कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

वाग्मतीका १० जिल्लाबाट बेपत्ता हुनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिक धेरै

भाद्र २२, २०८१
वाग्मतीका १० जिल्लाबाट बेपत्ता हुनेमा महिला, बालबालिका र ज्येष्ठ नागरिक धेरै

Highlights

  • भेटिएनन् १ सय ८० जना महिला, बालबालिका र ज्येष्ठ नागरिक

हेटौंडा — मकवानपुरको सुदूरपूर्वमा रहेको बकैया गाउँपालिका–१ धियालकी विवाहित २८ वर्षीया सुन्तली लामा र वाग्मती गाउँपालिका–२ की २१ वर्षीया मुना वाइबा घरबाट हेटौंडा घुम्न आएको ९ महिना बितिसक्यो । तर, अहिलेसम्म उनीहरू न घर फर्केका छन्, न त कहाँ छन् भन्ने नै पत्तो लागेको छ ।

पुस २० मा उनीहरू घुम्न भन्दै घरबाट हेटौंडा निस्केका हुन् । दुवैका चार वर्ष पुग्नै लागेका एक/एक छोरी छन् । लामा र वाइबा नातेदार पनि हुन् । दुवै जनाका पति रोजगारीका लागि मलेसिया गएको दुई वर्ष बितिसकेको छ ।

बुहारीहरू घर फर्केनन् भनेर दुवैका ससुराले जिल्ला प्रहरी कार्यालय हेटौंडाको महिला सेलमा निवेदन पनि दिए । तर, निवेदन दिएको ८ महिनासम्म पनि उनीहरूको केही पत्तो नलागेको प्रहरीले जनाएको छ ।

वकैया र वाग्मती गाउँपालिकाको मात्र होइन, भीमफेदी भैसैकी २४ वर्षीया विवाहित ठूलीमाया विक पनि बेपत्ता भएको ११ महिना बितिसक्यो । उनका पतिले उनलाई अहिलेसम्म फेला पार्न सकेका छैनन् । प्रहरीलाई खोजबिन गरिदिन निवेदन दिएका छन् । पति सुमन विक विदेशबाट फर्केको दिनदेखि पत्नीको खोजबिनमा जुटिरहेका छन् । मलेसियाबाट पति काठमाडौं उत्रिएकै दिनदेखि ठूलीमाया घरबाट बेपत्ता भएकी हुन् ।

घरका सासू–ससुरालाई काठमाडौंमा पति लिन जान लागेको भनेर उनी घरबाट निस्केकी थिइन् । न उनी पतिलाई स्वागत एयरपोर्ट पुगिन्, न त घर नै फर्किएकी छन् । दुई र चार वर्षका दुई छोरालाई छाडेर उनी बेपत्ता भएकी हुन् । आफूले विदेशमा कमाएर पठाएको सबै पैसा लिएर उनी बेपत्ता भएको पतिको आरोप छ ।

मकवानपुरकै वसामाडीकी १९ वर्षीया सुनिता घिमिरे विदेश जान्छु भनेर हिँडेको ७ महिना भइसकेको छ । तर, अहिलेसम्म उनको अत्तोपत्तो छैन । ‘विदेशमा गएर हराएकी हुन् कि यतै कतै हराइन् भन्ने पनि खुलेको छैन,’ बावु कृष्णबहादुर घिमिरेले भने । छोरीको खोजबिन गरिदिन जिल्ला प्रहरी कार्यालय हेटौंडामा निवेदन दिइसकेको उनले बताए ।

वैदेशिक रोजगारीका निम्ति साढे एक वर्षअघि कतार पुगेका मकवानपुर गढी सुकौराका लक्ष्मण ब्लोनकी पत्नी पनि ९ महिनाअघि घरबाट बेपत्ता भएकी छिन् । उनका ससुराले जिल्ला प्रहरी कार्यालय हेटौंडामा खोजबिन गरिदिन निवेदन दिएका छन् । विवाहित १३ जनासहित १५ जना महिला अहिले यसरी बेपत्ता भएको प्रहरी रेकर्डले देखाउँछ ।

बेपत्ता हुनेमा बालबालिका पनि उत्तिकै

मनहरि गाउँपालिका–४ का २ बालक र एक बालिका माघ १५ गतेदेखि हराएका छन् । घरबाट हेटौंडा बजार घुम्न आएका तीन बालबालिका अहिलेसम्म घर फर्केका छैनन् । बालबालिकाका अभिभावकले छोराछोरी हराएकाले खोजी गरिदिन अनुरोध गर्दै तस्बिरसहित निवेदन दिएका छन् । गत फागुन महिनामा मात्रै ५ बालिकासहित ७ जना बालबालिका हराएको नेपाल प्रहरीको महिला सेलले जनाएको छ ।

गत आवमा मकवानपुरका ८४ बालिका र १ सय ७० जना महिला हराएका थिए भने १९ जना बालक एवं १७ जना ज्येष्ठ नागरिक हराएका थिए । ८४ जना हराएका बालिकामध्ये ७८ जना फेला परेको र ६ जना अझै बेपत्ता छन् भने १७० जना महिला हराएकामा १३४ जनामात्र फेला परेको र ३६ जना अहिलेसम्म फेला पर्न नसकेको जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरिक्षक सीताराम रिजालले बताए । गत आवमा नै १९ जना बालक हराएकामा १८ जना फेला परेको र एक जना अझै फेला परेका छैनन् भने १७ जना ज्येष्ठ नागरिक हराएकामा १४ जनामात्र फेला परेको र ५ जना फेला पार्न नसकेको प्रहरीले जनाएको छ ।

मकवानपुरमा गत आवमा २ सय ९० जना हराएकामा २ सय ४२ जना फेला परेको र ४८ जना अझै हराएको प्रहरी कार्यालय मकवानपुरको तथ्यांकले देखाएको छ । यसैगरी मकवानपुरसँगै जोडिएको चितवनमा प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार गत आवमा १ सय ८८ जना महिला हराएकामा १ सय ६६ जना फेला परेका थिए भने २२ जना अझै बेपत्ता छन् । उनीहरू कहाँ छन्, अझै अत्तोपत्तो छैन ।

गत आवमा चितवनकै १ सय २२ जना बालिका हराएका थिए । तीमध्ये १ सय ९ जना फेला परे । अझै १३ जना फेला पार्न नसकेको प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्यांकले देखाएको छ । तथ्यांक अनुसार गत आवमा चितवनमा ३३ बालक हराएकामा २९ जना फेला परेका थिए भने अझै ४ जना फेला पर्न सकेका छैनन् । २२ जना ज्येष्ठ नागरिक हराएका थिए, तीमध्ये १९ जना फेला परे, तीन जना अझै फेला परेका छैनन् ।

आव ०८०/०८१ मा चितवनबाट महिला, बालबालिका र ज्येष्ठ नागरिक गरी ३ सय ६५ जना हराएको प्रहरीमा निवेदन परेको थियो । तीमध्ये ३ सय २३ जना फेला परे, ४२ जना फेला पर्न सकेका छैनन् । बाग्मती प्रदेशको रसुवामा गत आवमा महिला, बालबालिका र ज्येष्ठ नागरिक गरेर २२ जना हराएका थिए । तीध्ये १६ जना फेला परे । ६ जना अझै फेला पार्न नसकेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । १० जना महिला हराएकामा ४ जना अझै बेपत्ता छन् । एक/एक जना ज्येष्ठ नागरिक र बालक फेला पर्न सकेका छैनन् ।

प्रदेश कार्यालय हेटौंडाको तथ्यांक अनुसार धादिङमा गत आवमा ४८ जना महिला हराएकामा ३५ जना फेला परेका थिए भने १३ जना अझै सम्पर्कविहीन छन् । १४ जना बालिका हराएकामा १२ जना फेला परेका छन् । २ जना अझै बेपत्ता छन् । बालक ७ जना हराएकामा ५ जना फेला परेका छन्, २ जना बेपत्तै छन् भने ज्येष्ठ नागरिक २ जना हराएकामा एक जना फेला परेका छन् भने एक जना बेपत्ता नै छन् । धादिङमा ७१ जना हराएकामा ५३ जना फेला परेको तथ्यांक छ भने १८ जना फेला परेका छैनन् ।

वाग्मती प्रदेश कार्यालयका अनुसार नुवाकोटमा गत आवमा १ सय २५ जना हराएकामा १ सय ११ जना फेला परेका छन् । १४ जना फेला पर्न सकेनन् । त्यसैगरी काभ्रेमा १ सय ५० जना हराएकामा १ सय ३५ जना फेला परे, १५ जना सम्पर्कविहीन छन् । सिन्धुलीमा १२१ जना हराएकामा ११५ जना फेला परे, ६ फेला परेका छैनन् भने दोलखामा ६२ जना हराएकामा ५२ जना फेला परे, १० जना अझै सम्पर्कविहीन नै छन् ।

यसैगरी रामेछापमा महिला, बालबालिका र ज्येष्ठ नागरिक गरी ४२ जना हराएकामा ३२ जना फेला परेका छन् भने १० जना अझै हराइरहेका छन् । सिन्धुपाल्चोकमा ९७ जना हराएकामा ८६ जना फेला परे भने ११ जना बेपत्ता नै छन् ।

वाग्मती प्रदेशको उपत्यकाका तीन जिल्ला बाहेक १० जिल्लामा गत आवमा महिला, बालबालिका र ज्येष्ठ नागरिक गरी १ हजार ३ सय ४५ जना हराएका थिए । हराएका मध्ये १ हजार १ सय ६५ जना फेला परेका छन् भने १८० जना अझै बेपत्ता छन् ।

उपत्याका बाहिरका १० जिल्लामा गत आवमा ७ सय ६७ जना महिला हराएका थिए, तीमध्ये ६ सय ४७ जना फेला परे भने १ सय २१ जना अझै बेपत्ता छन् । त्यसैगरी आव २०८०/०८१ मा ३८५ बालिका हराएकामा ३५५ जना फेला परेका छन् भने ३० जना अझै हराइरहेका छन् । १२० जना बालक हराएकामा १०६ जना फेला परेका छन् भने १४ जना सम्पर्कविहीन छन् । ७३ जना ज्येष्ठ नागरिक हराएकामा ५८ जना फेला परेका छन् भने १५ जना अझै हराएकै छन् ।

‘महिला र बालबालिका बेपत्ता हुने क्रम बढ्दो छ,’ बालबालिका क्षेत्रमा काम गर्दै आएका प्रकाश खतिवडाले भने, ‘महिला र बालबालिकालाई कता लगेर बेपत्ता पार्छन्, पत्ता लगाउन मुस्किल परेको छ ।’ प्रहरी कार्यालयको सूचीमा बेपत्ता भनिएकाहरू पनि घरमा आइसकेका होलान् तर कार्यालयलाई जानकारी नदिएका कारणले हराउनेको सूची धेरै देखिएको हुन सक्ने जिल्ला प्रहरी कार्यालय हेटौंडाका प्रहरी उपरिक्षक रिजालले भने । ‘छोरी, बुहारी, नातिनातिनाहरू हराउँदा परिवारका आफन्तहरू रुँदै निवेदन दिन आउने गर्छन् तर पछि फलोअप गर्दैनन् र घर फर्केको पनि जानकारी दिंदैनन्,’ उनले भने, ‘फेला परेपछि परिवारले जानकारी नै नदिने गर्दा बेपत्ता महिला र बालबालिकाको संख्या धेरै देखिएको हो ।’

महिला र बालबालिकालाई विभिन्न प्रलोभनमा पारेर विदेशमा लगेर बिक्री गर्ने गरेको बालबालिकाको क्षेत्रमा लामो समयदेखि काम गर्दै आएको सिविन हेल्पलाइनका प्रमुख झविन्द्र ज्ञवालीले बताए । ‘पैसाको लोभमा परेर महिला र बालबालिकाहरू दलालहरूको फन्दामा पर्ने गरेका छन्,’ उनले भने, ‘वैदेशिक रोजगारीको प्रलोभनमा पारेर महिला र सर्कस आदिको आकर्षण देखाएर बालबालिकालाई आकर्षण गर्ने गरिएको पनि पाइएको छ ।’

प्रकाशित : भाद्र २२, २०८१ १७:१८
×