कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७०

जनप्रतिनिधिको आमरण अनशनपछि हुलाकी सडक छिट्टै कालोपत्र गर्ने सहमति

आश्विन २, २०८१
जनप्रतिनिधिको आमरण अनशनपछि हुलाकी सडक छिट्टै कालोपत्र गर्ने सहमति

परासी — हुलाकी सडक निर्माणको कामले तीव्रता नपाएको भन्दै स्थानीय जनप्रतिनिधि नै अनशनमा बसेपछि अहिले कामलाई तीव्रता दिने सहमति गरिएको छ । पटक-पटक काम गर्न माग गर्दा सुनुवाइ नभएपछि प्रतापपुर गाउँपालिका अध्यक्ष उमेशचन्द्र यादवसहित केही जनप्रतिनिधि अनशन बसेका थिए ।

स्थानीय तह प्रमुख नै अनशनमा बस्नुपर्ने अवस्था आएको भन्दै जिल्लाका सबै स्थानीय तह र जनप्रतिनिधिले यस काममा ऐक्यबद्धता जनाएपछि प्रदेश सरकारकाे अग्रसरतामा कामलाई गति दिने सहमति गर्दै मंगलबार पालिका अध्यक्षकाे अनशन ताेडिएको हो ।

कांग्रेस महामन्त्री गगन थापा पनि अनशन स्थलमा आएर ऐक्यबद्धता जनाएका थिए । संघ सरकारलाई पत्राचार, जिल्ला प्रशासनमा धर्ना दिँदा समेत हुलाकी सडककाे काम सुरु नभएपछि भदौ २५ गतेबाट २७ गतेसम्म प्रतापपुर गाउँपालिकाका जनप्रतिनिधि रिले अनशनमा बसेका थिए । रिले अनशनमा बस्दा समेत माग पूरा गर्ने प्रतिबद्धता नआएपछि गाउँपालिका अध्यक्ष यादव भदौ २८ गतेदेखि आमरण अनशनमा बसेका हुन् ।

पालिका अध्यक्ष यादव आमरण अनशनमा बसेपछि हुलाकी सडक आयोजना, ठेकेदार पक्ष र लुम्बिनी प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री भूमिश्वर ढकाल अनशनस्थलमा आएर असोज १ गतेदेखि काम सुरु गर्ने प्रतिबद्धता जनाएपछि आमरण अनशन तोडिएको हो ।

‘घना बस्ती भएको यो क्षेत्रमा वर्षौंसम्म सडक निर्माण अलपत्र हुनु निकै दुःखद हो । संघ सरकारको योजनामा स्थानीय सरकारले बजेट विनियोजन गर्न नमिल्ने र काम पनि गर्न नमिल्दा हामीलाई कानुनी जटिलता पर्‍यो,’ पालिका अध्यक्ष यादवले भने, ‘संघ सरकारले काम गर्न नसके हामीलाई जिम्मेवारी दिए हुन्छ । चार महिनामा काम सम्पन्न गर्ने छौं । अहिले पनि सहमति अनुसार काम भएन भने हामी कानुनी लडाइँमा जानेछौं ।’

हुलाकी सडकको कथा

तराईको बाक्लो बस्तीको लाइफलाइनका रूपमा रहेको हुलाकी सडक कालोपत्रको काम वर्षौंसम्म पूरा नहुँदा पश्चिम नवलपरासीको दक्षिणी भेगका बासिन्दा जोखिमपूर्ण यात्रा गर्न बाध्य छन् । राजमार्गको कठहवा–बेलाटारी, नारायणचोक–परासी, नारायण चोक–त्रिवेणी खण्ड कालोपत्र पूरा नहुँदा एकातर्फ दुर्घटनाको जोखिम छ भने अर्कोतर्फ धूलो र हिलोले सास्ती भइरहेको छ ।

प्रतापपुर गाउँपालिका–६ की मानकुमारी चौधरीको घरअगाडि पानी जमेर सडकमा हिँडिनसक्नु छ । साइकल तथा साना सवारी चिप्लिने समस्या उस्तै छ । धूलोले गर्दा आँगनमा कपडा सुकाउन नसक्ने अवस्था छ । ‘मास्कबिना त हिँड्न सकिँदैन । गाउँपालिका र सदरमुकाम परासी जानका लागि निकै अप्ठ्यारो छ,’ उनले भनिन्, ‘हामीले काम छिटो गर्न पटक–पटक डेलिगेसन र सडक बन्दसमेत गर्‍यौं, तर ठेकेदारले काम गरेन ।’ वर्षौंदेखि सडक अलपत्र पार्दा समेत सरकारले ठेकेदारलाई कारबाही गर्न नसकेको उनको गुनासो छ । सडक निर्माणका लागि खनिएको खाडल वर्षौंदेखि पुरिएका छैनन् भने निर्माण सामग्री असरल्ल छन् । यसले गर्दा हुलाकी सडकको यात्रा कष्टकर बन्दै गएको स्थानीय अनोज यादवले गुनासो गरे ।

जिल्लामा हुलाकी सडक विस्तारको तीनवटै खण्डमा सम्झौता अनुसार समयमा काम भएको छैन । हुलाकी सडक र आसपासको क्षेत्रमा यातायात संचालनमा असहज भएको छ भने वर्षामा एम्बुलेन्ससमेत हिँड्न नसक्ने गरेर सवारी फस्ने गरेका छन् । निर्माणका लागि ठेक्का लगाउने र नियमन गर्ने निकाय हुलाकी राजमार्ग योजना कार्यालय कपिलवस्तुले कामलाई तीव्रता दिन पटक–पटक ताकेता गरे पनि सम्झौता अनुसार काम नभएको बताउँदै आएको छ ।

‘हामीले पटक–पटक लिखित र मौखिक रूपमा ठेकेदारलाई काम गर्न ताकेता गरिरहेका छौं । केही समस्या भए पनि समन्वय गरेर समाधान गरेका छौं,’ हुलाकी राजमार्ग योजना कार्यालयका इन्जिनियर युवराज पाण्डेले भने, ‘स्थानीयले हामीलाई पटक–पटक काम छिटो गर्न समन्वय गर्न र अटेरी गरेमा ठेकेदारलाई कारबाहीको माग गर्दै आन्दोलन गर्दै आएका छन् । अब पनि समयमा नै काम नभएर आवश्यक कारबाहीमा जान्छौं ।’

कठहवा–बेलाटारी खण्ड पूरा गर्न माग गर्दै पटक–पटक स्थानीय आन्दोलित हुँदा पनि ठेकेदार पक्षले टेरेका छैनन् । प्रतापपुर गाउँपालिकाको कठहवादेखि बेलाटारीसम्मको ९ किलोमिटर यो खण्ड निर्माणका लागि बज्रगुरु महालक्ष्मी जेभी निर्माण सेवासँग २७ करोडमा सम्झौता भएको थियो । ६ वर्ष हुँदा मुस्किलले ४५ प्रतिशत मात्र काम भएको छ । पहिलो पटक थप भएको समयमा काम नहुँदा दोस्रो पटकका लागि आउँदो पुस मसान्तसम्म म्याद थप भएको छ ।

राजमार्गको नारायणचोक–परासी सडक खण्ड निर्माणको काम सुरु भएको ८ वर्ष भयो । सदरमुकाम परासीदेखि नारायणचोकसम्म साढे १२ किलोमिटर सडक निर्माणको काम तीन पटक म्याद थप भएपछि ९० प्रतिशतभन्दा बढी काम भए पनि कल्भर्ट निर्माण नहुँदा यात्रा कष्टकर छ । आयोजना सम्पन्न नहुँदै काम भएको स्थानमा कालोपत्र भत्किएको छ । ठेकेदार कम्पनी कन्चनजंगा, विरुवा शिवशक्ति जेभी र हुलाकी सडक निर्देशनालय कपिलवस्तुले भने सडक निर्माणको काम भैरहेको दाबी गरेका छन् । १२ किलोमिटर सडक खण्डको ४ स्थानमा कल्भर्ट निर्माण भएको छ । तर, कामले तीव्रता नलिँदा स्थानीयले वैकल्पिक मार्ग प्रयोग गर्न बाध्य छन् । समयमै कल्भर्ट निर्माण नहुँदा सवारी दुर्घटना मानिसको मृत्युसमेत भएको थियो । बर्दघाट नगरपालिकाको नारायण चोकदेखि पूर्वी नवलपरासीको त्रिवेणीसम्मको १५ किलोमिटर नारायण चोक–त्रिवेणी खण्डको काम पनि कछुवा गतिमा छ । ५८ करोडको लागतमा विस्तार भइरहेको सडकको काम सुस्त गतिमा छ ।

२०७६ मंसिर १ गतेबाट निर्माण सुरु भएर २०७९ मा सम्पन्न हुनुपर्ने सडकको प्रगति जम्मा ३० प्रतिशत मात्र छ । यो सडक खण्ड बर्दघाट नगरपालिका, प्रतापपुर र सुस्ता गाउँपालिका गरी तीन स्थानीय तहअन्तर्गत पर्छन् । धार्मिक स्थल त्रिवेणी जाने यो सडक खण्डको अवस्था जीर्ण हुँदा धार्मिक पर्यटक समेत घटेका छन् ।

प्रकाशित : आश्विन २, २०८१ २२:३०
x
×