्डयनको क्षेत्रमा २०२३ दशकयताकै सबैभन्दा सुरक्षित वर्ष देखिएको छ । इन्टरनेसनल एयर ट्रान्सपोर्ट एसोसिएसन (आईएटीए) का अनुसार २०२३ मा जेट र टर्बोप्रप एयरक्राफ्ट दुर्घटनामा जम्मा ७२ जनाको मृत्यु भएको थियो । उक्त वर्ष विश्वभर ३ करोड ७० लाख उडानहरू भएका थिए । जुन अघिल्लो वर्षको तुलनामा १७ प्रतिशत बढी हो ।

आईएटीएका अनुसार २०२३ मा औसतमा १२ लाख ६० हजार उडानमध्ये एउटा दुर्घटनामा परेको थियो । ‘उड्डयन क्षेत्रमा दुर्घटना विरलै हुने गर्छ,’ आईटीएका महानिर्देशक विली वाल्स भन्छन् । २०२३ मा भएका दुर्घटनामा ज्यान जाने जोखिम २०२२ मा ०.११ प्रतिशत रहेकामा २०२३ मा ०.०३ प्रतिशतमा झरेको थियो ।

‘यो तथ्यांकले हामीलाई के बताउँछ भने मानिसहरूले प्रयोग गर्नेमध्ये हवाई यातायात सबैभन्दा सुरक्षित हो,’ उनी भन्छन्, ‘दुर्घटनाको जोखिम निकै कम भए पनि यो जोखिममुक्त भने छैन ।’ आईटीएका अनुसार २०२२ मा विश्वभर ३९ वटा व्यापारिक उडान दुर्घटना भएका र तिनमा १५८ जनाको ज्यान गएको थियो । त्यो औसतमा ८ लाख ३० हजार उडानमा एउटा दुर्घटना हो । वाल्सका अनुसार २०२२ मा ३ करोड २२ लाख उडान भएकामा जम्मा पाँच वटा मात्र ठूला दुर्घटना भएका थिए ।

तर, संसार एकरूप नभएको र कतिपय क्षेत्रमा हवाई दुर्घटना दर उच्च रहेको वाल्स बताउँछन् । खासगरी एसिया, अफ्रिका र ल्याटिन अमेरिकाका विकासशील देशहरू उच्च जोखिममा रहेको उनले बताए । ‘ती देशमा प्रत्येक हवाई सेवा प्रयोग गर्ने २० लाख मानिसमध्ये एक जनाको मृत्यु भएको देखिन्छ,’ उनले भने । उडानका लागि सुरक्षित ठानिएका देश अस्ट्रेलिया, क्यानडा, चीन, युरोपेली संघ, इजरायल, जापान, न्युजिल्यान्ड, नर्वे, स्विट्जरल्यान्ड, बेलायत र अमेरिकामा हुने दुर्घटनामा औसत मृत्यु ८ करोडमा एक छ ।

उड्डयन सुरक्षासम्बन्धी अध्ययन गर्दै आएका अमेरिकाको मासाचुसेट्स विश्वविद्यालयका तथ्यांक विषयका प्राध्यापक आर्नोल्ड बार्नेट १ करोड ३० लाखमध्ये एक व्यक्तिले हवाई दुर्घटनामा ज्यान गुमाउने जोखिम रहेको बताउँछन् । ‘सार्कको आक्रमणबाट मर्ने जोखिम वा एकै पटकमा चार बच्चालाई जन्म दिने सम्भावना पनि हवाई दुर्घटनामा मर्नेभन्दा बढी हुन्छ,’ उनी भन्छन् । ‘जहाजमा उड्दा ज्यान जान्छ भनेर हवाई यात्रा नगर्नु भनेको भवनको छत खस्छ भनेर सुपरमार्केटमा नजानुजस्तै भएको बार्नेट बताउँछन् ।

तर, अन्यत्रको तुलनामा नेपाली उड्डयन क्षेत्रको अवस्था भने केही भिन्न देखिन्छ । २००६ सालदेखि सुरु भएको नेपालको हवाई सेवाले पहिलो दुर्घटना २०१२ सालमा सामना गरेको थियो । सिमरामा भएको उक्त घटनायताका ६९ वर्षमा नेपालमा १ सय ८ वटा जहाज तथा हेलिकोप्टर दुर्घटनामा परिसकेका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणका अनुसार यी दुर्घटनामा कम्तीमा ९ सय ५९ ले ज्यान गुमाएका छन् ।

बुधबार काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा भएको सौर्य एयरको दुर्घटना पछिल्लो हो । दुर्घटनामा क्याप्टेन बच्न सफल भए पनि विमानमा रहेका अन्य १८ जनाले ज्यान गुमाए । बुधबारको दुर्घटना अन्तर्राष्ट्रिय विमानस्थल परिसरभित्रै भएकाले हाम्रो उद्धार प्रणालीको चुस्ततामा प्रश्न उठाइदिएको छ ।

२०४८ सालमा खुला आकाश नीति र २०५५ मा नेपाल नागरिक उड्डयन प्राधिकरण स्थापना भएसँगै हवाई उड्डयन देशकै दोस्रो ठूलो यातायातको क्षेत्र बनिसकेको छ । तर, समयअनुसार नीति नियममा परिमार्जन नगरिनु, नियामक निकायमा वायुसेवा कम्पनी सञ्चालकहरूको अप्रत्यक्ष प्रभाव हुनु र भौतिक तथा प्राविधिक संरचनाको अभावका कारण पनि नेपालले बेला–बेलामा हवाई दुर्घटना सामना गरिरहेको छ ।

त्यसका साथै, मानवीय त्रुटि, विमानस्थलको भौगोलिक अवस्थिति र मौसम नेपालका हवाई दुर्घटनामा सधैंजसो जोडिने पक्ष हुन् । नेपालमा स्थानीय मौसमबारे सटीक पूर्वानुमान नहुनु, जहाजका प्रकारअनुसार पर्याप्त रनवे नहुनु र नेभिगेसनका लागि पर्याप्त प्रविधि नहुँदा पनि दुर्घटना हुने गरेको छ । हवाई उड्डयन प्राधिकरणका अनुसार कन्ट्रोल्ड फ्लाइट इन्टु टेरेन (सीफीट), लस अफ कल्ट्रोल इन–फ्लाइट (एलओसी–आई) र रनवे एक्स्कर्सन (आरई) का कारण बढी दुर्घटना हुने गरेको प्राधिकरणले हरेक वर्ष जारी गर्ने सुरक्षा प्रतिवेदनमा उल्लेख गरिएको छ ।

त्यस्तै, छोटो धावन मार्ग भएका विमानस्थलमा सर्ट टेक–अफ एन्ड ल्यान्डिङ (स्टल) का कारण पनि कतिपय दुर्घटनाहरू हुने गरेका छन् । यो अवस्थामा उडानमा रहेको जहाज चालक दलको नियन्त्रणबाट गुमेर ढुंगाझैं सतहमा बजारिनु हो ।

त्यस्तै कहिलेकाहीँ चालक दल तथा एटीसी (एयर ट्राफिक कन्ट्रोल) मध्ये एक वा दुवैको त्रुटिका कारण पनि विमान दुर्घटनामा परेका छन् । त्यस्ता घटनामा भने प्रायःजसो ज्यान गुमाएका विमान चालकलाई दोष देखाउने गरिएको छ ।

कमजोर नियमन, व्यापारिक दबाब, चालक दलले निर्धारण गरिएका नियमहरूको पूर्ण पालना नगर्नु पनि दुर्घटनाका कारण हुन् । कतिपय दुर्घटनापछिका अध्ययन प्रतिवेदनले हिमाली क्षेत्रमा हुने उडानमा भिजुअल फ्लाइङ नियम (भीएफआर) को प्रावधान दुर्घटनाको कारणका रूपमा औंल्याएका छन् ।

त्यसको न्यूनीकरणका लागि चालकहरूको विमान र उडानसम्बन्धी शैक्षिक तथा प्राविधिक ज्ञान, भाषा, मानसिक क्षमता, मौसमसम्बन्धी जानकारी मूल्यांकन गरेर मात्रै प्राधिकरणले तालिम अनुमतिपत्र दिनुपर्ने देखिन्छ । त्यस्तै लाइसेन्स नवीकरणका लागि विभिन्न सैद्धान्तिक कक्षा र प्रयोगात्मक कक्षा लिने व्यवस्था गर्नु उचित हुन्छ ।

त्यसका साथै नागरिक उड्डयन प्राधिकरणले नियमनकारी र सेवा प्रदायक दुवैको भूमिका निर्वाह गर्दै आएको छ । तर, ती सबै कामका लागि पर्याप्त जनशक्ति प्राधिकरणसँग छैन । नियमनकारी निकायलाई बलियो र स्वतन्त्र नबनाएसम्म त्यसले प्रभावकारी काम गर्न सक्ने देखिँदैन । उड्डयनसँग सरोकार राख्ने अन्तर्राष्ट्रिय निकायहरूको मुख्य चासो झन् यसैमा देखिन्छ ।

प्रकाशित : श्रावण ११, २०८१ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×