कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९७

लुम्बिनीमा कांग्रेसबाट महिलालाई मन्त्री बनाउन दबाब

भाद्र ३१, २०८१

देउखुरी — लुम्बिनी प्रदेश सरकारमा कांग्रेसबाट महिलालाई मन्त्री बनाउन सांसदहरूले संसदीय दल नेता डिल्लीबहादुर चौधरीलाई दबाब दिएका छन् । आइतबार नेता चौधरीलाई भेटेरै आफ्नो पार्टीका तर्फबाट महिलालाई मन्त्री बनाउन उनीहरुले दबाब दिएका हुन् ।

प्रदेश स्थापना भएयता लुम्बिनीमा कांग्रेसले महिलालाई मन्त्री बनाएको छैन । ‘यसपालि एक जना महिला मन्त्री पठाउनु पर्छ, महिला समावेशीलाई व्यवहारमा पालना गरेर कांग्रेसले देखाउनुपर्छ भनेर संसदीय दल नेतासँग कुरा राखेका हाैं,’ कांग्रेस सचेतकबाट सोमबार राजीनामा दिएकी गिरीले भनिन् । उनका अनुसार जवाफमा दलका नेता चौधरीले पार्टी केन्द्रसँग सल्लाह गरेर महिलालाई मन्त्री बनाउन पहल गर्ने आश्वासन दिएका छन् ।

एमाले, माओवादी लगायत दलले लुम्बिनीमा महिलालाई मन्त्री बनाइसकेका छन् । मुख्यमन्त्री चेतनारायण आचार्यको नेतृत्वको सरकारमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीमा दाङकी सीता शर्मा चौधरी छिन् । उनी एमालेबाट मन्त्री बनेकी हुन् । यसअघि माओवादीका जोखबहादुर महरा नेतृत्वको सरकारमा एकीकृत समाजवादीकी भगवती अधिकारी महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री थिइन् ।

१२ वटा मन्त्रालय रहेको लुम्बिनीमा कांग्रेस र एमालेले ५–५ वटा मन्त्रालय बाँडफाँट गरेका छन् । दुईवटा मन्त्रालय साना दललाई समेट्न राखिएको छ । एमालेका तर्फबाट मुख्यमन्त्रीमा आचार्यसहित चारवटा मन्त्रालयमा मन्त्री छन् । कांग्रेसले चार जनालाई मन्त्री बनाएकामा वन तथा वातावरणमन्त्री बनेका बादशाह कुर्मीले विवादपछि पदबाट राजीनामा दिएका छन् । अहिले कांग्रेसको भागमा परेका दुईवटा मन्त्रालय खाली छन् । लुम्बिनीमा कांग्रेसका महिला सांसद नौ जना छन् ।

प्रकाशित : भाद्र ३१, २०८१ १९:०१
x
×