कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

टाउको ठोक्काएर मितेरी सम्बन्ध

जिल्ला समन्वय समिति प्रमुख र तीनपाटन गाउँपालिका अध्यक्षले लगाए मीत
राजकुमार कार्की

सिन्धुली — समाजमा मितेरी संस्कृति हराउँदै गएका बेला यहाँको जिल्ला समन्वय समितिका प्रमुख कारसाङ लामा र तीनपाटन गाउँपालिका अध्यक्ष कर्णबहादुर थापा मगरले टाउको ठोक्काएर मीत लगाएका छन् ।

टाउको ठोक्काएर मितेरी सम्बन्ध

दुई वर्षअघि जिल्ला समन्वय समितिको निर्वाचनका बेला लामा र थापामगरले टोपी साटासाट गरेर मितेरी साइनोको ‘बैना’ गरेका थिए । शनिबार एक कार्यक्रमका बीच उनीहरूले मितेरी सम्बन्ध गाँसे ।

मितेरी साइनो गाँस्नका लागि पहल लिएका सञ्चारकर्मी मीनकुमार दाहालले दुई वर्षअघिको ‘बैना’ मीतलाई पूर्णता दिने कार्य भव्यताका साथ सफल भएको बताए । ‘२०७९ असार २८ साँझ जिल्ला समन्वय समितिको प्रमुखमा गठबन्धनबाट माओवादीका उम्मेदवार लामाले मीत लगाउने प्रस्ताव राख्दा तीनपाटन गाउँपालिका अध्यक्ष थापामगरले सहजै स्विकार गरेका थिए,’ उनले भने, ‘मेरै पहलमा टोपी साटासाट गरेर गरिएको मितेरी बैनालाई अहिले विधिपूर्वक पूरा भएको छ ।’

कांग्रेस–माओवादी गठबन्धनबाट लामा १४ मत पाएर समन्वय प्रमुखमा विजयी भएका थिए । थापामगर कांग्रेसबाट दोस्रोपटक तीनपाटन गाउँपालिका अध्यक्षमा निर्वाचित भएका हुन् । एकअर्कामा उपहार साटासाट गरेर मितेरी सम्बन्ध गाँसेका लामा र थापामगरले एकै स्वरमा भने, ‘यो सम्बन्ध जुनी–जुनीलाई, अब दुईबाट एक भएका छौं ।’

मीत लगाउने संस्कृति हराउँदै गएका बखत यसले समाजमा भाइचाराको विकास हुने संघीय संसद्मा कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रतिक्रिया दिए । मितेरी कार्यक्रममा उपस्थित भएर प्रमुख जिल्ला अधिकारीलगायत कार्यालय प्रमुख, विभिन्न गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षहरूले दुवै जनालाई बधाईसमेत दिएका थिए ।

प्रकाशित : श्रावण १२, २०८१ १५:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

निजामती सेवा दिवसमा यसवर्ष पनि सरकारले पुरस्कृत गर्ने सर्वोत्कृष्ट कर्मचारी छनौट नगर्नुको कारण के होला ?

x
×