कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७२

मनमोहक पर्यटकीय गाउँ 'फोजों' अर्थात् भुजुङ

शब्द/तस्बिर : आश गुरुङ

लमजुङ — मनसुन जारी रहे पनि लमजुङको क्व्होलासोथार गाउँपालिका-४ भुजुङ गाउँको मुहार भने चम्किलो छ । सदरमुकाम बेंसीसहरबाट ३२ किलोमिटरको दुरीमा रहेको यो गाउँ पर्यटकीय गाउँले चिनिन्छ । बर्खायाममा कच्ची सडकको मज्जा लिँदै जिपमार्फत पुगिने यो गाउँमा दैनिक पर्यटक आगमन भइरहेको वडाअध्यक्ष नारायण गुरुङ बताउँछन् ।

उनका अनुसार २०७९ को तथ्यांक अनुसार भुजुङमा ३ सय ६२ घरधुरी छन् । घरसंख्या भने ५ सय बढी छ । ९० प्रतिशत गुरुङ रहेको भुजुङको जनसंख्या २ हजार १ छ ।

डेढदशकदेखि (घरबास) होमस्टे सञ्चालनमा रहेको भुजुङमा हाल ३३ घरमा होमस्टे सञ्चालनमा छ । समुद्री सतहदेखि करिब १ हजार ६ सय २० मिटर उचाइको यो गाउँमाथि अरु कुनै गाउँ छैन । लमजुङ हिमालमा रहेको यो गाउँमा घाँटु, सोरठी, सेर्का, सारङ्गी, घ्याब्रे पच्युलगायतका लोपुन्मुख नृत्यहरु देख्न सकिने पर्यटन समितिका अध्यक्ष तुलबहादुर गुरुङ बताउँछन् । उनका अनुसार पर्यटकीय सिजनमा होमस्टेभरी पर्यटकको बसोबास हुन्छ । असोजदेखि भुजुङमा पर्यटक आउने मौसम सुरु हुन्छ ।

धेरैजसो घरहरु ढुंगालो छाएका छन् । पछिल्लो समय निलो र रातो रंगका जस्ताले पनि घर छाउन थालेका छन् । धान र कोदो रोपिसकेपछि स्थानीयले मकै भित्र्याइसकेका छन् । धान र कोदो गोडमेल गर्ने समय भएको छ । स्थानीय अहिले हस्तकलाका सामग्री बुनिरहेका छन् ।

गाउँघरमा पर्यटक आइरहेको र गाउँले स्वागत सत्कारमा जुटेको होमस्टे सञ्चालक शान्तकुमारी गुरुङ बताउँछिन् । उनका अनुसार पर्यटकलाई ढिँडो, लोकल कुखुरा, माछा, खसी, राँगालगायतका मासु साथै गाउँकै सागपात, अचार, स्थानीय मदिरा खुवाउने गरिएको छ ।

संघीय संरचना अघि एउटै गाउँ र एउटै गाविसले चिनिएको भुजुङ अहिले एउटै वडामा परिणत भएको छ । करिब ७ सय वर्ष पुरानो मानिएको यो गाउँ लुकेर कसैले नदेख्ने गरी बसेका कारणले कुमारी गाउँको नामबाट पनि चिनिन्छ ।

भुजुङलाई गुरुङ भाषामा फोजों भनिन्छ । स्थानीयका अनुसार ‘फो’ भनेको मृग र ‘छों’ भनेको व्यापार हो । पहिले–पहिले मृगको व्यापार हुने ठाउँ, यसलाई कालान्तरमा फोजों भनियो । लेख्नेले भुजुङ लेखिदिए । गुरुङ समुदायमाझ फोजों र संसारभर यो गाउँको नाम भुजुङबाटै परिचित छ ।


प्रकाशित : भाद्र २१, २०८१ १३:१४
प्रतिक्रिया
पठाउनुहोस्