कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

दाङका अग्रज साहित्यकार शर्माको निधन

आश्विन २, २०८१
दाङका अग्रज साहित्यकार शर्माको निधन

दाङ — दाङका अग्रज साहित्यकार गिरिराज शर्माको बुधबार ८४ वर्षको उमेरमा निधन भएको छ ।

स्वास्थ्यमा समस्या देखिएका कारण केही समयदेखि भैरहवामा बस्दै आएका उनलाई स्वास्थ्यमा समस्या देखिएपछि गौतम बुद्ध मुटु अस्पताल बुटवलमा भर्ना गरिएको थियो । उपचारका क्रममा उनको बुधबार दिउँसो सवा ३ बजे निधन भएको अस्पतालले जनाएको छ ।

शर्मालाई घोराही उपमहानगरपालिका–१८ मसिनास्थित निवासमा ल्याएर बिहीबार बिहान अन्त्येष्टि गरिने कार्यक्रम छ । उनका चार छोरी र एक छोरा छन् ।

नेपालको प्रगतिशील साहित्यिक आन्दोलन र साहित्यिक संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गरेका शर्माका एक दर्जन बढी कृति प्रकाशित छन् । उनी निवृत्त शिक्षक पनि हुन् । शर्माको जन्म १९९७ जेठ १५ गते भएको थियो । उनकी श्रीमती पार्वती शर्मा पौडेलको २०७७ चैत ९ गते निधन भएको थियो ।

पूर्वमन्त्री रेखा शर्माका पिता गिरिराजको निधनप्रति विभिन्न संघसंस्थाले दुःख व्यक्त गरेका छन् । सर्वोदय पुस्तकालय तथा वाचनालयका अध्यक्ष सुशील गौतमले शोक वक्तव्य जारी गरी दाङको शैक्षिक, साहित्यिक एवं समाज रूपान्तरणका लागि महत्त्वपूर्ण योगदान गरेका शर्माको निधनले मर्माहत बनाएको बताएका छन् ।

प्रकाशित : आश्विन २, २०८१ २०:०६
x
×