कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

लुम्बिनीमा छिट्टै २ हजार कर्मचारीको विज्ञापन खुल्ने : मुख्यमन्त्री आचार्य

भाद्र २२, २०८१
लुम्बिनीमा छिट्टै २ हजार कर्मचारीको विज्ञापन खुल्ने : मुख्यमन्त्री आचार्य

अर्घाखाँची — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रदेशभित्र कर्मचारीको अभाव हटाउन झण्डै २ हजार कर्मचारीको विज्ञापन खुलाउने तयारी भएको बताएका छन् ।

मुख्यमन्त्री कार्यालयका अनुसार प्रदेशभित्र दरबन्दी सर्वेक्षण गर्दा १९ सय ७५ कर्मचारी अभाव रहेको पाइएको बताइएको छ ।

निजामती सेवा दिवस–२०८१ को अवसरमा कर्मचारी मिलन केन्द्रको समन्वयमा जिल्ला प्रशासन कार्यालय अर्घाखाँचीले शनिबार सन्धिखर्कमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले लोकसेवा आयोगमार्फत विज्ञापन खुलेर पदपूर्ति भएपछि कर्मचारी अभावमा रोकिएका काम सुचारु हुने पनि बताए ।

'कर्मचारी स्थायी सरकार भएकाले सेवाप्रवाहलाई छिटोछरितो, विश्वासिलो, जनउत्तरदायी बनाउन कर्मचारी पदपूर्ति गर्न लागिएको हो,' उनले भने, 'कर्मचारीप्रति समाजले हेर्ने दृृष्टिकोणमा परिवर्तन आउन थालेको छ । तसर्थ सकारात्मक परिवर्तनका लागि कर्मचारीले प्रदान गर्ने सेवा प्रवाह पनि पारदर्शी, जवाफदेही र उत्तरदायीपूर्ण हुनु जरुरी छ ।'

कर्मचारी स्थायी सरकार भएकाले सेवा प्रवाह गर्दा नागरिकमैत्री, सुशासन र जवाफदेही युक्त बनाउन जरुरी रहेको उनले बताए । कतिपय कामलाई कानुनको आड लिएर सेवाग्रहीलाई दुःख दिने, अल्मल्याउने जस्ता गतिविधि नगर्न उनले कर्मचारीलाई आग्रह गर्दै समस्या बल्झाउनतिर भन्दा निकास खोज्नेतिर लाग्नुपर्ने बताए । कर्मचारीले निःस्वार्थ रुपमा सेवा प्रवाह गर्न कुनै कञ्जुस्याइँ गर्न नहुने पनि उनको भनाइ थियो ।

प्रकाशित : भाद्र २२, २०८१ ११:२६
x
×