कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

पाल्पाको रिब्दीकोटमा ६२ शिक्षकसहित विद्यार्थीलाई सम्मान

आश्विन २, २०८१
पाल्पाको रिब्दीकोटमा ६२ शिक्षकसहित विद्यार्थीलाई सम्मान

पाल्पा — राष्ट्रिय शिक्षा दिवसका अवसरमा बुधबार पाल्पाको रिब्दीकोट गाउँपालिकाले ६२ जना उत्कृष्ट शिक्षक र विद्यार्थीलाई सम्मान गरेको छ ।

गाउँपालिकाका आठवटै वडाका आधारभूत तथा माध्यमिक विद्यालयमा विभिन्न विषय अध्यापन गराउने शिक्षकलाई सम्मान गरिएको गाउँपालिका अध्यक्ष नारायणबहादुर कार्कीले जानकारी दिए ।

आधारभूत तह, एसईई र कक्षा १२ को वार्षिक परीक्षामा आफ्नो विषयमा शत प्रतिशत नतिजा दिन सफल शिक्षकलाई प्रमाणपत्रसहित दोसल्ला ओढाएर सम्मान गरिएको युवा तथा खेलकुद शाखा प्रमुख मणि खनालले जानकारी दिए । कक्षा ८, एसईई र कक्षा १२ मा राम्रो नतिजा दिन सफल भएका शिक्षकलाई सम्मान गर्दा थप हौसला बढ्ने शिक्षा शाखा प्रमुख खनालले बताए ।

शिक्षा दिवसकै अवसरमा गाउँपालिकाले ‘म बनाउँछु मेरो रिब्दीकोट’ शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गर्नुका साथै आधारभूत, एसईई, कक्षा १२ मा उत्कृष्ट नतिजा प्राप्त गर्ने विद्यार्थीलाई नगदसहित सम्मान गरेको छ । वक्तृत्वकला प्रतियोगितामा आदर्श मावि रिब्दीकोट–२ देउरालीकी सेलिना घर्ती पहिलो, आदर्श मावि लघुवाकी सञ्जीवनी कुावर दोस्रो र भैरव जनता मावि भैरवस्थानकी प्रिया भण्डारी तेस्रो भएकी छन् । प्रतियोगितामा पहिलो हुनेले ४ हजार, दोस्रो हुनेलाई ३ हजार र तेस्रो हुनेलाई २ हजार नगद तथा प्रमाणपत्र प्रदान गरिएको छ ।

सोही कार्यक्रममा आधारभूत तहमा उत्कृष्ट विद्यार्थीहरू शारदा माविका संगम पराजुली, सरस्वती माविका सन्या श्रेष्ठ, भैरव मेमोरियलका तन्जिल खान, एसईईमा उत्कृष्ट आदर्श मावि देउरालीका राशी भट्टराई, कालिका माविका शैलेन्द्र केसीका साथै कक्षा १२ मावि आदर्श माविकी प्रकृति अधिकारी र आदर्श माविकै सनम सुनारलाई नगदसहित प्रमाणपत्रले सम्मान गरिएको गाउँपालिका उपाध्यक्ष कान्ता अधिकारीले बताइन् ।

यसका साथै जिल्ला र प्रदेशस्तरमा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा भाग लिएर पदक हासिल गर्ने विद्यार्थीलाई पनि नगदसहित सम्मान गरिएको छ । नारायण माविकी यमी बगाले, शारदा माविकी आरती सुनार, सरस्वती माविकी सलिना झेडी, नारायण माविकी अमृता सारु, ताल्तुङ माविकी खिमा छहरी, कालिका माविकी आकृति कुँवरलाई पनि नगदसहित सम्मान गरिएको शिक्षा शाखाका प्राविधिक सहायक अनिल पोखरेलले जानकारी दिए ।

प्रकाशित : आश्विन २, २०८१ १७:२८
x
×