कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६०

मुख्यमन्त्रीलाई 'ठेकी' उपहार

मुख्यमन्त्रीलाई 'ठेकी' उपहार

Highlights

  • राउटे समुदायका अगुवा ६० वर्षे दिलबहादुर शाहीले बुधबार लुम्बिनीका मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेर काठको 'ठेकी' उपहार दिए, र राउटेका लागि दसैँ खर्च व्यवस्था गरिदिन माग गरे ।

देउखुरी — दसैँ खर्च माग्दै सुर्खेतका राउटे समुदायका अगुवा लुम्बिनीको मुख्यमन्त्री कार्यालयमा आइपुगेका छन् । राउटे समुदायले हरेक वर्ष दसैँमा लुम्बिनी प्रदेश सरकारबाट खर्च लिने गरेका छन् । यसपटक राउटे समुदायका अगुवा ६० वर्षे दिलबहादुर शाही बुधबार लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालय पुगे ।

शिरमा ढाका टोपी, शरीरमा कोराको कछाड, साइडमा निलो झोला र खुट्टामा प्लाष्टिकका चप्पल । मुख्यमन्त्री चेतनारायण आचार्यलाई भेटेपछि राउटे अगुवा शाहीले सबैभन्दा पहिले काठको 'ठेकी' उपहार दिए, र राउटेका लागि दसैँ खर्च व्यवस्था गरिदिन माग गरे । ठेकी बनाउने पेशा राउटेहरूको आम्दानीको प्रमुख स्रोतमध्येको एक हो । मुख्यमन्त्रीलाई उपहारमा दिएको ठेकी शाही आफैँले बनाएका हुन् ।

‘मुख्यमन्त्रीज्यू, यो काठको कोशी तपाईलाई उपहार । मेरै हातले बनाएको,’ शाहीले भने, ‘दसैँ आईहाल्यो त, खै हामीलाई खर्च चाहियो, दसैँ मनाउनै परो ।’ कोसीमा पानी, दही, मही, अरु सामान जे पनि राख्न मिल्ने उनले बताए ।

गतवर्ष दसैँ खर्च जुटाउन चार जना देउखुरी आइपुगेका थिए । तर यसवर्ष भने शाही एक्लै परे । ‘साथीहरु आउन खोजेका थिए । फेरि गाडी चढेर आउने भएपछि उनीहरू डराए, मरे मै मरुला भनेर म त आईहालें,' उनले भने ।

राउटे समुदायका व्यक्तिलाई सरकारले सामाजिक सुरक्षा भत्ता दिंदै आएको छ । उनीहरुले पनि मासिक चार हजार रुपैंयाँ सामाजिक सुरक्षा भत्ता पाउने गर्छन् । तर, दसैँ भत्ताका लागि प्रधानमन्त्री कार्यालयदेखि प्रदेश सरकारसम्म पुग्ने गरेका छन् ।

गत वर्ष प्रदेश सरकारले राउटेहरुलाई दसैँ खर्च बापत २५ हजार रुपैयाँ दिएको थियो । यसवर्ष १० हजार रुपैयाँ दिएर पठाएको मुख्यमन्त्री कार्यालयलको सचिवालयले जनाएको छ ।

मुख्यमन्त्री आचार्यले सबै राउटे समुदायलाई खुशीसाथ दसैँ मनाउन शाहीमार्फत शुभकामना सन्देश पनि पठाएको मुख्यमन्त्रीका प्रेश संयोजक दशरथ घिमिरेले बताए ।

प्रकाशित : आश्विन २, २०८१ १८:१३
x
×