कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

लुम्बिनीलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउँछौं : मुख्यमन्त्री आचार्य 

आश्विन ३, २०८१
लुम्बिनीलाई भ्रष्टाचारमुक्त प्रदेश बनाउँछौं : मुख्यमन्त्री आचार्य 

दाङ — लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले समृद्ध लुम्बिनी, आत्मनिर्भर प्रदेशको नारालाई सार्थक बनाउन प्रदेशलाई भ्रष्टाचारमुक्त बनाउनुपर्ने जरुरी रहेको बताए । उनले प्रदेशलाई सुशासन, प्रविधिमैत्री बनाई नागरिकलाई पुर्‍याउने सेवामा थप प्रभावकारी बनाउने गरी अगाडि बढेको बताए ।

संविधान तथा राष्ट्रिय दिवस २०८१ को मूल समारोह कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री आचार्यले प्रदेशलाई भ्रष्टाचार मुक्त बनाउन र कार्यशैलीहरूमा समेत मितव्ययीता तथा सदाचारी शैलीको विकास गर्दै नागरिकका गुनासाहरूलाई समयमै सम्बोधन गर्नुपर्ने बताए । समृद्धि लुम्बिनी प्रदेश बनाउन सबै राजनीतिक दलहरू एकै ठाउँमा उभिएर एकताबद्ध भएर लाग्नुपर्ने उनले बताए ।

लुम्बिनी प्रदेश सरकारले प्रदेश सभाबाट ७२ वटा कानुन निर्माण गरी कार्यान्वयनमा ल्याइसकेको र केही कानुनहरू निर्माणको चरणमा रहेको उनले बताए ।

न्यून जनशक्ति, नयाँ स्थानमा प्रदेश राजधानीको व्यवस्थापन, प्रदेश गौरवका आयोजनाको सम्पन्नता तथा न्यून जनशक्तिको व्यवस्थापनका लागी आवश्यक कानुन तर्जमा तथा परिमार्जन गर्ने गरी सरकार अघि बढेको आचार्यको भनाइ छ ।

लुम्बिनी प्रदेश सरकारको दोस्रो आवधिक योजनाको अवधारणा पत्र, दश वर्षे दिर्घकालीन रणनीतिक योजना, प्रदेश सरकारले प्रस्तुत गर्ने नीति तथा कार्यक्रम प्रति केन्द्रीत रही बजेट तर्जुमा गरी कार्यान्वयन गरिरहेको उनले बताए । जसको कारण सातवटै प्रदेशमा लुम्बिनी प्रदेश अग्रस्थानमा रहेको उनको दाबी छ । आर्थिक सुचाकंका हिसाबले कुल ग्राहस्थ उत्पादन बढेर गएको, प्रतिव्यक्ति आय र बहुआयमिक गरिबीको दर घटेको उनले बताए ।

बालमुत्युदर, मातृमृत्युदर समेत घटेको अवस्था छ । शिक्षा, स्वास्थ्य, सडक लगायत विकास पूर्वाधारहरूमा समेत नागरिकको पहुँच वृद्धि भएको छ र सुशासन सामाजिक न्याय र समृद्धिको माध्यमबाट लुम्बिनी प्रदेशको समग्र विकासलाई नागरिक समक्ष पुर्‍याउने गरी हाम्रा कार्यक्रमहरू लक्षित रहेको मुख्यमन्त्री आचार्यले बताए ।

प्रदेश प्रमुख कृष्णबहादुर घर्तीमगरको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा सभामुख तुलाराम घर्ती मगर, पूर्वमुख्यमन्त्रीद्वय डिल्लीबहादुर चौधरी र जोखबहादुर महरा, सहरी विकास तथा खानेपानीमन्त्री सरोज थापाले लगायतले सम्बोधन गरेका थिए ।

संविधान दिवसलाई भव्य र रचनात्मक बनाउन विभिन्न समुदायको कला संस्कृति झल्किने झाँकी प्रदर्शनी गरिएको छ । मगर, थारु, नेवार, ब्राह्मणलगायतका समुदायले आ–आफ्नो समुदायको कला संस्कृति सहितको झाँकी प्रदर्शन गरेका थिए ।

प्रकाशित : आश्विन ३, २०८१ ११:३२
×