कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

‘चिसो समाजमा विद्वान्‌हरू पनि सामुदायिक प्रभावमा आउँदा रहेछन्’

लामो समयदेखि संस्कृति र इतिहासमा कलम चलाइरहेका अग्रज विद्वान् हुन्– जगदीशचन्द्र रेग्मी (८१) । मनोगढन्ते तर्क तेर्स्याएर इतिहासलाई बंग्याउने धाराविपरीत उनी अभिलेख र मूलग्रन्थको आधारमा मात्रै आफ्नो विश्लेषण अघि सार्न सिद्धहस्त मानिन्छन् । प्रामाणिकता र आधिकारिकतामा जोड दिने रेग्मी लिच्छवि संस्कृति र इतिहासका विज्ञ मानिन्छन् ।

‘चिसो समाजमा विद्वान्‌हरू पनि सामुदायिक प्रभावमा आउँदा रहेछन्’

‘नेपालको धार्मिक इतिहास’, ‘नेपालको वैधानिक परम्परा’, ‘प्राचीन नेपालको संस्कृति’, ‘प्राचीन नेपालको राजनीतिक इतिहास’, ‘लिच्छवि इतिहास’ जस्ता दुई दर्जन बढी महफ्वपूर्ण पुस्तकका सर्जक रेग्मीलिखित ‘लिच्छवि संस्कृति’ ५५ वर्षपछि हालै इन्डिगो इन्कले पुनर्मुद्रण गरेको छ । दुर्लभप्रायः मानिने उक्त पुस्तक पुनर्मुद्रणको सन्दर्भ पारेर लिच्छविकालीन इतिहास, तत्कालीन समाज र परिवेशदेखि इतिहासप्रतिको नेपाली दृष्टिकोणबारे रेग्मीसँग फणीन्द्र संगमदीपक सापकोटाले गरेको कुराकानीको सम्पादित अंश :

तपाईंले अभिलेख र मूलग्रन्थलाई नै आधार बनाएर अध्ययन–विश्लेषण गर्नुभएको किताब ‘लिच्छवि संस्कृति’ हालै मात्र पुनर्मुद्रण भयो । यस किताबले नयाँ पुस्ताका अध्येतालाई पनि मार्गनिर्देश गर्न सक्छ । तपाईंलाई यसखाले अध्ययन र लिच्छवि इतिहासमै हुटहुटी कसरी जाग्यो ?

माता–पिता र गुरुहरू हाम्रो टुपी समातेर घुमाउने प्रवृत्तिका हुनुहुन्थ्यो । उहाँहरूको उत्प्रेरणाले प्राज्ञिक अध्ययन अघि बढाउने क्रममा म बीएचयू (बनारस हिन्दु युनिभर्सिटी) मा एमए पढ्दै थिएँ । दोस्रो वर्षको तयारी हुँदा मलाई नेपालका शैव अभिलेखबारे थेसिस लेख्न अभिलेख विषयका गुरु भीएस पाठकले भन्नुभयो । त्यो बेला जयप्रकाश मल्ल पाकिस्तानको राजा हो कि काठमाडौंको भन्नेसम्म थाहा थिएन । आर नोलीले छाप्नुभएको रोमन लिपिको ९१ वटा लिच्छविकालीन अभिलेख नेपालीमा सार्ने काम आइपर्‍यो । त्यस कामको सिलसिलामा मलाई अभिलेख र इतिहासप्रति रुचि बढ्दै गयो । घरमा पनि दाइ महेशचन्द्र रेग्मी इकोनोमिक हिस्ट्रीमा काम गर्दै हुनुहुन्थ्यो । कुनै एउटा टुक्रो भेटें भने त्यसको थप खोजीमा लाग्न थालें । त्यसपछि नेपालका शैव अभिलेखमा थेसिस बुझाएर एमए पास भएँ, फस्ट डिभिजनमा । गुरुहरूले ‘अब पीएचडी गर्नुपर्छ’ भन्नुभयो । काठमाडौं फर्केपछि कोलम्बो प्लान स्कलरसिपमा फेरि त्यहीं गएँ । र, बनारसमा चार वर्ष अरू पढें । २०२१ सालदेखिको मेरो नेपालको इतिहास–स्रोतहरूको अध्ययन–पहुँचकै परिणाम हो, ‘लिच्छवि संस्कृति’ । मेरो पीएचडीको थेसिस लिच्छवि संस्कृति नै भयो । यसरी ५ वर्षको मिहिनेतबाट २०२६ सालमा ‘लिच्छवि संस्कृति’ किताबको स्वरूपमा रत्न पुस्तक भण्डारका रत्न दाइले छापिदिनुभयो । मजस्तो अल्लारे केटाको किताब छाप्नु पनि ठूलै कुरा थियो ।

यो किताब प्रकाशन भएको केही समयमै त्यसैबेला पनि बजारमा दुर्लभजस्तो थियो । ५५ वर्षसम्म पनि किन पुनर्मुद्रण हुन सकेन ? अहिले कसरी पुनर्मुद्रण भयो ?

हाम्रो समाज चिसो समाज हो । यहाँ कसैले कसैसँग प्रतिक्रिया जनाउँदा खुसीसाथ स्वागत गरिँदैन । गोरखाको तातोपानी खाएका कारण पृथ्वीनारायण शाहले विजय अभियान चलाए, काठमाडौंमा आएर चिसो पानी खाएपछि उनको पनि बुद्धि परिवर्तन भयो भनिन्छ । असल कामको स्वागत गर्नु, खराब कामको निन्दा गर्नु, त्यसका लागि पनि ठूलै आँट चाहिन्छ । त्यो हाम्रो समाजमा छैन । छापिएको २०/२५ वर्षपछि सुरेन्द्र केसीसँग भेट हुँदा छापौं भन्नुभएको थियो । तर, म संशोधन नगरी नहुने विचारमा भएकाले प्राविधिक कारणले अघि बढिनँ । खर्चको कुरा पनि थियो । पछि त्यतिकै कुरा सेलायो । देवकोटाजस्ता धुरन्धर कविलाई पनि चिसो समाजले नै समात्यो । हामी त के हौं र !

२०८० सालको उत्तरार्धतिर गुरुङ सुशान्तजी आउनुभयो । अनि यस कामले बाटो पायो र यो किताब पुनर्मुद्रण भएर आयो । यद्यपि, यसमा धेरै संशोधन गर्न सकिनँ । अत्यावश्यक ठाउँमा मात्रै संशोधन गरेको छु ।

चिसो समाजको कुरा गर्नुभयो । २०२६ सालमा यो किताब छापिँदा समकालीन इतिहासविद्हरू पनि चिसै देखिए कि उनीहरूले ‘सपोर्ट’ गरे ?

चिसो समाजमा विद्वान्हरू पनि सामुदायिक प्रभावमा आउँदा रहेछन् । बाहुनजत्तिले मलाई समर्थन गरे । मेरा सम्पर्क र कार्यालयका साथीहरू र प्रोफेसरहरू समेतले ‘कमालको किताब’ भन्थे । बुवाका बैठकमा पनि ‘छोराले यस्तो किताब लेख्यो’ भनेर चर्चा हुन्थ्यो । त्यो बेलासम्म त नेपालीमा किताबै छापिँदैनथ्यो । संस्कृतिसम्बन्धी त किताबै थिएन । मातृभूमिको सेवाका रूपमा पनि ‘लिच्छवि संस्कृति’ लेखें । यस किताब लागि एउटा आर्टिस्ट, फोटोग्राफर राखेर रातभर पनि बसेर काम गरियो । यसरी मैले फुक्काफाल काम गरें ।

मार्किङ भएको किताब किन दोस्रो संस्करण छापिएन भन्ने प्रश्न थियो । तर, यसको बाँकी काम गर्नुपर्छ भन्ने मेरो हुटहुटी चाहिँ छँदै थियो । पछि ‘प्राचीन नेपाली संस्कृति’ निस्कियो, यसलाई लिच्छवि संस्कृतिकै भाग–२ भने हुन्छ । युनिभर्सिटीमा बुझाएको ‘प्राथमिक कालमा वैष्णव धर्मको अवस्था’ भन्ने रिपोर्टलाई भाग ३ भने हुन्छ ।

तपाईंले संस्कृतिसम्बन्धी निकै पुस्तक लेख्नुभयो । अहिलेको समयबाट हेर्दा तपाईंको निष्कर्षमा लिच्छवि संस्कृति कस्तो संस्कृति हो ?

हाम्रो भूगोल नै यस्तो छ कि उत्तरतिर तिब्बत, दक्षिणमा भारत । दुइटाको डाइजेस्ट हो, नेपाल । भृकुटीको बिहे उता हुनु पनि एउटा कारण रह्यो । नेपालमा कुनै बेला किसानभन्दा बढी व्यापारी थिए भन्ने चिनियाँले लेखेको किताबमा उल्लेख छ । के त्यो जागरणको युग थिएन ? व्यापारिक सम्पर्क बढी थियो ऊबेला, सामान पठाउने–ल्याउने चलन थियो । चीन, तिब्बत र भारतको पनि डाइजेस्ट हो । व्यापारिक नाता मात्रै होइन, सामाजिक, आर्थिक, सांस्कृतिक सम्बन्ध डाइजेस्ट गर्ने ठाउँका रूपमा नेपाल रह्यो । नेताहरूले दुई देशबीचको मध्यस्थका रूपमा नेपाल हुनुपर्छ भन्छन् । त्यो बेला विदेशबाट चामल ल्याउने र भारत पठाउने चलन थियो । भारतबाट सामान ल्याउने र तिब्बत पठाउने गरिन्थ्यो । काठमाडौंमा मल्लकालमा २४ कोठी त व्यापारी नै थिए । कोठी भनेको व्यापारीको ठूला घरजस्तो हो ।

लिच्छविहरूले किरातलाई पराजित गरेर शासन थालेको भन्ने इतिहासमा पढिन्छ । लिच्छविको प्रवेश कसरी भयो ? त्यसबेला यहाँ किराँतको अवस्थाचाहिँ कस्तो थियो ?

जय बर्माको मूर्ति पाएपछि लिच्छविहरूले किरातलाई पराजित गरेको भन्ने कुरालाई संशोधन गर्नुपर्ने भयो । लिच्छविहरूभन्दा पहिले बर्मावंशी राजाहरू भए । जय बर्माको मूर्ति मालीगाउँमा पाइयो । यसरी लिच्छविभन्दा अघि त किरात थिएनन् भन्नुपर्ने हुन्छ । बरु बर्माहरूसँग किरातीको टक्कर पर्‍यो होला, त्यसमा अलि काम गर्न बाँकी छ । तैपनि किरातहरूको व्यक्तित्व, अस्तित्व अरू अभिलेखहरूमा पनि पाइएको छ । यसरी किरात भन्ने समूह समाजमा रहेछ भन्नुपर्‍यो । तर, किरात यिनै हुन् भन्न सकिएको छैन । हाम्रो नेपाल सानो देश– हामीमा स्वतन्त्रता, संस्कृति छान्ने स्वाधीनता छैन । हिमाली भेगमा तिब्बती प्रभाव छ । काठमाडौं, पहाडी भेगमा भारतको प्रभाव छ । यसरी संस्कृतिको विकास सामाञ्जस्यपूर्ण ढंगले भएको छ ।

वैष्णव त भारतमा थिए । कतिपय कुरा यहाँ मौलिक छन् । जस्तो : हाडीगाउँको वेदव्यासको मूर्ति, मन्दिर भारतमा छैन । वेदव्यासको महाभारतमा त नाम छ, तर अभिलेखहरूमा छैन । भारतमा अभिलेखमा लेखेको स्तुति पनि छैन । जबकि हाँडीगाउँमा त्यो स्तुति असाध्यै मिठो छ ।

इंग्ल्यान्डका विद्वान् एयर वाचनसँग मैले पीएचडी गर्दा सम्पर्क गरें । यो अभिलेख पढ्दा भारतमा यस्तो अभिलेख पाइँदैन भन्नुभयो ।

लिच्छविकालको बसोबास र सहर निर्माण प्रक्रिया कस्तो थियो ? आर्थिक र राजनीति इतिहास कस्तो थियो ?

जय बर्माको अभिलेख पाइएपछि वृषभदेव नै पहिलो लिच्छवि राजा मान्नुपर्‍यो । वृषभदेव मानदेवका बराजु । त्यसबेलाको इतिहास हेर्दा समुद्रगुप्तले तिनलाई पठाए । त्यत्रो एम्पायरका अगाडि नेपालले म स्वाधीन छु भनेर बस्ने कुरा भएन । कर तिर्ने कुरा उल्लेख छ, अभिलेखमा । समुद्रगुप्तजस्ता सम्राट्ले आफ्नो मुद्रामा लिच्छविहरूको नाति भनेको छ, छोरीको छोरा । मावली खलक भनेर उनले वृषभदेवलाई काठमाडौं पठाए । बर्मावंशीलाई हटाउनुमा वृषदेवहरूले मिहिनत गरे । समुद्रगुप्तले समर्थन गरेपछि मात्रै वृषभदेव राजा हुन पाए । पछि विकसित सभ्यताले स्वर्णिम युग ल्याएको मानिन्छ । त्यसबेला सुनका मुद्रा चले । व्यापारी, पुजारी, पण्डित आए । एउटा समाज निर्माण गरे ।

सहरमा राजदरबार निर्माण भयो । आवश्यक मान्छे घर बनाएर वरिपरि बसे– पण्डित, पुरोहित, कर्मचारी, सचिव, मुख्य सचिवहरू । सबभन्दा पर च्यामे, पोडेहरू बसे । इन्डियामा पनि त्यस्तो चलन थियो, यहाँ पनि त्यस्तै भयो । खानपिनका लागि खेतीपाती राम्रो छँदै थियो । तिब्बत र भारतसँग व्यापार रहेकै थियो ।

त्यो बेला खाना संस्कृति कस्तो थियो ?

चामल खाने चलन त वैदिककालदेखि नै थियो । लिच्छविकालमा गहुँ थियो, कोदो पहाडतिर कमै थियो । मकै पछि मल्लकालमा मात्रै आएको हो । मासु, दूधदही, फलफूल खान्थे । धान त उल्लेख्य रूपमा उब्जनी हुन्थ्यो ।

कस्ता खालका कपडा लगाउँथे ? उद्योग कलकारखानाको अवस्था चाहिँ कस्तो थियो ?

ठाउँठाउँमा उद्योगहरू थिए । ताम्रकुटशाला अर्थात् तामाको सामान बनाउने कारखाना भएको नक्सालको अभिलेखमा उल्लेख छ । प्रसिद्ध मानिने नेपालको तामाका भाँडाकुँडा भारततिर निर्यात हुन्थ्यो । मोटो खालको लुगा तानमा तयार पारिन्थ्यो । राजाहरू भने भारतबाट मगाएर तयारी कपडा लगाउँथे । बुद्धको समयमा पनि नेपालमा आउने व्यापारीहरू कपडाकै व्यापारी थिए भन्न सकिन्छ ।

काठमाडौं उपत्यकामा लिच्छविहरूको शासन कुन ठाउँमा थियो ? त्यसबेलाका दरबारका संरचना कस्ता थिए ?

लिच्छविकालमा ३/४ वटासम्म दरबार उल्लेख पाइन्छ । चाँगुनारायण मन्दिर, गरुड मूर्ति त्यही समयमा बनेको हो । मल्लकालमा पनि बने । तर, अनुशासन चाहिँ कम थियो । मानगृह, कैलाशकुट भवन, भद्रादिनिवास भवन थिए । एउटा दरबार हनुमानढोकामा रहेछ, पछि भत्कियो । पछि आएका राजाले पनि त्यसलाई विस्तार गरे । दरबारको अनुकरणमा भारदारले पनि बनाउँदै गए । कैलाशकुटको बयान त चीनका यात्रीले पनि गरेका छन्– त्यस्तो दरबार संसारमा देखिएको छैन भनेका छन् । नौतले दरबारमा तामाका पाइपहरू थिए । छतबाट पानी बगिरहन्थ्यो । तलको खण्डमा मात्रै ८ हजार मान्छे अटाउने वर्णन छ । अलिअलि फरक होला, तर किताबमा त्यो उल्लेख छ । भव्य दरबार नै भन्नुपर्छ भन्ने लेखिएको छ । आर्किटेक्चर र आर्टमा त नेपालको नाम त्यसबेला ठूलै छँदै थियो । लिच्छविकाललाई स्वर्णयुग भन्नुका कारणमध्ये यी पनि हुन् ।

लिच्छविकाल सम्पन्न थियो, जनता पनि खुसी थिए र स्वर्णकाल थियो भने पतनचाहिँ किन भयो त ?

जयस्थिति मल्लले पतन गराएका हुन् ।

जनताले राजाको समर्थन गरेका भए त नयाँ शासक शासनमा आउन सक्दैन थिए होला नि ?

जसको हातमा डन्डा, उसको हातमा सत्य । जनताको अभिमतै चाहिन्छ भन्ने छैन । जसको शक्ति उसको भक्ति भयो । जनसंख्या उच्च थियो । खासगरी थानकोट र मातातीर्थतिर भीडभाड थियो ।

शिक्षादीक्षाको अवस्था कस्तो थियो ? प्रशासनिक क्षेत्रमा कस्ता मान्छे हुन्थे ? पहुँचमा कुन जाति पुग्थे ?

धर्मशास्त्रमा भनिएको छ– राजाले योग्य कर्मचारी छान्नु । एकपटक छानेपछि तिनका सन्तान नै त्यही पदमा रहन्थे । त्यसो हुँदा प्रशासनतिर सुरक्षित र योग्य व्यक्ति छानिने भयो । शिक्षामा गुरुकुल प्रणाली थियो । ‘गुठी, गोष्ठीहरू साथै अध्ययनशाला थिए’ भनिएबाटै पनि मानिस शिक्षित थिए भनेर बुझ्नुपर्छ ।

त्यो बेलाको राजनीतिक प्रणाली कस्तो थियो ? राजनीतिक–आर्थिक इतिहासलाई कसरी व्याख्या गर्नुहुन्छ ?

लिच्छविकालमा नातागोताको प्रभाव धेरै थियो । जस्तो ः मानदेवकी नातिनीको पतिको रूपमा एक गुप्तवं‌‌शी आएका छन् । त्यो सम्बन्धको नाताले भौमगुप्त, दृष्टिगुप्त, विष्णुगुप्तहरू पद पावरमा पुगे । नातागोता नभई त माथि पुग्न सकिन्नथ्यो । त्यही क्रममा अंशुबर्माका बाउलाई दोलाली प्रथामा यहाँ ल्याए । मानदेव द्वितीयकी छोरीको कन्यादानका लागि भारतबाट राजपुत केटा ल्याए, तिनका सन्तान नै अंशुबर्मा भए । राजाका नाति भए । त्यही आधारमा उनले शक्ति बढाए । राजनीतिमा बाहिरका मान्छेलाई पस्ने कुनै ठाउँ थिएन । राजतन्त्रमा नातागोताबाटै राजतन्त्र विस्तार भयो र नाश पनि भएको छ । यसबारे मैले दुई चार अभिलेख नै राखेको छु ।

भौमगुप्तहरूले काम गरे भने तिनका सन्तान विष्णुगुप्तले बुढानीलकण्ठ बनाए । शक्तिमा पुगे पनि गर्न चाहनेले त राम्रै काम गरेछन् । अंशुबर्माले धुन्धानै गरे । राजाहरूको पनि मान राखे । लिच्छवि कुमारलाई नै उत्तराधिकारी बनाए । उनले व्यवस्थापन मात्रै गर्दै महाराजाधिरासम्म पुगे, तर आफ्नो सन्तानमा त्यो शक्ति बाँडेनन् । शिवदेवकै सन्तानलाई उत्तराधिकारी बनाए ।

यो केन्द्रको व्यवस्था भयो । गाउँको शासन पद्धति कस्तो थियो ?

भौमगुप्तहरूको पालामा गाउँगाउँमा स्वायत्त शासन दिइएको थियो । अड्डाहरूमा नपस्नु भनिएको छ, अभिलेखमा । त्यसको अर्थ गाउँहरूले स्वाधीनता पाए ।

आफ्नो काम आफैं गर्न सक्ने भए ।

लिच्छवि र मल्लकालमा काठमाडौंको तुलनामा पाटन, बनेपा, पनौतीजस्ता सहरको विकास कस्तो थियो ?

सहरको विकास राजदरबारको प्रभावले हुने भयो । दरबारबाहिरको विकास व्यापारिक हिसाबले हुने भयो । खोपासी, पनौती, बनेपा भारततिर जाने बाटो हो । जनकपुरतिरबाट व्यापारिक मार्ग भएकाले व्यापार व्यवसाय सुरु भए । मल्लकालमा यो अझ बढ्यो । सभ्यताको निर्माण भयो । एउटा शासन व्यवस्थामा अर्को व्यवस्था आएपछि नयाँले पुरानो व्यवस्थालाई बेवास्ता गर्ने परम्परा देखियो । मानदेवको अभिलेखमा चाँगुनारायणमा ‘यति जग्गा गुठी’ राखेको उल्लेख छ । तर, पछिका शासकले गडबड गरिदिए । नयाँ शासन आएपछि मन्दिर र मूर्ति धेरै नष्ट भएका छन् ।

लिच्छविकालको सुरुवात र पतन कसरी भयो ? मल्लकालको उदय कसरी भयो ?

लिच्छविकाल सखाप भएको पनि होइन । अर्जुन मल्ल लिच्छवि हुन् । जयस्थिति भारतबाट आएर अर्जुन मल्ललाई गद्दीबाट हटाए । उनी मल्लकालका राजाका ज्वाइँ थिए । उनको शक्ति बढ्यो । उनका राम्रा काम पनि छन् ।

देव राजाहरूको विषय खास के हो ?

पुरानै शासन व्यवस्थाको एक अंगका रूपमा काठमाडौं, ललितपुर, भक्तपुरमा अलिकति भारदार वर्गको विकास भयो । यिनीहरूकै विकास भएर जयरुद्र मल्ल राजा भए । छोरीको पावर थियो कि तिनको छोरीलाई विवाह गर्न जयस्थिति मल्ल ल्याएपछि जयस्थितिकै पावर बढ्यो । अनि जयस्थिति मल्लले भारतबाट सारा संस्कृति ल्याए ।

लिच्छविदेखि मल्लकालमा आइपुग्दा राजनीतिक–सांस्कृतिक कुराहरू के–के फरक भए ?

लिच्छविकालमा जुन व्यापारिक मार्ग तयार पारिएको थियो, त्यसकै लाभ लिएर मल्लहरू धनी भए । लिच्छविकालमा त २४ कोठी थिएनन्, जबकि मल्लकालमा २४ कोठी भए । व्यापारिक कारोबारले अर्थतन्त्र चलायमान भयो । यसरी मल्लहरू धनी भए, भारदार बढिरहे । जनसंख्या बढ्यो, काम कारोबार बढ्यो । मल्लकालमा धेरै मूर्ति, मन्दिर बने । किताबहरू धेरै लेखिए ।

खासमा लिच्छविहरू को हुन् ? उनीहरूको अस्तित्व कसरी नामेट भयो ?

लिच्छविहरू हिन्दु क्षत्री नै हुन् । क्षत्री नभई राजै बन्न पाइँदैन । मेरो अध्ययनमा अर्जुन मल्ल लिच्छविका अन्तिम राजा थिए । तिनी लाछी भए । जयस्थिति मल्लसँग टक्कर लिन सकेनन् । गाईजात्रा गरेर उनले बनेपा पठाए, अर्जुनलाई । रुँदारुँदै उनी फर्किएर भक्तपुर आए । यसरी मल्लकालले पहिलेको युगको फाइदा त पाई नै हाल्यो ।

लिच्छवि भनेका १०/१५ जना मात्रै थिए । बाहुन, क्षत्री, वैष्णण, शूद्रको जस्तो ठूलो समुदाय थिएन ।

तुलनात्मक अध्ययनमा सबभन्दा समृद्ध काल कुन हो ?

मल्लकालमा तीन मुख्य सहर काठमाडौं, भक्तपुर, पाटन थिए । तीन किल्लामै मान्छेको आबादी बढी थियो । जनसंख्या बढेकाले फोहोर पनि बढ्दै गयो । किल्लाबाहिर जाँदा शत्रुले आक्रमण गरिहाल्थ्यो, किल्लाभित्र भएपछि रोगव्याधि धेरै उब्जियो । मृत्यु हुने क्रम धेरै हुन थाल्यो । अरू ससाना ठाउँ पनि किल्लाबन्दी थिए । मल्ल राजाहरू धनी थिए । धेरै मन्दिर बनाए, सबथोक गरे । तर, सफासुग्घर गरेनन् । अहिले टुँडिखेल भएको ठाउँमा त शौचालय थियो । त्यहाँ दिसाको थुप्रो हुन्थ्यो भनेर अमेरिकी राजदूतहरूले भनेका छन् । त्यो सफाइ गर्न नसक्नु पनि मल्लको एउटा कमजोरी हो । व्यवस्थापन थिएन । मल्लकालको सभ्यता राम्रो हुँदाहुँदै कमजोरी धेरै छन् । पछि रणोद्दीप सिंह आएर टुँडिखेल बनाएपछि सफासुग्घर सहर बनाए ।

मल्लकालमा के–केमा प्रगति भए ?

साहित्य, संगीत र कला तीनटैमा प्रगति गरे मल्लहरूले । कलाका तीनै शाखा वास्तुकला, मूर्तिकला र चित्रकलामा पनि । साहित्यममा पनि नाटकसमेत मञ्चन गरिन्थ्यो । नयाँ घरको शुभारम्भमा नाटक खेलाइन्थ्यो ।

मल्ल राजाहरू जनकपुरका मैथिल ब्राह्मणबाट प्रभावित थिए । बोलाएर काठमाडौंमा जग्गा दिएर राखेका थिए । तिनीहरूलाई खान दिएर नाटक लेखाए । प्रताप मल्ललाई धुमधाम विद्वान् भनिए पनि तिनले सायद पण्डितलाई लेखाएर आफ्नो नाममा अभिलेख गरे ।

लिच्छविकालमा बौद्ध धर्मको अवस्था कस्तो थियो ?

लिच्छविकाललाई हामीले गुप्त डोमिनेटेड मान्ने हो भने पनि बौद्ध धर्मको प्रभाव राम्रो थियो । त्यो प्रभाव पहिल्यै किरातहरूदेखि नै थियो । यसबारे साँखुमा अभिलेख भेटिएको छ । बौद्ध धर्मको काम गर्ने एउटा डिपार्टमेन्ट नै हुन्थ्यो । राजाले बौद्ध विहारहरू बनाइदिए । अंशुबर्मा, मानदेव, शिवदेवजस्ता राजाले बनाए त्यो । बौद्धहरूले आफ्नो किसिमले विकास गरे ।

शासकहरूले बौद्ध विहार नै बनाउनुको खास कारणचाहिँ के थियो ?

कुनै पनि शासकको कुनै स्थान त्यत्तिकै हुँदैन । कुनै मान्छे नजिक पुग्थ्यो, उसले बिन्ती गर्थ्यो । त्यसपछि राजाले खर्चपर्च दिए, बौद्ध विहार बनाए । राजाहरूकै नाममा बौद्ध विहार रह्यो । त्यसबेला विदेशी बौद्धधर्मी विद्वान् नेपाल आए भने पनि राजाहरूले स्वागत गर्नुपर्थ्यो ।

लिच्छविकालमा यहाँको भूगोलमा कुन–कुन राज्य बलिया थिए ? कुन–कुन कमजोर थिए ?

लिच्छविकालमा सामन्त व्यवस्था थियो । पूर्वदेशको सामन्त । पश्चिमको मल्ल पुरी । तर, उनीहरूका राज्यभित्र पनि सामन्त हुन्थे । किनभने एउटा राजाले माथिबाटै शासन गर्न सम्भव थिएन । त्यसैले विषयपति भन्ने एउटा पद हुन्थ्यो । विषयको अर्थ जिल्ला भएकाले विषयपति भनेको अहिलेको सीडीओजस्तो । यहाँ काठमाडौंमा पनि विषयपति रहेको कुरा अभिलेखमा उल्लेख छ । टाढाका लागि राजासरह सामन्त राखे तिनले । तिनीहरूलाई कर तिर्नुपर्थ्यो र भनेको मान्नुपर्थ्यो । समाजमा पनि एकएक जातिको एकएक संस्था हुन्थ्यो । मूलीले समाजलाई अनुशासनमा राख्थे– पूजाआजा, पढाइलेखाइ, मूर्ति बनाउने काममा लगाउँथे । राजाले बोलाएको बेला जानुपर्थ्यो ।

साना भुरेटाकुरे राज्य कस्ता थिए ?

सानो राज्य नै थिएन । मल्लपुरी र पूर्वदेशमात्रै थिए– दुई राज्य । पूर्वदेश परिवर्तन हुँदै उदयपुर जस्ता राज्य भए । पश्चिममा २२ से र २४ से राज्य सुरु भयो । अनि मल्ल राजाहरू आए ।

लिच्छवि शासन व्यवस्थाको सबल र दुर्बल पक्ष के हुन् ?

उनीहरूको शासन कमजोर थिएन । स्थानीय जनतालाई पावर दिए तिनले । गाउँमा मूलीलाई जिम्वालजस्तो काम जिम्मा दिए । तिनले गाउँमा कर उठाउने, बुझाउने गरे । खराब भन्ने व्यवस्था भएन । जब मल्लकाल सुरु भयो, नयाँ मान्छे आए । जनसंख्या बढ्यो । जातिहरूको मिश्रण भयो । कसले के काम गर्ने भन्ने कानुन बन्यो । हरिसिंह देवले दुईतीन पुस्तादेखि आक्रमण गर्दै आए र सखाप पारे । तिनीहरूलाई नै व्यवस्थित गर्न जयस्थिति मल्लले नयाँ कानुन बनाएका हुन्, जातिअनुसार काम ।

इतिहासकारहरूबीच किरातकाको अस्तित्वमाथि विवाद पनि सार्वजनिक भयो । खासका किरात को हुन्, तिनको शासन थियो कि थिएन ?

गोपाल वंशावलीमा ३२ जना किरात राजा भए भन्ने उल्लेख छ । गोपाल राजा ८ जना भए पनि भनियो । अनि, महिषपाल राजा भयो भनिन्छ । त्यसलाई हामीले अन्धविश्वास गरेर मान्यौं । धेरै इतिहासकार ‘गोपाल वंशावली मान्दैनौं’ भन्छन् । वंशावलीको अवमूल्यन गर्न मिल्दैन, त्यो पनि प्रमाण हो । किरातहरू अहिले पनि छन् । तिनै किरात यी हुन् कि होइनन् भनेर अध्ययन गर्नुपर्‍यो । निपु र सपु नेवारहरूमा पाइयो– भैंसीपालक र गाईपालक । यो ट्रेन्ड हेर्दा यी दुइटाको अस्तित्व मान्नुपर्‍यो कि परेन ? तर, गोपालको पालामा पशुपति मन्दिर पत्ता लागेको भने होइन । गोपाल नामै पनि ठीक छैन । भारतको वृन्दावनतिरबाट आएर कुनै जाति कीर्तिपुरतिर बस्थ्यो । त्यस जातिको गाईले पशुपति पत्ता लगायो भनियो । घाँस उम्रेको ठाउँ पशुपतिमा जलधुप चढायो अनि गोपालले खनेर हेर्दा पशुपति पत्ता लाग्यो भन्ने छ, त्यो होइन । जयस्थिति मल्लका पालामा पशुपतिमा सबभन्दा पुरानो मूर्ति गाईले पत्ता लगायो भनिन्छ । गोपालका पालामा पशुपति रहेको भन्ने मान्न सकिन्न ।

शाहकाल कस्तो हो ?

शाहकालमा भूगोल निश्चित भयो । प्रशासन व्यवस्थित भयो तर जिम्मेवारी बुझेनन्, आफ्नै सुरक्षा पनि गर्न सकेनन् ।

अध्ययनको कमीका कारण व्याख्या पनि अल्पव्याख्या भएको भन्नुभयो । विशेषगरी इतिहास लेखनमा योगदान गर्ने अध्येता, इतिहासकार र इतिहासविद्हरूलाई कसरी मूल्यांकन गर्नुहुन्छ ?

धनव्रज ब्रजाचार्यलाई हिजोसम्म म खुब मान्थें । तर, उहाँ साम्प्रदायिकतामा जानुभएको रहेछ । लिच्छवि इतिहासमा उहाँको खण्डन आएका छन् । उहाँले लिच्छविकालको अभिलेख संग्रहमा पहिलो अभिलेखमा बौद्ध अभिलेख पार्नुभयो । त्यो बौद्ध अभिलेखै होइन रहेछ । वृषदेवको पालाको भनेर दाबी गर्नुभयो, तर शंकरमान राजवंशीले त्यसलाई मानदेवको पालाको भन्नुभयो । भनेपछि उहाँ सम्प्रदायमा ढल्किनुभयो भन्नुपरेन ? उहाँजस्तो विद्वान्ले त्यस्तो गर्ने हो ? हाँडीगाउँको अभिलेखमा बौद्धहरूले गाली गरेका छन् । त्यो अनुवाद नै गर्नुभएन, टिप्पणी मात्रै गर्नुभयो । उहाँलाई कुतार्किक भनेर आलोचना भएको छ । विद्वान्ले पक्षपात गर्न हुन्छ ? उहाँको कामै व्याख्या गर्ने हो । त्यसका लागि पैसा दिइएपछि उहाँले अनुवादको जिम्मेवारी छाड्ने हुन्छ त ?

नयराज पन्तले पनि गल्ती धेरै गर्नुभयो । चेलाहरूसँग झगडै गर्नुभयो । इतिहासकारले झगडा गर्न सुहाउँछ ? दिनेशराज पन्त पैसाका लागि माओवादी हुनुभयो । दुईपल्ट एकेडेमीको मेम्बर बन्नुभयो । अनि कसलाई विश्वास गर्ने ? कमलप्रकाश मल्ल पनि साम्प्रदायिक, नयराज पन्तलाई उहाँले गाली गर्नुभयो । महेशराज पन्त घमण्डी, उहाँले मसँग झगडा पनि गर्नुभयो । ज्ञानमणि नेपाल ठिकै हुन्, तर उहाँको किताब बुझिँदैन– अस्पष्ट छन् । प्रत्युष वन्तको नाम मात्रै ठूलो हो, काम गन्जागोल । यहाँ जुन अभाव छ, त्यसको पूर्ति हुने काम उहाँहरूले गर्नुपर्ने हो । बाबुराम आचार्यले इतिहासप्रति जागरुकता देखाउनुभयो, ठूलो कुरा हो । व्यक्तित्व राम्रो थियो । समाजलाई मान्यता दिनुहुन्थ्यो । दरबारसँग सम्बन्ध थियो । यी आधारमा सम्मान गर्नुपर्ने हो । तर, हाम्रो दृष्टिकोणभन्दा पनि शासकको दृष्टिकोणबाट इतिहास लेख्नुभयो । युनिभर्सिटीमा एकपटक कुरा उठ्यो— बाबुराम आचार्यका किताब कोर्समा राख्नुपर्छ । मैले हुन्न भनें । किनकि बाबुराम त्यतिकै इतिहास शिरोमणि हुनुभयो । दुईचार वटा लेख मात्रै लेख्नुभएको थियो तर भक्तिभाव, वृद्धावस्थाले उहाँलाई इतिहासशिरोमणि भनियो । जबकि उहाँको त्यतिबेला कुनै राम्रा किताबै थिएनन् ।

उसोभए नयाँ पुस्ताले कसलाई पढ्ने त ?

अहिले अन्योलको अवस्था छ । जे गरे पनि हुने, मूल्यांकन नहुने । मनपरी छ । मूल्यांकनको परम्परै भएन ।

प्रकाशित : असार २९, २०८१ १०:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×