साहित्यकार आमाकी कलाकार छोरी

‘मनसरा’ फिल्ममा छोरीको भयानक पीडा र साहस, आँसु र आवाज, अभिभावकत्व र घुम्तीहरू हेर्न बेलायतबाट नेपाल आइन् आमा शशी थापा सुब्बा । फिल्म हेरेपछि उनलाई लाग्यो छोरीको अभिनय मिहिन छ, खारिँदै गएछ ।

जेष्ठ १, २०८१

दीपक सापकोटा

An artist daughter of a literary mother

काठमाडौँ — सतही नजरले हेर्दा काठमाडौं सहरमा के–के देखिएला ? सडकमा चिप्लेकिरा झैं घिस्रिरहेका सवारी साधन, ठूल्ठूला भित्ता ढाकिने गरी झल्याकझुलुक गरिरहने डिजिटल विज्ञापन बोर्ड, गज्याङगुजुङ बिजुली तार अनि सपना पछ्याउँदै अनिश्चित जिन्दगीको त्रासमा दौडिरहेका मानिस...! लाग्छ, सडकमा हिँडिरहेका सहरका प्रत्येक मानिसका अनुहारमा दुःखका रंगरेखा कोरिएका छन् । 

मसिनो गरी हेर्ने हो भने त्यस्तै त्रास र दुःखका रेखा ‘मनसरा’ को अनुहारमा देखिन्छ । उपत्यकाको एक कुनामा टिनको टहरामुनि सुँगुर पालिरहेकी, रक्सी बेचिरहेकी र सानो छोरा पढाइरहेकी ‘सिंगल मदर’ मनसरा प्रेम पर्खिरहेकी छन् । त्यही फिल्म ‘मनसरा’ मा एउटा संवाद छ, ‘मिठो खुवा बनाउन शुद्ध दूध हुनुपर्छ, प्रेमलाई एउटा सफा र निष्कपट मन चाहिएजस्तो’ ।

मनसराको मन उस्तै शुद्ध दूधजस्तै छ, सफा र निष्कपट । तर, छिमेकी दधिरामको मन मैलिएको छ, निःसन्तान हुनुको पीडाले । दधिरामलाई मनसरा भन्छिन्– ‘सय वटीको पोइ हुन सक्ला । तर, एउटा प्रेमी बन्न गाह्रो पो छ, बाजे ! तर, बाजे पनि अरू पुरुषजस्तै रोगी निस्क्यौ । खै, पुरुषहरू हामी महिलाको शरीरमा के मात्रै देख्छन् ? एउटी आइमाई भएकोमा आफैंसँग घिन लागेर आउँछ ।’ सहाराविहीन सहरमा प्रेम खोजिरहेकी छन्, मनसरा । 

An artist daughter of a literary motherमिरुनाकी आमा शशी थापा सुब्बा ।

यो सहर यस्तो हो, जहाँ व्यापारी, राजनीतिज्ञ, दलाल, भरिया, धनी–गरिब सबै आउँछन् । सबैका व्यथाका लस्कर छन् । मनसराको मनमा पनि व्यथैव्यथा छ– विवाहअघि नै उभौंलीमा फर्किन्छु भनी परदेश पसेका प्रेमी फर्किएनन्, तिनै प्रेमीबाट गर्भवती भएपछि गाउँमा अडिन नसकेर मनसरा सहर पस्न बाध्य भएकी हुन् । थाहा छैन उनको निधारमा कति सपना छन् ? आँखामा कति छन् खुसी ? खुसीको चाबी कहाँ पाइन्छ ? खुसीको साँचो खोज्न खरानी रङको बर्को ओढेर, मैलो धोतीमा बेरिएकी मनसरा डोकोमा साग र जर्किनमा रक्सी बेच्दै छोरालाई स्कुल पढाइरहेकी छन् । पालामको लय चटक्कै छाडेर सहर आई एक्लै संघर्ष गरिरहेकी मनसराको भूमिकामा छिन्– मिरुना मगर । 

‘मनसरा’ मा छोरीको भयानक पीडा र साहस, आँसु र आवाज, घुम्तीहरू र अभिभावकत्व हेर्न बेलायतबाट नेपाल आएकी थिइन्, उनकी आमा– शशी थापा सुब्बा (५५) । फिल्ममा छोरीले पार गरेका अगणित कठिन घुम्तीहरूको कथा शशीलाई असाध्यै प्रिय छ । ‘समाज र पुरुषप्रति मनसरा–पात्रको विचार धेरै अर्थपूर्ण छ । कुनै बेला दार्शनिक तहमै ऊ बोलिरहेकी हुन्छे,’ मिरुनाकी आमा शशी भन्छिन्, ‘छोरीको अभिनय मिहिन छ, त्यो स्वाभाविक लाग्छ । खारिँदै गएछ उसको अभिनय । जुन अभिनयजस्तो लाग्दैन त्यही अभिनय हो, मिरुनाको मनसरा पात्रता कुनै अभिनयजस्तो लाग्दैन । दर्शक आफैं हाँस्छन्, आफैं रुन्छन् । मिरुनाले फिल्ममा आफू नरोई अरूलाई रुवाइ, त्यो झन् राम्रो लाग्यो । तर, अझै धेरै सिक्नु छ उसले ।’ 

An artist daughter of a literary motherशशी सोच्छिन्– मेरो सपनाको बाटो पछ्याउँदै हिडिँरहेकी छे छोरी । शशीको जीवनपथ पनि अभिनय–यात्रा नै थियो । मिरुनाको यहाँसम्मको यात्रा–साक्षी हुन्, उनी । र, शशीको केही अंशको साक्षी हुन्– मिरुना । ‘मिरुना सानो छँदा पनि अभिनय गर्थी । उसलाई मेरो अनेक सुझाव हुन्थ्यो– अभिनय र डान्सलाई लिएर,’ शशी भन्छिन्, ‘मनसरा फिल्म हेरेपछि लाग्यो– तर अब त ऊ निकै खारिइसकेकी छे ।’ शशीलाई जान्न उनी हिँडिआएको बाटोमा फेरि हिँड्नुपर्छ । उनी बाँचेको धरान सहरको पुरानो समयको क्यालेन्डर पल्टाउनुपर्छ । उनको यात्रामा एक पटक उनीसँगै त्यो यात्राको सहयात्री बन्नुपर्छ । जसरी मिरुना आज रिलमा हाँसिरहेकी, नाचिरहेकी, रोइरहेकी हुन्छिन्, कुनै समय शशी पनि उसैगरी नाटक र रिलको जीवन बाँचिरहेकी हुन्थिन् । यसरी नेपाली नाटकको इतिहासमा कतै शशी पनि लेखिएकी छन् । 

An artist daughter of a literary mother

दार्जिलिङमा जन्मेकी शशी परिवारसँगै चक्रघटी सुनसरी आइन्– १२ वर्षको छँदा । चक्रघटीबाट एक्लै धरान पुगिन्, संघर्ष गर्न । घोपाको ब्रिटिस क्याम्पमा काम गरिन् । २१ वर्षको छँदा भागी–बिहे भयो, धनकुटा डाँडाबजारका धनबहादुर मगरसँग । शशी थिइन् नेयोङ लिम्बू । लिम्बू र मगरको बिहेलाई अन्तरजातीय नै मानिन्थ्यो । ब्रिटिस आर्मीमा धनबहादुरको भर्ती लाग्नु, हङकङ जानु र बिहे हुनु एकै वर्ष भएछ । धनबहादुरले शशीलाई आफ्नो घर डाँडाबजार लगेर छाडे, आफू ‘छिट्टै फिर्नेछु, पीर नगरी बस है’ भनेर हङकङको भर्ती हिँडे । 

तर, धनबहादुर लामो समय फर्किएनन् । शशी श्रीमान्को सम्झनामा विरही भएरै बसिन् । उनलाई एकान्त डाँडाबजारबाट पानी लिन टाढा–टाढासम्म जानुपर्थ्यो, घाँस–दाउरा गर्न टाढाकै जंगल धाउनुपर्थ्यो । ३ वर्ष बितिसकेपछि बल्ल डाँडाबजार फिरे धनबहादुर, छुट्टीमा । हङकङ फर्किंदा श्रीमती शशीलाई लिएर गए । जेठी छोरी एजिला मगर नेपालमै जन्मिइसकेकी थिइन् । मिरुना हङकङमा जन्मिइन् । शशीले मिरुना दुई वर्षकै छँदा नेपाल लिएर आइन् । डाँडागाउँ छाडेर आमाछोरी धरान बस्न थाले ।

An artist daughter of a literary motherकलाकार मिरुना मगर । तस्बिर : अंगद ढकाल/कान्तिपुर

धरान सहरमाथि लेखिबस्ने नामी निबन्धकार वसन्त थापाको एउटा संस्मरण छ– मालगुडीका दिनहरू । धरानको उदय, त्यहाँका मान्छेको संघर्ष–गाथा हो त्यस संस्मरण । वसन्त लेख्छन्, ‘धरान वास्तवमा अविभाजित धनकुटा जिल्लाका विभिन्न स्थानबाट झरेका मानिसहरूको बसोबासबाट सिर्जित बस्ती थियो, जो समयक्रममा बढेर ठूलो बजारबाट नगर उन्मुख हुँदै थियो । कोही यहाँ मधेशको खेतीको आयस्ता खान सजिलो हुनाले आएका थिए, कोही रोजगारीको खोजीमा र नयाँ ठाउँमा तकदिर आजमाउन । सबैथरीका मानिसको मिश्रण यहाँ बढ्दै गएको थियो ।’

सायद शशी फेरि धरान फिरेकी थिइन्– अभिनयमा तकदिर अजमाउन । शशीले सजिलो–अप्ठ्यारो दुवैखाले जीवन बाँचिन् । त्यो ‘बाँच्नु’ ले उनलाई अभिनय र नाचमा ज्ञानी बनायो । उनका समकालीन सुनील पोखरेल, अनुप बरालहरू थिए– ‘नाटकमा जीवन नै होम्छु’ भन्ने सनक भएका । त्यसैले उनलाई अभिनयमा आउन असहज भएन । शशीको उभिन सक्ने निजी पृष्ठभूमि थियो । तर, आमा बाँचेको परम्पराभन्दा पर उनी अभिनय–संसारमै रमाइन् । उनको त्यो पुस्ता थियो– चमकदार, जसको उज्यालोले आजपर्यन्त नाटक प्रदीप्त छ । 

An artist daughter of a literary motherशशीले ऊबेला ‘जेठो छोरो’ टेलिसिरियल खेलेकी थिइन्, सुनील पोखरेलको निर्देशनमा बनेको । नवीन सुब्बाको ‘तरेवा’ खेलिन् । त्यसपछि ‘छर्किदेऊ सिन्दूर लासमाथि’, ‘विषालु धूवाँ’, ‘छिमेकी’ फिल्महरू र ‘विवश आकाश’, ‘आधा घर आधा मान्छे’, ‘लाटोबुंगो’, ‘हर्के अब के गर्छस्’, ‘हिजो आज भोलि’, ‘कलियुगको रामायण’ (काठमाडौं गएर राष्ट्रिय नाचघर जमलमा प्रदर्शन गरिएको) लगायत नाटकहरूमा अभिनय गरिन् । बिहे र बच्चा भइसक्दा पनि अभिनयप्रति बेहद रुचि थियो उनको । अनाम नाट्य जमात धरानको सदस्य थिइन् । मिरुना आमाको पछिपछि हिँड्थिन्, रिहर्सल हेर्न । धरानको पुरानो बजारमा एउटा हल थियो, त्यहाँ रिहर्सल हुन्थ्यो । उनी डान्स पनि सिकाउँथिन् । 

एसएलसीसम्म पढेकी उनी नाटक गर्दै, डान्स सिकाउँदै अघि बढिरहिन् । कवि गोष्ठीमा जान्थिन्, कविता–गीत लेख्थिन् । अहिले पनि लेख्छिन् । उनको कविता–किताब ‘साँझकी शशी’ प्रकाशित छ । उनी सामाजिक कार्यमा पनि उस्तै सक्रिय । आमा सामाजिक कार्यमा हिँड्दा मिरुना धरानको प्रहरी थाना पनि पुगेकी छन् । महिलाको कुनै केस आए प्रहरीले शशीलाई नै बोलाउँथे– साक्षी बस्न वा मिलापत्रका लागि । हेपिएका महिलाको आवाज बनिदिन्थिन् उनी, आर्थिक रूपले पनि सहयोग गर्थिन् कतिलाई । 

आमाकै आडमा मिरुनाले धरानको ‘किड क्विन’ प्रतियोगितामा भाग लिइन्, सन् २००३ मा । प्रतियोगिता जितिन् पनि । शशीले उनलाई डान्स सिकाइन्, माहोलले अभिनय पनि सिकिन् मिरुनाले । शशी गीत खुब सुन्थिन्, क्लासिकस् बढी । स्कुलमा जाँच दिएर आएपछिघरमा पनि जाँच दिनुपर्थ्यो मिरुनाले । मिरुनाका मामा, काकाका छोराहरू उनकै घर बस्थे, शशीले अनुशासनमा राख्छिन् भनेर । 

An artist daughter of a literary motherधरान फर्केर मिरुना ज्ञानोदय सेकेन्डरी अंग्रेजी स्कुलमा पढ्न थालिन् । त्यहाँ ६ सम्म पढिन्, त्यसपछि विजयपुर स्कुल । ८ कक्षापछि बेलायत पुगिन् । बुबा हङकङबाट बेलायतको ह्यारो सरिसकेका थिए । शशी पनि छोरीसँगै बेलायत गइन् । उता पुगेर मगर संघ, लिम्बू संघमा सक्रिय भइन् । बेलायतमा शशी डान्स क्लास पढाउँथिन्, उद्घोषण तालिम पनि दिन्थिन् । त्यहीं मिरुनाले आमासँग डान्स र उद्घोषण सिकिन् । मिरुना सन् २०१४ मा देश फर्किइन्– मास्टर्स इन् इन्टरनेसनल डेभलपमेन्ट पढाइ सकेर– नेपालमै भोलेन्टियर गर्न । त्यो थियो भूकम्पपछिको समय । उनी भूकम्पपीडितलाई राहतको सामान लिएर नेपाल आएकी थिइन्, बेलायतको मिटिङ एन्ड इभेन्ट एक्जिक्युटिभको काम छोडेर ।

नाटककार अनुप बरालको एक्सर्ट स्टुडियोमा तीन महिना अभिनय सिकेपछि पहिलो नाटक ‘कथादेश–३’ मा अभिनय गरिन्, आशान्त शर्माको निर्देशनमा । त्यहीं निर्देशक निगम श्रेष्ठको ‘लालपुर्जा’ फिल्मको टिमले उनलाई भेट्यो र उनी फिल्ममा होमिइन् । मिरुनाले आमालाई भनिन्– फिल्म अफर आयो । शशीले स्क्रिप्ट पढिन् र भनिन्– ‘हुन्छ खेल न त’ । मिरुनाको सपना थियो, नाटकमा जम्ने । तर, आइन् फिल्ममा । ‘लालपुर्जा’ को माहोलमा रमाएकी उनी त्यसपछिका दिन फिल्ममै रमाइन् । 

आमाले उनलाई ‘यो गर’ कहिल्यै भनिनन् । ‘लालपुर्जा’ पछि ‘रोज’, ‘साइनो’, ‘चचहुईं’, ‘कबड्डी–४’ अनि ‘जारी’ लगायत फिल्ममा उनको अभिनय छ । अहिले उनी ठूलो फ्यान फलोअर भएकी हिरोइन् हुन् । तर, उनलाई हालसम्म सबैभन्दा मनपरेको भूमिका ‘लालपुर्जा’ कै हो । त्यो थियो– ‘पर्पला’ को भूमिका, जो बाल्यकालको साथी खोज्दै गाउँ आएकी थिइन् । ‘लालपुर्जा’ काल्पनिक पर्पल गाउँको कथा हो । घाटमान्डुबाट ५५५ किमि पश्चिममा पर्ने पर्पल गाउँ छ– मितेरी गाउँ । 

मितेरी गाउँमा सबैका मीत–मितिनी हुन्छन् । त्यहाँको कानुन ‘मितेरी समाज’ ले हेर्छ र नियम मिच्नेलाई सालिक हुनुपर्ने सजाय दिइन्छ । उनीहरू पर्पल कलरलाई पूजा गर्छन् । भेन्टा उनीहरूको प्रमुख परिकार हो । मितेरी गाउँबाट १११ किमि पश्चिममा छ, अक्षरगन्ज । त्यहाँ पुगे बुद्ध भइन्छ भन्ने हल्ला छ मितेरी गाउँमा । तर, जाने आँट कसैको छैन । कारण, ‘अक्षरगन्ज’ को यात्रा जोखिमपूर्ण छ । त्यहाँ गएका मानिस कोही पनि फर्केर आएका छैनन् । कुमार नगरकोटीको फ्यान्टासी–कथामा पहिलो अभिनय गरेकी मिरुना अहिले सामाजिक कथाका फिल्ममा छिन् ।

An artist daughter of a literary motherमिरुनाका बुबा भलिबल प्लेयर थिए, तेक्वान्दो पनि खेल्थे । बुबाको चाहनामा उनले पनि तेक्वान्दो खेलिन् । ‘के इच्छा छ त्यही पढ’ भन्थे बुबा । फिल्ममा आएपछि उनले भनेका थिए– के कस्तो पो हुने हो फिल्ममा ! तर, शशी छोरीको पक्षमा थिइन् । बरु परिवारकै साथीभाइ भन्थे– कहाँ छोरीलाई हिरोइन बनाएको ? ‘तर, यहाँसम्म आइपुग्न मेरो आमाबुबाको सहयोग छ,’ मिरुना भन्छिन् । आमा र उनी मिल्ने साथी रे । ‘फ्यान, क्रिटिक्स सबै । म आमाको खानाको नयाँ परिकारको फ्यान हुँ । आमाले बनाएको सेलरोटी र खिर मेरो प्रिय खाना हो,’ मिरुना भन्छिन्, ‘नेपाल हुँदा आमाले बनाएको खाना खुब याद आउँछ सधैं ।’

शशी मिरुनालाई सधैं भन्छिन्– आफूलाई पुग्छ भने बाँड्नुपर्छ । मिरुना कक्षामा फस्ट भएपछि एक सेट किताब पाउँथिन्, माथिल्लो कक्षाको । त्यो किताब उनी दिन्थिन् किताब चाहिएको आफ्नो साथीलाई र आफूचाहिँ किन्थिन् । धरानमा गोरखा भूपू सैनिकको महिला कमिटी अध्यक्ष थिइन् शशी । ‘सबैको सेल्फ रेस्पेक्ट हुन्छ’ भन्थिन् । भूपू सैनिकको हलमा नानीहरूका लागि कपडा, चप्पलको मेला लगाउँथिन्, १, २ रुपैयाँमा । उनको ‘बाँड्नुपर्छ’ सोचाइले कहिलेकाहीं मिरुना स्कुल जानेबेला उनकै कपडा हुँदैनथ्यो घरमा । आमाले अरूलाई बाँडिदिइसकेकी हुन्थिन् । छोरीलाई भन्थिन्– दिएर कहिल्यै सकिँदैन, बाँड्नुपर्छ आफूसँग भएका कुरा । 

मिरुनाको विचारमा कसैसँग नडराउने स्वभाव छ, शशीको । भन्छिन्, ‘मैले अनुशासन र सहनशीलता आमाबाट सिकें । मेरा फिल्म फ्लप हुँदा सबैले मलाई ‘अनलक्की हिरोइन’ भन्थे । तर, आफूले गर्न सक्ने काम गरिरहनुपर्छ भन्नुहुन्छ आमा । सधैं भन्नुहुन्छ, ‘दयालु हुनुपर्छ, आफैं आफ्नो खुट्टामा उभिनुपर्छ ।’

An artist daughter of a literary motherशशी मिरुनाको फिल्म हेरेर कडा सुझाव दिन्छिन्– ‘नेचुरल हुन सक्थ्यो, भएन’ । ‘जारी’ हेरेपछि भनिन्, ‘तिम्रो भोगाइ पुगेन ।’ तर, ‘मनसरा’ हेरेपछि भनिन्, ‘मिहिन लाग्यो है ।’ शशीको अभिनय सूत्र छ, जुन मिरुनालाई भनिरहन्छिन्– हरेक पात्रमा एकदम अनुभव गर । पात्रको मनोविज्ञान बुझ्नु, पात्रको पूर्व भोगाइ बुझ्नु, जुन पात्रता निभाउँछौ, त्यही पात्रता बाँच, कुनै पनि पात्र र भूमिका सानो हुँदैन, कुनै पनि पात्रलाई खेलाँची नसम्झनू । भारी बोक्न, घर लिप्न मिरुनाले सिकेकी थिइनन् । ‘जारी’ हेरेपछि भनिन्– घाँस काटेको दृश्यमा तिमीले औंला समातेको भएन है । 

An artist daughter of a literary motherमिरुनाको बुझाइमा आफ्नो नाम–काम छाडेर छोरीहरूकै लागि यूके गइन् शशी । ‘यहाँ बस्नुभएको भए आमा फिल्म, नाटकमा जम्न सक्नुहुन्थ्यो,’ उनी भन्छिन् । अहिले शशी बेलायतमा अस्पतालमा काम गर्छिन्– हेल्थ केयर एसिस्टेन्सका रूपमा । ‘म आमाको सपना बाँचिरहेको छु,’ मिरुना भन्छिन्, ‘आमा एउटै कुरा भनिरहनुहुन्छ– मैले गर्न नसकेको काम तिमीले गर्‍यौ ।’ मिरुनाका लागि आमा हुनु सबथोक हुनु हो– डाक्टर, काउन्सिलर, शिक्षक, विश्वविद्यालय हुनु हो । मिरुनालाई आमाको अभिनयभन्दा नाच खुब मनपर्छ– क्लासिकल र भरत नाट्यम । जीवन बाँच्ने विशेष सुझाव छ मिरुनालाई शशीको– व्यावहारिक र सामाजिक हुनुपर्छ, घुलमिल हुनुपर्छ ।

An artist daughter of a literary motherधरानलाई कोमल भावनाले याद गरिरहन्छिन् मिरुना । शशीको अभिनय–आयतनको सम्झनामा मिरुना देख्छिन् ती दिन, जहाँ आमा स्टेजमा रंगीन, चमकदार कपडा लगाएर नाच प्रदर्शन गरिरहेकी हुन्थिन् वा कुनै दिन चर्को घामले तातेको सडकमा खाली खुट्टै नाटक खेलिरहेकी वा स्टेजमा केही संवाद बोलिरहेकी ! धरानको ‘ब्ल्याक एन्ड ह्वाइट’ सम्झनाले मिरुनालाई कमलो नोस्टाल्जियामा लैजान्छ । मान्छेहरू र ऋतुहरू बदलिएका छन्, त्यहींको सर्दु खोलामा बगिगएको पानी फर्केको छैन । तर, आमा, आमाका साथीहरूले बिताएका दिन मिरुनाको मस्तिष्कमा फर्किरहन्छ । कसरी भुल्न सक्लिन् र उनले आमा–बाँचेका सुन्दर दिनहरू !

दीपक कला, साहित्य र सामाजिक विषयमा लेख्ने सापकाेटा कान्तिपुर दैनिककाे साप्ताहिक परिशिष्टाङक काेसेलीका संयाेजक हुन् ।

Link copied successfully