कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ८५

जाजरकोट दरबार जोगाउन त्रिपाल ! [तस्बिरहरु]

तस्बिर : हरिहरसिंह राठौर

जाजरकोट — गत कात्तिक १७ मा गएकाे भूकम्पले क्षतिग्रस्त ऐतिहासिक दरबार जोगाउन त्रिपालले छोपिएको छ । जिल्ला प्रशाासन कार्यालयले प्रयोग गर्दै आएको जाजरकोट दरबारमा वर्षात्‌‌को पानी चुहिन थालेपछि त्रिपालले ढाकिएको हो ।

अत्यधिक वर्षात् सँगै दरबार चुहिएर भत्किने अवस्थामा पुगेपछि यसलाई जोगाउन त्रिपालको ओत लगाइएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ । दुई सय २८ वर्ष पुरानो ऐतिहासिक जाजरकोट दरबार गत कात्तिकमा गएको भूकम्पले क्षति पुर्‍याएको हाे ।

भूकम्प गएको नौ महिना बितिसक्दा पनि पुनर्निर्माणका लागि राज्यस्तरबाट सुरसार नभएपछि भग्नावशेषको रुपमा रहेको दरबारलाई तत्काल नढलोस् भनेर त्रिपालले ढाकिएको प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले बताए । उनका अनुसार डिभिजन वन कार्यालयको करिब ४ लाख सहयोग र समन्वयमा अत्यन्त जोखिमका बाबजुद पनि मनसुनजन्य प्रकोप तथा वर्षाबाट थप क्षति हुन नदिन त्रिपालले ढाक्ने काम गरिएको छ ।

यो दरबारमा हाल सरकारको स्वामित्वमा छ । भूकम्पअघि यस दरबारमा जिल्ला प्रशासन कार्यालय सञ्चालन गरिँदै आएको थियो । ऐतिहासिक विरासत बोकेको यो दरबार ढल्न नसके पनि बस्न मिल्ने अवस्था छैन । भित्रभित्रै पूरै मक्किएको छ । १९९० सालको भूकम्पले भत्किएको यो दरबार पुनर्निर्माण गरी सात तलाबाट चार तलामा झारिएको थियो । २०५० सालको भूकम्पले पुनः क्षति पुर्‍याएपछि पुरानै शैलीमा पुनर्निर्माण गरिएको थियो । तर यसपटकको भूकम्पले पुनः दरबारलाई क्षति पुर्‍याएको छ ।

यसलाई नेपाल सरकारले केही वर्षअघि मुलुकका सय वटा पर्यटकीय गन्तव्यको सूचीमा पनि राखेको छ । यसको निर्माण विक्रम सम्वत् १८५२ मा तत्कालीन जाजरकोटी राजा इन्द्रनारायण शाहका पालामा निर्माण भएको थियो । यो दरबार ऐतिहासिक तथा पुरातात्विक हिसाबले निकै महत्वपूर्ण छ । यो जाजरकोटको मात्र नभएर पूरै कर्णालीको एकमात्र दरबार हो । जाजरकोट दरबारजस्तै अन्य भारदारका थाप्लेस्थित ऐतिहासिक दरबार जोगाउन सरकारको उपेक्षा देखिएको छ । हाल थाप्लेका २ वटा चारनाले दरबार जोगाउन प्लास्टिक प्रयोग गरिएको छ ।


प्रकाशित : श्रावण १२, २०८१ १८:३४
प्रतिक्रिया
पठाउनुहोस्