कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा ढकाल यथावत

भाद्र ३१, २०८१
लुम्बिनी प्रादेशिक अस्पतालको मेसुमा ढकाल यथावत

बुटवल — लुम्बिनी प्रादेशिक अस्पताल बुटवलको मेडिकल सुपरिटेन्डेन्टमा डा इन्द्र ढकाल यथावत कायम भएका छन् । डा ढकाल २०८१ जेठ १८ गते लुम्बिनी प्रदेश सरकारको निर्णयबाट मेसु नियुक्त भएका थिए ।

सरकारको नियुक्तिविरुद्धमा अस्पतालमै कार्यरत ११ औं तहका डा विष्णु गौतम सर्वोच्च अदालत पुगेपछि गत असार १७ गते सर्वोच्च अदालतले तत्काल मेसुको काम नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको थियो ।

सर्वोच्च अदालतको आइतबारको फैसलाले डा गौतमले दायर गरेको रिट खारेज गरिदिएपछि डा ढकाल पुनः मेडिकल सुपरिटेण्डेन्टमा कायम भएका हुन् । अस्पताल प्रशासनका अनुसार सर्वोच्च अदालतका न्यायाधीश हरि फुयाँल र अब्दुल अजिज मुसलमानको इजलासले फैसलाले डा गौतमको रिट खारेज गर्दै निर्देशनात्मक आदेश दिएको छ ।

मेसु नियुक्त डा ढकाल १० औं तहका हुन् । डा गौतम ११ औं तहका हुन् । मेसुका लागि ११ औं तह आवश्यक पर्ने र उक्त पदमा आफू कार्यरत रहँदा-रहँदै १० औं तहको डाक्टर मेसु नियुक्त हुन नसक्ने जिकिर डा गौतमको थियो । तर, सरकारको निर्णयलाई कार्यान्वयन गर्न आइतबारको फैसलाले निर्देशनात्मक आदेश दिंदै डा गौतमको रिट खारेज गरेको अस्पतालले जनाएको छ ।

लुम्बिनी प्रदेशकै सबैभन्दा बढी भिड लाग्ने अस्पतालमा तीन महिनादेखि मेसु नहुँदा प्रशासनका नियमित काम, आर्थिक प्रशासन लगायतका काम प्रभावित हुँदै आएका थिए ।

प्रकाशित : भाद्र ३१, २०८१ १७:५५
x
×