कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७२

कर्मचारीले घुस खान्छन् भन्ने मान्यतामा सुधार जरुरी : पूर्वअध्यक्ष मैनाली

भाद्र २२, २०८१
कर्मचारीले घुस खान्छन् भन्ने मान्यतामा सुधार जरुरी : पूर्वअध्यक्ष मैनाली

भैरहवा — लोकसेवा आयोगका पूर्वअध्यक्ष उमेशप्रसाद मैनालीले समाजमा सरकारी कर्मचारीले घुस खान्छन् भन्ने मान्यता बसिसकेकाले निजामती कर्मचारी आफैं सुध्रिनुको विकल्प नरहेको बताएका छन् । सरकारी सेवालाई नागरिकमैत्री, प्रविधियुक्त र विश्वसनीय तुल्याएर आफूमाथि लागिरहेको आरोप चिर्नतर्फ सबै कर्मचारी केन्द्रित हुनुपर्ने उनले बताए ।

निजामती सेवा दिवसको अवसरमा जिल्ला प्रशासन रूपन्देहीले शनिबार यहाँ आयोजना गरेको परिसंवाद कार्यक्रममा बोल्दै मैनालीले समाजमा कर्मचारीले राम्रो गरे भनेको नगन्यमात्रै सुनिने गरेको पनि बताए ।

‘निजामती सेवाको साख गिरेको छ,’ पूर्वगृहसचिव समेत रहेका मैनालीले भने, ‘सेवा प्राप्त गर्ने क्रममा भोग्नु परेको हैरानीले नागरिकमा सरकारी कार्यालय जानु नपरोस् भन्ने मान्यता हाबी भएको छ ।’ अहिले कर्मचारीसामु सप्रिने कि सक्किने भन्ने विकल्प रहेको उनले बताए ।

‘यस्तै अवस्था रहे राजनीतिज्ञले कर्मचारीको विकल्प खोज्ने अवस्था आउँछ,’ उनले भने, ‘त्यसले प्रतिकर्मचारीतन्त्रको सुरुवात हुन्छ ।’ राजनीतिकर्मीले आफूले गर्न नसकेको कामको दोष कर्मचारीमाथि थोपर्ने गरेको पनि उनको भनाइ थियो । कर्मचारी मेसिन भएकाले राजनीतिज्ञले सुरक्षित तरिकाले चलाउन जान्नुपर्ने उनले बताए ।

नैतिक शिक्षाको अभावले निजामती सेवामा प्रवेश गरेको नयाँ पुस्ताले पनि भ्रष्टाचार गरिरहेको उनको भनाइ थियो । ‘नयाँ पुस्ता त झन् घुस्याहा हुनै मिल्दैन,’ उनले भने, ‘तर, नैतिकता ह्रास भो ।’

वर्तमान कागजी सेवा प्रणालीलाई प्रविधिमा रूपान्तरण गर्नासाथ भ्रष्टाचार र अनियमितामा कमी आउने उनले बताए । ‘प्रविधियुक्त बनेपछि सेवा प्रभावकारी हुन्छ,’ उनले भने, ‘तर, हामी प्रविधि लागू हुन दिंदैनौं, जडान गर्‍यो कि बिगारेर राख्छौं ।’

राजनीति अलोकप्रिय भएकाले कर्मचारीमाथि धेरै प्रश्न नउठेको पनि उनको भनाइ थियो । राजनीति लयमा आएका दिन नागरिकका सबै असन्तुष्टि कर्मचारीमाथि खनिने भएकाले सावधानी अपनाएर काम गर्न उनले अनुरोध गरे ।

रूपन्देहीका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले निजामती क्षेत्रमा गर्वका साथ राष्ट्र सेवक कर्मचारी हुँ भन्ने वातावरण तयार नभएको बताए । आफूलाई समाजमा परिचित गराउँदा प्रतिरक्षा गरिदिने मानिस भेटिन छाडेको उनले बताए । ‘मुलुकका संरचना त परिवर्तन गरिए,’ उनले भने, ‘तर, कर्मचारीले आफ्नो भूमिका रूपान्तरण गर्न सकेनन् ।’

गृहमन्त्रालयले तय गरेको मापदण्ड अनुसार रूपन्देही जिल्ला प्रशासन मुलुकमा पहिलो ठहरिएको पनि उनले बताए । ‘नागरिकले एक नम्बर मान्छ कि मान्दैन, सवाल त्यो हो,’ उनले भने, ‘नागरिकको मनमा एक नम्बर कायम हुनेगरी काम गर्न जरुरी छ ।’

प्रकाशित : भाद्र २२, २०८१ १४:५१
×