२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५४

होमस्टेले फेरिएको दैनिकी, आत्मनिर्भर बन्दै मध्यवर्तीका महिला

बाढीले विस्थापित भएकाहरूसमेत अहिले गाउँ फर्केर होमस्टे सञ्चालनमा व्यस्त
विद्या राई

माडी, चितवन — माडी नगरपालिकाको पूर्वी भेगमा पर्ने शिवद्वारकी सोममाया पुनमगरले आफ्नो जीवनको चार दशकभन्दा बढी समय त्रासैत्रासमा गुजारिन् । म्याग्दीबाट चितवन झरेका बाजे पुस्ताले यहाँको जंगल नजिकको रिउखोला आडैमा बस्ती बसालेका थिए । उनीहरूले भोगचलन गर्दै आएको जंगललाई सरकारले पाँच दशकअघि चितवन राष्ट्रिय निकुञ्ज घोषणा गरिदियो । घर नजिकै जंगली जनावरको डर उनले बाल्यकालमा खुबै भोगिन् ।

होमस्टेले फेरिएको दैनिकी, आत्मनिर्भर बन्दै मध्यवर्तीका महिला

वस्तुभाउ पाल्ने र खेती किसानी गर्ने मुख्य पेसा अपनाएका मध्यवर्तीका आदिवासी जनजाति समुदायका लागि निकुञ्जतिर नगइ दैनिकी चल्दैनथ्यो । वस्तुभाउ चराउन, घाँसदाउरा गर्न र सोत्तरका लागि दिनहुँ जंगल छिर्नु पर्थ्यो । आफ्नै सुरमा घाँसपात गरिरहेका स्थानीयलाई बाघ, भालुले झम्टिन्थे । हात्ती, गैडाले दःुख दिन्थे । ‘कतिबेला आक्रमणमा परिने हो भन्ने डरैडरमा धन्न बाँचियो जस्तो लाग्छ,’ ५० वर्षीया सोममायाले हालैको एक भेटमा सुनाइन् । सरकारले निकुञ्ज घोषणा गरेपछि जंगली जनावरको आक्रमण पनि सहनैपर्ने कानुनी प्रावधान बन्यो ।

वन्यजन्तुको त्रास त थियो नै रिउँखोलाको बाढीले ३ सय घरजति फैलिएका यहाँका पुनमगरहरूको उठीबास नै लगायो । खेतीबारी सबै कटान भएपछि अधिकांशले बस्ती छाडे । जंगली जनावर र बाढीका बाबजुद शिवद्वारमा सोममायालगायत केही घर पुनमगरहरूले बिस्तारै पुनःस्थापित हुने कोसिस गरे ।

यसैबीच सोममायालगायतका बाढी पीडितलाई विश्व वन्यजन्तु कोष (डब्लूडब्लूएफ) नेपालको आर्थिक तथा प्राविधिक सहयोगमा सरकारले लागू गरेको तराई भू–परिधि कार्यक्रम (ताल) ले सहायता दियो । सन् २००१ देखि लागू भएको यस कार्यक्रमले सुरुमा संकटापन्न अवस्थामा रहेका बाघ, हात्ती, गैंडाजस्ता ठूला वन्यजन्तु जोगाउने लक्ष्य राखेको थियो । तालले एक दशकयता मानव वन्यजन्तु द्वन्द्व न्यूनीकरण गर्न मध्यवर्तीका स्थानीय बासिन्दाको जीविकोपार्जनका लागि वैकल्पिक आय आर्जनका गतिविधिमा समेत सहयोग पुर्‍याउँदै आएको छ । २०७२ सालमा माडी नगरपालिका–८ शिवद्वारको अयोध्यापुरी मध्यवर्ती उपभोक्ता समितिले सोममायालगायत केहीलाई नवलपरासीको अमलटारीस्थित होमस्टे अवलोकन गराउन लग्यो । त्यहाँबाट फर्केपछि १० घरले अयोध्यापुरी मध्यवर्ती सामुदायिक होमस्टे सुरु गरे ।

वनजंगलमा आश्रित उनीहरूले अहिले होमस्टेमा पाहुनाको स्वागत सत्कार गरेर जीविकोपार्जन गरिरहेका छन् । कहिल्यै सिक्न, जान्न नपाएको आफ्नो मौलिक संस्कार, संस्कृति र भेषभूषाबारे जानकारी लिन थालेको सोममायाले बताइन् । ‘हाम्रा बाआमाहरूले सिकाउनु भएकै थिएन, त्यसो भएपछि हाम्रो संस्कार के हो, भेषभूषा, पोशाक के हो, हामीले थाहा पाउने कुरै भएन,’ उनले भनिन्, ‘होमस्टे चलाउने भएपछि कला संस्कृति देखाउनु पर्ने भयो, हामी ठाउँ खोज्न गयौं ।’

पश्चिम चितवनबाट ६० देखि ७२ वर्ष उमेर समूहका अगुवा पुनमगर बोलाएर १० दिनसम्म समुदाय स्तरमा मादल, मारुनी, सोरठी लगायत संस्कार र संस्कृतिबारे सिक्ने मौका पाए । अन्य ठाउँका होमस्टेहरू पनि अवलोकन गर्न गए । अरुबाट सिकेको पुनमगर कला संस्कृति उनीहरूले होमस्टेमा आएका पाहुनालाई देखाउने र मनोरञ्जन दिने गर्छन् । उनीहरूले यहाँ पुन समाजको सामुदायिक घर बनाएका छन् । पहाड गएर पुनमगरका पुराना कला–संस्कृति खोजेर संग्रहालय नै बनाउने सोच पनि बनाएका छन् । शिवद्वारमा अहिले पुनमगरहरू १०, नेवार समुदायका दुई, थापामगर र राईका एक/एक गरेर १४ परिवारले होमस्टे चलाइरहेका छन् ।

बाढीले विस्थापित भएकाहरू समेत अहिले गाउँ फर्केर होमस्टे सञ्चालनमा ल्याइरहेका छन् । यहाँका होमस्टेमा हप्तैपिच्छे पाहुना आइरहन्छन् । स्वागत, सत्कार गरेर आय आर्जन हुन्छ । पहिले जसरी वनजंगल जानुपर्ने बाध्यता अहिले छैन । ‘जंगली जनावरको जोखिम हुँदै नभएको होइन, जंगल जानु नपर्ने भएपछि कम भएको हो,’ सोममायाले भनिन्, ‘हाइसन्चो नै छ नि, पहिले खेती किसानी गरेर खान मात्रै पुग्थ्यो, अहिले घरै बसेर हामी छोरी मान्छेहरू दुई पैसा कमाउने भएका छौं ।’

२०३० सालमा स्थापना भएको चितवन राष्ट्रिय निकुञ्ज नेपालकै पहिलो राष्ट्रिय निकुञ्ज हो । चितवन, मकवानपुर, नवलपरासी पूर्व र पर्सासम्म फैलिएको यसको कुल क्षेत्रफल ९५२.६३ वर्ग किमि छ । निकुञ्ज वरपरको ७२९.३७ वर्ग किमि भूभागलाई २०५३ सालमा मध्यवर्ती क्षेत्र घोषणा गरिएको थियो ।

चितवनको माडी नगरपालिका चारैतिर निकुञ्जले घेरिएको छ । अयोध्यापुरीमा जस्तै माडीका ६ स्थानमा आदिवासी समुदायका पुनमगर, बोटे, थारु, दुरा, दराई र खसआर्य समुदायका ७२ परिवारले होमस्टे सञ्चालन गरिरहेका छन् । गन्धर्व समुदायको होमस्टे निर्माणाधीन छ ।

यहाँका सबै होमस्टेमा बर्सेनि ७ हजारदेखि १० हजार हाराहारीको संख्यामा पाहुना आउने गरेको चितवनस्थित तालका ‘क्लस्टर इन्चार्ज’ प्रेम पौडेलले बताए । चितवनको पदमपुरका स्थानीय समेत रहेका उनका अनुसार वैकल्पिक पेसाका रूपमा फस्टाउँदै गएको होमस्टे व्यवसायमा महिलाको सहभागिताले आत्मनिर्भर बनाएको छ भने वन्यजन्तुको आक्रमणबाट हुने मानवीय क्षति पनि कम हुँदै गएको छ । ‘होमस्टेमा पाहुनाको स्वागत, सत्कार, खाना खुवाउनेदेखि लिएर मौसमी/बेमौसमी तरकारी खेतीमा महिलाको प्रत्यक्ष संलग्नता हुने भएकाले निकुञ्जप्रतिको सोचमा पनि सकारात्मक सोचाइ आउन थालेका छन्,’ पौडेलले भने, ‘पहिले हामीलाई मध्यवर्तीमा गएर निकुञ्जको कुरा गर्न गाह्रो थियो, अहिले पनि नभएको होइन, तर बिस्तारै सोचाइ फेरिंदैछ, यो खुसीको कुरा हो ।’

माडीको दक्षिणी भेगमा पर्ने लक्ष्मीबासस्थित रेवा मध्यवर्ती उपभोक्ता समितिले पनि होमस्टे सञ्चालनमा ल्याएपछि चुलाचौका र घाँस गोठालामा सीमित यहाँका महिलाले घरैमा बसेर आय आर्जन गर्न थालेका छन् । १० वर्षअघि कञ्चनपुरको थारु होमस्टे अवलोकन गर्ने अवसर पाएका उनीहरूले अवलोकन भ्रमणबाट फर्केपछि आफैंले माडी भ्यु सामुदायिक होमस्टे चलाउने साहस गरे । ‘त्यहाँ वृद्ध आमाहरूले खाना पकाएर खुवाउनुभएको, बस्न दिनुभएको, उहाँहरूले कमाएको देख्यौं, यस्तो त हामीले पनि गर्न सकिन्छ नि भनेर त्यहाँबाट फर्केपछि यहाँ सुरु गरेका हौं,’ होमस्टे सञ्चालक मध्येकी प्रेमकुमारी रेग्मीले भनिन् । पाँच घरबाट सुरु भएकामा अहिले होमस्टे चलाउने परिवार सात पुगेका छन् । अरु थप तीन घर पनि होमस्टेका लागि तयार हुँदैछन् ।

प्रेमकुमारीले घरका दुईवटा कोठा होमस्टेका लागि छुट्याएकी छन् । अनुदान सहयोग मिले थप विस्तार गर्ने उनको योजना छ । ‘कोठा बढाउन पाए पाहुना फर्काउन पर्दैन थियो भनेर ठाउँ खाली गरेर राखेकी छु,’ उनले भनिन्, ‘सहयोग पाए विस्तार गर्न गाह्रो छैन ।’ होमस्टेमा उनी, उनका श्रीमान्, छोरी र अमाजू खटिन्छन् । पाहुना नआएको दिनै हुँदैन । होमस्टेले महिलालाई सीप दियो । कमाइ गरेर आत्मनिर्भर बनाएको छ । ‘पहिला विहान–बेलुकै घाँस–दाउरा गर्न जंगल जान्थ्यौं, अहिले होमस्टेबाट आम्दानी भएको छ, पाहुनाहरू आउनुहुन्छ,’ घरैमा भ्याइनभ्याइ हुने गरेको होमस्टे सञ्चालक मध्येकी अर्की बेलकुमारी प्रसार्इंले भनिन् ।

होमस्टे चलाउनु पहिले यहाँका हरेक घरले १०/१५ वटा वस्तुभाउ पाल्थे । खेतबारीको घाँसले नपुग्ने हुँदा जंगल जानै पर्थ्यो । त्यही बेला वन्यजन्तुको आक्रमणमा पर्ने जोखिम हुन्थ्यो । होमस्टेबाट कमाइ हुन थालेपछि वस्तुभाउ पाल्न कम गरे । ‘पहिले गाई–भैंसी र बाख्रा पालेर दुई–चार पैसा आम्दानी होला भनेर जंगल जान्थ्यौं, अहिले होमस्टेबाटै राम्रै आम्दानी भइरहेको छ, जंगल जानै परेको छैन, जोखिम पनि भएन,’ बेलकुमारीले भनिन् । पहिले बाख्राका पाठा पालेर खर्च जोहो गर्न ६ महिनासम्म कुर्नु पर्थ्यो । भैंसी पालेर दुध बेच्ने ठाउँ हुन्थेन । मही पारेर मलखादमा पोख्नु पर्थ्यो । अहिले एक/दुईवटा गाई–भैंसी पाल्छन् । बारीमा लगाएको घाँसखेतीले पुग्छ, जंगल जानु पर्दैन । दुध, दही, मही, घिउ पाहुनालाई खुवाउँछन् । ‘पहिले जोतेर फाल्ने लट्टे सागसमेत तरकारीका रुपमा प्रयोग भइरहेको छ, रेग्मीले भनिन्, ‘यसैमा भुल्न पाउँदा एकदम खुसी छौं ।’

माडी नगरपालिकाको पश्चिमी भेगमा पर्ने बनकट्टाका लोपन्मुख बोटे समुदायले पनि आफ्नै मौलिक संस्कार र संस्कृतिमा आधारित होमस्टे चलाएका छन् । रिउखोला र मरठखोला दोभाननेर ११० घर बोटे समुदायका परिवारको बसोबास छ । माडीका चारवटा मध्यवर्ती सामुदायिक उपभोक्ता समितिमध्ये मानव वन्यजन्तु द्वन्द्वका दृष्टिकोणले सबैभन्दा जोखिममा रहेको यो बस्तीले तीन वर्षयता बोटे सामुदायिक होमस्टे सञ्चालनमा ल्याएको छ । पाँच पाण्डव मध्यवर्ती उपभोक्ता समितिअन्तर्गत होमस्टे तालिम लिएपछि अध्ययन अवलोकन भ्रमणमा गए । २०७५ सालदेखि होमस्टे निर्माण थालेर २०७७ पुस १० गतेदेखि सञ्चालनमा ल्याए । १३ बोटे परिवारले होमस्टे चलाउँछन् । यो होमस्टे बोटे समुदायबाट सञ्चालित नेपालकै एक मात्र सामुदायिक होमस्टेसमेत हो ।

सदियौंदेखि खोलाकिनारमा बस्दै आएका बोटेहरूको जग्गाजमिनमा स्वामित्व नगन्य छ । उनीहरू कृषि मजदुरी गर्ने, खोलामा माछा मारेर, सुन थालेर, जंगलमा निगुरो टिपेर जीविका चलाउँदै आएका थिए । यसरी जंगलमा गएका बेला वन्यजन्तुको आक्रमण बढेको भन्दै निकुञ्जले कडाइ गर्न थालेपछि यी परम्परागत अभ्यासमा बोटेहरूले पहुँच गुमाउँदै गए । उनीहरूलाई वैकल्पिक पेसाका रूपमा होमस्टे र माछापालनमा केन्द्रित गरियो । ‘हामी खोलानाला, वनजंगलको छेउमा भएकाले हात्तीगैडा, बाघभालुजस्तै सबै वन्यजन्तुको चपेटामा छौं, हात्तीले मारेको, बाघभालुले आक्रमण गरेका सबै छन् यहाँ,’ बोटे सामुदायिक होमस्टेको कोषाध्यक्ष जगनारायण बोटेले भने, ‘सधैं वन्यजन्तुसँग टकराव लिएर पनि भएन, वैकल्पिक पेसाको रूपमा हामीले होमस्टे र सामुदायिक माछापोखरी पाएपछि केही सहज हुँदैछ ।’

यहाँका बोटे महिला दिनहुँ कृषि मजदुरीमा जान्थे । ८ सय रुपैयाँ ज्यालाका लागि दिनभर हाडनंग्रा घोट्नु पर्थ्यो । ‘अहिले घरैमा बसेर दुई घण्टामा पनि ८००/९०० कमाउँछौं, हामी दिदीबहिनी घरैमा भेटिन्छौं, स्वरोजगार भएका छौं, अर्काको करकापमा नि पर्नु परेन,’ होमस्टे सञ्चालक मध्येकी लक्ष्मी बोटेले भनिन् । होमस्टेमा पाहुना आउने क्रम बढिरहेकाले क्षमताभन्दा बढी आएका पाहुनालाई फर्काउनु परिरहेको उनले बताइन् । होमस्टे सञ्चालनले लोप हुँदै गएका भाषा संस्कृति जगेर्ना गर्न पनि सहयोग भएको छ । ‘होमस्टेले गर्दा अहिले हामीले आफ्नो भाषा संस्कृति पनि देखाउन सक्छौं, बोटेनी नाच, जघ्या नाच, मछुवारी नाच, पर्वमा नाच्ने नाच छ, मारुनी नाच छ,’ जगनारायणले भने । वैकल्पिक पेसाले जीविकोपार्जनमा सहजतातर्फ डोर्‍याइरहेको भए पनि माछा मार्ने, घाट तार्ने, सुन चाल्ने जस्ता बोटे समुदायको परम्परागत पेसा लगभग संकटमा पर्दै गएकामा उनले चिन्ता व्यक्त गरे ।

प्रकाशित : जेष्ठ ३, २०८१ २२:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

१० प्रतिशत अग्रिम आयकरको व्यवस्थाले खाद्यान्न आयात बन्द भइ कालोबजारी सुरु भएकोमा के भन्नुहुन्छ ?