कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

वडावडामै खाता खोल्न बैंक र रामपुर नगरपालिकाबीच सहमति

आश्विन ३, २०८१
वडावडामै खाता खोल्न बैंक र रामपुर नगरपालिकाबीच सहमति

पाल्पा — वडावडामै पुगेर बैंक खाता खोल्न रामपुर नगरपालिकाभित्र कारोबार गर्ने बैंक तथा रामपुर नगरपालिकाबीच सहमति भएको छ । पालिकाभित्रका बैंकहरूसँगको छलफल तथा अन्तर्क्रियापछि उनीहरू यस कुरामा सहमत भएका हुन् ।

बैंकहरूले दिने सेवा र नगरपालिकासँगको समन्वयका सम्बन्धमा छलफल भएको हो । छलफलमा सामाजिक सुरक्षा भत्ता लिने नगरबासी लाभग्राहीहरूको सुविधा र योजनाका उपभोक्ता समितिको बैंक खाता सञ्चालनका लागि सहमत भएका हुन् । रामपुर नगरपालिका–१ र १० मा कृषि विकास बैंक, वडा २ मा लक्ष्मी सनराइज बैंक, ३ मा मुक्तिनाथ विकास बैंक, ४ मा नेपाल एसबीआई बैंक, ५ मा गरिमा विकास बैंक, वडा ६ मा कामना सेवा विकास बैंक, ७ मा एनआईएमबी बैंक, ८ मा राष्ट्रिय वाणिज्य बैंक र ९ मा ग्लोबल आईएमई बैंक रामपुर शाखाले वडा कार्यालयमै गएर योजना उपभोक्ता समितिको खाता खोल्ने निर्णय भएको योजना शाखा प्रमुख विक्रम बस्नेतले बताए ।

रामपुर नगरपालिकामा चालु आर्थिक वर्षमा सञ्चालन हुने योजनाको बैंक खाता खोल्न हरेक वडामा पुगेर बैंकिङ सुविधा दिने निर्णय भएको नगरप्रमुख रमणबहादुर थापाले जानकारी दिए । रामपुर नगरपालिकाभित्र ९ वटा बैंक र वित्तीय संस्था रहेका छन् । नगरवासीको सुविधाका लागि सबै वडामा पुगेर योजना उपभोक्ता समितिलाई खाता खोल्ने सेवा दिइनेछ । नगरपालिकाका सबै वडा कार्यालयमार्फत योजना उपभोक्ता समितिको बैंक खाता खोलिने भएको नगर प्रमुख थापाले बताए ।

रामपुर नगरपालिकासँगको समन्वयमा घुम्ती सेवामार्फत नगरबासीहरूलाई सामाजिक सुरक्षाभत्ता वडा तथा टोलबाटै वितरण गरिने छ । कृषि विकास बैंक रामपुर शाखाका प्रमुख केशवराज डोटेलले नगरपालिकाले जनताको सेवाका लागि जिम्मेवारी पूरा गर्ने बताए । रामपुर नगरपालिकाका नगर प्रवक्ता कपिलबहादुर खाँणले बैंकले दिने हरेक वित्तीय सेवालाई सहज र सरल बनाउनु पर्ने सुझाव दिए । बैंक र नगरपालिका दुवै जनताको सेवाका लागि भएकाले सेवा प्रवाह तथा कार्यक्रम सञ्चालन गर्दा समन्वय र सहकार्य गर्न आवश्यक रहेको उनले बताए ।

रामपुर नगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा नगरपालिकाभित्र सञ्चालन गर्ने योजना उपभोक्ता समितिको खाता सञ्चालनमा एक रूपता ल्याउन नगरपालिकाभित्रका सबै बैंकहरूलाई नगरपालिकाले आग्रह गरेको छ । नगरबासीको सुविधाका लागि प्रत्येक वडा कार्यालयमा गएर खाता खोल्ने र सामाजिक सुरक्षा भत्ता वडा र टोलबाट वितरण गर्ने नगरपालिकाको योजना रहेको प्रवक्ता खाँडले बताए । ज्येष्ठ नागरिक र शारिरिक रूपले फरक क्षमताका व्यक्तिहरूलाई प्राथमिकता दिएर सेवा प्रवाह गरी बैंकमार्फत दिने सेवालाई प्रभावकारी र सहज बनाउन आवश्यक रहेको उनले बताए ।

प्रकाशित : आश्विन ३, २०८१ १३:०७
×