कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

तोडिँदै लागूऔषधको जालो

मनोज पौडेल

कपिलवस्तु — गएको ८ महिनामा कपिलवस्तुबाट ४९ ग्राम ४७ मिलिग्राम अवैध लागूऔषध ब्राउन सुगर बरामद गरिएको छ । ४० जना कारोबारीबाट गएको साउनयता फागुनसम्म उक्त परिणाममा ब्राउन सुगर पक्राउ परेको हो । २९ जना बेचबिखनमा संलग्न रहेका र ११ जना सेवनकर्ता पक्राउ परेका छन् । 

तोडिँदै लागूऔषधको जालो

पक्राउ परेका ४० जनालाई नै मुद्दा चलाइएको छ । २० जना पुर्पक्षका लागि कारागार चलान भएका छन् भने १३ जना धरौटीमा छुटेका छन् । ७ जना प्रहरी हिरासतमा छन् । उनीहरूमाथि अदालतबाट म्याद थप गरेर अनुसन्धान भइरहेको छ ।

लागूऔषध कारोबारीको जालो तोड्न पिपरा प्रहरीले चलाएको विशेष अभियानपछि कारोबारी धमाधम पक्राउ परेका हुन् । लागू औषधको सहज पहुँच हुँदा समाजमा विभिन्न विकृत विसंगतिले प्रश्रय पाउँदा समस्या देखिन थाले । जसको प्रत्यक्ष मारमा अभिभावक पर्न थाले । उनीहरूबाट विभिन्न माध्यमबाट चासो र चिन्ता व्यक्त हुन थालेपछि अभियान चलाएको इलाका प्रहरी कार्यालय पिपराका निरीक्षक गोपाल रायमाझीले बताए ।

बाणगंगा नगरपालिका जिल्लामै बढी लागूऔषध कारोबार र दुर्व्यसनी रहेको मानिन्छ । यहाँका युवकयुवती र टिनेजर्सहरू लहलहीमै लागू औषधको लतमा फस्ने गरेका छन् । विकसित सहरबजार, हुनेखाने र रोजगार भएकाको बाक्लो बस्ती हुँदा यहाँका युवकयुवती लतमा लाग्ने गरेको पाइएको सरोकारवाला बताउँछन् । लागूऔषध पक्राउका क्रममा प्रहरीको अभियान निकै सकारात्मक पाइएको स्थानीय गोपाल भट्टराईले बताए । ‘प्रहरी सक्रियता बढ्नासाथ यहाँ झैझगडा र चोरीका घटना कम भएका छन्,’ उनले भने ।

कारोबारीहरूले भारतीय सीमा बजारबाट लागूऔषध नेपाल ल्याउने गरेको प्रहरीको दाबी छ । भारतमा एक ग्रामको ८ देखि १० हजार रुपैयाँ पर्ने गर्छ । एक ग्रामको हजार मिलिग्राम हुन्छ । त्यसको २५/२६ पुरिया डोज बनाउँछन् । एक पुरिया ८ सयदेखि हजारमा बेच्छन् । तीन गुनासम्म नाफा पाउँछन् । बेच्न ग्राहक खोज्न पर्दैन । लत लागेपछि मानिसहरू लागू औषध खोज्दै कारोबारीसम्म पुग्ने गर्छन् ।

वाणगंगा नगरको बढ्दो दुव्यर्सनको जालोबाट बचाउन कतिपय अभिभावकले छोराछोरीलाई समय हुनासाथ उच्च शिक्षा र रोजगारीका लागि विदेश समेत पठाएका छन् । बनगाई, जगदीशपुर, पिपरा र पचेहरा क्षेत्रमा लागूऔषधको डिलरका रूपमा काम गर्ने व्यक्तिहरू पक्राउ परेका छन् । उनीहरू थुनामा गएपछि कारोबार घटेका छन् ।

लागू औषध कारोबारमा कपिलवस्तु नगरपालिका–९ बुद्धचोक बस्ने युवराज थारू पक्राउ परे । उनलाई पकडीबाट लु२५प २७०६ नम्बरको मोटरसाइकलको ब्याट्री राखिएको ठाउँमा लुकाएर ल्याइरहेका बेला ८ ग्राम ८ सय ९० मिलिग्राम लागूऔषधसहित पक्राउ गरिएको थियो ।

तौलिहवाबाट ४ नम्बर जितपुरतर्फ जाँदै गरेका बेला लु१८प ५५०८ नम्बरको मोटरसाइकललाई रोकेर जाँच गर्ने क्रममा दुई जना खैरो हेरोइनसहित पक्राउ परेका हुन् । वाणगंगा नगरपालिका–१ का विजय राई र बाणगंगा नगरपालिका–२ का दिनेश घिमिरे ४ ग्राम २ सय मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका थिए ।

प्रकाशित : चैत्र १८, २०८० १६:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×